पाइपलाइनमा रहेका ‘कमजोर कम्पनी’ले आइपीओ अनुमति पाउँछन् कि पाउँदैनन् ?

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ र एफपीओ निष्काशन प्रक्रिया नरोक्ने भएको छ । मुद्राबजार तथा पूँजीबजारको विद्यमान समस्या समाधानका लागि अर्थ मन्त्रालयद्वारा गठित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समिति गत पुस ४ गते अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनअनुरुप कानून नबनुञ्जेल पनि आईपीओ तथा एफपीओ निष्कासन प्रक्रिया नरोकिने भएको हो । समितिले तत्काल लागु गर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ र एफपीओ निष्काशन प्रक्रिया नरोक्ने भएको छ । मुद्राबजार तथा पूँजीबजारको विद्यमान समस्या समाधानका लागि अर्थ मन्त्रालयद्वारा गठित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समिति गत पुस ४ गते अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनअनुरुप कानून नबनुञ्जेल पनि आईपीओ तथा एफपीओ निष्कासन प्रक्रिया नरोकिने भएको हो ।

समितिले तत्काल लागु गर्नुपर्ने भनेर सुझाव दिएकोले सोही सुझाव अनुसार बाझिने गरी बोर्डले प्रक्रिया अघि बढाउँछ कि बढाउँदैन भन्ने द्विविधा उत्पन्न भएको थियो ।

बोर्डका प्रवक्ता निरज गिरीले बोर्डले कानून संशोधनका लागि प्रक्रिया अघि बढाइसकेको, तर यो प्रक्रिया पूरा नहुञ्जेल विद्यमान कानून अनुसार नै आईपीओ निष्कासन प्रक्रिया लगायत बोर्डका अन्य कामहरु अघि बढ्ने दाबी गरे ।

समितिको प्रतिवेदनले ४ भन्दा कमजोर रेटिङ भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिने व्यवस्था गर्न सुझाएको थियो । त्यस्तै प्रिमियम मूल्यमा आइपीओ र एफपीओ जारी गर्दा क्रमशः नेटवर्थको २ गुणा र नेटवर्थ बराबर भन्दा बढी मूल्यमा जारी गर्न नदिन सुझाव दिइएको थियो ।

हाल बोर्डमा प्रिमियम मूल्यमा आईपीओ र एफपीओका लागि कुनै आवेदन परेको अवस्था नभए पनि कमजोर रेटिङ भएका कम्पनीहरुले समेत आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।

कार्यान्वयनको तयारी शुरु भइसक्योः प्रवक्ता

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले समितिले दिएको सुझावअनुसार बोर्डले गर्नुपर्ने कामहरु अघि बढाइसकेको बताए । हामीले गर्नुपर्ने भनेका अधिकांश कामहरु कानून संशोधन गरेपछि मात्र अघि बढ्छ, सुझाव समितिको प्रतिवेदनले दिएका सुझावका आधारमा त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं, प्रवक्ता गिरीले भने । उनले कानून संशोधन नभएसम्म धितोपत्र बोर्डको कुनैपनि काम प्रभावित नहुने प्रष्ट पारे ।

बोर्डलाई दवाव दिन लगानीकर्ताको भेला

नेपाल स्टक एक्सचेञ्जअगाडि बजार सुधारको काग गर्दै रिले र आमरण अनसन बसेका लगानीकर्ताको समूहले शुक्रबार बिहानका लागि काठमाडौंको भृकुटीमण्डपमा भेला बोलाएका छन् ।

शेयर बजार दबाब समूहका संयोजक हरि ढकालले लगानीकर्ताहरुलाई ११ः३० बजे भृकुटीमण्डपको खुल्ला स्थानमा भेला हुन आह्वान गरेका छन् ।

उनले राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि गरेको व्यवस्थालाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै धितोपत्र बोर्ड लगायत सम्वद्ध पक्षलाई पनि सुझाव कार्यान्वयनका लागि दवाब दिन रणनीति बनाउन भेला डाकिएको बताए ।

Share News