विकासन्युज

सिन्धुलीको प्रादेशिक महोत्सवमा जुनार उद्योगको खोजी, जवाफ कसैले दिएनन्

कमलामाई । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सिन्धुलीमाढीमा प्रादेशिक महोत्सव २०७५ शुरु भएको छ । पुस २२ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन् । महोत्सव उद्घाटन गर्न विहान पाँच बजे नै उठेर सिन्धुली हुईकेका अर्थमन्त्री उद्घाटन कार्यक्रममा धैर्यपूर्वक मध्यान्न १२ बजेदेखि ४ मञ्चमा बसेका थिए । पत्रकार महासंघ सिन्दुली शाखाका अध्यक्ष, नगरपालिकाका मेयर, प्रदेश र केन्द्रका सासद्हरु, पूर्वसांसद्हरु, प्रदेशका मन्त्री, पूर्वमन्त्रीहरु, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरु सहित करिव २ दर्जन वक्ताहरुको आलोचना र सरकारसँगको माग सुनेपछि अर्थमन्त्री खतिवडाको बोल्ने पालो आएको थियो । उनले सरकारले राम्रा काम गरेको तर आलोचना गर्नेहरु धेरै भएको बताए । सरकारले गरेका राम्रा कामको पक्षमा बोलिदिने मान्छेको अभाव भएको उनको भनाई छ । २० मिनेट बोलेका अर्थमन्त्रीले सरकारले गरेका राम्रा कामको चर्चा सँगै सिन्धुलीको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा सरकारले थालेका र शुरु गर्ने सोच बनाएका कार्यक्रमको बारेमा बताए । अर्थमन्त्री खतिवडाले राम्रो मन्तव्य राखेको थिए तर ताली बजाउने मान्छे ज्यादै कम भईसकेका थिए । पुसको दिन, साँझ पर्न लागेको थियो । उद्घाटन कार्यक्रमको शुरुमा हजारौ विद्यार्थीले चौर भरिए पनि अर्थमन्त्री बोल्ने बेलामा टाडा टाडाका स्कूलबाट ल्याइएका विद्यार्थीहरु घर फर्किसकेका थिए । चौर खाली भैसकेको थियो । ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेशको आधार’ भन्ने नाराको साथ आयोजना गरिएको प्रादेशिक महोत्सवमा बक्ताहरुले सिन्धुलीको ऐतिहासिक महत्वको बारेमा बढी चर्चा गरे । सिन्धुलीमा कृषि, पर्यटन, जलस्रोत, उद्योगको सम्भावना धेरै भए पनि त्यसको विकासतर्फ खासै काम हुन नसकेको उनीहरुले बताए । एक जिल्ला एक उत्पादन अन्तरगत सिन्धुलीमा खोलिएको जुनार प्रशोधन गर्ने उद्योग समेत नचलेको अधिकांश वक्ताले दुःख व्यक्त गरे । उद्योग वाणिज्य महासंघको वरिष्ठ सदस्य चण्डिराज ढकालले सिन्धुलीमा जुनार प्रशोधन उद्योग ल्याउन आफूले धेरै मिहेनत गरेको स्मरण गर्दै उक्त उद्योग कसरी सुचारु गर्न सकिन्छ भनेर स्थानीय समुदाय अगाडि आउनुपर्ने बताए । उक्त उद्याेगकाे बारेमा धेरैले चासाे राखे तर जवाफ कसैले दिएनन् । उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु वातावरण राम्रो भएमा सिन्धुलीमा लगानी गर्न लगानीकर्ता आउने बताए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने–‘यस मञ्चमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिहरु हुनुहुन्छ । लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति र कार्यक्रम बनाउनुहोस्, निजी क्षेत्रले लगानी गर्छ । रोजगारी सिर्जना गर्ने, आय आर्जन बढाउने कार्यको जिम्मेवारी निजी क्षेत्रले निर्वाह गर्छ ।’ प्रादेशिक महोत्सव भनिए पनि कमलामाइको प्रदर्शनी चौरमा २५० वटा स्टलहरुले प्रादेशिक प्रतिनिधित्व गरेको देखिन्न । प्रदर्शनीमा स्थानीय कृषि, घरेलु उत्पादन, हस्तकलाका सामाग्री, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनका स्टलहरु राखिएको छ । मेलामा २५० वटा स्टल भएको, प्रतिस्टल भाडा १५ तोकिएको तर केहीले तोकिएभन्दा १÷२ हजार कममा पनि स्टल बुक भएको संघका अध्यक्ष अम्रेशचन्द्र बैद्यवारले बताए । स्टलबाट करिब ३५ लाख रुपैयाँ उठ्ने र टिकटबाट पनि करिव ३५ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘आम्दानी जति धेरै खर्च पनि त्यति धेरै’ उनले भने । मेलामा स्टल राख्नेको व्यापार पनि राम्रो हुने उनको भनाई छ । महोत्सवमा व्यापार प्रवद्र्धनका साथै कला र संस्कृतिको प्रवद्र्धन हुने, विकासको बारेमा हुने वहस हुने, नीति तथा कार्यक्रम बनाउन समेत सहयोग पुग्ने आयोजकको भनाई छ ।

राष्ट्रिय सूचना-प्रविधि एवम् अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना

काठमाडौं । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको आज एक कार्यक्रमका बीच नेपाल ईन्जिनियरिङ परिषदका अध्यक्ष ईञ्जिनियर डिल्लीरमण निरौलाले उद्घाटन गरेका हुन् । सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको एनसिआईटी कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए । सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए । एनसिआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको बताए । कार्यक्रममा अन्तराष्ट्रिय सुचना तथा प्रविधि विज्ञहरुकोसमेत सहभागिता रहेको उनले जनाए । सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित् साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रिजेन्टेशन दिएका थिए । देश तथा विदेशबाट ६० भन्दा बढि ‘पेपर’ प्राप्त भएको र यसमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएको थियो । मोबाइल कम्युटिगं, स्मार्ट कम्युटिगं, क्लाउड कम्प्युटिगं, ग्रिन कम्प्युटिगं, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किगं, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइीसटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गरेका थिए । आइटी विद्यार्थी, सरोकारवाला र सूचना तथा प्रविधिमा अनुशन्धानरत व्यत्तिहरुको लागि यो महत्वपुर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले विश्वास व्यक्त गरे । उनले भने,‘यो सम्मेलनले मुलुकको सुचना तथा प्रविधिका क्षेत्रमा फलदायी भएको छ ।

नबिकरणीय उर्जा र उद्यमशीलताबारे छलफल, नवीकरणीय ऊर्जालाई बिर्सन नहुनेमा जोड

काठमाडौँ । उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने आज राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा आज आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले यस्तो बताएका हुन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्का महासचिव पदम दुलालले नवीकरणीय ऊर्जा ग्रामिण क्षेत्रमा बढी प्रयोग भइरहेको उल्लेख गर्दै गाउँमा साना तथा घरेलु उद्योगले राम्रो काम गरिरहेको बताए । उनले उनीहरुका काम कारवाहीका विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । परिसङ्घका कार्यकारी निर्देशक पूर्ण रञ्जितकारले हरेक ‘घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती’ हुनुपर्ने नीति सरकारले अघि सारेको बताउँदै विसं २०८५ सम्म हरेक परिवारले ऊर्जाबाट भात पकाउन सक्ने हुनुपर्ने लक्ष्य लिएको जानकारी दिए । उनले उद्योगको विकास गर्ने योजना बनाइरहँदा नवीकरणीय ऊर्जालाई समेत सँगसँगै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत उमेश आचार्यले राष्ट्रिय ऊर्जामा वैकल्पिक ऊर्जाको योगदान दुई दशक अघि शून्य दशमलव पाँच प्रतिशत रहेकोमा अहिले बढेर तीन दशमलव दुई प्रतिशत रहेको जानकारी दिँदै नेपाल सरकारको स्वेतपत्रले समेत प्राथमिकतामा राखेको जानकारी दिए । उनले नवीकरणीय ऊर्जामा व्यावसायिक योजनाअनुसार अनुदान दिने गरिएको बताए । जलवायु परिवर्तनलगायत विभिन्न कारणले विश्वभरिनै नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइएको बताउँदै आचार्यले अब यो वैकल्पिक नभई सधैँका लागि प्रयोग बढाउने गरी कार्यक्रम अघि बढिसकेको उल्लेख गरे । परिसङ्घका सल्लाहकार गणेश शाहले नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज) का अध्यक्ष सीताराम भट्टराईले उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहकार्य गर्न तयार रहेको बताए । समन्वय भएमा पत्रकारितामार्फत व्यावसायिक क्षेत्रका समस्या र सफलताका कुरा बाहिर ल्याउन सहज हुने उल्लेख गरे ।

दुई लाख बढी घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी

काठमाडौँ । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए । कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभएपनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेका महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले जानकारी दिए । नेपालमा सञ्चालित उद्योगमा कूल ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कर्याकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए । विसं २०४७ मा सङ्घको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासङ्घ बनेको थियो । महासङ्घका ३५ हजार सदस्य रहेका छन् । महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत सङ्घ रहेका जनाइएको छ । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन् । घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् । अमेरिकाले नेपालका ७७ वस्तुमा सन् २०२५ सम्म भन्सार नै नलिने घोषणा गरेको जानकारी दिँदै उनले अहिले पश्मिनालगायत न्यून मात्रै वस्तु निर्यात भइरहेको बताए । महासङ्घले साना तथा घरेलु उद्योगको लगानीको वातावरण प्रभावकारी हुन नसकेको बताएको छ । कर्जा लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महाङ्घको भनाइ छ । महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि साना तथा घरेलु उद्योगको विकास जरुरी हुने औंल्याउँदै ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारालाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए । “साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठूलो समस्या छ”, प्रजापतिले भने, “ऋण पाउन र व्यापार प्रवद्र्धनमा समेत हामी सक्तनौं, समस्यामा पर्छौं ।” उद्योगमा सिप र दक्ष कामदारको सधै अभाव रहने गरेको महासंघको भनाई छ । नेपाल नविकरणीय उर्जा परिसंघका सल्लाहकार तथा पुर्व मन्त्री गणेश शाहले देशलाई परनिर्भरताबाट स्वावलम्वी बनाउन उद्यमशिलताको विकास जरुरी रहेको औंल्याए । नयाँ प्रविधिको विकाससँगै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिंदे शाहले दाता आउँदा खुसी हुने नभई रोजगारदाता आउँदा खुसी हुने अबस्था सिर्जना गर्नु पर्नेमा जोड दिए ।

ऊर्जामन्त्रीलाई प्रश्न-लालपूर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन्

काठमाडौँ । ‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपूर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्नुहुन्छ र समस्याको समाधान गर्न पहल गर्नुहुन्छ भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाए । उनले भने ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’ राइनले त्यतिमात्रै भन्नु भएन गाउँपालिकाका पदाधिकारीले स्थानीय तहको निर्वाचनमा भोट नदिएको भनेर जानाजान छुटाएको समेत गुनासो गरे । अन्यत्र बसोबास गर्ने स्थान र आफ्नो नाममा जग्गा नभएका कारण सार्वजनिक जग्गामा बस्दै आएको राइनको भनाइ थियो । उनले भने, ‘पुर्खादेखि बस्दै आएको जग्गा छाडेर कहाँ जाऊ कहीँ कतै पनि हाम्रो आफ्नो भन्ने जग्गा छैन । के हामीले बिजुली बाल्नै नपाउने हो त ?’ राइनले मन्त्री पुनलाई आफ्नो कुरा मात्रै सुनाउनु भएन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । पछिल्लो पटक सरकारले लालपूर्जा नभएकालाई समेत विद्युतको मिटर उपलब्ध गराउने व्यवस्था गरेको छ । जग्गाधनी प्रमाणपत्र नै नभएकालाई समेत मिटर उपलब्ध गराउने निर्णय तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । सोही निर्णयका आधारमा प्राधिकरणले भूमिहीन र सुकुम्बासीलाई समेत मिटर उपलब्ध गराउँदै आएको भए पनि केही जिल्लामा लालपुर्जा नभएकालाई मिटर दिइँदैन । महोत्तरीका राइनको गुनासो सुनेपछि मन्त्री पुनले भने, ‘तपाईँले मिटर पाउनुहुन्छ । त्यसको आवश्यक व्यवस्थाका लागि महोत्तरी वितरण केन्द्रलाई आवश्यक निर्देशन दिन्छौँ । वितरण केन्द्रमा सम्पर्क राख्नुहोला र मिटर पाए नपाएको खबर गर्नुहोला ।’ मन्त्री पुनको उत्तर सुनेपछि राइनले खुशी हुँदै भन्नुभयो-मन्त्रीज्यू यहाँलाई धेरैधेरै धन्यवाद छ । हरेक शुक्रबार मन्त्री पुनले पैसा नलाग्ने फोन नम्बर ११५१ मा नागरिकका गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने गर्दै आउनु भएको छ । सोही क्रममा मन्त्री पुनले शुक्रबार देशका विभिन्न स्थानका १२ जनासँग संवाद गरे । सप्तरी कृष्णसार गाउँपालिकाका सञ्जीवकुमार चौधरीले पनि मन्त्री पुनलाई आफ्नो गुनासो सुनाए । उनले प्रसारण लाइनको टावर निर्माण भइरहेका कारण ४० वर्ष पुराना आँपका रुख काट्नुपर्ने अवस्था आएकाले त्यसको क्षतिपूर्ति पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा राखे । यस्तै चौधरीले बाङ्गोटिङ्गो हुने गरी गाडिएका वितरण लाइनका पोल सिधा पार्न पटकपटक प्राधिकरणको स्थानीय कार्यालयलाई भने पनि त्यसको सुनुवाइ नभएकोमा मन्त्री पुनसमक्ष गुनासो गरे । बूढानीलकण्ठका सञ्जीव कुइँकेलले बूढानीलकण्ठ–१३ को नयाँ बस्ती नजिक वितरण लाइनका लागि पोल गाड्नका लागि निवेदन दिएको तर तोकिएको स्थानमा पोल नगाडी अन्यत्रै गाडेको भन्दै समस्या समाधान गरिदिन आग्रह गरे । यस्तै धादिङ धुनीबेँसीका समरबहादुर सार्कीले भने मस्र्याङ्दी काठमाडौँ प्रसारण लाइनको एउटा टावर सार्न प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै समस्या समाधान गरिदिन आग्रह गरे । सिन्धुली तिनपाटन गाउँपालिकाका छत्रबहादुर रानाले २०७२ सालमा नै विद्युतको पोल गाँडेको भए पनि हालसम्म विद्युतीकरण हुन नसकेको र प्राधिकरणको स्थानीय कार्यालयले ध्यान नदिएको बताए । रानाको गुनासो सुन्ने बित्तिकै मन्त्री पुनले सिन्धुली वितरण केन्द्रलाई तत्काल निर्देशन दिए र समस्या समाधानका लागि पहल गरिहाल्न समेत आग्रह गरे । सामाखुशी बालाजुका शिव दुवाडीले हरेक दिनजस्तो झ्याप्प झ्याप्प विद्युत् काटिने समस्याका कारण व्यापार व्यवसाय गर्नसमेत समस्या भएको बताए । मन्त्री पुनले बालाजु वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गर्न निर्देशन दिने जानकारी गराए । दाङका अर्जुन केसीले समयमा नै मिटर रिडिङ नभएको, हरेक दिनजस्तो एकाध घण्टा विद्युत्भार कटौती हुने गरेको गुनासो गरे । मकवानपुर भीमफेदीका बुद्धिराज सिँजाली मगरले केही थान पोल आवश्यक परेकाले प्राधिरणको स्थानीय वितरण केन्द्रमा निवेदन दिएको भए पनि सुनुवाइ नभएको समस्या राखे । कञ्चनपुरका देवराज जोशीले महाकाली नदीमा जलयात्रा सञ्चालनका लागि पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराए । मन्त्री पुनले सबैको गुनासोलाई उचित सम्बोधन गरिने प्रतिबद्धता जनाए । नागरिकका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने लक्ष्यका साथ नियमित रुपमा नै हरेक शुक्रबार एक घण्टा मन्त्री पुन हटलाइनमा उपस्थित हुने गरे । सार्वजनिक कार्यक्रम पर्दा वा मन्त्रालयको काम विशेषले उपत्यका बाहिर रहँदा मात्रै नियमित हुन नसकेको भए पनि त्यसलाई नियमित गराउन लागिपरेको बताए । नागरिकका कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्तो पहल गर्नुपर्छ भन्ने जानकारी हटलाइनबाट प्राप्त गर्न सकिने भएकाले यसलाई नियमित रुपमा अगाडि बढाउने सोचमा मन्त्री पुन छन् । रासस

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर, अहिलेसम्म कै उच्च

सियोल । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याङ्कहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ । संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६०० अर्ब डलर पुगेको छ । एसियाको चौथो सर्बाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६।१ प्रतिशतको हाराहारीमा रहेको छ । कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो । मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पुर्याउन झण्डै २३ वर्ष लागेको जनाएको छ । विश्वका सात सर्बाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये कोरिया चौथो हो । औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको चीन पहिलो स्थानमा रहेको छ । विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ । “अर्को वर्ष, विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ । जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा अर्थतन्त्रमा केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्ने गरी योजना बनाइरहेको छ ।” रासस/योनहाप

राजधानी वाहिरका विकास बैंकले १४० प्रतिशत पुँजी बढाउनु पर्ने, सेवा एउटा प्रदेशमा मात्र सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षेत्र विभाजन गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरु कार्यक्षेत्रको आधारमा राष्ट्रिय वा प्रादेशिक गरी दुई वर्गका हुनेछन् । यसअघि राष्ट्रिय, १० जिल्ला र ५ जिल्लासम्म सेवा दिने गरी तीन वर्षमा विभाजन गरिएको थियो । ५ र १० जिल्लासम्म सेवा दिने बैंकहरुलाई एउटै वर्गमा राखिएको छ । उनीहरुलाई प्रादेशिक बैंक तथा वित्तीय संस्था भनिने छ । प्रादेशिक बैंक तथा वित्तीय संस्थाले एउटा प्रदेशमा मात्र सेवा सञ्चालन गर्न पाउने छ । राष्ट्रिय स्तरको बैंक तथा वित्तीय संस्थाहरुले मात्र सबै प्रदेशमा सेवा सञ्चालन गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । हाल एक भन्दा बढी प्रदेशमा सेवा सञ्चालन गरिरहेको जिल्लास्तरीय वा क्षेत्रीय विकास बैंक तथा वित्त कम्पनीहरुले २०७७ साल असार मसान्तसम्म आफ्ना शाखा कार्यलयहरु एउटा प्रदेशमा सीमित गरिसक्नु पर्नेछ । दुई वा सो भन्दा बढी प्रदेशमा रहेका शाखाहरु २०७७ असारसम्म स्थान्तरण गर्न सकिने वा बिक्री गर्न वा बन्द गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ । यसरी एउटै प्रदेशमा शाखा एकिकृत नगरेसम्म राजधानी वाहिर रहेका विकास बैंक तथा फाइनान्स कम्पनीको लागि शाखा विस्तार वा अन्य सेवा विस्तार गर्न रोक लगाईएको छ । पुँजी १४० प्रतिशतले वृद्धि पाँच जिल्लासम्म कार्यक्षेत्र बनाएर सञ्चालन भएको विकास बैंकहरुको लागि न्यूनतम चुक्ता पुँजी १४० प्रतिशतले वृद्धि गरेको छ । यस्ता विकास बैंकको चुक्ता पुँजी कम्पनीमा १ अर्ब २० करोड रुपैयाँ हुनुपर्नेछ । यसअघि ५ जिल्लासम्ममा कार्यक्षेत्र बनाएर सेवा सञ्चालन गर्दै आएको विकास बैंकको चुक्ता पुँजी ५० करोड ताेकिएकाे छ । प्रादेशिक क्षेत्रमा सेवा दिने ग वर्गको वित्तीय संस्थाको लागि भने ३० करोड घटाईएको छ । प्रादेशिक तहमा सेवा विस्तार गर्ने वित्त कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ भए पुग्ने छ । यसअघि ८० करोड राखिएको थियो । कार्यक्षेत्रमा भएको परिवर्तन र पुँजी संरचनामा आएको परिवर्तनले कुनै असुविधा भए मर्जमा जान राष्ट्र बैंकले सुझाव दिएको छ । यस्तो अवस्थामा हुने मर्जलाई राष्ट्र बैंकले सहयोग गर्ने प्रबक्ता पौडेलले जनाएका छन् ।

देशैभर सुजुकी मोटरसाईकलको मेगा एक्सचेञ्ज मेला, १५ हजार थप भ्यालुएसन

काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकीले यही पुस १८ गते देखि २७ गते सम्म आफ्ना ५२ शाखाहरु बाट एक साथ मेगा एक्सचेञ्ज मेला संचालन गर्ने भएको छ । मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्याङ्कनका साथै ठाउँको ठाउँ फाईनान्सको ब्यबस्था समेत गरिएको कम्पनीले जनाएको छ। सुजुकीले हालै मात्र नेपाली बजारमा नया बर्गम्यान स्ट्रिट १२५ सिसि स्कुटर समेत बिक्री सुभारम्भ गरेको भिजि अटो मोबाइलका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।