काठमाडौं । उच्च माग रहेको अर्गेलीको माग बमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको उच्च माग भएसँगै व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ ।
पाँचथरको फालेलुङमा उत्पादन हुने उक्त जडीबुटी प्रशोधन सहकारी संस्थाको अगुवाइमा जापान निर्यात हुदैँ आएको छ । गत वर्ष १३ टन अर्गेली जापान निर्यात गर्दा रु ५९ लाख १५ हजार आम्दानी पाँचथरकावासी प्राप्त गरेका थिए ।
चार वर्षपछि लोक्ता निकाल्न मिल्ने उक्त जडीबुटी चिसो मौसम र हावापानीमा पाइने छ । जापानको अनुसार अर्गेली उत्पादनका लागि संस्थागत रुपमा उक्त सहकारीले प्रयत्न गर्दै आएको छ । माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानी परुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ ।
प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले दिदैँ यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य बताएका छन् । उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिम लगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात मात्र निर्यात हुने गरेको जानकारी दिएका छन् ।
जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ । पाँचथरबाट गत आर्थिक वर्ष २०७४।०७५ मा एक लाख दुई हजार ७८२ किलो अर्गेलीको कच्चा पदार्थ निर्यात भएको डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्कमा उल्लेख रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २९ हजार ५०० किलो अर्गेली निर्यात भएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताएका छन् । जिल्लाको ६८ दशमलव ७७ हेक्टर जमीनमा अर्गेली रोपण गरिएको तथ्याङ्क छ । यद्यपि बढ्दो खेती विस्तारको क्रमले तथ्याङ्क भन्दा बढी क्षेत्रफलमा अर्गेली लगाइएको कृषकको भनाइ छ । जिल्लाका सामुदायिक र कबुलियती वनमा समेत अर्गेली लगाउने प्रचलन बढ्दै गएको छ । रासस