
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत भएको दाबी गरेको छ । नेपालले ७ प्रतिशतभन्दा उच्च पृद्धि हुने बताइरहँदा विश्व बैंकले त्यस्तो दाबी गरेको हो । बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना : अध्यारिँदा आकाशहरु’ नामक रिपोर्ट अनुसार नेपालले सार्क देशहरुमध्ये बंगलादेश भारत र माल्दिभ्सपछि धेरै आर्थिक वृद्धि हासिल गरेको जनाएको छ ।
रिपोर्ट अनुसार माल्दिभ्सले ८ प्रतिशत, बंगलादेशले ७.९ प्रतिशत र भारतले ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको बताइएको छ । यद्यपि सार्क क्षेत्रको औसत आर्थिक वृद्धिदरभन्दा नेपालको आर्थिक वृद्धिदर कम नै छ । सन् २०१८ मा सार्क क्षेत्रले ६.९ प्रतिशतको औसत वृद्धिदर हासिल गरेको दाबी विश्व बैंकको छ ।
त्यस्तै, नेपालले विश्वकै कम आय भएका २७ देशहरुमा नेपालको वृद्धिदर पाँचौं भएको देखाएको छ । नेपालभन्दा बढी इथियोपियाको ७.७ प्रतिशत, रुवाण्डाको ७.२ प्रतिशत, सेनेगल र तान्जिनियाको ६.६ प्रतिशत पछि नेपालको सबैभन्दा बढी देखाएको हो ।
उक्त तथ्याङ्कमा फरक आउनसक्ने सम्भावना नै नभएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै विश्व बैंकले नेपालको आगामी ३ बर्षको आर्थिक वृद्धिदर क्रमशः ५.९ प्रतिशत, ६ प्रतिशत र ६ प्रतिशत हुने अनुमान समेत गरेको छ ।