राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा कर्जा लिन बोलायो, सीसीडीमा गणना नगर्न राष्ट्र बैंककाे छुट
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नेपाल सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका सात प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई बोलाएको छ । बैंकले त्यस्तो कर्जा लिनका लागि आफ्नो पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले ब्याज सहुलियत प्रदान गर्ने सरकारले बजेटमार्फत् भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा बिनाधितो ऋण दिने व्यवस्था गरेको थियो । बैंकले सोही शीर्षकअन्तर्गतका कर्जाहरु उपलब्ध गराउने बताएको छ । आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै ब्याज अनुदानसहितको कर्जासम्बन्धी कार्यविधि तयार गरेको थियो । कार्यविधिमार्फत् मन्त्रालयले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेके थियो । मन्त्रालयको कार्यविधिअन्तर्गत कर्जा दिन बैंकहरु उदासिन देखिएपछि एक महिनाअघि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गरी त्यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनको भोलिपल्टै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघले समेत आफुअन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरुमा त्यस्तो कर्जा लिन जान सर्वसाधारणलाई अनुरोध गरेको थियो । यद्यपि बैंक तथा वित्तीय संस्थाले विभिन्न बहानामा उक्त कर्जा उपलब्ध गराउन ढिलाई गर्दै आएका थियो । ऋणको रकम सीसीडीमा गणना गर्न नपर्ने उता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु सर्वसाधारणलाई प्रदान गरेको ब्याज सहुलियतको कर्जालाई कर्जा निक्षेप अनुपातमा गणना गर्न नपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । योसँगै सीसीडी अनुपात सीमान्त अवस्थामा पुगेका बैंकहरुलाई पनि त्यस्तो कर्जा उपलब्ध गराउने छुट हुनेछ ।
अर्थमन्त्री र गभर्नरद्वारा व्याजदर बढाउने बैकर्सकाे अालाेचना, बैंकर्स संघ पनि अालाेचित
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा र गभर्नर डा चिरञ्जीवि नेपालले व्याजदर निर्धारणको क्रममा गलत अभ्यास भईरहेको भन्दै बैंकर्सहरुले कडा आलोचना गरेका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको ३२ साधारणसभामालाई सम्बोधन गर्दै उनीहरुले बैंकर्सहरुको आलोचनासहित सुधारको लागि केहि सुझाव दिए । अर्थमन्त्री खतिवडाले व्याजदर निर्धारण नगर्न बैंकर्स संघलाई सुझाव दिए । ‘बैंकर्स संघले कहिले निक्षेपको, कहिले कर्जाको व्याज तोक्ने गरेको सुनिन्छ । कहिले सहमति भयो भन्ने सुनिन्छ कहिले बन्दन टुट्यो रे भयो भन्ने समाचार आउँछ । संघले यस्तो काम नगरोस्, यो राम्रो काम होइन’ अर्थमन्त्री खतिवडाले भने–‘प्रतिस्पर्धा कानुन पनि छ हाम्रो मुलुकमा । मूल्य कार्टेलिङ हुँदा प्रचलित कानुन र प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौति दिए जस्तो हुन्छ ।’ उनले बैकर्सहरुलाई छाडा नहुन पनि आग्रह गरे । ‘जीऊमा कपडा कोचेर अग्लो पनि होइदैन, मोटो पनि होइदैन । प्राकृतिक ग्रोथ पनि चाहिन्छ’ मन्त्रीले खतिवडाले भने–‘अस्वभाविक रुपमा ठूलो हुने कोसिस बैंकिङ क्षेत्रका साथीहरुले नगरिदिए हुन्थ्यो ।’ बैकिङ क्षेत्रको प्राकृतिक ग्रोथलाई सरकारले सहयोग गर्ने उनले बताए । अर्थतन्त्रको जुन क्षेत्रमा पोषण पुगेको छैन, कुपोषण भएको छ, त्यस क्षेत्रमा लगानी बढाउने उनले बैकर्सहरुलाई निर्देशन दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल पनि निक्षेपको व्याज अस्वभाविक रुपमा वृद्धि नगर्न बैंकर्सहरुलाई सुझाव दिए । ‘व्याजदरमा प्रतिस्पर्धा गरेर तपाईहरुले गलत गरिरहनु भएको छ । राष्ट्र बैंकलाई जिस्क्याएको हो कि ?’ आक्रामक शैलीमा भने–‘जसले बढी व्याज दिएर निक्षेप लिएको छ, उसले बैंकलाई जोखिममा चलाएको हुन्छ । उसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको मानिन्छ ।’ राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन लगेको उनले बताए । ‘तपाईहरुले आश्चर्य नमाने हुन्छ, राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन्छ’ गभर्नरले भने–म यो भन्दा बढी बोल्दिन । सीओसासावहरुले कुरा बुझिहाल्नुहुन्छ ।’ मनोवल नगिरेको दावी लगानीकर्ताको मनोबल गिरेको रिपोर्टहरु सार्वजनिक भईरहेको बेला अर्थमन्त्रीले त्यसको प्रतिवाद गरेका छन् । ‘मुलुकले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न लागेको छ । यस वर्ष कृषि क्षेत्रको उत्पादन ५ प्रतिशत हुँदैछ । औद्योगिक क्षेत्रको उत्पादन १० प्रतिशतले वृद्धि हुँदैछ । सेवा क्षेत्रको उत्पादन त्यसको वरिपरि छ । बैकिङ क्षेत्रको नाफा गतवर्ष भन्दा यस वर्ष बढी हुँदैछ । विदेशी पर्यटकले होटलहरु भरिभराउ भएका छन् । यस वर्ष १० लाख भन्दा बढी पर्यटक आउँदैछन् । दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक ल्याउने योजना छ’ उनले भने–‘यस्तो बेलामा लगानीकर्ताको मनोवल कसरी घट्न सक्छ ? किन तल लैजाने हामीले’ अर्थतन्त्रमा दुई वटा मात्र समस्या रहेको बताए । ‘बैदेशिक व्यापार घाटा बढेको छ । हामीले उपभोग्य बस्तुको आयात नियन्त्रण गर्न जरुरी छ । यो एउटा समस्या भयो । अर्को हाम्रो बचत क्षमता कम छ, लगानी बढाउने सरकारी नीति नै हो । बचत भन्दा लगानी बढी हुँदा बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमी भएको छ । त्यसलाई पूर्ति गर्न विदेशबाट पुँजी ल्याउने प्रयास भईरहेको छ’ उनले भने ।
नेपाल इन्स्योरेन्स कम्पनीले चितवन टाइगर्सका खेलाडीको बीमा गर्ने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोयजन स्वरुप गर्ने समझदारी भएको छ । यस सम्बन्धि सम्झौतामा नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको प्रतिनिधिबीच भएको हो । आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणको लागि बीमा पनि हुने उनले बताए । चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।
बैंकहरुको ब्याजदर बढेपछि उद्योग वाणिज्य महासंघको आपत्ति
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै बैंकहरुले मुद्दति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेपछि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । एफएनसीसीआईले बिहीबार विज्ञप्ती जारी गर्दै यसरी बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसाय धरासायी बन्ने र यसले सरकारले तोकेको आड प्रतिशत आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी वृद्धि गर्ने लक्ष्य पूरा गर्न सम्भव नहुने दाबी समेत गरेको छ । महासंघले यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई गम्भीर हुन आग्रह गरेको छ ।
एनएमबि बैंकको सहकार्यमा एफएनसीएसआईले वित्तीय साक्षरता कार्यक्रम गर्ने, महिलासहित ४५ हजार उद्यमी सहभागी
काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग(एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ । बिहीबार एनएमबि बैंक र एफएनसीएसआई संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरुमाझ संचालन गर्नेछ । जसमध्ये ९ हजार सदस्यहरु महिला उद्यमी रहेका छन् । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वाश छ । आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सिटिजन्स बैंकद्धारा गैर सरकारी संस्था ‘प्रारम्भ’ले पायाे एक लाखकाे आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रारम्भ नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रुपैयाँको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमबाट संस्थाले काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ ।
वित्त र पुँजी बजारको अध्ययन गर्न उच्चस्तरीय समिति, एक हप्तामा समस्या पत्ता लगाइने
काठमाडौं । अर्थमन्त्रालयले वित्तिय क्षेत्र र पुँजी बजारमा देखिएको अस्थिरताको अध्ययन गर्न समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर अस्थिरता र पुँजी बजारको उतार चढावको अध्ययन गर्नेछ । डेपुटी गभर्नर श्रेष्ठ नेतृत्वको समितिमा वित्तीय क्षेत्र व्यवस्थापनका सहसचिव, धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताकाे प्रतिनिधित्व रहनेछ । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्र र पुँजी बजारमा देखिएको समस्याको अध्ययन गरेर समाधानका उपाय समेत सुझाउनेछ । सरकारले स्थानीय तहको बैंक खातामा रहेको रकमको ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेपका रुपमा उपयोग गर्न दिएको थियो । त्यसले तत्कालै ३२ अर्ब लगानीयोग्य पुँजी उपलब्ध गराएको थियो । तर सोही दिन बैंकर्स संघले ब्याजदरमा यस अघि कायम गरिएको सिमा सम्बन्धी भद्र सहमति हटाएसँगै बैंकहरुले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । त्यसँगै पुँजी बजारका लगानीकर्ता पनि त्रसित बनेका छन् ।
सान्जेन जलविद्युतको बिक्री प्रबन्धकमा सनराईज र एनएमबि क्यापिटल नियुक्त, ९१ लाख २५ हजार कित्ता सेयर जारी गर्दै
काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्दै छ । सान्जेनले दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि ३६ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।