काठमाडौं । सेयर बजारमा लामोसमय पछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । बिहीबारको बजारमा कुल एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जुन रकम अघिल्लो दिनको तुलनामा ४७ करोड रुपैयाँ बढी हो । बुधबारको सेयर बजारमा ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
केही समययता नेप्से परिसूचकमा उच्च वृद्धि भएता पनि कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । बजारमा करोडभन्दा माथिको कारोबार नभएको महिनौँ भएको थियो । तर बिहीबारको बजारमा भने कुल २८ लाख ७२ हजार ५५१ कित्ता सेयर अर्बौ रुपैयाँमा किनबेच भएको छ ।
सो दिन कुल १७४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ११५५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समग्रमा बिहीबारको नेप्से परिसूचक १.०८ अंकले घटेर १२१५ अंकमा झरेको छ ।