साताको शेयर बजारमा चार अर्बको कारोबार, नेप्से परिसूचक १७ बिन्दुले उकालो
काठमाडौँ । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह देखिएको थियो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार उक्त दिन ८८ करोड २१ लाख बराबरको कारोवार भएको थियो । साताभर बजार भने उतार चढावपूर्ण रह्यो । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घट्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा झर्यो । स्टकका अनुसार सोमबार कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार पनि धितोपत्र बजारमा शेयरको मूल्य ओरालो लाग्यो । कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा झ¥यो । सो दिन कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भए । बुधबार भने बजारमा उच्च अङ्कको वृद्धि देखियो । कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुग्यो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ बिन्दुमा पुग्यो । स्टकका अनुसार कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भए । बिहिबार भने नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भयो । सो दिन कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद-बिक्री भए ।
विदेशीले बनाए एक महिना मै स्कूल, गोर्खा इको प्यानलले दियो छुट
काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको वस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् । चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भब भएको हो । इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए । उनी र तिनको टोली आनन्द देवकोटा र जुनुमाया लामाको टिमले नेपालको वर्दघाट वडा नं १२ नवलपरासीमा स्कुल भबन बनाइदिएको हो । पोहोर साल पनि सोही टिमले काभ्रेमा स्कुल बनाइदिएको थियो । ग्याभिन सिड्नी स्थित एक स्कूलका प्रिन्सिपल हुन् । स्कुल भबन बनाउन एक महिना मात्रै लागेता पनि ग्याभिनलाई स्कुल बनाउनको निम्ति पैसा उठाउन झण्डै एक वर्ष लागेको थियो । उनले आफनो देशमा म्याराथुन जस्ता क्रियाकलापहरु गरी नेपालमा स्कुल बनाउन अष्टेलियाबाट सहयोग जुटाएका थिए । उनीहरुले बनाइदिएको स्कुलमा अति विपन्न चौधारी, मुसुहर, राई, लिम्बू बाहुन, क्षेत्रीसहित विभिन्न जातिका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने जनाइएको छ । गोर्खा इको प्यानलको सहयोगपछि स्कुल बनाउन सम्भब भएको हो । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यालनले प्यानलमा भारी छुट प्रदान गरी सहयोग पुर्याएको हो । ग्याभिन र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालबीचको मित्रताले यो सफलता मिलेको बताइएको छ । सामाजिक उतरदायित्व अन्तर्गत एक महान काममा आफनो कम्पनीले सक्दो छुट दिई सहयोग गरेको ईन्जिनियर दुवालले बताए ।
प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, भूकम्पपीडितलाई घरकर्जा हस्तान्तरण
काठमाडौँ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा पुस १४ गते प्रभु बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भूतपूर्व उप-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका बीच बैंकको बारपाक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बारपाक शाखा कार्यालय समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवम् यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको बताए । शाखा कार्यालय उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीज्यूले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पीडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको बताए । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए । उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पीडितहरुलाई सहुलियत ब्याजमा भूकम्प पीडित घरकर्जा स्वीकृत गरी प्रमुख अतिथि श्रेष्ठबाट हस्तान्तरण गरिएको थियो ।
काठमाडौंमा मेगा हेयर शो, स्ट्रिक्स प्रोफेसनलको मेरिगोल्ड कलेक्सनको प्रदर्शनी
काठमाडौं । प्रिमियम हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एण्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले ईच्छुक तथा सहभागी हेयर स्टाईलिस्टहरुलाई कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्गको क्षेत्रमा प्रेरणा प्रदान गरेको छ । उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्गबारे नवीनतम ट्रेन्ड र प्रविधि सम्बन्धिजानकारी तथा ज्ञान प्राप्त गरेका थिए । हेयर शोका सेलिब्रिटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नवीनतमकलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरुलाई उत्साहित बनाएका थिए । स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ्ग समर कलेक्सनको रुपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाईलिङ्गका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ । गोल्डेन, कपर र ब्लोन्डको शेडहरुमा उपलब्ध यस मेरिगोल्ड कलेक्सनले विवाह र पार्टीको समय तपाईंको व्यक्तित्वमा अझ बढी निखार ल्याउने छ । मेगाहेयर शोको अवसरमास्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ्ग सोलुसन क्यान्भो लाइन समेत लन्च गरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपरमोडल आस्था पोखरेल र अमित रञ्जनले र्यापवाक गरेका थिए ।
एलजीका हरेक टीभीमा अब २ वर्षको फुल वारेन्टी
काठमाडौँ । एलजी टीभीले ग्राहकहरुको मागलाई मध्यनजर राखेर हरेक २ वर्षको पूरा वारेन्टी दिने भएको छ । यसअघि एलजीले नर्मल टीभीमा मात्र २ वर्षको वारेन्टी दिंदै आएकोमा अब देखि यूएचडी र सुपर यूएसडीमा पनि २ वर्षको वारेन्टी दिने भएको हो ।
फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, इन्डोनेसियामा समेत धक्का महशुस
मनिला । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ । छिमेकी देश इन्डोनेसियामा ज्वालामूखि विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो । यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपी सुनामीको छाल ३० सेन्टीमिटर भन्दा कम हुने पनि अनुमान गरिएको छ । फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समूद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ । युएसजिएसका अनुसार यसबाट भूकम्पपछि मानवीय र भौतिक क्षतिको कम मात्र सम्भावना रहेको छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखि विस्फोटको घटना बराम्बर भएको पाइन्छ । सन् २०१३ मा मध्य फिलिपिन्सलक्षित ७.१ म्याग्निच्युडको भूकम्पमा परी २२० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौ ऐतिहासिक चर्च ध्वस्त भएका थिए । रासस/एएफपी
३५ वर्षमा पनि पूरा भएन लुम्बिनी गुरुयोजना, ठूला परियोजना अझै बाँकी
रुपन्देही । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दापनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो । सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गरेको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले एक हजार १५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विभाजन गरेको छ । गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ, तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना अझै बाँकी छन् । छ वटा डोम आकारका भवन, पानी, विद्युत्, टेलिकम्युनिकेसन, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए । कोषले बाँकी काम सक्न अझै छ अर्ब बजेट खर्च हुने बताएको छ । यहाँ हालसम्म छ अर्ब खर्च भइसकेको छ । ग्लोबल बोलपत्र अघि बाँकी आयोजनाको योजना, डिजाइन र स्टिमेटका साथै निर्माण अवधिभर सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न सूचना जारी गरिसकेको छ । तीन मअिनाभित्र परामर्शदाताले गर्ने डिजाइन र स्टिमेटका आधारमा तीन वर्षभित्र सबै काम सक्ने गरी ग्लोबल बोलपत्र गर्ने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए । १० वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको लुम्बिनी अहिले घुम्न लायक पवित्रस्थलको रुपमा विकास भइसकेको छ । यो वर्ष स्वदेशी तथा विदेशीसहित करीब १७ लाखले लुम्बिनी भ्रमण गरेका छन् । रासस
विज्ञान प्रविधिमा भएका प्रमुख खोजः यस्ता छन् सन् २०१८ का १० महत्वपूर्ण प्रविधि
काठमाडौँ । अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट गरेको छ । सामान्यतया ‘‘महत्वपूर्ण’’ भन्ने शब्दका विषयमा प्रश्न गर्ने गरिन्छ र रिभ्युमा उल्लेख भएका सबै प्रविधि अझै व्यापक उपयोगमा पुगेका पनि छैनन् । यसो भएपनि यी प्रविधि वा प्रविधिका समूहले मानव जीवनमा महत्वपूर्ण प्रभाव पार्छ भन्ने सोचमा भने रिभ्यु समिति विश्वस्त छ । यस वर्ष कृत्रिम बुद्धिमा ‘ग्यान्स’ नाम गरेको प्रविधिले मसिनलाई कल्पनाशीलता दिनेछ, नैतिकस्तरमा समस्या भए पनि कृत्रिम गर्भले जीवन कसरी सिर्जना हुनसक्छ भन्ने विषयलाई पुनः परिभाषा गर्नेछ र मानव जीवनका आरम्भका समयका लागि अनुसन्धानको ढोका खोल्नेछ र टेक्सासको पेट्रोरसायन उद्योगमा प्राकृतिक ग्यासबाट कसरी पूर्णतया स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने प्रविधि तथा अन्य प्रयासलाई रिभ्युले ध्यान दिनैपर्ने १० महत्वपूर्ण प्रविधिको रूपमा स्वीकार गरेको छ । १. धातुको त्रिआयामिक छपाइ त्रिआयामिक छपाइ बजारमा आएको केही दशक भइसकेको छ र यो हालसम्म सोख तथा नमूना उत्पादनका डिजाइनरहरूका लागि उपयोगी बनेको छ । प्लास्टिकबाहेक र विषेशगरी धातुका छपाइ महङ्गो तथा निकै ढिलो हुनेगर्छ । अब यस्तो छपाइ सस्तो तथा उत्पादनका लागि व्यवहारिक हुने सम्भावना देखिएको छ । यसले बस्तुको ठूलो मात्रामा उत्पादनको विधिलाई परिवर्तन गर्नेछ । पुराना गाडीका बिग्रेका पुर्जा तथा ग्राहकको आवश्यकता अनुसार नयाँ स्वरूपको उत्पादन गर्न यस प्रविधिले सहयोग गर्ने डेरेक ब्रानीको धारणा छ । लरेन्स लिभरमोर नेसनल ल्याबोरेटरीका अनुसन्धानकर्ताहरूले त्रिआयामिक छपाइका माध्यमबाट स्टेनलेस स्टिलबाट परम्परागतरूपमा बनेका भन्दा दोब्बर बलियो उत्पादन प्राप्त गर्ने प्रविधि विकास गरेको दाबी गरेका छन् । बोस्टनको बाहिरी भागमा स्थापित मार्कफोज्र्ड, डेस्कटप मेटल तथा जीईले पनि यस्ता प्रिन्टर बजारमा ल्याएका छन् । २. कृत्रिम गर्भ क्याम्ब्रिज विश्वविद्यालयका गर्भविद्हरूले डिम्ब र वीर्य नभइ मूलकोष मात्र उपयोग गरी मुसाका लागि प्राकृतिकजस्तै भ्रूण सिर्जना गरी जीवन कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई पुनः परिभाषा गरेका छन् । यसबाट मानवजीवन कसरी आरम्भ भयो भन्ने रहस्यमय ज्ञान प्राप्त गर्न सजिलो त हुनेछ, तर यसले जीवनीतिका विषयमा नयाँ विवाद सिर्जना गर्नेछ । ‘‘हामीलाई मूलकोषको क्षमता जादुमय हुनसक्छ भन्ने थाहा थियो तर उनीहरूले आफैँलाई त्यसरी संयोजन गर्नेछन् भन्ने हामीलाई थाहा थिएन ।’’, यस्तो एक समूहमा काम गर्ने म्यागडिलना जर्निका गोजले बताए । अनुसन्धानकर्ताहरूले मूलकोषलाई त्रिआयामिक मञ्चमा राखिदिँदा तिनीहरू मुसाको गर्भजस्तो गोलीका आकारमा परिणत हुनथाले । उनका अनुसार डिम्ब नभइकन पनि स्तनधारी जन्माउन सकिन्छ भन्ने यस प्रविधिले सङ्केत दिन्छ । हाल मिसिगन विश्वविद्यालय तथा रकफेलर विश्वविद्यालयमा मानवका मूलकोषबाट कृत्रिम भ्रूण बनाउने विषयमा अध्ययन भइरहेको छ । ३. संवेदनशील नगर अनेकौँ स्मार्ट नगर निर्माणमा ढिलो भएको छ र तिनीहरूका उद्देश्य कमजोर भएको छ वा निकै धनीका लागि बाहेक अरुका लागि निकै खर्चिलो बनेको छ । टोरन्टोमा बन्न थालेको नयाँ परियोजनाको नाम किसाइड रहेको छ र यसले पछिल्ला डिजिटल प्रविधिलाई समेटेर सतहदेखि नै नयाँ सहरी ढाँचा निर्माण गर्ने योजना बनाउने र पहिला देखिएका असफलता हटाउने अपेक्षा गरेको छ । यसबाट स्मार्ट नगर सामान्य आर्थिक क्षमता भएका व्यक्तिका लागि पनि बसोवास गर्न सकिने तथा वातावरण मैत्री हुने अनुमान गरिएको छ । सन् २०१७ मा योजना तयार भएको तथा सन् २०१९ मा निर्माण आरम्भ हुने यस परियोजनालाई अल्फाबेटको साइडवाक ल्याब्सले क्यानडा सरकारको सहयोगमा टोरन्टोको औद्योगिक समुद्री किनारमा अगाडि बढाएको छ । यहाँ हावाको गुणस्तरदेखि आवाजको स्तर र वासिन्दाको क्रियाकलापसम्मका विषयमा व्यापक डिजिटल सेन्सर सञ्जालको माध्यमबाट अनुगमन गरी तथ्याङ्क सङ्कलन हुने र त्यसैका आधारमा ढाँचा, नीति, प्रविधि तथा सूचना तयार हुने लक्ष्य राखिएको छ । यहाँ सवारीका साधन स्वचालित हुनेछन् र साझेदारीमा चल्नेछन् । हातले गर्नुपर्ने काम रोबटले भूमिगत रूपमा गर्नेछन् । यस सहरले बनाएको सफ्टवेयर तथा प्रणालीमा अन्य कम्पनीले आफ्ना लागि एप्स तयार गर्नेछन् । सान फ्रान्सिस्को, डेनभर, लस इन्जलिस तथा बोस्टनले पनि यस्तै नगर बनाउने चाहना व्यक्त गरेको साइडवाक ल्याब्सका कार्यकारी अधिकृतले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ४. सबैका लागि कृक्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) हाल आर्टिफिसिल इन्टेलिजेन्स (एआई) एमेजन, बाइदु, गुगल तथा माइक्रोसफ्ट जस्ता ठूला कम्पनीका लागि खेल्नेकुरा भए पनि अन्य कम्पनीका लागि महङ्गो तथा कार्यान्वयन गर्न कठिन बनेको छ । अर्कोतिर क्लाउडमा आधारित एआई भने सस्तो तथा सजिलै उपयोग हुनसक्ने देखिन्छ । हाल अमेजनले ग्लुअन, माइक्रोसफ्टले अजुर, गुगलले क्लाउड अटोएमएल मार्फत यो सेवा उपलब्ध गराउन थालेका छन् । ५. द्वन्द्वरत स्नायु सञ्जाल आर्टिफिसियल इन्टेलिजेन्सबाट वस्तु पहिचान गर्न निकै सजिलो भएको छ । यसले बाटोमा हिँडिरहेको व्यक्तिलाई पहिचान गर्नसक्छ तर यसले व्यक्तिको कल्पना आफैँ गर्न भने सक्दैन । यस्तो भइदिए स्वचालित गाडीलाई बाटोमा नलाँदै तालिम दिनसकिने थियो । हाल दुई आर्टिफिसियल इन्टेलिजेन्सलाई भिडाएर अतिवास्तविक चित्र, आवाज वा अन्य कुरा सिर्जना गर्न प्रयास गरिएको छ । यस्तो कार्य पहिले मेसिनले गर्न सक्दैन थियो । यस्तो प्रविधिले मेसिनलाई कल्पनाशीलता दिनेछ र मेसिन मानिसमा भर नपर्ने हुनसक्नेछ । डिजिटल प्रविधिमा यो निकै शक्तिशाली औजार हुनेछ । कुनै समय मन्ट्रियल विश्वविद्यालयका विद्यावारिधिका विद्यार्थी इयान गुडफेलोले यस विषयमा अनुसन्धान गरेका छन् । उनको विधिलाई जेनेरेटिभ एमभरसरियल नेटवर्क (ग्यान) भनिन्छ । ६. ब्याबेल फिस इयरबड (कानमा लगाउने अनुबादक) गुगलले हाल बजारमा १५९ अमेरिकी डलरमा कानमा लगाउने पिक्सेल बड्स ल्याएको छ । पिक्सेल स्मार्टफोन तथा गुगल ट्रान्सलेट एपको सहयोगमा अरुको भाषालाई तत्कालै अनुवाद गर्ने यो यन्त्र तयार भएको हो । यसमा ठूलो सङ्ख्यामा भाषाहरूलाई अनुवाद गर्ने व्यवस्था गरिएको छ र यो लगाउन पनि सजिलो छ । त्यसो त मानव सञ्चारमा भाषा अझै पनि बाधाको विषय बनेको छ । यो आईओएस र एन्ड्रोइडमा चल्नसक्छ । यसो भए पनि वातावरणको आवाजले भने यस प्रविधिलाई समस्या दिएको छ र एउटा व्यक्तिले कहिले बोल्न रोक्छ र कहिले पुनः आरम्भ गर्छ भनी यसले अझै अनुमान गर्न सक्दैन । ७. शून्य कार्बनयुक्त प्राकृतिक ग्यास विश्वले अब विद्युत उत्पादनका लागि प्राथमिक स्रोतको रूपमा प्राकृतिक ग्यासमा भर गर्नुपर्ने हुनसक्छ । हाल अमेरिकामा उत्पादन हुने विद्युतको ३० प्रतिशत र विश्वको २२ प्रतिशत विद्युत यस्तै ग्यासको सहयोगमा उत्पादन हुन्छ । यस्तो स्रोतले व्यापक रूपमा कार्बन उत्सर्जन गर्छ । हस्टनको बाहिरी भागमा रहेको नेटपावर नामक पेट्रोलियम तथा रिफाइनरी उद्योगले प्राकृतिक ग्यासबाट स्वच्छ ऊर्जा उत्पादन गर्ने विधि परीक्षण गरिरहेको छ । यस संस्थाले प्राकृतिक ग्यासबाट सस्तोमा ऊर्जा उत्पादन गर्ने र यस प्रक्रियामा कार्बन डाइअक्साइट समेत बाहिर आउन नदिने व्यवस्था गर्न सकिन्छ भन्ने मान्यतामा राखेको छ । यस कार्यमा एट रिभर्स क्यापिटल, एक्सन जेनरेसन र सीबीएण्डआई संलग्न छन् । ८. पूर्ण अनलाइन गोपनियता तपाईंले आफ्ना अन्य विवरण नदिइकनै आफूले उचित ठानेको सूचना दिन हालको अवस्थामा कठिन छ । विवरण उपलब्ध गराउँदा गोपनीतिा भङ्ग हुने वा पहिचान चोरी हुने समस्या व्यापक छ । झकास, जेपी मोर्गन चेस तथा आइएनजीका कम्प्युटर बैज्ञानिक आफ्नो क्रिप्टोग्राफिक औजारलाई अब पूर्णतया सक्षम बनाउने प्रयासमा छन् । हाल अगाडि आइरहेको क्रिप्टोग्राफिक प्रोटोकलको नाम जिरो नलेज प्रुफ रहेको छ । बैङ्कहरूले आफ्ना ग्राहकको विस्तृत पहिचान नदिइकनै कारोबार गर्न यो प्रविधि उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ । गत वर्ष जेपी मोर्गन चेसले आफ्नै भुक्तानी प्रणाली प्रयोग गरेको थियो । यसो भएपनि यो प्रणाली मन्द गतिको र विश्वासिलो वातावरण चाहिने भएकाले यसलाई क्रिप्टोग्राफिक की आवश्यक पर्छ । यो की गलत हातमा पर्ने सम्भावनापनि हुन्छ । ९. आनुवांशिक ज्योतिषी आउँदा दिनमा शिशुका लागि जन्मनासाथ डीएनए प्रतिवेदन तयार हुनेछ । यस प्रतिवेदनको सहयोगले उनीहरूले हृदयाघात वा अर्बुद भोग्ने वा चुरोटको नसामा पर्ने वा औसत व्यक्तिभन्दा बढी क्षमतायुक्त हुने अवस्थाको अनुमान गर्न सकिन्छ । यस्तो खोजबाट आनुवांशिक विभेद सिर्जना हुने जोखिम रहने अनुमान गर्न थालिएको छ । हेलिक्स, २३ एन्ड मिरियड जेनेटिक्स, युकेबायोब्याङ्क, ब्रोड इस्टिच्युट यस्तो अनुसन्धानमा लागेका छन् र उनीहरूले दशौँ लाख व्यक्तिको आनुवांशिक परीक्षण गरेपछि यस्तो अवस्था देखेका हुन् । १०. वस्तुको क्वान्टम क्षमता नयाँ क्वान्टम कम्प्युटर सिर्जना हुने सम्भावना बढेको छ र यस्तो कम्प्युटरको क्षमता वर्तमान मेसिनको भन्दा सोच्नै नसकिने गरी बढि हुने अनुमान गरिएको छ । आईबीएमले सेभेन क्युबिट क्वान्टम कम्प्युटर उपयोग गरी मोलेक्युलको इलेक्ट्रोनिक संरचना सिमुलेसन गरेको छ । मोलेक्युलको स्तरमा वास्तविक विवरण प्राप्त गर्न सकिँदा बढी प्रभावकारी औषधि तथा ऊर्जा उत्पादन र वितरणका लागि राम्रो सामग्री तयार गर्न सकिन्छ । यस क्षेत्रमा आईबीएम, गुगल तथा हार्वर्डको अलाँ अस्पुरु गुजिक जस्ता संस्था क्रियाशील छन् र यस्तो प्रविधि पूर्णरूपमा प्राप्त गर्न अझै ५ देखि १० वर्ष लाग्ने अनुमान गरिएको छ । रासस