१ महिना देखी फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता
हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए। नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरेका छन्। यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ । त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए। रासस
स्वास्थ्य बीमा बोर्डमा रमेश पोखरेल
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले अन्तिम सूचिमा सिफारिस गरेका ३ जनामध्येबाट मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको हो । पोखरेलले केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशककाे जिम्मेवारीबाट अवकास प्राप्त गरेका थिए । उनले स्वास्थ्य बीमा बोर्डको कामलाई थप प्रभावकारी बनाउँदै लैजाने, स्वास्थ्य बीमा प्रति नागरिकमा विश्वा अभिवृद्धि गराउने प्रतिवद्धता व्यक्त गरे । ‘केहि दिनपछि आधिकारीक पत्र लिएर कार्यभार सम्हाल्छु, स्वास्थ्य बीमाको दायरा विस्तार र विश्वसनियता अभिवृद्धिका लागि म आफुलाई समर्पित गराउनेछु’, नवनियुक्त कार्यकारी निर्देशक पोखरेलले विकासन्युजसँग भने ।
जनता बैंक नेपाल र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले बताएका छन् ।
केही दिनदेखि निरन्तर तापक्रम घट्दै, अझै चिसो बढ्ने
काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए। सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ । मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ । रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। रासस
न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने- गोकर्ण विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् । युएनआई-एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने बताए । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उनले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सेवा क्षेत्रका श्रमिकलाई सङ्गठित गर्दै उनीहरुको हकअधिकारलाई प्रत्याभूति गराउन मजदूर सङ्गठन क्रियाशील हुनुपर्ने बताए। विश्वव्यापी रुपमा सामाजिक प्रजातन्त्रका बारेमा अभियान चलाउँदै आएको संस्था एफइएस नेपालका निर्देशक अनेत्ते सिल्चितले सेवा क्षेत्रमा असङ्गठित रुपमा रहेका थुप्रै श्रमिकलाई सङ्गठित गर्दै एकताबद्ध बनाउनुपर्ने बताए । नेदरल्याण्ड ट्रेड युनियन महासङ्घका क्षेत्रीय संयोजक प्रभू राजेन्द्रले नेपालका श्रमिकलाई लक्षित गरेर नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रम लागू हुुन निकै खुशीको विषय भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । नवीनतम् प्रविधिका बारेमा पनि श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले सबै क्षेत्रका श्रमिकबीच ऐक्यबद्धताको खाँचो औँल्याए । काउन्सिलका उपाध्यक्ष महेन्द्र श्रेष्ठले विकसित प्रविधिले श्रमिकको रोजीरोटी गुम्न सक्नेतर्फ सचेत हुँदै श्रमिकले पनि आफूलाई अद्यावधिक बनाउनुपर्ने बताए । सम्मेलनमा विभिन्न सेवा क्षेत्रमा काम गर्ने ट्रेड युनियनमा आबद्ध २०० भन्दा प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । रासस
पशु तथा कृषि बाली बीमासम्बन्धी सिरहामा प्रशिक्षण
लहान। सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ । पशु तथा कृषि बीमाको आवश्यकता, महत्व र कृषिबालीमा लाग्ने रोग कीराको बारेमा जानकारी गराउने उद्देश्यले किसानलाई प्रशिक्षण दिइएको हो । कृषि विकास शाखा सिरहाको आयोजनामा लहानमा सञ्चालन गरिएको तीन दिने सो तालीममा २५ अगुवा किसानको सहभागी थियो । सिरहामा पशु तथा कृषि बालीको बीमा गर्दै आएका लुम्बिनी जेनेरल इन्सुरेन्स कम्पनी लहान शाखा प्रमुख अनिल यादवले बीमाको आवश्यकता, बीमाबाट हुने फाइदा बेफाइदालगायत विषय वस्तुको बारेमा प्रशिक्षण दिएको थियो। । जिल्लामा पशुको बीमा भइरहे पनि कृषि बालीको नभएकाले किसानलाई यसबारे प्रशिक्षण आवश्यक भएको यादवले बताए। कृषि विकास शाखा संयोजक प्रदीप चौधरीले कृषकलाई कृषि तथा बाली बीमासम्बन्धी आधारभूत ज्ञान, बीमा गराउने प्रक्रिया, बीमा दाबी गर्न चाहिने कागजात, बीमा गर्दा लाग्ने शुल्क तथा रकम फिर्ता हुने नहुनेबारे जानकारी गराउन तालीम सञ्चालन गरिएको बताए। कृषकलाई समयमा बीउ, मल, अनुदानमा उपलब्ध गराउन नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै तालीममा सहभागी किसानले कृषि उपजको उचित मूल्यसहित बजार व्यवस्थापन गर्नुपर्ने बताएका थिए। सो अवसरमा लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले साना महिला किसानलाई सामूहिक खेती गराई जीविकोपार्जनमा सहयोग हुने गरी कार्यक्रम सञ्चालन गर्ने बताए। लहानको खुट्टीखोलालाई कृषकको आवश्यकताअनुसार पानी भण्डारण गरी सहज तरिकाले खेतीसम्म पु¥याउने, कृषक समूह विस्तार गर्ने, निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीको विस्तार, सामूहिक र करार खेती गर्ने कृषक समूहलाई नगरपालिकाको सम्बन्धित वडाबाट अनुदानको व्यवस्था मिलाउने उपप्रमुख चौधरीले उल्लेख गरेका छन्। रासस
काम र नाम छ, दाम छैन : महिला स्वास्थ्य स्वयंसेविका
कञ्चनपुर। निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् । बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आए पनि बाँच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन् । बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कने कञ्चनपुर शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भने, “साँझ पर्दा रित्तो हात घर फर्कंन्छौँ । हाम्रो पनि परिवार छ । खान लाउन पर्छ, त्यसका लागि सरकाले व्यवस्था गरिदिनु पर्छ ।” स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उहाँको गुनासो छ । “महिला स्वयंसेविकाका लागि पैसा छुट्याउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्,” उनले भने, “प्रोत्साहनका लागिसमेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ ।” “परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घरदैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” स्वयंसेविका राजु रानाले भने, “जनसङ्ख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन ।” “स्वास्थ्य प्रवद्र्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाइ र वातावरण सरसफाइबारे जनचेतना फैलाउने वचन दिएका छौँ,” अर्की स्वयंसेविका लक्ष्मी भट्ट भन्छे। । उनले दिनरात खटिएर कामा गरेको र, अझै कार्य क्षेत्रमा खटिन तत्पर रहेको बताए। “सामाजिक कार्यमा लागेपछि बूढेसकालमा बाँच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनुपर्छ, महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन,” भट्टले भनिन्। सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन अहम् भूमिका खेलेको बताए। “महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बिरामी पर्दा अस्पताल जान सिक्यौँ,” उनले भने,“उनिहरुको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउन लागेको छ ।” समृद्धि ल्याउनका लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाइने उनले बताए। उनले भने, “स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जन गर्नुभएको छ त्यसकै आधारमा जीवनस्तर माथि उठाउने कार्यक्रममा सघाउ पु¥याउनोस्, सबैसँग बसेर योजना बनाई त्यसकै आधारमा अगाडि बढ्ने प्रयत्न प्रदेश सरकारले गर्नेछ ।”
एलजीले शुरु गर्यो जाडोको नयाँ संस्करण, विभिन्न मोडलका वासिङ् मेसिनहरु बजारमा
काठमाडौं । एलजीले यस वर्ष मदरली वासिङ् क्याम्पियनको यसपालीको जाडोको नयाँ संस्करण शुरु गरेको छ । ६ मोसन टेक्नोलोजियुक्त एलजी वासिङ् मेसिनको साथ विशेष फिचरहरु जस्तै स्मार्टथिनक्यिू, टुर्बो वास इन लेस द्यान वान हावर रहेको छ । त्यस्तै, कम्पनीले डाइरेक्ट डाइरेक्ट ड्राइभ मोटोरमा १० वर्ष वारेन्टीका साथै अन्य मोडलहरु बजारमा ल्याएको छ ।