
काठमाडौं । प्रेस काउन्सिल नेपालले न्यूजपोर्टलहरुको वर्गिकरण गर्न लागेको छ । पछिल्लो समय सर्वाधिक प्रभावकारी मिडियाको रुपमा उदाएको न्यूजपोर्टललाई अखबार, टेलिभिजन र रेडियोलाई झै वर्गिकरण गर्न र लोककल्याणकारी विज्ञापन वितरण गर्न सञ्चार क्षेत्रबाट माग आएपछि वर्गिकरणको तयारी भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
न्यूजपोर्टललाई वर्गिकरण गर्न १०० अंकको पूर्णाङ्क राखेर त्यसलाई विभिन्न विषयमा खण्डिकरण गरिएको छ ।
पहिलो खण्डमा २५ अंक भार राखिएको छ । त्यसमा सम्पादकीयलाई ५ अंक, दैनिक अपडेटलाई १० अंक र पाठक संख्यालाई १० अंक दिईएको छ ।
दोस्रो खण्डमा पनि २५ अंकभार तोकिएको छ । त्यसमा आचारसंहिता मात्र परेको छ ।
तेस्रो खण्डमा ५० अंकभार तोकिएको छ । त्यसमा विषय बस्तुलाई १५ अंक, विविधतालाई १० अंक, भाषालाई ५ अंक, साजसञ्जा\अडियो\भिडियोलाई ५ अंक, मौलिकतालाई ५ अंक, र्याङकिङलाई ५ अंक र डेटलाईनलाई ५ अंक तोकिएको छ ।
काउन्सिलले वर्गिकरणको आधार र मापदण्डको रुपरेखा तयार गरी सरोकार पक्षहरुसँग छलफल शुरु गरेको मुख्य अधिकृत झविन्द्र भुसालले बताए । ‘हामीले सम्वन्धित पक्षहरुसँग लिखित रुपमा राय सुझावपनि मागेको छौ । सम्बन्धित पक्षसँग अन्तरक्रिया पनि शुरु गरेका छौं’ भुसालले भने ।