पहिल्यै एक नम्बर, जहिल्यै एक नम्बरको दौडमा आईएमई-पे

<p> नरेन्द्र मोदीले &#8216;डिजिटल भारत कार्यक्रम&#8217;को सुरु गर्नुअघि भनेका थिए-‘विश्वले ३ चरणको सभ्यताको अभ्यास गर्छ, नदीमा आधारित सभ्यता, सडकमा आधारित सभ्यता र सूचना प्रविधिमा आधारित सभ्यता, हामी अहिले तेस्रो चरणको सभ्यताको अभ्यासमा छौं ।’ भारत र चीन विकासशील राष्ट्रबाट विकसित राष्ट्रको चरणमा छन्, त्यो विकसित राष्ट्र भनेको पर्यावरणीय संरक्षणसहितको दिगो विकासलाई समेट्ने मोडेल हो । उदीयमान [&hellip;]</p>

सुमन पाेखरेल, प्रमुख कार्यकारी अधिकृत, अार्इएमर्इ


 नरेन्द्र मोदीले ‘डिजिटल भारत कार्यक्रम’को सुरु गर्नुअघि भनेका थिए-‘विश्वले ३ चरणको सभ्यताको अभ्यास गर्छ, नदीमा आधारित सभ्यता, सडकमा आधारित सभ्यता र सूचना प्रविधिमा आधारित सभ्यता, हामी अहिले तेस्रो चरणको सभ्यताको अभ्यासमा छौं ।’

भारत र चीन विकासशील राष्ट्रबाट विकसित राष्ट्रको चरणमा छन्, त्यो विकसित राष्ट्र भनेको पर्यावरणीय संरक्षणसहितको दिगो विकासलाई समेट्ने मोडेल हो । उदीयमान यी दुई राष्ट्रको बीचमा रहेको नेपाल पनि पक्कै त्यसबाट प्रभावित र लाभान्वित दुवै हुन्छ, हुनुपर्छ ।

भारत र चीनको सामरिक प्रभावसँगै नेपालले पनि डिजिटल प्रविधिलाई अघि बढाएको छ । मुख्य शहरहरुलाई फोरजी इन्टरनेट सेवाले जोडेको छ, देशका अधिकांश भागमा दोस्रो पुस्ताको इन्टरनेट सेवाको उपलब्धता छ । अप्टिकल फाइबरमार्फत् ग्रामीण भेगसम्म सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने अभियान चलिरहेको छ । वायरमा आधारित केवल इन्टरनेट सेवालाई फाइबरमा आधारित बनाइएको छ । एनालग टेलिभिजन सेवा अहिले डिजिटल सेवामा परिणत भएको छ । तर, इन्टरनेट एउटा प्लेटफर्म मात्र हो, यही प्लेटफर्ममा रहेर दैनिक जनजीवनलाई सहज बनाउने अवस्था जब आउँछ, त्यही दिन पूरा हुन्छ डिजिटल नेपालको सपना ।

आईएमई–पे नेपालको डिजिटल पेमेन्टका लागि पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) को अनुमति पाएका ४ मध्ये एक र पहिलो कम्पनी हो । करिब २ वर्षअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको नामबाट इ-पेमेन्ट सेवा सञ्चालन गर्ने लाइसेन्स पाएसँगै आईएमई-पेले बजार तथा सेवाको अध्ययन गर्न थालेको हो । आईएमई-पेका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्- ‘विश्वले नै डिजिटल प्रविधिलाई अंगिकार गरिसकेको र नेपालमा पनि मोबाइल र इन्टरनेट सेवाको पेनिट्रेशन बढ्दै गएको अवस्थामा यो नै उपयुक्त समय हो भनेर हामीले सेवा सुरु गर्ने निर्णय गरेका हौं ।’

आईएमईका ८०० मर्चेन्ट, १५ हजार एजेन्ट र लाखौं प्रयोगकर्ता

आईएमई–पेसँग अहिले तीन किसिमका ग्राहक छन्, मर्चेन्ट, एजेन्ट र क्लाइन्ट । मर्चेन्टले कुनै वस्तु तथा सेवा उत्पादन गर्ने फर्म वा कम्पनीलाई जनाउँछ । नेपाल टेलिकम, विद्युत् प्राधिकरण, नेपाल आयल निगम, डिसहोम, सिम टिभी लगायतका विभिन्न टेलिभिजन सेवा प्रदायक, चन्द्रागिरि केबलकार, विभिन्न एयरलाइन्स कम्पनी तथा चलचित्रका हलहरुलाई मर्चेन्टको रुपमा परिभाषित गरिएको छ । यस्ता मर्चेन्टहरुको संख्या ८०० भन्दा माथि पुगेको सीईओ पोखरेलको भनाई छ । त्यस्तै, आईएमई-पेले देशभरमा कुल १५००० भन्दा बढी एजेन्टहरु बनाइसकेको छ । हाल भएका आईएमईका एजेन्हरुमार्फत् नै प्रयोगकर्ताहरुको संख्या वृद्धि गरिँदै लगिएको छ । पोखरेल भन्छन्,–‘प्रयोगकर्ताको संख्या यति नै भयो भन्ने थाहा छैन, तर डाउनलोड दिनदिनै बढिरहेको छ ।’

बैंकको पैसा सीधै आईएमई-पेमा

आईएमई-पेले हालसम्म ६ ओटा बैंकहरुसँग इपेमेन्ट सम्झौता गरिसकेको छ । जसअन्तर्गत सम्झौता गरिएका बैंकहरुका ग्राहकले आईएमई-पेको एकाउन्टलाई आफ्नो खातासँग लिङ्क गरेपछि चाहेअनुसारको पैसा खाताबाट सीधै आईएमई-पे एकाउन्टमा ट्रान्सफर गर्न वा आईएमई-पेबाट बैंकमा रकम ट्रान्सफर गर्नसक्ने सुविधा प्राप्त गर्छन् । यसरी सम्झौता गरिएका बैंकहरुमा ग्लोबल आईएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, बैंक अफ काठमाडौं र सिभिल बैंक छन् । बाँकी बैंकहरुसँग पनि सम्झौता गर्दै जाने लक्ष्य लिइएको छ ।

आईएमई-पेका ग्राहकहरुले एकआपसमा रकम ट्रान्सफर गर्नसक्ने र त्यसका लागि कुनै पनि पैसा नलाग्ने प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन् । ‘हामीले कसैलाई आईएमई-पे डाउनलोड गर्नुस् भनेर मिडियामार्फत् अहिलेसम्म विज्ञापन गरेका छैनौं, तर एजेन्टमार्फत् नै ठूलो संख्यामा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।’ उनको भनाई छ ।

एजेन्टलार्इ कमिसन र प्रयोगकर्तालार्इ ‘पेब्याक’

आईएमईले आफ्नो सेवा विस्तार गर्न रकम ट्रान्सफर गरिदिने र आईएमई-पेमार्फत् वस्तु तथा सेवाहरु खरिदबिक्री गर्ने प्रयोगकर्तालाई निश्चित प्रतिशत ‘पेब्याक’को समेत व्यवस्था गरेको छ । प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट सेवाको बिल भुक्तानी गर्दा २ प्रतिशतसम्म रकम फिर्ता पाउनेछन् भने बिजुलीको बिल भुक्तानी गर्दा, एयरलाइन्स, केबलकार, रेष्टुरेन्ट तथा पसलहरुमा सामान किन्दा समेत निश्चित प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था गरेको हो ।

इन्टरनेट नभए पनि कारोबार

आईएमई–पेले इन्टरनेट नभएका स्थानमा पनि मोबाइल एलर्टमार्फत् रकम ट्रान्सफर सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ । हाल नेपाल टेलिकममा रिचार्ज गर्नको लागि प्रयोगकर्ताले अफलाइन सुविधा प्राप्त गर्नेछन् भने एजेन्टका हकमा सबै सेवामा यस्तो सुविधा रहेको स्ईिओ पोखरेलको भनाई छ । विस्तारै सबै सेवा अफलाइनमा समेत गर्न सकिने व्यवस्था मिलाउँदै जाने उनले बताए । युएसएसडी प्रविधि अपनाए इन्टरनेट सेवा चाहिँदैन, विस्तारै हामी सबै सेवामा त्यो प्रविधिमा जान्छौं, पोखरेलले भने ।

आईएमई–पे नै किन छान्ने ?

आईएमई–पेले आफ्नो समूहको ब्राण्डलाई नै ग्राहकले आफूप्रति विश्वास गर्ने पहिलो आधार बनाएको छ । ‘आईएमई समूहलाई धेरैले विश्वास गर्छन्, यसले वर्षौदेखि दिँदै आएको गुणस्तरीय सेवाका कारण हाम्रो नयाँ प्रोडक्टलाई समेत आम प्रयोगकर्ताले सहजै स्वीकार गर्न सक्छन्, त्यसलाई नै आफ्नो स्ट्रेन्थको प्रमुख आधार बनाएका छौं ।’ सीईओ पोखरेलले भने ‘इपेमेन्ट सेवा प्रदायकले बारम्बार ठगिएको समाचार आइरहँदा आईएमई–पे प्रति जनताले बढी विश्वास गर्न सक्छन् । तर हामीले दिने सेवाको गुणस्तरीयतामा कुनै कमी हुन दिएका छैनौं । संसारका जुनकुनै देशमा प्रयोग हुने पीएसपी सेवासँग प्रतिस्पर्धा गर्नसक्ने प्रविधि र प्रणालीको सुनिश्चितता हामीले गरेका छौं ।’

कसरी सहभागी हुने ?

आईएमई–पेमा सहभागी हुन एउटा क्लाइन्टले केही गर्नुु पर्दैन, मोबाइलको प्लेस्टोरमा गएर आईएमई–पे टाइप गर्ने बित्तिकै त्यहाँ एजेन्ट र युजरको लागि छुट्टाछुट्टै एप आउँछ । कुनै पनि व्यक्तिले आफूले चाहेको एप डाउनलोड गर्न सक्नेछन् । तर एजेन्टको लागि भने आईएमई–पेको आधिकारिक डिलरमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि आईएमईका सम्बन्धित कार्यालयले त्यस्तो डिलरको काम गर्दै आएको सीईओ पोखरेलले जानकारी दिए ।

युजरका लागि भने एप डाउनलोड गरी आफ्नो मोबाइल नम्बर भेरिफिकेसन गरेपछि कुनै पनि एजेन्टमार्फत् रकम जम्मा गर्न वा सम्बन्धित बैंक खातासँग आईएमई–पे एकाउन्ट लिंक गरी सीधै चाहेको रकम ट्रान्सफर गर्न र इपेमेन्टमार्फत् वस्तु तथा सेवाहरु खरिद गर्न सकिन्छ । दैनिक ५००० भन्दा बढी पेमेन्ट गर्न वा एकपटकमा १००० रुपैंया भन्दा बढी पेमेन्ट गर्न भने नेपाल राष्ट्र बैंकको नियमानुसार ग्राहकले आफ्नो केवाईसी भर्नुपर्ने हुन्छ । त्यस्तो केवाईसी पनि अनलाइनमार्फत् भर्न सकिने आईएमई–पेले जनाएको छ ।

आईएमई–पेका चुनौती

आईएमई ग्रुपले जुन क्षेत्रमा लगानी गरेको छ, त्यो क्षेत्रमा अब्बल ठहरिएको छ । अझ आईएमई त देशमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीको रुपमा स्थापित छ । अहिले पनि कुल वैदेशिक रेमिट्यान्सको २५ प्रतिशत हिस्सा आफ्नो रहेको दाबी आईएमईको छ । नेपाल राष्ट्र बैंकबाट आईएमई डिजिटल सोलुसनको नामबाट लाइसेन्स लिए पनि यसको व्यवस्थापन र बजारीकरण आईएमईमार्फत् नै हुँदै आएको छ । त्यसैले पनि यसलाई देशकै एक नम्बरको पीएसपी सेवा प्रदायक बन्ने चुनौती छ । त्यसका लागि प्राविधिक र व्यवस्थापकीय दृष्टिकोणले आफूलाई निकै दरिलो रुपमा प्रस्तुत गरिसकेको दाबी गरिए पनि सोचेअनुसार बजारहिस्सा कायम गर्ने चुनौती आईएमई–पेलाई छ ।

त्यतिमात्र होइन, सीईओ पोखरेलले दाबी गरेजस्तै देशभर मोबाइल र इन्टरनेट सेवाको पेनिट्रेसन बढ्दै गए पनि मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताले यसलाई एउटा मनोरञ्जनको माध्यम मात्र बनाइरहेको परिप्रेक्ष्यमा दैनिक जीवन व्यवहारसँग जोड्ने गरेको कमै मात्र पाइएको छ । यस्तो अवस्थामा इपेमेन्टको लागि ग्राहकलाई अभ्यस्त बनाउनु अर्को चुनौती छ, नत्र डाउनलोडको दर जति नै बढे पनि क्यास पेमेन्टको वर्तमान प्रवृत्ति घट्ने छैन ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका अधिकारीहरुले समेत विश्वास गर्न नसकेर संकुचित कारोबार सीमा निर्धारण गरेको अवस्थामा जनजनमा यसको विश्वसनीयताप्रति कन्भिन्स गराउनु पनि आईएमई–पेलाई अर्को महत्वपूर्ण चुनौती हुन सक्छ ।

Share News