विकासन्युज

वाणिज्य बैंकहरुकाे मुद्दति खातामा १३ प्रतिशत व्याज, सेयर बजार थप जाेखिममा

काठमाडौं । वाणिज्य बैंकहरुले १३ प्रतिशत व्याजदरमा मुद्दति निक्षेप संकलन गर्न थालेका छन् । कुमारी बैंकले १३ प्रतिशत व्याजमा ३ वर्षसम्मको मुद्दति खातामा निक्षेप आह्वान गरेको छ । बैंकले कम्तिमा १० हजार रुपैयाँ निक्षेप रहेको मुद्दति खातामा पनि १३ प्रतिशत व्याज दिने भएको छ । व्यक्तिगत निक्षेपकर्तालाई मात्र यो सुविधा हुने बैंकले जनाएको छ । विशेष मुद्दति नाम दिएकाे उक्त बचतकाे व्याज मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएकाे छ । अरु बैंकहरुले पनि विहीबारदेखि १३ प्रतिशत व्याजमा निक्षेप आह्रवान गर्ने सम्भावना रहेको छ । सार्वजनिक सूचनामा तोकिएको भन्दा शुन्य दशमलव ५ प्रतिशतसम्म व्याज थपेर निक्षेप लिन पाउने व्यवस्था रहेकोले निक्षेपकर्ताले १३.५ प्रतिशतसम्म व्याज पाउन सक्नेछन् । मंगलबार जनता बैंक नेपालले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्ने विज्ञापन सार्वजनिक गरेको थियो । बुधबार माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याजमा निक्षेप लिने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रेले १२.५ प्रतिशत व्याज मासिक रुपमा भुक्तानी गर्ने र ५ वर्ष अवधि सम्मको लागि निक्षेप लिने जनाएको छ । यसरी नै प्रतिस्पर्धा बढ्दै जाँदा निक्षेपकाे व्याज १५ प्रतिशतसम्म पुग्ने अडकलबाजी भइरहेकाे छ । ‘कर्जाकाे माग बढेकाे छ । सरकारले हस्तक्षेप गरेन भने निक्षेपकाे व्याज १४/१५ प्रतिशतसम्म पुग्न सक्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । सोमबारसम्म बैंकहरुले निक्षेपकर्तालाई बचतमा ७ प्रतिशत र मुद्दतिमा १० प्रतिशत मात्र व्याज दिने गरेका थिए । तीन दिनमा बैंकहरुले निक्षेपको व्याज ३० प्रतिशतले वृद्धि गरेका छन् । बैंकहरुको व्याजदर वृद्धिको प्रत्यक्ष असर पुँजी बजारमा परेको छ । बुधबार बैंकहरुले १२.५ प्रतिशत व्याजमा ५ वर्षसम्मको निक्षेप लिने सूचना प्रकाशित गरेपछि सेयर बजार २२ अंकले घटेको छ । बैंकहरुले १३ प्रतिशत व्याज दिएपछि सेयर बजारमा थप गिरावट आउन सक्ने अनुमान गरिएको छ । थप समाचार पखाला लागेर बैंकहरु सिकिस्त भए, अर्थमन्त्री दाँतकाे कुरार्इमा बस्लान् वा उपचार पनि खोज्लान् ? निक्षेपमा अधिकतम १२ प्रतिशत व्याज दिने वित्त कम्पनी संघको निर्णय, वाणिज्य बैंकहरुको लागि चुनौति

विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु राख्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु समावेश गराउन आग्रह गरेको छ । बोर्डले आ.व.२०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८) अनुसार विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा उक्त विषयवस्तुहरु राख्न माग गरेको हो । बोर्डले धितोपत्र सम्बन्धी विषय वस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेका मानविकी तथा समाज शास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै अनामनगरको लोक सेवा आयोगलाई अनुरोध गरेको छ । उक्त नियम लागू गर्दा माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने छ । साथै, यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने छ । त्यस्तै, सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार हुने बोर्डले जनाएको छ । जसले गर्दा देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ । हालैका दिनहरुमा देशका ७७ जिल्ला र करिब ७०० स्थानीय निकाय अन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको छ । धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली संचालनमा आएपछि पूँजीबजार मार्फत विशेषतः वित्त शास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने देखिन्छ । बजारको विकास तथा विस्तारमा जोड दिँदै उक्त व्यवस्था लागू भएपछि नेपाल विकसितका साथै तथा देशको सुदृढ अर्थतन्त्र हुने छ । यस चालु आर्थिक वर्षदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको छ । यस सन्दर्भमा बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।

अर्थमन्त्री खतिवडाको राजिनामा माग्दै लगानीकर्ताहरू अनशन बस्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै सेयर लगानीकर्ताहरु अनशन बस्ने भएका छन् । सेयर बजार निरन्तर उच्च अंकले ओरालो लागेपछि सम्पत्तिको सुरक्षा गर्नको लागी भन्दै लगानीकर्ताहरु आगामी मंसिर २३ गते आइतबार अनशन बस्ने भएका छन् । लगानीकर्ताले वर्षौदेखि राख्दै आएका मागहरु पुरा गराउने सन्दर्भमा आलटाल भएकाले उक्त दिन अनशन बस्न लागेकाे सेयर लगानीकर्ता दबाब समूहले बताएकाे छ । उक्त समूहले बुधबार एक विज्ञप्ति मार्फत अर्थमन्त्री डा.खतिवडा पुँजी बजारको विरोधी भएको भन्दै उनको राजीनामाको मुख्य मागसहित रिले अनशन बस्ने निर्णय गरेको बताएको छ । उक्त समूह आगामी आइतबार बिहान १० बजेदेखि सिंहदरबार स्थित नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कार्यालयमा रिले अनशन बस्दै छ।

पर्यटन मन्त्रीको घोषणा: ४ महिनामा लगानी विरोधी ऐन हट्छ

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ४ महिनाभित्र नेपालको लगानी सम्बन्धी ऐन संसोधन हुने बनाएका छन् । नेपाल दक्षिण कोरियाली लगानी, पर्यटन तथा व्यापार सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै लगानी भित्र्याउन जहाँ–जहाँ ऐन बाधाहरु छन् ती बाधाहरु ४ महिनामा हटार्इ नेपालमा लगानी भित्र्याउने बताए । नेपालमा लगानी मैत्री कानून नभएका कारण विदेशी लगानी नआएकाले अब नेपालको लगानी विरोधी ऐन ४ महिनामा हट्ने अधिकारीले दाबी गरेका हुन् । अधिकारीले पर्यटन विकासको माध्यमबाट नेपालको समृद्धी हासिल गरिने कुरा बताए । नेपाल पर्यटनको लागि विश्वकै उत्कृष्ट मध्यको एक गन्तव्य भएकोले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई अपिल पनि गरे । हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउँदै आन्तरिक र बाह्य पर्यटन प्रवर्दन बिगतकोभन्दा राम्रो रहेको कुरा उल्लेख गरे । नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्यक कानूनहरु प्रयाप्त नभएको कुरा बताए । नेपाल-कोरियाबिचको व्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उनले यसलाई बढाउनुपर्ने धारणा व्यक्त गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे । यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनले बताए ।

अजोड इन्स्योरेन्स र चिरायु अस्पताल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स  र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युट बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ ।  नगद रहित उपचार सेवा उपयोग गर्न पाउन व्योहोरा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटले जनाएको छ । देशैभरीका प्रमुख हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रभु र एसबीआई बैंकको लगानीमा अप्पर नौगडगाढ जलविद्युत् सम्पन्न हुँदै, चैत १५ देखि उत्पादन शुरू

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरू गर्ने तयारी गरेको छ । अपि पावर कम्पनीले दार्चुला जिल्लामा जलविद्युत् उत्पादन गर्न लागेको यो दोस्रो परियोजना हो । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा जोडिने छ । सो सवस्टेशनको क्षमता १३२ केभी रहेको छ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ । अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मेगावाट क्षमताको सो आयोजनामा नेपाल एसविआई बैंक र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीको यी दुई आयोजनाबाट कूल १६.५ मे.वा उत्पादन गर्नेछ । यसअघि कम्पनीले ८ मेगावाट क्षमताको अर्को आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालन गरिरहेको छ । कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ । साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुनेछ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ठ योगदान गर्दै आएको कम्पनीको हिसाबले अपि पावर कम्पनी विशष्ठि र महत्वपूर्ण कम्पनीको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।  

७२ स्थानीय तहसँग पुननिर्माण सम्झौता, सबै काम तल पठाइने

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा-छुट्टै समझदारी गर्ने निर्णय गरेको हो । भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् । यसअघि, प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटा-छुट्टै समझदारी गरेको थियो । बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरुसँग समझदारी गर्नका लागि प्राधिकरणले मंसीर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरुमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ । समझदारीका लागि तयार पारिएको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका /गाउँपालिकाको हुने उल्लेख छ । यस्तै नगरपालिका/गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरु जस्तो गुम्बा, एकीकृत बस्ती,  स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका/गाउँपालिकामा निकाशा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने, नगरपालिका/गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख हुनेछ । समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्याहरु आइपरेमा प्राधिकरण तथा नगरपालिका/गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइने लगायतका ११ बुँदा छन् ।      

पशुपति क्षेत्रमा एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनमा

काठमाडौँ । बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा र मार्गशीर्ष कृष्ण औँसीका दिन थन्क्याउँदा सर्वसाधारणलाई दर्शन दिने गरिएको पशुपति क्षेत्र विकास कोषको भनाई रहेको छ । हजारौं भक्तजन पशुपतिमा एकमुखे रुद्राक्ष र नागमणि हेर्न उपस्थित भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले बताएका छन् ।औँसीका दिन शुक्रबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुनः प्रदर्शन गरिने भएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप दान गर्ने भक्तजनको भीड बढ्न थालेको छ । यसवर्ष भक्तजनका लागि त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ । रासस