
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफू मन्त्री भएदेखि नै उद्योगीहरु रुन थालेको बताएका छन् । मन्त्री यादवले भने–जसले बढी आन्दोलन गरेको छ उही मन्त्रीलाई धम्की दिने ? शुक्रबारदेखि भृकुटी मण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री यादवले पहिले सबै सामान विदेशबाट आउँथ्यो, अहिले देशमा नै उत्पादन हुन थालेको छ । यो सुखद पक्ष भएको उनको भनाई थियो । अझैपनि ४ सयवटा पुन ऐन कानून छ, यी पुराना ऐन कानूनले लगानीमैत्री वातावरण बन्न सकेको छैन । मन्त्री यादवले भने–कानून परिवर्तन हुन्छ, अहिलेको कम्युनिष्ट सरकारले देशमा लगानीमैत्री बाताबरण तयार पार्छ ।
मन्त्री यादवले जुत्ता उत्पादनमा सहयोग गर्ने बताए । उनले भने–कुनैपनि पेशालाई जात विशेषसँग मात्र जोडेर हेर्नु हुँदैछ, यसलाई व्यवसायिक बनाउनु पर्छ । अब घरघरमा उद्योग सञ्चालन गर्न आह्वान गर्दै मन्त्री यादवले भने–केही समस्या भयो भने माग लिएर आउनोस्, सरकार सहयोग गर्न तयार छ ।

एशोशियशनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा जुत्ता उत्पादन गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताए । खुला सीमाका कारण जुत्ता व्यवसायी मारमा परेको उनको भनाई थियो । वर्षेनि १ अर्ब २८ करोडको जुत्ता र छालाजन्य सामाग्री नेपाल आयात भएको थियो । जुत्ता र छालाजन्य उद्योगमा कच्चा पद्धार्थ र लगानी दुबैको अभाव रहेको अध्यक्ष फुँयालले बताए ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निर्देशक शरदबिक्रम रानाले नेपालका उत्पादनले विदेशमा प्रतिष्पर्धा गर्न सक्षम रहेको बताउँदै व्यवसायीहरु मिलेर आए सहयोग गर्न तयार रहेको बताए । त्यसैगरी, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जबसम्म लगानी ऐन फेरिंदैन तबसम्म विदेशी लगानी आउने बताबरण सिर्जना नहुने बताए । साथै उनले नेपालीको माग अनुसार राम्रा जुत्ता बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालमा उत्पादित वस्तुको संरक्षण गर्नु पर्ने बताए ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोशियनशन अफ नेपालको आयोजनामा शुक्रबारदेखि भृकुटी मण्डपमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको हो ।
राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिएको हो । यही पुस १३ गतेदेखि १९ गतेसम्म प्रदर्शनी जारी रहने छ । नेपाल भर छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिपष्र्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ ।
उद्योगहरुले आफ्ना उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरी उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा प्रदर्शनीबाट सहयोग र प्रदर्शनी १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । प्रदर्शनी अवधिभर खरिद गरिएका जुत्ता चप्पल र वस्तुहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्न पाइने छ ।