विकासन्युज

एनएमबि माइक्रोफाइनान्सको निमित्त सीईओमा रामप्रसाद मिश्र

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको निमित्त प्रमुअ कार्यकारी अधिकृत(सीईओ)मा रामप्रसाद मिश्र नियुक्त भएका छन् । हालै बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको सहायक महाप्रबन्धक मिश्रलाई माइक्रोफाइनान्सको निमित्त सीईओमा नियुक्त गरेको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिइको हो । गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।

धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

धनगढी। नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ मा खरीद गर्न शुरु गरेपछि धान खरीदको कारोवार गर्ने व्यापारीले धान खरीद मूल्य बढाएर प्रतिक्विन्टल रु दुई हजार ४०० पु¥याएको स्थानीय किसानले बताएका छन् । संस्थानले धान खरीद गर्नुअघि व्यापारीले प्रतिक्विन्टल रु दुई हजार २०० देखि दुई हजार २५० मा धान खरीद गर्दै आएका थिए । संस्थानको सेती अञ्चल कार्यालय धनगढीले कैलाली जिल्लाको टीकापुर, सत्ती, भजनी, जोशीपुर, मुनुवा र मोहनपुरमा काँटा सञ्चालन गरी नयाँ धान खरीद शुरु गरेको हो । संस्थानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न थालेको हो । संस्थानले तोकिएको मूल्यमा धान खरीदको व्यवस्था गर्दा मूल्य नियन्त्रण हुनाका साथै व्यापारीको धान खरीद मूल्यमा देखिने एकाधिकार हटेको किसान रामदिन रानाथारूले बताए। “संस्थानले मूल्य तोकेर धान खरीदको व्यवस्था मिलाउँदा किसानले धानको उचित मूल्य पाउन थालेका छन्”, उनले भने, “संस्थानले मूल्य समयमै नतोक्ने गर्दा किसानले आफ्नो धान बेच्ने समयमा व्यापारीले गर्ने मोलमोलाइको मारमा पर्ने गर्दछन् ।” सरकारले प्रतिक्विन्टल मोटो धान रु दुई हजार ३३१ र मध्यम धानको रु दुई हजार ४६० न्यूनतम समर्थन मूल्य तोकेको छ । कैलालीमा मध्यम र मसिनो धानको कारोवार नगण्यरूपमा मात्र हुने गरेको छ । घरायसी प्रयोजनका लागि मात्र किसानले मसिनो धान खेती गर्ने गरेका छन् । संस्थानले यस वर्ष ५० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेको छ । गएको वर्ष संस्थानले करीब ४५ हजार क्विन्टल धान खरीद गरेको थियो । यस क्षेत्रको पहाडी जिल्लामा ५० हजार क्विन्टल बराबरको चामल खपत हुने गरेकामा संस्थानले सोही परिमाणमा धान खरीदको लक्ष्य राखेको संस्थानका जिन्सी फाँटका अधिकृत धर्मराज पन्तले बताए। कैलाली जिल्लाका किसानको मुख्य आम्दानी स्रोत धान बाली रहेको छ । घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन् । कैलाली जिल्लामा ७२ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा बर्खे धान बालीको खेती गर्ने गरिएकामा प्रतिहेक्टरमा तीन टन धान उत्पादन हुने गरेको छ । रासस

जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुने ‘अर्गेली’ को माग बढ्दाे , निर्यात कमी

काठमाडौं । उच्च माग रहेको अर्गेलीको माग बमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको उच्च माग भएसँगै व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । पाँचथरको फालेलुङमा उत्पादन हुने उक्त जडीबुटी प्रशोधन सहकारी संस्थाको अगुवाइमा जापान निर्यात हुदैँ आएको छ । गत वर्ष १३ टन अर्गेली जापान निर्यात गर्दा रु ५९ लाख १५ हजार आम्दानी पाँचथरकावासी प्राप्त गरेका थिए । चार वर्षपछि लोक्ता निकाल्न मिल्ने उक्त जडीबुटी चिसो मौसम र हावापानीमा पाइने छ । जापानको अनुसार अर्गेली उत्पादनका लागि संस्थागत रुपमा उक्त सहकारीले प्रयत्न गर्दै आएको छ । माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानी  परुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ । प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले दिदैँ यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य बताएका छन् । उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिम लगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात मात्र निर्यात हुने गरेको जानकारी दिएका छन् । जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ । पाँचथरबाट गत आर्थिक वर्ष २०७४।०७५ मा एक लाख दुई हजार ७८२ किलो अर्गेलीको कच्चा पदार्थ निर्यात भएको डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्कमा उल्लेख रहेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २९ हजार ५०० किलो अर्गेली निर्यात भएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताएका छन् । जिल्लाको ६८ दशमलव ७७ हेक्टर जमीनमा अर्गेली रोपण गरिएको तथ्याङ्क छ । यद्यपि बढ्दो खेती विस्तारको क्रमले तथ्याङ्क भन्दा बढी क्षेत्रफलमा अर्गेली लगाइएको कृषकको भनाइ छ । जिल्लाका सामुदायिक र कबुलियती वनमा समेत अर्गेली लगाउने प्रचलन बढ्दै गएको छ । रासस

लाभांश घोषणापछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य घट्यो, किन्नेको भन्दा बेच्नेको चाप

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.२९ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । डेभलपमेन्ट बैंकले लाभांश घोषणा पछि संस्थाको सेयर मूल्य घटेको छ । बुधबार प्रतिकित्ता १७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार घटेर प्रतिकित्ता १७३ रुपैयाँ सम्म पुगेको छ । संस्थाको प्रस्तावित लाभांशप्रति लगानीकर्ताहरु निराश देखिएको सेयर मूल्य घट्नुको संकेत हो । बिहीबारको कारोबारमा संस्थाको सेयर किन्नेको भन्दा बेच्नेको चाप देखिएको छ । सो दिन करिब २ बजेसम्मको अवधिमा संस्थाको १४१६ कित्ता बिक्रीमा देखिएको छ तर किन्ने भने कोही छैनन् । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । डेभलपमेन्ट बैंकको नवौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि बैंकले पुस १२ गते संस्थाको बुक क्लोज गर्दै छ । हाल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ५० करोड ५९ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५३ करोड रुपैयाँ नाघ्ने छ ।

ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । बैंकले ८२ वटा शाखा कार्यालय एटिएम तथा २२ वटा मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्ब भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैंकले आफ््ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ उक्त सुविधाको लाभ लिन सक्ने छन् ।

चोलेन्द्रशम्शेर नयाँ प्रधानन्यायाधीशमा सिफारिस, ‘कैफियत’ भएको भन्दै जोशी आउट

काठमाडौं । न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका लागि पहिलो नम्बरमा सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीका बारेमा कैफियत भेटिएपछि संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रशम्शेर राणालाई सिफारिस गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले राणालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । सिफारिस भएका राणाको संसदीय सुनुवाईपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्नेछिन् । सर्वोच्च अदालतमा प्रधानन्यायधीश हुन कम्तीमा २ वर्ष न्यायाधीश हुनैपर्ने व्यवस्था भएकोमा २ जनाको मात्र उक्त योग्यता पुगेकाले २ जनाको नाम मात्र सिफारिस गरिएको थियो । यसअघि न्याय परिषद्ले ३ जनाको नाम पठाउने गथ्र्यो । न्यायपरिषद्ले गरेको सिफारिसमा पहिलो नम्बरमा रहेका दीपकराज जोशीका सम्बन्धमा यसअघि संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको कैफियत लेखिएको थियो ।

कर्णाली प्रदेशकाे सुर्खेतमा निजि बाह्र करोड लगानीमा दुग्ध उद्योग निर्माण शुरु

काठमाडौं । कर्णाली प्रदेशमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । राजधानी सुर्खेतमा निर्माणाधिन उक्त उद्योग काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रहेको छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल बजारको माग झण्डै सात हजार लिटर रहेको धितालकाे भनाई रहेको छ । हाल दुई हजार लिटर अझै अपुग भएको जानकारी दिदैं हाल काठमाडौंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताएका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले बताएका छन् । गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण शुरु गरिएको उक्त उक्त तीन महीनाभित्रै निर्माण पूरा गरेर संचालन गर्ने भएका छन् । आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पुर्याउने लक्ष्य राखेको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाएका छन् । रासस

पहिल्यै एक नम्बर, जहिल्यै एक नम्बरको दौडमा आईएमई-पे

सुमन पाेखरेल, प्रमुख कार्यकारी अधिकृत, अार्इएमर्इ  नरेन्द्र मोदीले ‘डिजिटल भारत कार्यक्रम’को सुरु गर्नुअघि भनेका थिए-‘विश्वले ३ चरणको सभ्यताको अभ्यास गर्छ, नदीमा आधारित सभ्यता, सडकमा आधारित सभ्यता र सूचना प्रविधिमा आधारित सभ्यता, हामी अहिले तेस्रो चरणको सभ्यताको अभ्यासमा छौं ।’ भारत र चीन विकासशील राष्ट्रबाट विकसित राष्ट्रको चरणमा छन्, त्यो विकसित राष्ट्र भनेको पर्यावरणीय संरक्षणसहितको दिगो विकासलाई समेट्ने मोडेल हो । उदीयमान यी दुई राष्ट्रको बीचमा रहेको नेपाल पनि पक्कै त्यसबाट प्रभावित र लाभान्वित दुवै हुन्छ, हुनुपर्छ । भारत र चीनको सामरिक प्रभावसँगै नेपालले पनि डिजिटल प्रविधिलाई अघि बढाएको छ । मुख्य शहरहरुलाई फोरजी इन्टरनेट सेवाले जोडेको छ, देशका अधिकांश भागमा दोस्रो पुस्ताको इन्टरनेट सेवाको उपलब्धता छ । अप्टिकल फाइबरमार्फत् ग्रामीण भेगसम्म सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने अभियान चलिरहेको छ । वायरमा आधारित केवल इन्टरनेट सेवालाई फाइबरमा आधारित बनाइएको छ । एनालग टेलिभिजन सेवा अहिले डिजिटल सेवामा परिणत भएको छ । तर, इन्टरनेट एउटा प्लेटफर्म मात्र हो, यही प्लेटफर्ममा रहेर दैनिक जनजीवनलाई सहज बनाउने अवस्था जब आउँछ, त्यही दिन पूरा हुन्छ डिजिटल नेपालको सपना । आईएमई–पे नेपालको डिजिटल पेमेन्टका लागि पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) को अनुमति पाएका ४ मध्ये एक र पहिलो कम्पनी हो । करिब २ वर्षअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको नामबाट इ-पेमेन्ट सेवा सञ्चालन गर्ने लाइसेन्स पाएसँगै आईएमई-पेले बजार तथा सेवाको अध्ययन गर्न थालेको हो । आईएमई-पेका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्- ‘विश्वले नै डिजिटल प्रविधिलाई अंगिकार गरिसकेको र नेपालमा पनि मोबाइल र इन्टरनेट सेवाको पेनिट्रेशन बढ्दै गएको अवस्थामा यो नै उपयुक्त समय हो भनेर हामीले सेवा सुरु गर्ने निर्णय गरेका हौं ।’ आईएमईका ८०० मर्चेन्ट, १५ हजार एजेन्ट र लाखौं प्रयोगकर्ता आईएमई–पेसँग अहिले तीन किसिमका ग्राहक छन्, मर्चेन्ट, एजेन्ट र क्लाइन्ट । मर्चेन्टले कुनै वस्तु तथा सेवा उत्पादन गर्ने फर्म वा कम्पनीलाई जनाउँछ । नेपाल टेलिकम, विद्युत् प्राधिकरण, नेपाल आयल निगम, डिसहोम, सिम टिभी लगायतका विभिन्न टेलिभिजन सेवा प्रदायक, चन्द्रागिरि केबलकार, विभिन्न एयरलाइन्स कम्पनी तथा चलचित्रका हलहरुलाई मर्चेन्टको रुपमा परिभाषित गरिएको छ । यस्ता मर्चेन्टहरुको संख्या ८०० भन्दा माथि पुगेको सीईओ पोखरेलको भनाई छ । त्यस्तै, आईएमई-पेले देशभरमा कुल १५००० भन्दा बढी एजेन्टहरु बनाइसकेको छ । हाल भएका आईएमईका एजेन्हरुमार्फत् नै प्रयोगकर्ताहरुको संख्या वृद्धि गरिँदै लगिएको छ । पोखरेल भन्छन्,–‘प्रयोगकर्ताको संख्या यति नै भयो भन्ने थाहा छैन, तर डाउनलोड दिनदिनै बढिरहेको छ ।’ बैंकको पैसा सीधै आईएमई-पेमा आईएमई-पेले हालसम्म ६ ओटा बैंकहरुसँग इपेमेन्ट सम्झौता गरिसकेको छ । जसअन्तर्गत सम्झौता गरिएका बैंकहरुका ग्राहकले आईएमई-पेको एकाउन्टलाई आफ्नो खातासँग लिङ्क गरेपछि चाहेअनुसारको पैसा खाताबाट सीधै आईएमई-पे एकाउन्टमा ट्रान्सफर गर्न वा आईएमई-पेबाट बैंकमा रकम ट्रान्सफर गर्नसक्ने सुविधा प्राप्त गर्छन् । यसरी सम्झौता गरिएका बैंकहरुमा ग्लोबल आईएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, बैंक अफ काठमाडौं र सिभिल बैंक छन् । बाँकी बैंकहरुसँग पनि सम्झौता गर्दै जाने लक्ष्य लिइएको छ । आईएमई-पेका ग्राहकहरुले एकआपसमा रकम ट्रान्सफर गर्नसक्ने र त्यसका लागि कुनै पनि पैसा नलाग्ने प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन् । ‘हामीले कसैलाई आईएमई-पे डाउनलोड गर्नुस् भनेर मिडियामार्फत् अहिलेसम्म विज्ञापन गरेका छैनौं, तर एजेन्टमार्फत् नै ठूलो संख्यामा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।’ उनको भनाई छ । एजेन्टलार्इ कमिसन र प्रयोगकर्तालार्इ ‘पेब्याक’ आईएमईले आफ्नो सेवा विस्तार गर्न रकम ट्रान्सफर गरिदिने र आईएमई-पेमार्फत् वस्तु तथा सेवाहरु खरिदबिक्री गर्ने प्रयोगकर्तालाई निश्चित प्रतिशत ‘पेब्याक’को समेत व्यवस्था गरेको छ । प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट सेवाको बिल भुक्तानी गर्दा २ प्रतिशतसम्म रकम फिर्ता पाउनेछन् भने बिजुलीको बिल भुक्तानी गर्दा, एयरलाइन्स, केबलकार, रेष्टुरेन्ट तथा पसलहरुमा सामान किन्दा समेत निश्चित प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था गरेको हो । इन्टरनेट नभए पनि कारोबार आईएमई–पेले इन्टरनेट नभएका स्थानमा पनि मोबाइल एलर्टमार्फत् रकम ट्रान्सफर सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ । हाल नेपाल टेलिकममा रिचार्ज गर्नको लागि प्रयोगकर्ताले अफलाइन सुविधा प्राप्त गर्नेछन् भने एजेन्टका हकमा सबै सेवामा यस्तो सुविधा रहेको स्ईिओ पोखरेलको भनाई छ । विस्तारै सबै सेवा अफलाइनमा समेत गर्न सकिने व्यवस्था मिलाउँदै जाने उनले बताए । युएसएसडी प्रविधि अपनाए इन्टरनेट सेवा चाहिँदैन, विस्तारै हामी सबै सेवामा त्यो प्रविधिमा जान्छौं, पोखरेलले भने । आईएमई–पे नै किन छान्ने ? आईएमई–पेले आफ्नो समूहको ब्राण्डलाई नै ग्राहकले आफूप्रति विश्वास गर्ने पहिलो आधार बनाएको छ । ‘आईएमई समूहलाई धेरैले विश्वास गर्छन्, यसले वर्षौदेखि दिँदै आएको गुणस्तरीय सेवाका कारण हाम्रो नयाँ प्रोडक्टलाई समेत आम प्रयोगकर्ताले सहजै स्वीकार गर्न सक्छन्, त्यसलाई नै आफ्नो स्ट्रेन्थको प्रमुख आधार बनाएका छौं ।’ सीईओ पोखरेलले भने ‘इपेमेन्ट सेवा प्रदायकले बारम्बार ठगिएको समाचार आइरहँदा आईएमई–पे प्रति जनताले बढी विश्वास गर्न सक्छन् । तर हामीले दिने सेवाको गुणस्तरीयतामा कुनै कमी हुन दिएका छैनौं । संसारका जुनकुनै देशमा प्रयोग हुने पीएसपी सेवासँग प्रतिस्पर्धा गर्नसक्ने प्रविधि र प्रणालीको सुनिश्चितता हामीले गरेका छौं ।’ कसरी सहभागी हुने ? आईएमई–पेमा सहभागी हुन एउटा क्लाइन्टले केही गर्नुु पर्दैन, मोबाइलको प्लेस्टोरमा गएर आईएमई–पे टाइप गर्ने बित्तिकै त्यहाँ एजेन्ट र युजरको लागि छुट्टाछुट्टै एप आउँछ । कुनै पनि व्यक्तिले आफूले चाहेको एप डाउनलोड गर्न सक्नेछन् । तर एजेन्टको लागि भने आईएमई–पेको आधिकारिक डिलरमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि आईएमईका सम्बन्धित कार्यालयले त्यस्तो डिलरको काम गर्दै आएको सीईओ पोखरेलले जानकारी दिए । युजरका लागि भने एप डाउनलोड गरी आफ्नो मोबाइल नम्बर भेरिफिकेसन गरेपछि कुनै पनि एजेन्टमार्फत् रकम जम्मा गर्न वा सम्बन्धित बैंक खातासँग आईएमई–पे एकाउन्ट लिंक गरी सीधै चाहेको रकम ट्रान्सफर गर्न र इपेमेन्टमार्फत् वस्तु तथा सेवाहरु खरिद गर्न सकिन्छ । दैनिक ५००० भन्दा बढी पेमेन्ट गर्न वा एकपटकमा १००० रुपैंया भन्दा बढी पेमेन्ट गर्न भने नेपाल राष्ट्र बैंकको नियमानुसार ग्राहकले आफ्नो केवाईसी भर्नुपर्ने हुन्छ । त्यस्तो केवाईसी पनि अनलाइनमार्फत् भर्न सकिने आईएमई–पेले जनाएको छ । आईएमई–पेका चुनौती आईएमई ग्रुपले जुन क्षेत्रमा लगानी गरेको छ, त्यो क्षेत्रमा अब्बल ठहरिएको छ । अझ आईएमई त देशमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा स्थापित छ । अहिले पनि कुल वैदेशिक रेमिट्यान्सको २५ प्रतिशत हिस्सा आफ्नो रहेको दाबी आईएमईको छ । नेपाल राष्ट्र बैंकबाट आईएमई डिजिटल सोलुसनको नामबाट लाइसेन्स लिए पनि यसको व्यवस्थापन र बजारीकरण आईएमईमार्फत् नै हुँदै आएको छ । त्यसैले पनि यसलाई देशकै एक नम्बरको पीएसपी सेवा प्रदायक बन्ने चुनौती छ । त्यसका लागि प्राविधिक र व्यवस्थापकीय दृष्टिकोणले आफूलाई निकै दरिलो रुपमा प्रस्तुत गरिसकेको दाबी गरिए पनि सोचेअनुसार बजारहिस्सा कायम गर्ने चुनौती आईएमई–पेलाई छ । त्यतिमात्र होइन, सीईओ पोखरेलले दाबी गरेजस्तै देशभर मोबाइल र इन्टरनेट सेवाको पेनिट्रेसन बढ्दै गए पनि मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताले यसलाई एउटा मनोरञ्जनको माध्यम मात्र बनाइरहेको परिप्रेक्ष्यमा दैनिक जीवन व्यवहारसँग जोड्ने गरेको कमै मात्र पाइएको छ । यस्तो अवस्थामा इपेमेन्टको लागि ग्राहकलाई अभ्यस्त बनाउनु अर्को चुनौती छ, नत्र डाउनलोडको दर जति नै बढे पनि क्यास पेमेन्टको वर्तमान प्रवृत्ति घट्ने छैन । त्यस्तै, नेपाल राष्ट्र बैंकका अधिकारीहरुले समेत विश्वास गर्न नसकेर संकुचित कारोबार सीमा निर्धारण गरेको अवस्थामा जनजनमा यसको विश्वसनीयताप्रति कन्भिन्स गराउनु पनि आईएमई–पेलाई अर्को महत्वपूर्ण चुनौती हुन सक्छ ।