विकासन्युज

पत्रपत्रिकाको बिक्री घट्दो, आवश्यक जानकारी स्मार्ट मोबाइलबाटै लिन्छन् युवा पुस्ता

काठमाण्डौ । सूचना प्रबिधिको विकाससँगै विश्वमा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । सञ्चारको सबैभन्दा पहिलो माध्यमको आजभोलि लोकप्रियतामा कमि आएको हो । पत्रपत्रिका बिक्री वितरणको केन्द्र बिन्दु मानिने काठमाडौंको धर्मपथ स्थित भूगोल पार्कमा विगत ७ वर्षदेखि पत्रपत्रिका तथा पुस्तक बिक्री गर्दै आएका राम पौडेल भन्छन्–नेपालमा प्रिन्ट मिडियाको लोकप्रियतामा कमि आएको छ, प्रबिधिको विकाससँगै पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दो छ । उनका अनुसार आजभोलि दैनिक पत्रिकाको तुलनामा साप्ताहिक पत्रिकाको बिक्री ज्यादै न्यून छ । कान्तिपुर, राजधानी, नागरिक, अन्नपूर्ण, कारोबार, अभियान आदि पत्रिका दैनिक ५० प्रति बिक्री हुने गर्थ्याे,  अहिले १५ प्रति पनि बिक्री हुदैन–उनले भने । उपत्यकाको उत्तरी भेगमा स्थित तारकेश्वर नगरपालिका , शेस्मति, सानोपुल स्थित कालीका बुक्स एण्ड स्टेशनरीका संचालक रामकृष्ण न्यौपानेले पनि पहिलाको तुलनामा पत्रिका बिक्री वितरणमा कमि आएको बताए । उनले भने–अरु दिनको तुलनामा शनिबार पत्रिकाको माग बढ्ने गरेको छ । त्यस्तै, काठमाडौंको केन्द्रविन्दु बागबजार स्थित लोकप्रिय स्टेशनरीका संचालक सरोज घिमिरेका अनुसार पहिलाको तुलनामा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । पाका पुस्तामा पत्रपत्रिकाप्रति केही चाख छ, तर सामाजिक सञ्जालको विस्तारसँगै पत्रपत्रिकाको महत्व युवाहरुमा हराउँदै गएको छ–घिमिरेले भने । नेपाली समाजमा कुनै बेला पत्रपत्रिका लोकप्रिय माध्यमका रुपमा स्थापित भएको थियो । १०६ वर्षको राणा शासन चल्दै गर्दा पनि नेपालीले नै समाज र राष्ट्र प्रतिको भावनालाई व्यक्त गर्दै विभिन्न साहित्यिक पत्रपत्रिका भारतबाट प्रकाशन गरेको इतिहासमा उल्लेख छ । स्वतन्त्र रुपमा प्रकाशन एवम् वितरण गर्न प्रतिबन्ध लागेको त्यस समयमा पाठकको रुचिका कारण भारतबाट प्रकाशन भई नेपालमा बिक्री वितरण गर्ने गरिन्थ्यो । तर, अहिले समय फेरिएको छ । नेपालमा पछिल्लो १० वर्ष यता इन्टरनेटको तीब्र गतिमा विकास भएसँग युवा युवतिहरुले आफूलाई चाहिने सूचना -जानकारी हातहातमा भएको स्मार्ट मोबाइल मार्फत नै लिने गरेका छन् । यसकारण पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दै गएको पत्रपत्रिका बिक्री बितरण गर्ने व्यवसायीहरुको धारणा रहेको छ ।

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि प्रहरी हिरासतमा !

बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । प्रहरीले दुवै पक्षलाई पटक÷पटक राखेर मिलाउने प्रयास गरे पनि सहमति हुन सकेको थिएन । नागरिक अगुवाहरूले स्थानीय तहको न्यायिक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यक रूपमा फँसेको टिप्पणी गरेका छन् । रासस

बेलायतमा उद्योगीले कटौति गरे एक लाख ५० हजारको रोजगारी, किन बन्द भए २० हजार पसल तथा रेष्टुरेण्ट ?

लण्डन, बेलायत । संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर)जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । “बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताए । “हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यी सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् । रासस\एएफपी

अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द, कर्मचारीले तलब पाएनन्

वासिङ्टन । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो । सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरुले जनाएका छन् । संघीय सरकार अन्तर्गतका झण्डै चार लाख कर्मचारीहरु यसबाट मर्कामा परेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नु भएको थियो । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन । ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोज्नुभएको हो । ट्रम्पले पर्खालका लागि पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आउनुभएको छ । तर यसमा सिनेट तथा हाउसका सदस्य खुशी भएका छैनन् । नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई सङ्घीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव भएको छ । यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ । खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् । सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो । रासस\एएफपी

पुल्चोक शाखामा एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन

काठमाडौं । पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्ना ९.५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

न्यूजपोर्टलमा कम्तिमा ३० वटा समाचार पोष्ट हुनुपर्ने, आचारसंहिताले २५ अंक पाउँदा विषयबस्तुमा १५ अंक पाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालले न्यूजपोर्टलहरुको वर्गिकरण गर्न लागेको छ । पछिल्लो समय सर्वाधिक प्रभावकारी मिडियाको रुपमा उदाएको न्यूजपोर्टललाई अखबार, टेलिभिजन र रेडियोलाई झै वर्गिकरण गर्न र लोककल्याणकारी विज्ञापन वितरण गर्न सञ्चार क्षेत्रबाट माग आएपछि वर्गिकरणको तयारी भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । न्यूजपोर्टललाई वर्गिकरण गर्न १०० अंकको पूर्णाङ्क राखेर त्यसलाई विभिन्न विषयमा खण्डिकरण गरिएको छ । पहिलो खण्डमा २५ अंक भार राखिएको छ । त्यसमा सम्पादकीयलाई ५ अंक, दैनिक अपडेटलाई १० अंक र पाठक संख्यालाई १० अंक दिईएको छ । दोस्रो खण्डमा पनि २५ अंकभार तोकिएको छ । त्यसमा आचारसंहिता मात्र परेको छ । तेस्रो खण्डमा ५० अंकभार तोकिएको छ । त्यसमा विषय बस्तुलाई १५ अंक, विविधतालाई १० अंक, भाषालाई ५ अंक, साजसञ्जा\अडियो\भिडियोलाई ५ अंक, मौलिकतालाई ५ अंक, र्याङकिङलाई ५ अंक र डेटलाईनलाई ५ अंक तोकिएको छ । काउन्सिलले वर्गिकरणको आधार र मापदण्डको रुपरेखा तयार गरी सरोकार पक्षहरुसँग छलफल शुरु गरेको मुख्य अधिकृत झविन्द्र भुसालले बताए । ‘हामीले सम्वन्धित पक्षहरुसँग लिखित रुपमा राय सुझावपनि मागेको छौ । सम्बन्धित पक्षसँग अन्तरक्रिया पनि शुरु गरेका छौं’ भुसालले भने ।

५ हजारको लोभ गर्दा शाखा अधिकृत भरत काउचाले जागिर गुमाए

काठमाडौं । ५ हजारको लोभमा पर्दा शाखा अधिकृत भरतकुमार काउचाले जागिर गुमाएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिवका रुपमा कार्यरत काउचा बसालाई अख्तियार दरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो । काउचा विरुद्ध आयोगमा बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उनलाई अख्तियार टोलीले हाटबजारमा सेवाग्राहीसँग ५ हजार लिदैं गर्दा पक्राउ परेका हुन् । आयोगले उनी विरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

५ अर्ब खर्चिएको १५ तले छायाँ सेन्टर आजबाट खुल्दैः ठमेलमा रौनक बढ्छ कि छायाँ ?

काठमाडौं । काठमाडौंको जुनसुकै अग्ला भवनको टुप्पामा गएर ठमेलतिर आँखा लगाउँदा सबैभन्दा ठूलो भवन देखिन्छ, तर त्यो के हो भन्ने थाहा थिएन भने त्यही भवन आजदेखि तपाईँहाम्रो लागि समेत खुला हुने भएको छ । ठमेलमा १४ रोपनी क्षेत्रफल फैलिएको यो विशाल बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सञ्चालकहरुको छ । यही लक्ष्यकाबीच ५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर आजदेखि सर्वसाधारणका लागि खुल्ला हुँदैछ । डिसेम्बर २५ अर्थात् क्रिसमसको दिन आज पर्यटनमन्त्री रबीन्द्र अधिकारीले उक्त सपिङ कम्प्लेक्सको उद्घाटन गर्दैछन् । उक्त कम्प्लेक्स नेपालकै सबैभन्दा ठूलो र आरामदायी शपिङ कम्प्लेक्सको रुपमा रहेको दाबी सञ्चालकहरुको छ । कम्प्लेक्समा अलफ्ट होटेलमा साथै रहनुका साथै क्युएफएकस सिनेमा, फुडकोर्ट, ब्रान्डेड स्टोर निकट भविष्यमै खुल्ने बताइएको छ । उद्घाटनको अवसरमा २५ प्रतिशत छुटको व्यवस्था रहेको समेत आयोजकले जानएको छ । कम्प्लेक्समा लाइभ म्युजिक, निशुल्क फेस पेन्टिङ, कटन क्याण्डी, फेमेली फोटोसुट तथा परिकार महोत्सव हुने बताइएको छ । कम्प्लेक्समा पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ लगायतको लगानी रहेको छ । सेन्टरमा ४०० कार ३०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।