सर्पले टाेकेकाे उपचार केन्द्रका लागि २५ लाख बजेट विनियोजन
लमही । लमहीमा सर्पदंश (सर्पले टाेकेकाे) उपचार केन्द्र स्थापना हुने भएको छ। यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो। देउखुरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पुसबाट केन्द्र निर्माण शुरु गरिने निर्णय भएको सङ्घका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा लमही नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ। त्यस्तै केन्द्र स्थापनाका लागि देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट रु पाँच लाख ९५ हजार सङ्कलन भएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए। प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सर्पले डसेपनि तत्काल उपचार पाएपछि बिरामीलाई सञ्चो हुने भन्दै लमहीमा सर्पदंश उपचार केन्द्र आवश्यक रहेको बताए। केन्द्र स्थापनाका लागि प्रदेशबाट समेत पहल थाल्ने प्रतिबद्धता जनाए। लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले केन्द्र स्थापनाका लागि लमहीमा केन्द्र स्थापनाका लागि लामो समयदेखि कसरत थालिएको छ। लमहीमा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई गोरुसिङ्गे तथा बाँके लैजानुपर्ने अवस्था छ। अधिकांश बिरामीको त्यसतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हुने गरेको छ। रासस
सिद्धार्थ बैंकले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर समेत ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न बैंकको ३०४ औं सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।
इलामकाे किसानहरू उद्यमी बन्दै, गाउँमै ४० हजार टन चिया प्रशोधन
काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् । आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानले बताए। उद्योग स्थापना गर्ने लहर चलेपछि एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेती लागेका छन् । चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग संचालनमा रहेदैँ आएका छन् । केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न थालेको बताएका छन् । किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन् साथै ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैं उद्यमी बन्न प्रेरित भएको बताएका छन् । नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् । रासस
बैंकरलाई गभर्नरको प्रश्नः निक्षेप बढाउन छाडेर सीसीडीमा बार्गेनिङ गर्ने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई सीसीडी अनुपात घटाउने सन्दर्भमा बार्गेनिङ नगर्न चेतावनी दिएका छन् । नेपालले बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप संकलन तथा कर्जा विस्तार योजनाबद्ध ढंगले गर्न नसकेको भन्दै नेपालले भने – ‘बजारबाट जति कर्जाको माग आयो त्यो खुरुखुरु दिने तर निक्षेप बढाउन नसक्ने, अनि सुरक्षाका राखिएको २० प्रतिशत सीसीडी रेसियाेमा आँखा लगाउने ?’ नेपालले सरकारी बैंकहरुमा अझै पनि लगानीयाेग्य पुँजीकाे अभाव नभएकाे भन्दै नीजि क्षेत्रका बैंकहरु वित्तीय व्यवस्थापन गर्ने सन्दर्भमा चुकेकाे अाराेप लगाए । नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको ‘सोसल डाइलग अन ब्याङ्क एण्ड फाइनान्सियल सेक्टर इस्यु’ कार्यक्रममा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थामा ‘सोसल डाइलग’को मुख्य विषयबस्तु भनेकै जनताको पैसाको सुरक्षा भएकोले त्यसमा नेपाल राष्ट्र बैंकले सम्झौता गर्न नसक्ने प्रष्ट पारे । राजधानीको कान्तिपथ स्थित एल्लो प्यागोडा होटलमा भएको कार्यक्रममा उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । थापाले बैंक तथा वित्तीय संस्थाहरुकाे अाकार कुल ग्राहर्स्थ उत्पादन भन्दा बढी पुगेकाे भन्दै केही समस्या रहे पनि नेपाली वित्तीय क्षेत्रमा ठुलाे प्रगति हासिल भएकाे अाँकडा प्रस्तुत गरे ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाटै आइएमई लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाटै आइएमई लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
बजार १४ अंकले घट्यो, सबै सूचक राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ । बजार कुल १५४ कम्पनीको २५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी एनएमबी बैंकको ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक ५०, जीवन बीमा ४४, होटल २८, हाइड्रोपावर २४ र माइक्रोफाइनान्स २२ अंकले घटेका छन् । अन्य बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् ।
मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।
सीजीका आकर्षक स्मार्टगिजरहरु नेपाली बजारमा
काठमाडौं । जाडो महिनालाई लक्षित गरि आकर्षक स्मार्ट गिजरहरु बजारका आएका छन् । सीजीको उत्पादनमा नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु आएका हुन् । चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ । बिषेशता यी गिजरहरुमा थर्माेस्ट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने गर्दछन् । त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाट हिटर इनपुट तथा २८०० प्रति एल.पि.जी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु नेपालभरि सजिलै पाउन सकिने भएको छ ।