विकासन्युज

नेपाल चेम्बर र बिजनेश स्कूलबीच साझेदारी, १ करोडको छात्रबृत्ति प्रदान गरिंदै

काठमाडौं । प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको साझेदारी भएको छ । चेम्बर भवनमा सम्पन्न त्रिपक्षय समझदारीमा  नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले उक्त पत्रमा हस्ताक्षर गरेका छन्र । जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न संस्थाहरुलाई अपील गरेको छ । सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सको नाममा पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने कुरा उल्लेख छ । प्रिसीडेन्सियल बिजनेस स्कूलसंगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने कुरा समेटिएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रले नेपालमा शैक्षिक संस्था र उद्योगी–व्यवसायी बीच सहकार्यको सुरुवात भएको बताए । फाउन्डेसनका अध्यक्ष ई. पंकज जलान तथा प्रिसीडेन्सियल बिजनेस स्कूलका कार्यकारी निर्देशक लक्ष्मण केसीले नेपालमै बिदेशी बिश्वबिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कुरा समेत उल्लेख गरेका छन् ।

लमही-तुलसीपुर सडक चार लेनको बन्ने, एक अर्ब ६ करोडमा निर्माण पूरा गर्ने संझौता

लमही । दाङको लमही-तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए । उनका अनुसार अबको एक महिनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए । सो सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने उनको भनाइ छ । बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषण भए पनि काम शुरु हुन सकेको थिएन ।

सौराहा घुम्न जाँदै हुनुहुन्छ ? अब विद्युतीय सूचना पार्टीबाट पाइन्छ जानकारी

चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी (डिजिटल इन्फर्मेशन बोर्ड) निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो । सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको १० लाख र सङ्घको तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको छ । यही पुस ११ गतेबाट शुरु हुने महोत्सवको समयमा बोर्डको उद्घाटन गरिने घिमिरेले जानकारी दिए । बोर्डमा सौराहा क्षेत्रको पर्यटकीय ठाउँहरू, निकटका पर्यटकीय गन्तव्यहरू, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय, दूरी, ट्राफिक नियमलगायत महत्वपूर्ण सूचनाहरू राखिनेछ । सोही बोर्डमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यलाई सरसफाइ राख्नका लागि सार्वजनिक सन्देश पनि राखिने छ । बोर्डलाई सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकताअनुसार सन्देशहरू प्रवाह गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न बर्षेनी दई लाख हाराहारी पर्यटक आउने गर्दछन् ।

प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको सूर्यबिनायकमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सूर्यबिनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६७ पुगेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यबिनायकको उद्घाटन गरेका छन् । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

कुखुराको दाना महङ्गियो, प्रति केजी दुई रुपैयाँ ५० पैसा बढ्यो, व्यवसायीले मूल्य किन बढाए ?

भरतपुर । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ । “भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भने’, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । “दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भन्नुभयो, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन्, सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ । ब्रोइलर कुखुराको दाना ९बिपिएच० थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो समयमा काठमाडौँमा गतवर्ष २६÷२७ रुपैयाँ किलोमा पाइने मकै यसवर्ष ३७ रुपैयाँ प्रतिकिलो पुगेको छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो अर्थात ३६ रुपैयाँमा पाइन्छ । मकैमा प्रतिकिलो १० रुपैयाँ र प्रतिटन छ हजार रुपैयाँले बढेको छ । यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग सङ्घका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । “भारतमा यसवर्ष मकैको मूल्य अकासिएको छ”, उनले भने, “विभिन्न देशमा निर्यात गर्ने भारतले यसवर्ष आफैँ मकै आयात गरिरहेको छ ।” दाना उद्योगमा सधैँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ । यस वर्षदेखि सरकारले दाना उद्योगलाई दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको उहाँले बताउनुभयो । दाना उद्योगलाई कच्चा सामग्री आयातमा पाँच प्रतिशत भन्सारमा ३.६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताउनुभयो । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उनको भनाइ छ । नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गतवर्ष मात्र ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन् । रासस

भीमदत्त नगरपालिका स्थित १२ ताल पुनः भरणले पर्यटकको आकर्षण तिव्र

काठमाडौं । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रुपमा विस्तार हुँदै गएको छ । आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो । संरक्षण अभावमा पुरिँदै गएका तालमा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी सरसफाइ पछि जल पुनःभरण गरिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले बाराकुण्डालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन् । बाराकुण्डा क्षेत्रका १२ वटा तालसम्म पर्यटकलाई सहज रुपमा पुग्न र धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले रौटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटन मार्गसमेत निर्माण गरेको छ । सो १८ मिटर चौँडा मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थल एक आपसमा जोडिएका छन् । ताल अवलोकनका लागि पुगेका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बाराकुण्डामा ताल पुनःभरण गरी ऐतिहासिक धार्मिक साँस्कृतिक सम्पदा संरक्षणका राम्रो कार्य भएको उल्लेख गर्दै आगामी दिनलाई यसलाई थप पूर्वाधार निर्माणका कार्य गरी आकर्षक बनाउनुपर्ने उनको भनाई रहेको छ । रासस

दार्जुलामा बर्थिङ सेन्टरमा प्रसूति गराएमा पुरस्कार

काठमाडौं । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ । उद्देश्यले गाउँपालिकाको रु दश लाख सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलो पटक आउनेलाई रु पाँच हजार, दोस्रो पटक आउनेलाई रु तीन हजार र तेस्रो पटक आउनेलाई रु दुई हजार पुरस्कार दिइने निर्णय भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिएका छन् । बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउन प्रोत्साहन गराउन गाउँपालिकाले यो रकम दिने निर्णय गरेको हो । नयाँ ठाउँको ‘बर्थिङ सेन्टर’मा गर्भवती महिला सजिलै आउन भनेर पुरस्कारको व्यवस्था गरिएको स्वास्थ्यचौकीका प्रमुख ओमप्रकाश पन्तका अनुसार सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । यसैगरी पहिलो पटक प्रसूतिका लागि उक्त सेन्टरसम्म ल्याउने स्वयंसेविकालाई गाउँपालिकाले रु एक हजार, दोस्रो पटकका लागि रु सात सय र तेस्रो पटकका लागि रु पाँच सय प्रोत्साहन भत्ता दिइने भएको छ ।यस्तै आमा समूलाईसमेत प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ । यसअघि बर्थिङ सेन्टर नहुँदा धौलाकोटका गर्भवती महिला सुनसेरा, हुती र खलङ्गास्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । पहिलो पटक गाउँमै प्रोत्साहन रकमसहित बर्थिङ सेन्टर स्थापना भएपछि अहिले नियमित गर्भवती जाँचका लागि महिला आउन थालेको बर्थिङ सेन्टरका अनमी कमला कठायतले बताएका छन् । रासस

अङ्ग्रेजी नयाँ वर्षको रमझममा पोखरा, ३० प्रतिशत होटल बुकिङ

पोखरा । नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ ।विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ । यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पोखरा आउने गरेको पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए । “अङ्ग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने सोचका साथ देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्,” उनले भने, “पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरा नै सबैको रोजाइ बनिसकेको छ ।” अध्यक्ष पराजुलीका अनुसार पर्यटकलाई लक्षित गरी यहाँ होटेलको सङ्ख्या वृद्धिका साथै अन्य पूर्वाधार निर्माणले गति लिइरहेको छ । हालसम्म यहाँका होटल व्यवसायमा रू एक खर्ब भन्दा बढी लगानी भइसकेको छ । पोखरा उपत्यकामा मात्र प्रतिदिन २५ हजार पर्यटक बस्नसक्ने बताउँदै उनले आसपासका सराङकोट, बेगनास, पुम्दी, धम्पुसलगायत स्थानसमेत गरी दैनिक ४० हजार पर्यटक बस्नसक्ने क्षमता रहेको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी अग्रिम बुकिङ शुरु भइसकेको र साना तथा मझौला होटेलमा करिव ३० प्रतिशत बुकिङ भइसकेको छ । पर्यटन व्यवसायीहरूका अनुसार अङ्ग्रेजी नयाँ वर्षमा यहाँका झण्डै ९० प्रतिशत भन्दा बढी होटेलका कोठा बुकिङ हुनेगरेको छ । होटलमा बुकिङको क्रम शुरु भइसकेको बताउँने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले यस अवसरमा सम्पर्कमा आएका पर्यटकले साविककै दरमा होटेलका कोठा बुकिङ गरिरहेको बताए । “अङ्ग्रेजी नयाँ वर्षमा आउने पर्यटकले सामान्यतः तीन दिनका लागि कोठा बुकिङ गर्ने गरेका छन्,” उनले भने, “पोखरामा होटल थप हुनाका साथै पूर्वाधारसमेत विस्तार भएका कारण कोठाको अभाव हुने अवस्था भने छैन ।” त्यसअवसरमा हुने सडक महोत्सवका साथै आयोजना गरिने अन्य पर्यटकीय गतिविधि, साहसिक पर्यटन, दृश्यावलोकनजस्ता कार्यक्रमले पोखरा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । यस समयमा आउने पर्यटक पोखराको सडक महोत्सवमा रमाउँछन् भने फेवातालमा डुङ्गा खियाउने, सराङकोटबाट प्याराग्लाइडिङका साथै जिप फ्लाइमा पनि मनोरञ्जन लिन्छन् । पर्यटकल पोखरा आसपासका विन्ध्यवासिनी, गुप्तेश्वर महादेव मन्दिर, र विश्व शान्ति स्तुप दर्शन गर्नाका साथै पुम्दीकोट, सारङ्कोटलगायत स्थानबाट पोखरासहित हिमाली शृङ्खला अवलोकन गर्न रुचाउँछन् । त्यस्तै महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन, फेवा, बेगनास, रुपालगायत तालमा डुङ्गा खियाएर पनि पर्यटकले मनोरन्जन लिने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आउने पर्यटकले सामान्यतः डिसेम्बर ३० देखि तीन÷चार दिनसम्म पोखरामा बिताउने गरेको नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका द्वितीय उपाध्यक्ष एवं होटेल एशियाका सञ्चालक धर्म पन्थीले बताए । होटेल एशियामा डिसेम्बर ३० र ३१ का लागि ५० प्रतिशत कोठा बुकिङ भइसकेको जानकारी दिँदै उनले अङ्ग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखेरेली पर्यटकको स्वागतको पर्खाइमा रहेको बताए ।