छापियो २ लाख स्मार्ट लाइसेन्स, अब प्रदेशबाटै लाइसेन्स छपाइको काम हुने
काठमाडौं । स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेटले २ लाख लाइसेन्स छपाई गरेको छ । ६ लाख लाइसेन्स छाप्ने जिम्मा लिएकोमा कर्पोरेटले २ लाख कार्ड छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो । विभागलाई प्राप्त लाइसेन्स वितरण प्रक्रिया सुरु भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार हाल विभागले कार्पोरेटलाई २ लाख ५० हजार डाटा उपलब्ध गराइसकेको छ । केही प्रविधिक समस्या देखिएकोले छपाई प्रक्रियामा ढिलाई भएको विभागले जनाएको छ । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा मात्र कार्ड छपाई गरिरहेको छ । प्राविधिक समस्या हल भएपछि लाइसेन्स छपाइको संख्या बढ्ने इन्कार्पोरेटका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए । इन्कर्पोरेटले अझै ४ लाख लाइसेन्स छपाई गर्न बाँकी छ । विभागले कार्पोरेटलाई पुस २८ सम्म समय थप गरेको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियाे । मालिकाले ४५ दिनमा ६ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी विभागसँग सम्झौता गरेको थियो । कार्ड छापेबापत कम्पनीले प्रतिकार्ड १५ रुपैंयाका दरले ९० लाख रुपैंया प्राप्त गर्नेछ । लाइसेन्स छापिने कार्ड, बिजुली लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने सम्झौता भएको छ । कार्ड विभागको मीनभवन स्थित कार्यालयमा इन्कर्पोरेटले कार्ड छापिरहेको छ । अब प्रदेशले नै स्मार्ट कार्ड छपाई गर्ने विभागले ७ वटै प्रदेशलाई सम्पुर्ण अधिकार प्रदान गरेको छ । प्रवक्ता उपाध्ययका अनुसार विभागले मंसिर २८ गते नै सबै प्रदेशलाई अधिकार प्रदान गरेको हो । अब सातै प्रदेशले आफैं मेसिन किनेर स्मार्ट लाइसेन्स छपाई गर्न सक्नेछ । विभागले संघीय संरचना अनुसार मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गर्न लागेको हो । साविकको १४ अञ्चल कार्यालयमा रहेका कार्यालयहरुलाई व्यवस्थापन गरेर विभागले लाइसेन्स वितरण गर्न लागेको हो । संघीय संरचना अनुसार प्रदेशका यातायात कार्यालयले लाइसेन्स छापिने स्मार्ट कार्ड देखि छाप्ने मेसिनसम्म सबै पुर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसको सबै व्यवस्था प्रदेश सरकारमा निहीत हुने प्रवक्ता उपाध्ययले बताए ।
सेञ्चुरी बैंकबाट सन नेपाल लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।
निक इलेक्ट्रो टेक २०१८ शुरु, अत्याधुनिक विद्युतीय सामाग्री एकै ठाउँमा पाइने
काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ भृकुमण्डपमा शुरु भएको छ । शुक्रबार उर्जामन्त्री वर्षमान पुनले मेलाको उद्घाटन गरेका हुन् । नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले अब अबको ५ वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने दाबी गरे । ‘ढुक्क भएर विद्युतमा लगानी गर्नुहोस् हामी तपाइको लगानी डुब्न दिदैंनौं मन्त्री पुनले भने सरकार पुर्ण रुपमा सुखि नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको छ ।’ पुनले नेपालमा उत्पादन भएको सामाग्री प्रयोग गर्न केहि कानून बाधक भएकाले त्यस विषयमा छलफल भैरहेको बताए । उर्जा विकासले केहि बर्षमै नेपालले इन्धन आयातमा ठूलो रकम कटौती हुने उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुलास गोल्छाले बताए । यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले ट्रान्सफर आयतमा रोक लगाई नपाली प्रयोग गर्नु पर्नेमा जोड दिए । निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् । त्यस्तै, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । मेलामा करिब १ लाख भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । मेला पुस १० गतेसम्म चल्नेछ ।
कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर, वित्तीय क्षेत्रमा १८ वर्षको अनुभव
काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत( डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले पुस ६ गते(आज)देखि लागु हुने गरी मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त नायब सीईओ मानन्धरले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । नेपाल बङ्गलादेश बैंकबाट बैंकिङ् करियर शुरु गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनको वित्तीय क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको कार्य अनुभव छ ।
विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाए, अधिकतम ९.७५ र १०.२५ प्रतिशत मात्र
काठमाडौं । वाणिज्य बैंकहरुले ब्यादर घटाउने सहमति गरेको भोलिपल्ट शुक्रबार डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले पनि ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गर्ने सहमति गरेको छ । त्यस्तै, वित्तीय संस्था संघले मुद्दती खातामा अधिकतम १०.२५ प्रतिशतसम्म मात्र ब्याज दिने सहमति गरेको छ । बिहीबार वाणिज्य बैंकहरु व्यक्तिगत निक्षेपमा अधिकतम ९.२५ प्रतिशत ब्याज दिने सहमति गरेका थिए ।
ओम गुरुकुल हेल्थ केयरको लापरवाहीले सुत्केरीको ज्यान गयो, पीडितका आफन्त आन्दोलित
लहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् । व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनैले आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको मृतकका आफन्तले बताए । अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुलाई शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै शल्यक्रियापछि बच्चा निकाल्न सफल भएका थिए । बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन शुरु गरे पनि विस्तारै÷विस्तारै सञ्जुको अवस्था झन्झन् नाजुक बन्दै जान थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याउन लाग्दा बाटेमै उनको मृत्यु भइसकेको आफन्तले बताए । मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेकाले उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने
काठमाडौं । कर्णालीका १७ स्थानीय तह बैंकविहिन रहेका छन् । नेपाल राष्ट्र बैंकले निर्देशन दिएको एक वर्ष बितिसक्दा समेत कर्णालीका १७ स्थानीय तह अझै बैंक विस्तार भएको छैन । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् । राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई प्रथामिकता दिएको बताएका छन् । बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहने हुँदा बैंकको सुरक्षा, विद्युत् र इन्टरनेटको समस्या देखाएको जानकारी दिएका छन् । निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गरेका छन् । सरकारी कारोवारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएको छ । राष्ट्र बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छिट्टै आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ ।
हिमालयन बैंककाे ४९ कराेड डुब्दा विप्रेषण व्यवसायमा झड्का, राष्ट्र बैंककाे निर्देशनले ५० प्रतिशत कम्पनी बन्द हुँदै
काठमाडौं । विप्रेषण कारोबारमा हिमालयन बैंकले ४९ करोड रुपैयाँ गुमाएपछि यस्तै व्यवसाय गर्दै आएका कम्पनीहरु तनावमा परेका छन् । साथै, विप्रेषण कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले ६ महिनाअघि जारी गरेको निर्देशन पालना गर्न अधिकाश कम्पनी असफल भएका छन् । मलेसियाको रेमिट कम्पनी म्याक्स मनिसँग उधारो कारोबार गर्दा हिमालयन बैंकको ४९ करोड रुपैयाँ डुबेको छ । उक्त पैसा असुल गरिदिन हिमालयन बैंकले राष्ट्र बैंकसँग सहयोग याचना गरिरहेको छ । उता म्याक्स मनिले हिमालयन बैंकलाई भुक्तानी गर्नु पर्ने कुनै पनि दायित्व नभएको दाबीसहित राष्ट्र बैंकलाई पत्र पठाएको छ । कारोबार विवादमा दुबै पक्षको कुरा सुनिरहेको राष्ट्र बैंकले गल्ती म्याक्स मनिको भएको जनाएको छ । राष्ट्र बैंकले हिमालयन बैंकसँगको कारोबार विवाद नसुल्झिएसम्म म्याक्स मनिसँग कुनै पनि कारोबार नगर्न नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीहरुलाई निर्देशन दिएको छ । साथै, राष्ट्र बैंकले मलेसियाको केन्द्रीय बैंकलाई समेत पत्र लेखेर म्याक्स मनिले हिमालयन बैंकलाई दिनुपर्ने रकम दिलाईदिन माग गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए । तेस्रो घटना नेपाल विप्रेषण पाउने देश हो । विप्रेषण पठाउने देशका कम्पनीहरुले विदेशमा रहेका नेपालीसँग पैसा संकलन गर्ने तर नेपाली विप्रेषण कम्पनीलाई समयमा भुक्तानी नदिने समस्या बढ्दै गएको देखिन्छ । विप्रेषण पठाउन ढिला मात्र गर्ने होइन, पठाउदै नपठाउने गरेको घटनाहरु बढ्दै गएका छन् । यसरी ठगिने नेपाली कम्पनीमा हिमालयन बैंक तेस्रो भएको राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि दुई वटा विप्रेषण कम्पनी टाट पल्टिने गरी ठगिएका छन् । विदेशबाट आफन्तले पठाएको विप्रेषण सम्बन्धित व्यक्तिहरुलाई दिन नसक्दा गत वर्ष मात्र नेपाल राष्ट्र बैंकले मुन्चा मनी ट्रान्सफर प्रा.लि. र गण्डकी रेमिट प्रा.लि. लाइसेन्स खोसेको थियो । राष्ट्र बैंक पनि असफल नेपाली मनि ट्रान्सफर कम्पनीहरु ठगिँदै गदै यस क्षेत्रको कारोबार व्यवस्थित बनाउन नियामक निकाय नेपाल राष्ट्र बैंक पनि चुकेको छ । राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु विप्रेषण कम्पनीहरुले कार्यान्वयन गरिरहेका छैनन् । गत साउनमा राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई प्रिफण्डिङ वा बैंक ग्यारेन्टीमा मात्र कारोबार गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनमा विप्रेषण पठाउने कम्पनीले पैसा पठाएपछि मात्र भुक्तानी गर्न वा पठाउने कम्पनीसँग बैंक ग्यारेन्टी लिएर त्यसको सीमाभित्र मात्र उधारो कारोबार गर्न निर्देशन दिएको थियो । तर उक्त निर्देशन कार्यान्वयन भएको छैन । ६ महिना बित्दा समेत उक्त निर्देशन कार्यान्वयन नभएपछि राष्ट्र बैंकले विहीबार नेपाल विप्रेषक संघका पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरुसँग राष्ट्र बैंकमा नै निर्देशन कार्यान्वयन नहुनुको कारण सोधेको थियो । प्रि फण्डिङ व्यवस्थाप्रति व्यवसायीहरु सकारात्मक भएको तर २० वर्ष अघिदेखि चल्दै आएको पोष्ट फण्डिङ व्यवस्थाबाट प्रि फण्डिङ व्यवस्थामा जान थप केही समय व्यवसायीले माग गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशन भिष्मराज ढुंगानाले बताए । यही पुस मसान्तसम्ममा सबै कम्पनीहरु प्रि फण्डिङ जाने तयारीमा रहेको विप्रेषक संघका अध्यक्ष दिवाकर थापाले बताए । ‘विदेशी विप्रेषण कम्पनीसँग एजेन्सी सम्झौतामा ‘‘पहिले नै पैसा पठाउनु पर्ने वा बैंक ग्यारेन्टी हुनु पर्ने’’ व्यवस्था थिएन । राष्ट्र बैंकले भनेअनुसार ती कम्पनीसँग गरिएका सम्झौता संशोधन हुनुपर्छ । विदेशीका ठूला र बहुराष्ट्रिय कम्पनीसँग गरिएको सम्झौता संशोधन गर्न लामो समय लाग्छ । त्यसैले ढिला भएको हो’ थापाले भने । साना कम्पनी बन्द हुने राष्ट्र बैंकको निर्देशन अनुसार प्रि फण्डिङ वा बैंक ग्यारेन्टीमा काम गर्दा सानो कारोबार गर्दै आएका विप्रेषण कम्पनी बन्द हुने जोखिम देखिएको छ । ‘अहिले विदेशी विप्रेषण कम्पनीले नेपालमा १२र१५ वटा विप्रेषण कम्पनीलाई एजेन्सी बनाएका छन् । प्रि फण्डिङ वा बैंक ग्यारेन्टी लिएर काम गर्ने अवस्थामा उनीहरुले १र२ वटा कम्पनीलाई मात्र एजेन्सी बनाउँछन् । यस्तो अवस्थामा साना कम्पनीहरुलाई गाह्रो हुन्छ’ विप्रषक संघका अध्यक्ष थापाले भने । हाल बैंक तथा वित्तीय संस्थाबाहेक ४९ वटा विप्रेषण कम्पनी छन् । केन्द्रीय बैंकको निर्देशन लागू भएपछि चालु अवस्थामा रहेका मध्ये कम्तीमा ५० प्रतिशत विप्रेषण कम्पनी बन्द हुनसक्ने व्यवसायीहरूको अनुमान छ ।