विकासन्युज

सेयर ब्रोकर कम्पनी आशुतोष कालोसूचीमा, धिताेपत्र बाेर्डले लाइसेन्स खारेज गर्न सक्ने

काठमाडौं । सेयर बजार घट्दा लगानीकर्ता तनाबमा छन् । कति लगानीकर्ता बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा पर्ने त्रासमा छन् । यहाँ लगानीकर्ताको मात्र कुरा छैन, सेयर ब्रोकर कम्पनी समेत कालोसूचिमा परेका छन् । सेयर ब्रोकरको काम गर्दै आएको आसुतोष ब्रोकर एण्ड सेक्युरिटी प्राइभेट लिमिटेडलाई कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ । कम्पनीका सञ्चालकहरु दीपककुमार अग्रवाल, लक्ष्मणप्रसाद अग्रवाल, राजेशकुमार अग्रवाललाई पनि कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ । बैंकबाट लिएको कर्जा तोकिएको समयमा भुक्तानी नगर्नेलाई बैंकको सिफारिसमा केन्द्रले कालोसूचिमा राख्छ । बैंकसँगको सम्झौता अनुसार कर्जा नतिरेका ७ हजार १५९ कम्पनी तथा व्यक्तिलाई कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ । आशुतोषले काठमाडौं र इटहरीबाट सेयर ब्रोकरको काम गर्दै आएको छ । यो कम्पनीका मालिकहरु प्रायः भारतमा बस्ने गरेको जानकारहरु बताउँछन् । मालिकहरुले अशोककुमार झालाई कम्पनी सञ्चालनको जिम्मेवारी दिएका छन् । स्रोतका अनुसार आसुतोषले केही लगानीकर्तालाई दिएको चेक बाउन्स भएको छ । उक्त कम्पनीमा १७ वर्षदेखि काम गर्दै आएको सन्तोष भुर्तेल पनि गलत कारोबार विवादमा तानिएका छन् । भुर्तेल  विरूद्ध महानगरिय प्रहरी कार्यालय टेकुमा उजुरी पनि परेकाे छ । उनले आईसीएफसी फाइनान्ससँग  मिलेर विभिन्न व्यक्ति तथा संस्थालाइ ठगेकाे उजुरीमा उल्लेख छ । कालोसूचिमा परेपछि उक्त कम्पनीको लाईसेन्स खारेज हुन सक्ने नेपाल धितोपत्र बोर्ड सम्बद्ध स्रोतले बतायो । धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १८का आधारमा आसुतोषको ब्रोकर लाईसेन्स खारेज हुन सक्ने श्रोतले जनाएको छ । (मंगलबार १०:४० थप अपडेट गरिएकाे)

एउटा मोबाइल किन्दा अर्काे सित्तैमा, एक्सचेञ्ज मेला अब एक दिन बाँकी

काठमाडौं । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालनमा रहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिन मात्र सञ्चालन हुनेछ । एउटा मोबाइल किन्दा अर्काे सित्तैंमा अफर रहेको उक्त मेला मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । क्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने छ । मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंया सम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंया सम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान रहेका छन् । मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ता बन्दीमा किन्न सकिने आयोजकले जानकारी दिएको छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाइने भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने व्यवस्था रहेको छ ।

चिकित्सा शिक्षा विधेयकको अझै टुङ्गो लागेन, डा. केसी पक्षसँग थप छलफल गरिने

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकबारे फेरीपनि एकपटक डा. गोविन्द केसी पक्ष र अन्य पक्षसँग बैठक जनाएको छ । विद्ययकका बारेमा छलफल गर्न आज बैठक बसेपनि ठोस निश्कर्ष भने निस्किएन । डा. केसीले उठाएको मागमा आफूहरु सैद्धान्तिक पक्षमा सहमत रहेको तर मागअनुसार एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने विषय लागू हुँदा काठमाडौं बाहिरपनि मेडिकल कलेज खोल्न समस्या पर्ने भन्दै यो विषयमा थप छलफल गर्नुपर्ने समिति सदस्य सांसद योगेश भट्टराईले बताए। समितिले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुने विषयमा सहमत भएपनि उपत्यका बाहिर भने केही सहज रुपमा खोल्ने वातावरण बनाउनु पर्ने निर्णय गरेको छ। थप छलफल गरी अन्तिम निश्कर्षमा पुग्ने बित्तिकै चिकित्सा शिक्षा विधेयक संसदमा लैजाने साँसद भट्टराईले बैठकमा बताए।

गाउँगाउँमा इन्टरनेट पुर्याउने डिस होमको तयारी, यसरी काम अघि बढ्दैछ

ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ । उक्त कम्पनीले ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडका रुपमा सेवा प्रदान गर्न लागेको विषयमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका अध्यक्ष हेमराज ढकालले यस कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिए । उनले भने, “हामीले स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महङ्गो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।” “नेपालमा ‘पे’ टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले १० वर्षअघि यसको शुरुआत गर्यौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेका छौँ”, ढकालले भने । नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकाले यस प्रणालीलाई डिजिटलस्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उनले डिजिटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लगिने धारणा राखे । सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा बिक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुर्याएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करीब १५ लाख सेट–टप बक्स बिक्री गरिसकेको जानकारी दिए । उनले भने, “यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागिमात्र पैसा तिर्ने गरेकोले ग्राहकको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानितरुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ ।” त्यस कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ । प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए । उक्त कम्पनीले सञ्चालनमा आएयता रु चार अर्ब, १० करोड, ९१ लाख राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिक आठ हजार जना रहेका छन् । यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुर्याएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अख्तियारले जम्मा गर्यो राज्यकोषमा ४१० बिघा जमिन र साढे ४० कराेड रुपैंया, ४२६ जना जेलमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन बुझाएका हुन् । आयोगले आर्थिक वर्ष २०७४\०७५ मा ४२६ जनाबाट ४० करोड ५५ लाख ५९ हजार रुपैंया बिगो उठाएको छ । यस्तै जमिनतर्फ ४१० बिघा १३ कठ्ठा १२ धुर जमिन सरकारको नाममा कायम गरेको हो । त्यसैगरी ५३ रोपनी ६ जना जमिन सरकारको नाममा कायम भएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारमा सबैभन्दा बढी शिक्षा क्षेत्रमा उजुरी परेको छ । प्रतिवेदन अनुसार शिक्षा क्षेत्रमा १८.३२ प्रतिशत, संघीय मामिलामा १८.०२, भूमिमा ६.४८, वनमा ४.४८, प्रशासनमा ४.१३, स्वास्थ्यमा ४.३७, गृहमा ४.१३, यातायातमा २.२८, अर्थमा २.५९ र अन्य क्षेत्रका ३८.८ प्रतिशत उजुरी परेको थियो । गत आर्थिक वर्षमा आयोगमा १३ हजार १३, मातहतको कार्यालयहरुमा गरी कुल १९ हजार ४८८ उजुरीहरु परेका थिए ।

जलविद्युत् लगानी तथा विकास कम्पनीले १०% शेयर लाभांश दिने

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ । यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी दश अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।

नेप्सको सञ्जालमा अब युनियन पे चिप कार्ड प्रयाेग

काठमाडौं । युनियन पे इन्टरनेशनल (युपिआई) द्धारा जारी चिप पद्धतिमा आधारित कार्डहरु नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको सञ्जालमा संचालित एटिएम तथा पोस मेसिनहरुमा प्रयोग गर्न सकिने भएको छ । नेप्स, १६ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित, पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डड र पिसिआई पिन सेकुरेटी प्रमाणित कम्पनी रहेको छ । चिप पद्धतिमा आधारित कारोवारहरु म्याग्नेटिक् पद्धतिमा आधारित कारोवार भन्दा बढि सुरक्षित र भरपर्दो हुन्छन् । नेप्सले चिपमा आधारित युनियन पे कार्ड जारी गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने योजना अगाडि सारेको छ । उक्त कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई भिसा कार्ड तथा युनियन पे कार्ड सेवाको लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गरेको छ ।

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा

काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरेका छन् । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिएका छन् । हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना सदस्यहरुलाई प्रविधि मैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ । २१ औँ बार्षिकोत्सव मनाएको संस्थाले छुट्टै ‘एप’ समेत सार्वजनिक गरिसकेको छ । संस्थामा जगेडा तथा अन्य कोषहरु गरी रु. १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ । सञ्चालन बचत (मुनाफा) रु. ४ करोड ३३ हजार ६३४ रहेको संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश दिएको छ । भने चुक्ता पूँजी रु. ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको संस्थाको कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ रहेको छ भने कर्जा लगानी रु. १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रहेको छ ।