विकासन्युज

कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर, यी पाँच कम्पनीले यस्तो काम दिंदैछन्

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । उनले भने, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।” कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए । मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दशैँ-तिहारलाई लक्षित गरी ल्याइएको चिनी अझै भन्सारमै, ६७ लाखको चिनी अब के होला ?

बाँके । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको बताउँदै उनले भने, “भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।” सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशीले बताए ।

पुतली बगैँचामा यस्तो बन्दैछ संघीय संसद भवन

संघीय संसद भवनको प्रस्तावित डिजाइन काठमाडौं । सरकारले सिंहदबारकै पुतली बगैँचामा अत्याधुनिक संघिय संसद भवन निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले माघ मसान्तभित्र संसद भवनको डिजाइन तयार हुने, बैशाखसम्म खरिद प्रक्रिया सम्पन्न गरेर जेठदेखि निर्माण आरम्भ गरिने बताए । ‘पुतली बगैँचामा संघीय संसद भवन बनाउने निर्णय भए अनुसार डिजाइन अन्तिम चरणमा पुगेको छ, २ बर्षमा निर्माण सम्पन्न हुनेछ’, मन्त्री राईले भने । २०७८ असार मसान्तमा नयाँ संसद भवन तयार हुनेछ । संसद भवनको लागत भने अहिले नै तय भैसकेको छैन् । डिजाइन टुंगीएपछि मात्रै लागत तयार हुने पनि उनले जानकारी दिए । आफ्नै संसद भवनको अभावमा २०६४ सालदेखि भाडाको भवनमा संसद सञ्चालन हुँदै आएको छ । संसद भवन भाडाका लागि सरकारले बर्षेनी करोडौं रुपैंयाँ खर्चँदै आएको छ । त्यस्तै, भक्तपुरको ठिमीमा ५ हजार जना क्षमताको सम्मेलन केन्द्र पनि निर्माण गर्न लागेको छ । लिच्छवीकालिन राजा मानदेवको कैलाश कुट भवनकै झल्को दिने गरि सम्मेलन केन्द्र निर्माण गर्न लागिएको हो । माघ महिनाभित्र डिजाइनको काम सम्पन्न गरेर बैशाख भित्र ठेक्का लगाउने र असार देखि निर्माण कार्य आरम्भ गर्न लागिएको छ । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न हुने सम्मेलन केन्द्र १८९ रोपनी जमिनमा फैलिएको हुनेछ । मल्लकालिन झल्को दिने गरि निर्माण हुने सम्मेलन केन्द्रले देशको शान बढाउन सघाउ पुर्याउने मन्त्री राईले दावी गरे ।

दूर सञ्चार प्राधिकरणबाट दूर भए दिगम्बर झा

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । प्राधिकरणमा झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा भित्र विवाद उत्पन्न भएपछि झाले राजीनामा दिएका हुन् । झाले बुधबार सञ्चार मन्त्री गोँकुल बास्कोटालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाउनु अघि झाले राजधानीमा पत्रकार सम्मेलन गरेर आफु पदका लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका थिएए । उनले युटिएल, सिजी, नेपाल स्याटेलाइट र स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अघि बढेको जानकारी समेत दिएका थिए । तत्कालिन शेर बहादुर देउवा सरकारले दोश्रो कार्यकालका लागि झालाई नियुक्ती गरेको थियो । तर केपी ओली प्रधानमन्त्री बने लगत्तै त्यस्ता नियुक्ती बदर गर्ने निर्णय भएको थियो । ओली सरकारका विरुद्ध अदालत गएर अन्तरिम आदेश ल्याएका झाले सरकारसँग नजुध्ने भन्दै राजीनामा गरेका थिए । सञ्चार मन्त्रालयले गठन गरेको छनौट समितिमा पहिलो नम्बरमा सिफारिस भएर झाले प्राधिकरणको नेतृत्व पुनः प्राप्त गरेका थिए । तर झाको नियुक्तीमा ठुलो आर्थिक चलखेल भएको भन्दै नेकपाभित्रै चर्काे आलोचना भएको थियो ।

हिमपहिरोमा बितेका श्रीमानको सम्झनामा सगरमाथा चढ्दै दुई एकल शेर्पा महिला

काठमाडौं। हिमाल आरोहण गर्दा बितेका आफ्नो श्रीमानको सम्झनामा र सम्मानमा दुई शेर्पा एकल महिला सगरमाथा चढ्ने भएका छन् । एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिनको सगरमाथा चढ्न लागेको उनीहरुले बताएका छन् । सन् २०१४ मा हिमपहिरोमा पारी सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ निवासी निमा डोमा शेर्पाका श्रीमान छिरिङ् ओङ्छु शेर्पा र वडा नं ४ खुम्जुङ पाङपोचे निवासी फुर्दिकी शेर्पाको श्रीमान मिङ्मार शेर्पाको सन् २०१३ को हिमपहिरोमा परि मृत्‍यु भएको थियो। श्रीमानको मृत्‍यु पछी आफुहरुलाई ठूलो चोट परेको र त्यही चोटलाई बिर्साउन आफुहरुले सम्मान स्वरुप सगरमाथा आरोहण गर्न लागेको उनिहरुले बताए। सगरमाथा चढ्ने तयारीको शिलशिलामा उनीहरुले कार्तिक २६ गते मनाङ जिल्लामा रहेको चुल ईस्ट (६५८४ मि) र मंसिर ८ गते सोलुखुम्बु जिल्लामा रहेको आईसल्यान्ड पिक (६१८९ मि) आरोहण गरिसकेका छन् । आफु जस्तै एकल महिलालाई घरबाहिर आउनु पर्छ भन्ने हौसला दिन र पर्यटन बर्ष २०२० को प्रचारप्रसार गर्नु आरोहणको मुख्य उद्देश्य रहेको उनीहरुले बताए।

अब ५ रुपैयाँमै १० लाखको सुरक्षा पाइने, सन नेपाल लाइफले ल्यायाे ५ वर्षे जीवन बीमा

काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँ बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जनाएको छ । १६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने इन्स्योरेन्सले बताएको छ ।

बाहिरी चक्रपथमा कलंकको टीका लगाउन तयार छैनः शहरी विकास मन्त्री

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथमा कलंकको टीका लगाउन आफु तयार नभएको बताएका छन् । आफु हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मन्त्री नभएकाले कलंकको टीका लगाउन तयार नहुने उनले स्पष्ट पारे । ‘म हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने मान्छे होइन, बाहिरी चक्रपथमा हतारको निर्णय गरेर कालो टीका लगाउन तयार छैन’, मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले भने । केहि भूमाफियाहरुले बाहिरी चक्रपथलाई घेरा बन्दीमा पारेर असफल परियोजना बनाउन लागेको आरोपपनि उनले लगाए । ‘केहि भुमाफियाहरुले ल्याण्ड पुलिङ मात्रै गराएर आयोजना अलपत्र पारेर मलाई बदनाम गराउने प्रयास गरिरहेका छन, तर म सचेत छु’, मन्त्री राईले भने । उनले अर्थमन्त्रालयबाट सहमति आए लगत्तै ७२ किलोमिटर कै जग्गा रोक्का गर्ने घोषणापनि गरे । मन्त्री राईले बाहिरी चक्रपथ आयोजनाको अलाइनमेन्ट भने परिवर्तन हुने पनि स्पष्ट पारे । ‘अर्थबाट सहमति आएकै दिन मन्त्रिपरिषदमा एकै पटक पुरै जग्गा अधिग्रहण गर्ने प्रस्ताव लैजान्छु, जताजता भूमाफियाको जालो छ, त्यहाँ त्यहाँ अलाइनमेन्ट परिवर्तन हुन्छ’, मन्त्री राईले भने । उनले बाहिरी चक्रपथ निर्माणका लागि श्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयलाई अनुरोध गरिएको जानकारी पनि दिए ।

मालपोतका ९ जना कर्मचारीविरुद्ध मुद्दा दायर, नक्कली जग्गाधनी खडा गरी लिखत पास गरेको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै वयरवन–९ मोरङका फौदराज लिम्बू र अभिवक्ता चन्द्रप्रसाद खनालविरुद्ध रु एक करोड २० लाख बराबरको बिगोसमेत असुलउपर गर्न माग गर्दै आयोगले आज मुद्दा दायर गरेको जनाएको छ । आयोगका अनुसार मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको जग्गाको कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको छ । झापा दमक नगरपालिका–४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५ को जग्गाको कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाई नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय, डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्ला बाहिरको (बेजिल्ले) रजिस्ट्रेशनको लिखत पारित गराएको आयोगको दाबी छ ।