विकासन्युज

सरकार शहर केन्द्रित, गाउँ विकासको आयोजना अन्योलमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको बताएका छन् । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा जानकारी दिएका छन् । सांसद गोपालबहादुर बमले विगतका योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु क्रसिङ शुरु गराउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराएका छन् । सो करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । यस्तै केही सांसदले विकास निर्माणको कामको जिम्मा लिएका निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गरेका छन् । रासस

उद्योग मन्त्री यादवले भने-ढुक्क हुनोेस्, लगानीमैत्री वातावरण बन्छ, कानून परिवर्तन हुन्छ

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफू मन्त्री भएदेखि नै उद्योगीहरु रुन थालेको बताएका छन् । मन्त्री यादवले भने–जसले बढी आन्दोलन गरेको छ उही मन्त्रीलाई धम्की दिने ? शुक्रबारदेखि भृकुटी मण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री यादवले पहिले सबै सामान विदेशबाट आउँथ्यो, अहिले देशमा नै उत्पादन हुन थालेको छ । यो सुखद पक्ष भएको उनको भनाई थियो । अझैपनि ४ सयवटा पुन ऐन कानून छ, यी पुराना ऐन कानूनले लगानीमैत्री वातावरण बन्न सकेको छैन । मन्त्री यादवले भने–कानून परिवर्तन हुन्छ, अहिलेको कम्युनिष्ट सरकारले देशमा लगानीमैत्री बाताबरण तयार पार्छ । मन्त्री यादवले जुत्ता उत्पादनमा सहयोग गर्ने बताए । उनले भने–कुनैपनि पेशालाई जात विशेषसँग मात्र जोडेर हेर्नु हुँदैछ, यसलाई व्यवसायिक बनाउनु पर्छ । अब घरघरमा उद्योग सञ्चालन गर्न आह्वान गर्दै मन्त्री यादवले भने–केही समस्या भयो भने माग लिएर आउनोस्, सरकार सहयोग गर्न तयार छ । एशोशियशनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा जुत्ता उत्पादन गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताए । खुला सीमाका कारण जुत्ता व्यवसायी मारमा परेको उनको भनाई थियो । वर्षेनि १ अर्ब २८ करोडको जुत्ता र छालाजन्य सामाग्री नेपाल आयात भएको थियो । जुत्ता र छालाजन्य उद्योगमा कच्चा पद्धार्थ र लगानी दुबैको अभाव रहेको अध्यक्ष फुँयालले बताए । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक शरदबिक्रम रानाले नेपालका उत्पादनले विदेशमा प्रतिष्पर्धा गर्न सक्षम रहेको बताउँदै व्यवसायीहरु मिलेर आए सहयोग गर्न तयार रहेको बताए । त्यसैगरी, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जबसम्म लगानी ऐन फेरिंदैन तबसम्म विदेशी लगानी आउने बताबरण सिर्जना नहुने बताए । साथै उनले नेपालीको माग अनुसार राम्रा जुत्ता बनाउन आग्रह गरे । कार्यक्रममा नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालमा उत्पादित वस्तुको संरक्षण गर्नु पर्ने बताए । फुटवेयर म्यानुफ्याक्चर्स एशोशियनशन अफ नेपालको आयोजनामा शुक्रबारदेखि भृकुटी मण्डपमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको हो । राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिएको हो । यही पुस १३ गतेदेखि १९ गतेसम्म प्रदर्शनी जारी रहने छ । नेपाल भर छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिपष्र्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ । उद्योगहरुले आफ्ना उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरी उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा प्रदर्शनीबाट सहयोग र प्रदर्शनी १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । प्रदर्शनी अवधिभर खरिद गरिएका जुत्ता चप्पल र वस्तुहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्न पाइने छ ।

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले निर्धारित समयावधि भित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्न असमर्थ रहेकी थिइन् । सोही कारणले बैंकले गत पुस ४ गते कम्पनीको स्वतन्त्र संचालक पदमा काफ्लेलाई पुनः नियुक्त गरेको हो ।

ज्योति विकास बैंक र ग्राण्डि हस्पिटलबीच सेवा तथा सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध रहेको छ । आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै  सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकको थप ३ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । पौष १०, ११, १२ गते नवलपरासी वर्दघाट —सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका -१५, सो जिल्लाको कावासोती नगरपालिका- १७ र पाल्पाको रम्भागाँउपालिका -१ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको रोहवरमा भएको छ । ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत तथा अन्य राष्ट्रहरु र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएकाे छ ।

त्रिशूली महोत्सवमा दुई करोडको कारोबार, ६० हजारले गरे अवलोकन

विदुर । नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सवमा दुई करोडको कारोबार भएको छ । विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिए । सो महोत्सवको बुधबार प्रदेशसभा सदस्य केशवराज पाण्डेले समापन गर्दै पहाही संरचना रहेको नुवाकोट खाद्यान्न, तरकारी, फलफूल उत्पादन, कृषि, पर्यटन, संस्कृति तथा धार्मिक सम्पदाले भरिपूर्ण रहेकाले कारण जिल्लालाई आत्मनिर्भर बनाउनाका साथै पर्यटकीय जिल्ला बनाउनु पर्ने बताए । उनले नुवाकोटलाई कृषि उत्पादन, कुखुरापालन व्यवसाय, ट्राउट माछा, स्ट्रबरी, मूला आदिले समेत चिनाएका कारण लगानीका सम्भावना धेरै भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले उद्यमको पहिचान गर्न र लगानीकर्तालाई लगानीको क्षेत्र विस्तार गर्न वातावरण बनाएको बताए । विदुर नगरपालिका–१ स्थित विद्यालयको खेल मैदान त्रिशूलीमा सञ्चालित महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा गायकगायिकाले मनोरञ्जन दिलाएका थिए ।

शेयर बजारमा नयाँ लगानीकर्ता संघ, हरि ढकाल नेतृत्वकाे १५ जनाको कार्यसमिति

काठमाडौं । शेयर बजारका लगानीकर्ताको समूहमा नयाँ लगानीकर्ता संघको जन्म भएको छ । शुक्रबार भृकुटीमण्डपस्थित पार्कमा भएको लगानीकर्ताहरुको भेलाले १५ सदस्यीय तदर्थ समिति सहितको ‘शेयर लगानीकर्ता दवाव समूह’ नामको संघ सर्वसम्मत रुपमा चयन गरेको हाे । संघको अध्यक्षमा हरि ढकाल, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, तीनजना उपाध्यक्ष्ँहरुमा शुष्मा ढुङ्गाना, गोपीकृष्ण आचार्य र देवेन्द्र शुक्ल, महासचिवमा नगेन्द्र बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल अन्य छ जना सदस्यहरु छन् । भेलाले तिलक कोइराला नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ । तदर्थ समिति चयन भएपछि अध्यक्ष चयन भएका हरि ढकालले विकासन्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै खुल्ला ग्राउन्डमा भेला भएका लगानीकर्ताको समूहले आफूलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेपछि जिम्मेवारीबोधको अनुभव भएको भन्दै नेपालको पुँजीबजारको विकास र विस्तारको लागि भएको आन्दोलनलाई लगानीकर्ताको भावनामा ठेस आउन नदिई निष्कर्षमा पुर्याएर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार, यस्ता छन् प्रक्रिया

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ । गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित उक्त प्रणाली संचालनमा ल्याउन लागेको हो । साे प्रणालीलाई प्रयोग गरी कारोबार गर्न ईच्छुक लगानीकर्ताहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने नेप्सेले जनाएको छ । यस्ता छन् लगानीकर्ताले ध्यान  दिनुपर्ने कुराहरूः लगानीकर्ताले आफ्नो ब्रोकर कहाँ खोलेको कारोबार खाता(केवाईसी)लाई अद्यावधिक गर्नु पर्नेछ । साथै, हितग्राही खाता सम्बन्धी विवरण पनि अद्यावधिक गर्नुपर्ने छ । एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आवद्ध गर्नु पर्नेछ । नेप्सेले तोकेको राफासाफ बैंकमा कारोबारका लागि अलग्गै खाता खोली ब्रोकरसँग रकमान्तर गर्नु पर्नेछ । यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिनुपर्ने नेप्सेले जनाएको छ । त्यस्तै, नेप्सेका अनुसार ब्रोकरलाई अनिवार्य रुपमा आफुले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ । लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा गई अनिवार्य रुपमा तोकिएको कारोबार सदस्य ग्राहक सम्झौता गर्नु पर्नेछ । साथै, आवश्यकता अनुसार रकम जम्मा गरी ब्रोकरबाट कारोबार सीमा लिनुपर्ने नेप्सेले बताएको छ । कारोबारबाट बाँकी रकम बैंकिङ प्रणाली मार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने, यस्तो अनुरोध पठाएको २४ घण्टाभित्रै रकम प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ। त्यस्तै, हितग्राही खातामा रहेको फ्री ब्यालेन्स मात्र बिक्री गर्न सकिने, धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्ने र बिक्री कारोबार भएको भोलिपल्टसम्म बिक्री बमोजिमको इडीआईएस ब्रोकरलाई दिने नेप्सेले जनाएको छ ।