विकासन्युज

लामो समयपछि नेप्सेमा उत्साह, ३२ अंकले बढ्दा ८७ करोडको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३२.२४ अंकले बढेको छ । लामो समयपछि नेप्से परिसूचकमा रेकर्ड बनेको छ । आज २.७७ प्रतिशतले परिसूचक बढ्दा ११९८.१८ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिलेसम्म १६४ कम्पनीका २८ लाख १२ हजार २ सय १२ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयाँको कारोबार छ । लामो समयपछि उल्लेख्य मात्रामा नेप्से परिसूचक बढेको दिन उत्पादनमूलक समूह बाहेका सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २४.९२, होटल समूह ६३.९२, विकास बैंक समूह २८.६४, जलश्रोत समूह २६.१६, वित्त समूह ४.९३, निर्जीवन बीमा समूह ३१८.०२, अन्य समूह १७.२९, लघुवित्त समूह ६३.७५ र जीवन बीमा समूह २४७.३३ अंकले बढेको छ । बजार उकालो राख्ने क्रमले रेकर्ड बनाएको दिन पनि उत्पादन मूलक समूह भने घटेको छ । उत्पादनमूलक समूह ६.०५ अंकले घटेको हो । बजार बढेको दिन आज आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी १० अंकले नाफा कमाएका छन् । त्यसैगरी कैलास विकास बैंकका लगानीकर्ताले आज ६.२५ अंकले सबैभन्दा बढी गुमाएका छन् ।

धनगढी क्षेत्रीय शहरी विकास अयोजनाका लागि रू २ अर्ब वजेट विनियाेजन 

काठमाडौं । धनगढी उपमहानगरपालिकाकाे  क्षेत्रीय शहरी विकास आयोजनाको काम अन्योल रहेको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारी बमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइड) स्थापना गर्न ढिलाइ गर्दा आयोजनाको काम अन्योलता छाएकाे हाे । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापना नगरेसम्म अरु काम अघि बढ्न नसक्ने सर्त एडिबीको रहेको हुँदा आयोजनाको काम समयमै कार्यान्वयन नहुँदा समस्या सिर्जना भएको जानकारी दिएका छन् । आयोजना अन्तर्गत धनगढी उप महानगरपालिकामा विभिन्न सडकको स्तोरोन्नति एवं निर्माण र नाली निर्माणका लागि करीब रु एक अर्ब २५ करोड, दिसाजन्य पदार्थ व्यवस्थापनका लागि करीब रु ३५ करोड, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि करीब रु ६० करोड वजेट विनियोजन गरिएको जनाएका छन् । फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिकाको मोहना नदी किनारको शान्ति कटानमा जग्गा खोजिएकोमा स्थानीयवासीको विरोध हुँदा समस्या भएको बताउँदै फोहर व्यवस्थापन केन्द्र कहाँ स्थापना गर्ने भनेर उपमहानगरपालिकाको तर्फवाट छलफल र प्रयास जारी रहेको प्रवक्ता मुडभरीले जानकारी दिएका छन् । उक्त केन्द्र निर्माणका लागि जग्गाको टुङ्गो लाग्न नसक्दा आयोजनाको सम्पूर्ण काम ठप्प भएको क्षेत्रीय शहरी विकास आयोजना, एकाइ धनगढीका उप व्यवस्थापक श्यामचन्द्र बुढाथोकीको भनाई रहेको छ । उक्त केन्द्र निर्माण गर्ने विषयमा जग्गा खोजेर टुङ्गो नलागेसम्म कुनै पनि काम अगाडि नबढाउन माथिबाट नै निर्देशन आएको उप व्यवस्थापक बुढाथोकीको बताएका छन् । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा कार्यन्वयन हुने भनिएको पाँचवर्षे अवधिको यो आयोजना अन्तर्गत उपमहानगर क्षेत्रका साना ठूला एक दर्जन बढी सडकको स्तरोन्नति एवं निर्माण गर्ने लक्ष्य छ । यसअन्तर्गत धनगढीको मुख्य बजारको सडकका साथै धनगढीदेखि खुटिया सडक, चटकपुर रिङ्गरोड, चटकपुर क्याम्पस रोड हुँदै जाखोर ताल सडक, धनगढी गाउँ सडक, बेली सडक, बोराडाँडी तारानगर सडक, पुरानो भन्सार रोडलगायतका सडकको स्तरोन्नति गने लक्ष्य रहेको आयोजकले बताएका छन् । गोदाबरी नगरपालिकामा उक्त आयोजना अन्तर्गत नगरपालिका कार्यालय भवन निर्माण, हसनपुर स्याउले सडक, गेटा अस्पतालदेखि जोनापुर सडक, हरैया चौराही रोड, लालपुर चौमाला रोड, लालपुर गेटा अस्पताल रोड निर्माणलगायतका काम गर्न लागिएको जनाइएको छ । बिना योजना शहरका रुपमा विकास हुँदैगएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोवास आदि मुख्य समस्याका रुपमा रहेका छन् । रासस

सिर्जना फाइनान्सले २४ प्रतिशत लाभांश दिने, पुस १३ गतेदेखि बुक क्लोज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई २४.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हालै सम्पन्न सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी अर्थात १८औँ वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म संस्थाको बुक क्लोज हुँदै छ ।

किन बढ्यो लुम्बिनी विकास बैंकको सेयर मूल्य ? यस्तो छ कारण

काठमाडौं । आइतबारको बजार बढेसँगै लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य उकालो लागेको छ । दिउँसाे २ बजेसम्म यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । विकास बैंकले आइतबार बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरप्रति आकर्षित भएका हुन् । संस्थाले सेयरधनीलाई १८.७७६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै बैंकको सेयर किन्नेकोमा बढी चाप देखिनु र सेयर मूल्यमा दोहोरो अंककाे वृद्धि हुनुले लगानीकर्ताहरु उत्साहित भएको संकेत गर्छ । आइतबार प्रतिकित्ता १६३ रुपैयाँबाट कारोबार शुरु भएको यस बैंकको सेयर मूल्य बढेर दिउँसो २ बजेसम्म प्रतिकित्ता १७८ रुपैयाँ पुगको छ । सो अवधिसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँसम्म कारोबार भएको थियो । विकास बैंकले चुक्ता पुँजीको सो मात्रा अर्थात ३७ करोड ७१ लाख ९७ हजार २०० रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि बैंकले गत आर्थिक वर्षको नाफा तथा संचित जगेडाबाट सेयरधनीलाई उक्त लाभांश दिने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

गभर्नर नेपालले भने-अब जमाना बदलियो, नेपाली बैंक र वित्तीय संस्थाले नयाँ प्रबिधि भित्र्याउनु पर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले विश्व सूचना प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेको भन्दै नेपाली बैंक तथा वित्तीय संस्थाहरु र त्यसका नियामक निकायले पनि नयाँ प्रविधि भित्र्याउनु पर्ने आवश्यकता औंल्याएका छन् । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (बीएफआईएन) ले काठमाडौंमा आयोजना गरेको एकदिने डिजिटल विश्वका लागि मानव संसाधनको रुपान्तरण विषयक कार्यशालाको उद्घाटन समारोहमा गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् । उनले भने–बैंक तथा वित्तीय संस्थाहरुले फिनटेक टेक्नोलोजी र नियामक निकायहरुले रेगटेक र सभटेक टेक्नोलोजीको प्रयोग गर्नु पर्छ । गभर्नर नेपालले टेक्नोलोजीको प्रयोगसँग मानव संसाधनको भूमिका रुपान्तरण गर्नु पर्ने भन्दै कार्यक्रम समयसामयिक रहेको बताए । ‘हामी ब्रिक टेक्नोलोजीबाट क्लिक टेक्नोलोजीमा रुपान्तरण हुँदैछौं, बदलिँदो युगलाई सम्बोधन गर्न वित्तीय संस्था र रेगुलेटरीहरुले प्रयोग गर्ने प्रविधि पनि समयानुसार परिवर्तन गर्दै जानुपर्छ । विग डाटा एनालाइसिस्ट, कृतिम बौद्धिकता, क्लाउड कम्पिटिङ र रोबोटिक अटोमेसनलाई प्रयोग गर्दै जानुपर्छ र यसैअनुसार मानव पुँजीको रुपान्तरण गरिनु आवश्यक छ ।’ गभर्नर नेपालले भने । कार्यक्रममा आयोजक बीएफआइएनका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले सन् २०३० सम्ममा विश्वका ६० प्रतिशत जनसंख्या प्रविधि परिवर्तनका कारण एउटा कामबाट अर्को काममा रुपान्तरण हुनुपर्ने आवश्यकता रहेको अध्ययनले बताएको भन्दै यसै परिप्रेक्षमा नेपाली बैंकिङ क्षेत्रले पनि त्यस्तो प्रविधि भित्र्याउनुपर्ने परिप्रेक्षमा कार्यक्रम आयोजना गरिएको बताए । होटेल र्याडिसनमा आयोजित उक्त कार्यक्रममा नेपाल र भारतका वित्तीय संस्थाहरुमा मानव संसाधन व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव सँगालेका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

७ प्रदेशमा १९ औद्योगिक क्षेत्र थपिंदै, १६ हजार ८ सय बिगाहामा स्थापना हुने, ५ लाखलाई रोजगारी

काठमाडौँ । मुलुकका ७ प्रदेशमा १९ वटा औद्योगिक क्षेत्र स्थापना हुने भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यसको आवश्यक तयारी गरिरहेको छ । १९ वटा औद्योगिक क्षेत्रका लागि १६ हजार ८२३ विगाहामा जमिन उपयोग हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भोजराज बिडारीका अनुसार हाल नेपालमा ५ हजार ९ सय ७ रोपनीमा मात्रै औद्योगिक क्षेत्र सञ्चालन भैरहेको छ । नयाँ बन्न लागेका १९ वटा औद्योगिक क्षेत्रमा ५ वर्षको अवधिमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा ५ लाख ७४ हजार ७ सय ५० जनालाई रोजगारी दिने दाबी सरकारको तयारी छ । प्रदेश नम्बर १ मा २१ विगाहामा औद्योगिक क्षेत्र प्रदेश नम्बर १ मा झापाको दमकमा २१ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । ४११ विगाह जग्गाको मूआब्जा वितरण र बाँकी जग्गाको नापजाँच कार्य भैरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । प्रदेश नम्बर २ यता, प्रदेश नम्बर २ मा ३ वटा औद्योगिक क्षेत्र स्थापना हुँदैछ । सर्लाहीको मूर्तिया, रौतहट र धनुषाको सबैलामा गरी ५ हजार ९ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ । सर्लाहीको मूर्तियामा नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । उक्त क्षेत्रमा ५ हजार विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ । वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । रौतहट जिल्लामा भने औद्योगिक क्षेत्र कहाँ हुने टुंगिएको छैन । जग्गा पहिचानको कार्य भैरहेको छ । धनुषाको सबैलामा ९ सय विगाहामा जग्गा खोजी भइरहेको छ । प्रदेश नम्बर ३ मा थपिंदै ३ वटा औद्योगिक क्षेत्र प्रदेश नम्बर ३ को मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर र काभ्रेको पनौतीमा गरी २०१६ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । मकवानपुरको मयुरधापमा २ सय, चितवनको शक्तिखोरमा १७४१ र काभ्रेको पनौतीमा ७५ विगाहामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण भैरहेको छ । डिपीआर स्वीकृत र परियोजना कार्यालय स्थापना भएको छ । मकवानपुर र चितवनमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ भने काभ्रेमा जग्गा पहिचानको कार्य भैरहेको छ । गण्डकी प्रदेशका कुन कुन जिल्लामा बन्दैछन् औद्योगिक क्षेत्र ? गण्डकी प्रदेशमा गोरखाको च्याङ्कफाँट, तनहुँको चिन्तुटार र कास्कीको तल्लोपडिटारमा गरी १ हजार ३०७ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । गोरखाको च्याङ्कफाँटमा ८१२ विगाहा, तनहुँको चिन्तुटारमा ३७५ विगाहामा र कास्कीको तल्लोपडिटार १२० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । गोरखाको च्याङ्कफाँटको वातावरण प्रभाव मूल्याङ्कन, तनहुँको चिन्तुटारमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ, भने कास्कीमा जग्गा पहिचानको कार्य हुँदैछ । प्रदेश नम्बर ५ मा औद्योगिक क्षेत्रको काम के हुँदैछ ? प्रदेश नम्बर ५ को रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा गरी १७०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । रुपन्देहीको मोतीपुरमा ८१३ विगाहा, बाँकेको नौवस्ता ३३८ विगाहा र दाङको लक्ष्मीपुरमा ४५९ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । रुपन्देहीको मोतीपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भैसकेको छ । दाङको लक्ष्मीपुरमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि प्रस्थाव मन्त्रिपरिषद्मा पेस भएको छ । कर्णाली प्रदेशमा के हुँदैछ ? सुर्खेतको साटाखानीमा, जुम्ला र दैलेखमा १३०० विगाहा जग्गा औद्योगिक क्षेत्र निर्माण हुँदैछ । सुर्खेतको साटाखानीमा ११ सय विगाहामा र जुम्लामा जग्गा पहिचान कार्य भइरहेको छ । दैलेखमा २०० विगाहाको औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशमा कैलालीको लम्की, कञ्चनपुरको दैजी र कञ्चनपुरको दोधारा चाँदनीमा २ हजार ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । कैलालीको लम्कीमा ११०० विगाहा, कञ्चनपुरको दैजी ९०० विगाहा र कञ्चनपुरको दोधारा चाँदनीमा ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । कैलालीको लम्की र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर स्वीकृत भएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा औद्यागिको वातावरण प्रभाव मूल्याङ्कनको सम्बन्धी कार्य गर्न परामर्शदाता छनौटको काम भैरहेको छ ।

मधुमेह रोगी बढ्दो क्रममा, विशेष कार्ययोजना ल्याउन सरकारसँग माग

काठमाडौँ । पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै उक्त रोग बढ्दै गएको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको हुन्छ । डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आयोजित ‘मधुमेह रोग’ छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरेको छ । मधुमेह रोग विज्ञ डा ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्या समेत वृद्धि भइराखेको बताउँदै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रममा जोड दिएका छन् । एशोसिएशनका अध्यक्ष डा दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहनुसार मात्र प्रयोग गर्न सुझाव दिएका छन् । रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिएक छन् । डा श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय रहेको जानकारी दिएका छन् । अर्का मधुमेह रोग विज्ञ डा अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताएका छन् । पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको जानकारी दिएका छन् । रासस

सम्पत्ति बीमा निर्देशिका परिमार्जित, एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने

काठमाण्डौ । बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेको छ । आज पत्रकार सम्मेलन गरी बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले परिमार्जित निर्देशिकाको बारेमा स्पष्ट पारेका छन् । सो अवसरमा उनले भने– परिमार्जित सम्पत्ति बीमा निर्देशिका अनुसार एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने छ । निर्जीवन बीमा कम्पनीसँग सल्लाह गरेर मध्यम वर्गलाई लक्षित गर्दै निर्देशिक परिमार्जन गरेको हो–उनले पत्रकार सम्मेलनमा बताए । जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बीमाको हालसम्म प्रचलनमा रहेको अग्नी बीमा सम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरु अद्यावधिक हुन नसकेकाले निर्देशिका परिमार्जन गर्नु परेको पत्रकार सम्मेलनमा बताइयो । सम्पत्ति बीमालेख अन्तरगत सामान्य बीमालेख, मूल्याङ्कित सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख र पुनस्र्थापना सम्पत्ति बीमालेख रहेका छन् । परिमार्जित बीमा निर्देशिकामा सबै प्रकारका बीमायोग्य जोखिमहरु एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतङ्कवा जोखिम समूह बाहेक अन्य कुनैपनि जोखि हटाउन नपाइने उल्लेख छ । घरबीमा अन्तरगत १ करोड भन्दा कम मूल्यको घरको बीमा प्रति हजार ४० पैसा(हुल दंगा तथा आतंकवाद जोखिम बाहेक) मा बीमा गर्न सकिने परिमार्जित निर्देशिकामा उल्लेख छ ।