विकासन्युज

स्वदेशी र नागबेली लघुवित्तको हकप्रद सेयर सूचिकृत

काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो । सो मध्ये स्वदेशीको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा अधिकारी नियुक्त

काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।

नयाँ टाटा एनआरजी कार सिल्भर ओरेन्ज र ह्वाइट कलरमा, मूल्य २९ लाख ५५ हजार

काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा टाटा एनआरजी ल्याएको छ । टाटा मोटर्सले एसयुभीबाट सवारी साधन शुरू गरेसँगै योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल सीयुभीको रूपमा नेपाली बजार भित्र्याएको हो । सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक बिक्रेताको अधिकार लिदैं नयाँ कार टाटा एनआरजी सार्वजनिक गरेको हो । टाटा एनआरजी काठमाडौंको शोरूममा पेट्रोल संस्करण २९ लाख ५५ हजारको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ । १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो कार नेपाली बजारमा रुचाइने इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख सुजन रोयले बताए । रोयका अनुसार कार कठीन सडकमा पनि राम्रोसँग गुड्न सक्छ । कारो अगाडि डिजाइन बलियो, साइड प्रोफाइल अद्वितीय वृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएकोले ग्राहकहरुले मन पराउने कम्पनीले दाबी गरेको छ ।। कार तीनवटा रंगमा उपलब्ध हुनेछ र मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले, केही फरकको खोजीले टाटा एनआरजी निस्किएको बताए । उनले कारको डिजाइन, प्रविधि एसयूभी प्रेरित साधनलाई ग्राहकहरूले धेरै मन पराउने र यसले बजार हिस्सा बढाउन सहयोग गर्ने विस्वास व्यक्त गरे ।    

उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा चर्चित नाम हो । उमेरका हिसावले वाणिज्य बैंकका सीईओहरुमा सबैभन्दा कान्छो भएपनि वासलातको हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ हुन् । १४६ अर्ब कर्जा प्रवाह गरेको यो बैंकले करिब ४० प्रतिशत कर्जा साना तथा मझ्यौला उद्यमीलाई प्रवाह गरेको छ, जसले उद्यमशीताको विकासमा महत्वपूर्ण टेवा मिलेको छ ।  कुनैपनि उद्योग व्यवसाय गर्न पूँजी नभई हुँदैन । व्यवसायीहरुले पूँजी परिचालन तीन किसिमबाट गर्न सक्छन् । पहिलो र सबैले प्रयोग गर्ने विधि भनेको सेयर पूँजी नै हो । नेपालको सन्दर्भमा प्राइभेट कम्पनीहरुमा एकल वा सीमित व्यक्तिले सेयर पूँजी लगानी गरेर प्रारम्भिक पूँजी जुटाएका हुन्छन् । पब्लिक कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणमा सेयर बिक्री गरेर पूँजी जुटाएका हुन्छन् । पूँजी जुटाउने दोस्रो विकल्प भनेको ऋणपत्र जारी गर्ने, भेन्चर क्यापिटल, स्टार्टअपबाट हो । दोस्रो विधिबाट पूँजी जुटाउने अभ्यास नेपालमा ज्यादै कम छ । तेस्रो विधि भनेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने । नेपालमा सबैभन्दा बढी पूँजी परिचालन हुने बैंकको ऋण लिएर नै हो । उद्यमशीलताको विकासमा बैंकहरु धेरै सजग भईरहेका छन् । एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने ‘धनी झन् धनी बन्नु भन्दा गरिब कम गरिब’ बन्दा अर्थतन्त्रको हित हुन्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । एनआईसी एशिया बैंकले १४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसको ४० प्रतिशत साना तथा मझ्यौला कर्जा छन् । १० करोड रुपैयाँसम्मको कर्जालाई हामीले साना तथा मझ्यौला (एसएमई)मा राखेका छौं । कूल कर्जाको १० प्रतिशत विपन्न वर्गमा लगानी गरेका छौं । कूल कर्जाको ५० प्रतिशत कर्जा विपन्न र साना तथा मझ्यौला व्यवसायमा प्रवाह हुनु भनेको धेरै राम्रो संकेत हो । यसले उद्यमशीलताको विकासमा ठूलो टेवा पुर्याएको छ । नयाँ उद्यमीको जन्म भईरहेको छ । यस्तो कर्जाको असुली पनि राम्रो छ । कूल बैंकिङ क्षेत्रले करिब २६ खर्ब कर्जा लगानी छ । त्यसको २५ प्रतिशत साना तथा मझ्यौला व्यवसायीलाई नै प्रवाह भएको छ । कर्जा प्रवाह गर्ने सम्बन्धमा सरकारले लिएको नीति पनि राम्रो छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने, विपन्न वर्ग, महिला वर्गलाई कर्जा दिने सरकारको नीतिलाई अनुशरण गर्दै हामीले खास गरी कृषि र पर्यटन क्षेत्रमा बढी कर्जा प्रवाह गरिरहेका छौं । सहयोगी बैंक समयअनुसार बैंकहरुमा परिवर्तन आएको छ । कर्जा मात्र दिने होइन, उद्यमीको सोच, योजना र रणनीतिलाई बैंकहरुले थप परिस्कृत बनाउन सहयोग गरिरहेका छन् । पहिला बैंकहरुमा एउटा कर्जा विभाग हुन्थ्यो । सबै प्रकारका कर्जाको फाइल एउटै व्यक्ति वा एउटा विभागले हेर्ने गरिन्थ्यो । अहिले एनआईसी एशिया बैंकले कृषि कर्जाको लागि अलग्गै, हाइड्रो कर्जाको लागि अलग्गै, औद्योगिक कर्जाको लागि अलग्गै, व्यापारिक कर्जाको लागि अलग्गै, पर्यटन क्षेत्रमा जाने कर्जाको लागि अलग्गै विभागहरु गठन गरेको छ । विस्तारै स्पेशलाईजेशन हुँदै गएको छ । यसले उद्यमीहरुको जोखिमलाई कम गर्न, राम्रो काउन्सिलिङ गर्ने काम भईरहेको छ । अनुभवमा भरोसा अनुभवी उद्यमीहरुलाई बैंकहरुले कर्जा दिँदा लचिलो नीति लिन्छन् । व्यवसायमा अनुभव निकै ठूलो कुरा हो । एउटा व्यवसायमा सफल भएको उद्यमीले अर्को व्यवसाय सञ्चालन गर्दा धेरै हदसम्म सफलता मिलेको देखिन्छ । तर, नयाँ उद्यमीहरु असफल भएको उदाहरण प्रशस्त देखिन्छन् । कम्तिमा दुई वर्षको व्यवसायिक यात्रा सफल भएपछि बैंकले कर्जाको लागि विश्वास गर्छ । त्यसैले कुनै व्यवसायीसँग लामो अनुभव छ र उसले नयाँ काम गर्न चाहेमा बैंकहरुले कम धितोमा पनि बढी कर्जा दिएका हुन्छन् । बढी जोखिम देखिएको कर्जामा बैंकले २०० रुपैयाँ बराबरको धितो राखेर १०० रुपैयाँ मात्र कर्जा लगानी गर्छ । कम जोखिम देखिएको परियोजनामा १०० रुपैयाँको धितोमा १०० रुपैयाँ नै कर्जा प्रवाह भएको हुन्छ । अझै सुरक्षित मानिएको कर्जामा ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा प्रवाह भएका पनि छन् । ठूलो परियोजनामा जाने कर्जाको लागि बैंकले चाहेरपनि उद्यमीले पर्याप्त धितो दिन सक्दैनन् । त्यस्तो अवस्थामा परियोजना धितो मानेर कर्जा लगानी भएका छन् । तर, परियोजना धितोमा जाने कर्जाको प्रर्फमेन्स पनि धेरै राम्रो छैन । बैंकहरुले धितो नलिई कर्जा दिंदैनन् । यो पनि भुल्नु हुन्न कि बैंकहरुले धितो लिलामी नै गरेर कति कर्जा असुल गरेका छन् ? एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने शुन्य दशमलव ५ प्रतिशत कर्जामा पनि बैंकले धितो लिलामी गर्नु पर्दैन । बैंकप्रतिका गुनासा बैंकहरुले कर्जा प्रवाह गर्दा धितो अनिवार्य गरे, नविनतम सोच, सम्भावना बोकेका योजनामा बिनाधितो कर्जा प्रवाह गरेनन् भन्ने गुनासा सञ्चार माध्यममा, सार्वजनिक मञ्चहरुमा उठिरहेका छन् । नविनतम सोच, राम्रा योजना भएका मानिसहरु पूँजीको अभावमा अगाडि बढ्न सकेनन् कि भन्ने तर्कहरुपनि उठ्ने गरेका छन् । नेपाल जस्तो देश जहाँ बैंकको कर्जा जोखिममा पर्दा असुल गर्नको लागि पर्याप्त कानून, नीति नियम, आवश्यक संरचना छैनन्, त्यस्तो देशमा बिनाधितो कर्जा प्रवाह गर्न बढी जोखिमपूर्ण हुन्छ । बिनाधितो गरिएको लगानी उठेन भने ऋणीलाई कालोसूचिमा राख्ने बाहेक ऋण असुलीका लागि अरु उपाय छैनन् । बैंकहरुले सर्वसाधारणको निक्षेप लिएर व्यवसायीलाई कर्जा दिने हो । कर्जा असुली नहुँदा निक्षेपकर्तालाई पैसा फिर्ता दिन सकिंदैन । राम्रो क्रेडिट रेटिङ सिस्टम, एसेट म्यानेजमेन्ट कम्पनी, बैंकप्रति लचिलो अदालती प्रणाली, कर्जाको इन्स्योरेन्स जस्ता बैकिङ क्षेत्रलाई सुरक्षित बनाउने प्रणालीहरुको विकास र असल कर्जा अभ्यासपछि क्रमशः धितोमाथिको निर्भरता घट्दै जानेछ । उद्यमीप्रति बैंकहरुले अविश्वास गरेर धितो मागेका होइनन् । व्यवसाय संकटमा पर्यो, व्यवसायीले बैंकको कर्जा भुक्तानी गर्न सकेन भने उसलाई सहयोग गर्ने अन्य संरचना र प्रणालीगत विकास नभएकोले बैंकहरुले उच्च जोखिम लिएर बिनाधितो लगानी गर्न नमानेका हुन् । महँगो ब्याजदर किन ? बैंकहरुले ऋणीसँग उच्चदरको ब्याज लिए, त्यसले उद्यमीहरुलाई गाह्रो भयो भन्ने आवाजपनि उठिरहेको हुन्छ । पछिल्लो दुई वर्षमा त यस्तो आवाज धेरै नै सुनिन्छ । तर, हामीले वित्तीय क्षेत्रका सबै पक्षको हितलाई हेर्नु पर्छ । बैंकमा सबैभन्दा धेरै निक्षेपकर्ता हुन्छन् । त्यसपछि ऋणी हुन्छन् । त्यसपछि सेयरधनी हुन्छन् । बैंक सञ्चालनमा कर्मचारी हुन्छन् । उनीहरु सबैको हितलाई सन्तुलन गर्दै जानुपर्छ । बैंकले एउटा ग्राहकसँग निक्षेप लिएर अर्को ग्राहकलाई कर्जा दिने हो । बैंकहरुले ९५ प्रतिशत सर्वसाधारणसँग निक्षेप लिएर ५ प्रतिशत उद्यमीलाई कर्जा प्रवाह गरेका हुन्छन् । निक्षेपकर्ताको हितमा काम गर्दा, कर्जाको माग अनुसार निक्षेपको वृद्धिका लागि बेलाबखत निक्षेपको ब्याज बढाउनु पर्ने हुन्छ । त्यतिबेला कर्जाको ब्याजपनि माथि जान्छ । जतिबेला निक्षेपको ब्याजकम हुन्छ, बैंकले कर्जाको ब्याजदर पनि घटाएका नै हुन्छन् । आर्थिक चक्र झंै व्याजदरको चक्रमा देखिने उतारचढावको क्रममा ब्याजदर कम हुँदा निक्षेपकर्तालाई मर्का परेको हुन्छ, ऋणीलाई लाभ हुन्छ । ब्याजदर बढी हुँदा निक्षेपकर्तालाई लाभ पुग्छ, तर ऋणको ब्याज वृद्धि हुन जान्छ । कच्चा पदार्थको मूल्य वृद्धि भएपछि उत्पादित तयारी बस्तुको मूल्य बढाउनु उद्यमीको वाध्यता जस्तै निक्षेपको ब्याज वृद्धिपछि कर्जाको ब्याज वृद्धि गर्नु बैंकहरुको बाध्यता हो । बैंकहरुको लागि निक्षेप र कर्जा सन्तुलन कायम राख्न पनि कठिन छ । कर्जाको माग १५ वर्ष, २० वर्षको हुन्छ । सोहीअनुसार बैंकहरुले लामो अवधिको कर्जा लगानी गरेका हुन्छन् । तर, निक्षेप १५ वर्षको लागि वा २० वर्षको लागि बैंकले लिन चाहेमा निक्षेपकर्ताहरु त्यति लामो अवधिका लागि निक्षेप राख्न तयार देखिदैनन् । उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार

काभ्रेपलान्चोकको ऐतिहासिक सम्पदा पुनःनिर्माणमा ढिलाई

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए । पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् । दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ । विभागका अनुसन्धान अधिकृत मोहनसिं लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकास हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको बताएका छन् । कलात्मक झ्याल, ढोका र थाम बनाउन कालीगढ नपाउँदा निर्माणमा समस्या भएको र निर्धारित समयमा निर्माण गर्न मुस्किल रहेको अधिकृत लामाले जानकारी दिएका छन् । पुनःनिर्माण गर्ने अवधि दुई वर्ष मात्र बाँकी रहेको यस समयमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सङ्घीय सरकारले गर्दै आएको हुँदा विभागले केन्द्रीयस्तरबाटै सम्पदा पुनःनिर्माणका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गर्ने गरेको छ । जिल्लाका बाँकी सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएको जनाएका छन् । सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमा नै गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी लीला लामाको भनाइ रहेको छ । उनका अनुसार फरक–फरक कालीगढ र निर्माण सामग्री तथा कच्चा पदार्थ प्रयोग गर्नपर्ने अवस्था रहेको बताएका छन् । हाल नमोबुद्धस्थित बौद्धचैत्य परिसरमा रु ७४ लाखको लागतमा दुईतले सत्तल निर्माण भइरहेको छ । रासस

होलबडी परीक्षण गर्ने हो ? काठमाडौँका यी ९ अस्पताल, कस्ले लिन्छन् कति शुल्क ?

काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै बढ्न थालेको छ । काठमाडौंको प्रायः जस्तो अस्पतालमा होलबडी चेकअपको हुन्छ । तर, यो सेवा बापतको शुल्क भने अस्पतालै पिच्छे फरक छ । यही शुल्कको फरकपनले सेवाको गुणस्तरपनि फरक छ कि ? सेवाग्राहीहरु अलमलमा पर्ने गरेका छन् । यदी तपाईँपनि होलबडी चेकअप गर्दै हुनुहुन्छ भने कुन अस्पतालमा कति शुल्क लाग्छ भन्ने कुरामा कत्तिको जानकार हुनुहुन्छ ? आज हामी काठमाडौँमा उपत्यकामा रहेका र होल बडी चेकअप हुने केही अस्पताल र ती अस्पतालले सामान्य होल बडी चेकअपमा कति सेवा शुल्क लिन्छन् भन्ने बारेमा जानकारी दिंदैछौं । १. अल्का अस्पताल: जावलाखेलमा रहेको अल्का अस्पतालले जेनेरल होलबडी चेकअपको सेवा शुल्क ७ हजार ५ सय रुपैयाँले लिने गरेको छ । २. ओम अस्पतालः चाबाहिलमा रहेको ओम अस्पतालमा होलबडी चेकअपको महिला र पुरुषलाई फरक–फरक शुल्क लिने गरिन्छ । महिलाको लागि १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषको लागि १४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । ३. बि एन बि अस्पतालः ग्वार्को स्थित बि एन बि अस्पतालमा होलबडी चेकअपको शुल्क ४० बर्ष भन्दा मुनिको लागि ९ हजारदेखि १८ हजारसम्म र ४० वर्ष भन्दा माथिका सेवाग्राहीको लागि २० हजारसम्म लिइन्छ । ४. नेपाल मेडिकल कलेज (टिचिङ अस्पताल) जोरपाटीमा रहेको यस अस्पतालमा होलबडी चेकअप ५ हजार रुपैयाँमा गर्न सकिन्छ । ५. नर्भिक अस्पताल थापथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेकअप गर्न ७ हजारदेखि २० हजारसम्म लाग्ने बताइन्छ । ६. किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल ग्वार्कोमा रहेको यस अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने चाँही ३ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ । ७. काठमाडौँ मेडिकल कलेज तथा टिचिङ अस्पताल सिनामंगल स्थित यस अस्पताल ५ हजार रुपैयाँमा होलबडी चेकअपको गर्न सकिन्छ । ८. ग्रान्डी अस्पताल टोखामा रहेको यस अस्पतालमा २ हजारदेखि २० हजार रुपैयाँसम्ममा होलबडी चेकअप गर्न सकिन्छ । ९. मेडीसिटी अस्पताल नक्खुमा रहेको यस अस्पतालमा ४ हजारदेखि २१ हजार सम्म होलबडी चेकअपको सेवा शुल्क निर्धारण गरिएको छ । होलबडी चेकअपमा के के परीक्षण गरिन्छ ? होलबडी भन्ने बित्तिकै सम्पूर्ण शरीर भन्ने बुझिन्छ । सामान्यतया होलबडी चेकअपमा रगत जाँच, दिसा जाँच, पिसाब जाँच, डेन्टल जाँच, छातीको एक्स रे, मुटुको जाँच र चिकित्सक सरसल्लाह लिने गरिन्छ । होलबडी चेकअप किन ? बढ्दो प्रदूषण, अस्तव्यस्त जीवनशैली र खानपानले गर्दा आजकल निरोगी मानिस भेट्टाउनै मुस्किल भईसकेको छ । ठूलै रोगले नसताए पनि साना साना रोगले प्रायः मानिसहरुलाई शारीरिक र मानसिक रुपमा सताईरहेको हुन्छ । त्यसैलेपनि वर्षमा १ पटक होलबडी चेकअप गर्नुलाई राम्रो मानिन्छ । आफ्नो स्वास्थ्यको जाँच सामान्यतया उपयोगी नै हुन्छ र यो कुनैपनि उमेरमा गर्न सकिन्छ । कस्तो मानिसले कहिले जाँच गराउने ? यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ । यदी तपाईंको उमेर ३०-४० वर्षको बीचमा छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । र, यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।

सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशतमा सीमित भएको विश्व बैंकको दाबी

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत भएको दाबी गरेको छ । नेपालले ७ प्रतिशतभन्दा उच्च पृद्धि हुने बताइरहँदा विश्व बैंकले त्यस्तो दाबी गरेको हो । बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना : अध्यारिँदा आकाशहरु’ नामक रिपोर्ट अनुसार नेपालले सार्क देशहरुमध्ये बंगलादेश भारत र माल्दिभ्सपछि धेरै आर्थिक वृद्धि हासिल गरेको जनाएको छ । रिपोर्ट अनुसार माल्दिभ्सले ८ प्रतिशत, बंगलादेशले ७.९ प्रतिशत र भारतले ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको बताइएको छ । यद्यपि सार्क क्षेत्रको औसत आर्थिक वृद्धिदरभन्दा नेपालको आर्थिक वृद्धिदर कम नै छ । सन् २०१८ मा सार्क क्षेत्रले ६.९ प्रतिशतको औसत वृद्धिदर हासिल गरेको दाबी विश्व बैंकको छ । त्यस्तै, नेपालले विश्वकै कम आय भएका २७ देशहरुमा नेपालको वृद्धिदर पाँचौं भएको देखाएको छ । नेपालभन्दा बढी इथियोपियाको ७.७ प्रतिशत, रुवाण्डाको ७.२ प्रतिशत, सेनेगल र तान्जिनियाको ६.६ प्रतिशत पछि नेपालको सबैभन्दा बढी देखाएको हो । उक्त तथ्याङ्कमा फरक आउनसक्ने सम्भावना नै नभएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै विश्व बैंकले नेपालको आगामी ३ बर्षको आर्थिक वृद्धिदर क्रमशः ५.९ प्रतिशत, ६ प्रतिशत र ६ प्रतिशत हुने अनुमान समेत गरेको छ ।

क्यान्सर निको भएकाहरुको सन्देशमूलक ‘सर्भाइभर र्याम्प सो’

काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘सर्भाइभर र्याम्प सो ’ कार्यक्रम आयोजना हुने भएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ ।’ ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलो पटक सो प्रदर्शनी आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताईन्। “नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिलाई सहभागी गराई पहिरन प्रदर्शनी आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेका पनि स्वःस्र्फूत रुपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौंँ”, कार्यक्रम संयोजक श्रेष्ठले भनिन्। श्रेष्ठका अनुसार उक्त पहिरन प्रदर्शनीमा क्यान्सर निको भएका व्यक्तिको अलावा मिस नेपाल श्रिंखला खतिवडा, कलाकार प्रियंका कार्की, आयुस्मान देसराज जोशी साथै अन्य थुप्रै चर्चित ब्यक्तित्वोको उपस्थिती रहनेछ। ‘सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनै पनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन’ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले भने, “यस प्रकारको सन्देशमूलक कार्यक्रमले क्यान्सर बिरामीलाई समयमै उपचार गराउन हौस्याउँछ ।” नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामा उनीहरुले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ। गरिब तथा आर्थिक रूपमा विपन्न बिरामीहरूका लागि विशेष प्रकारको आर्थिक कोष सिर्जना गर्नु पनि सोको लक्ष्य रहेको छ।