विकासन्युज

प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

रुपन्देही। प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले १२ जिल्ला हेर्ने गरी आठ जिल्लामा कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए। जिल्लामा कृषि र पशु सेवा कार्यालय नभएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी काम गर्ने जिम्मेवारी केन्द्रलाई छ । प्रदेशका ६ जिल्लामा पशु अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गरिएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, बाँके, दाङ र रोल्पामा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको अधिकृत घिमिरेले जानकारी दिए। जम्मा १२ जिल्ला रहेको प्रदेशमा एक जिल्लाले अर्को जिल्ला हेर्नेगरी ६ जिल्लामा केन्द्रको स्थापना गरिएको उनले बताए। रुपन्देहीमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय स्थापना गरिएको कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिए । कृषि तथा पशु सेवालाइ कृषकका बीचमा सहज पहुँचका लागि केन्द्रको स्थापना भएको भन्दै उनले  केन्द्र मार्फत कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, तथा स्थानीय तहसँग समन्वय गरी काम गर्ने अख्तियारी केन्द्रलाई दिइएको भण्डारीले बताए ।

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो, लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन बाटो खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिए । उनले नयाँ प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको प्रतिक्रिया दिए । धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद/बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो । स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ । नेप्सेले नयाँ प्रणालीको माध्यमबाट धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोवार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका कार्य गर्न सक्ने व्यवस्था छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आउँदा ती विषयमा धेरैले थाहा नै पाएका थिएनन् । स्टकले परीक्षण कारोवार(मोक ट्रेडिङ) गराएको थियो । तर, कारोवारमा रहेका धेरै नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्यो । कारोवारमा समेत केही समस्या देखिएको थियो । नेप्सेको डिस्प्लेमा कारोवारको सही तथ्याङ्क नदेखिँदा लगानीकर्तामा अन्योल बढाइदिएको थियो । स्टकका प्रवक्ता पराजुलीले सबै खालका समस्या समाधान भएको र अब पूर्णरुपमा नयाँ प्रणाली सञ्चालन भएको बताए। लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी सेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् । नेप्सेले विगत दुई दशकदेखि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ । पछिल्लो प्राविधिक विकासलाई आत्मसात गर्दै जाने क्रममा ती प्रविधि प्रयोगमा ल्याइएका हुन् । विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने व्यवस्था थियो । यस्तै २०६४ सालदेखि सेमी अटोमेटेड ट्रेडिङ सिष्टम सञ्चालनमा ल्याएको थियो । यस्तै २०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा दिएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका थिए । पछिल्लो पटक नयाँ प्रणाली शुरु भएपछि कारोवार रकममा वृद्धि भएको छ । सेयर कारोवारको सङ्ख्यासमेत बढेको छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते कूल तीन करोड रूपैयाँको कारोवार भएको थियो । सो प्रणालीको शुरूवात भएलगत्तै तिहार बिदा भयो । तिहार बिदालगत्तै खुलेको बजारमा रु १० करोडको कारोवार भयो । क्रमशः कारोवार रकम र कारोवार सङ्ख्यामा वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ । नयाँ प्रणालीबाट सेयर कारोवार गर्न एक पटक मात्रै धितोपत्र दलाल व्यवसायीकोमा युजर नेम र पासवर्ड लिए हुन्छ । सो प्रणालीबाट घर, कार्यालय वा विदेशबाट पनि सेयर खरीद गर्न वा बिक्री गर्न सकिन्छ । त्यसका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम भने हुनु आवश्यक पर्दछ । रासस

बजार निर्माता प्रवेश गराउन धितोपत्र बोर्डको चासो, नेप्सेलाई सोध्यो– ‘प्रगति के छ ?’

काठमाडौं । धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । बजारमा शेयर डिलरसिपको रुपमा काम गर्ने त्यस्ता संस्थाहरुलाई प्रवेश गराउने तयारीका बारेमा धितोपत्र बोर्डले नेप्सेसँग प्रगति विवरण माग गरेको छ । त्यस्ता बजार निर्माताहरुले आफ्नै नामबाट अंकित मूल्यमा शेयर खरिदबिक्री गर्न र धितोपत्रको अन्डराइटिङ समेत गर्न सक्नेछन् । धितोपत्र बजारमा त्यस्ता बजार निर्मातारडिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने विश्वास समेत बोर्डले गरेको छ ।

सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

कालिका लघुवित्तले १६ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हालै सम्पन्न संस्थाको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ नाघ्ने छ । बोनस घोषणा गरेको दिन बिहीबार संस्थाको सेयर किन्ने भन्दा बेच्नेको चाप देखिएको थियाे । सो दिन दिउँसाे २ बजेसम्म ७९४ कित्ता सेयर बिक्रीमा रहेको थियाे तर किन्ने कोही पनि देखिएका थिएनन् । यसको मतलब संस्थाले घोषणा गरेको लाभांशमा सेयरधनी उत्साहित छैनन् भन्ने बुझिन्छ । अन्तत: बिहीबारको बजार बन्द हुँदा संस्थाको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट आएको छ ।

छापियो १ लाख स्मार्ट लाइसेन्स, तपाईको बन्यो कि बनेन एसएमएस गर्नुस्

काठमाडौं । स्मार्ट लाइसेन्स छपाई गरिरहेको मालिका इन्कर्पोरेट लिमिटेडले १ लाख कार्ड छापेको छ । छापिएको कार्डमध्ये ६० हजार यातायात व्यवस्था बुझाइसकेको छ । ४५ दिनमै ६ लाख कार्ड छाप्ने विभाग र लिमिटेडबीच सम्झौता भएपनि प्रविधिक समस्याले गर्दा कार्ड छपाइमा ढिलाई हुन गएको हो । मालिकाले हाल दैनिक १० हजार कार्ड छपाई गरिरहेको बताएको छ । पुर्ण क्षमतामा छाप्न डाटा नै उपलब्ध नभएको लिमिटेडका निर्देशक तिलकराम जोशीले बताए । ‘हामी एक पटकमा १० वटा कार्ड निकाल्ने प्रयास गर्छौ, तर ४/५ वटा खाली नै निस्कन्छ, जोशीले विकासन्युजसँग भने प्रविधि समस्या हल भए हामीबाट केही समस्या छैन ।’ मालिकाले ६० हजार कार्ड दिइसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार छापिएको कार्ड अब सम्बन्धित कार्यलयमा पठाउने तयारी भैरहेको छ । बनिसकेको कार्ड सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्नेछन् । लाइसेन्स बने/नबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । ५ लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।  कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ ।

अल्फा बिटा ईन्टर कलेज कुइज हुँदै

काठमाडाैं । अल्फा बिटाले “अल्फा बिटा ईन्टर कलेज कुइज कम्पिटिसन” आयोजना गर्ने भएको छ । मंसिर २६ र २७ गते हुने उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुरका १६ वटा ए लेवल तथा पल्स टु कलेजहरुले सहभागिता जनाउँने भएका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलेजले नगद पचास हजार, ट्रफि तथा मेडल प्राप्त गर्ने तथा द्वितिय स्थान हासिल गर्ने कलेजले नगद पच्चिस हजार तथा मेडल प्राप्त गर्ने, अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.ई.ओ. द्विराजशर्माले जानकारी दिएका छन् । प्रतियोगिताको होस्ट मिडियाकर्मी जि.पी. तिमल्सिनाले गर्दैछन् ।

मितेरी पुलको निर्माण चिनिँया सरकारी कम्पनीले शुरु गर्दै, अगामी जेष्ठमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको छ । पुल २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् । भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको छ । बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । दुवै काम पनि आगामी जेठको दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ । तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण गरेको थियो । रासस