विकासन्युज

रुकुमकाे ३ स्थानमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । कुमारी बैंकले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा रहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् । पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्य गरेको छ । सोलाबाङ्गस्थित श्री बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहबीच उद्घाटन गरेको थिए । हाल देशभरि ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।  

ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा उद्घाटन

काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा  इन्स्योरेन्सका संचालक घनश्याम थापाले  उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका  गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन्र ।  त्यस्तै  किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा  गरेका  थिए । उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।

सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीलाई आईपीओ निष्काशनमा रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ । बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुले प्रदान गरेको रेटिङमा सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने कम्पनीहरुलाई त्यस्तो रोक लगाइएको हो । हाल कायम रहेको ३ करोड भन्दा कमको आईपीओ निष्कासन गर्दा रेटिङ गर्नै नपर्ने व्यवस्था भने कायमै रहने बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । यसको अर्थ, अब ग्रेड ५ प्राप्त गरेका कम्पनीलाई आईपीओ निष्काशन गर्न नदिइने भएको हो । प्रत्याभूतिकर्ताले प्रत्याभूति लिनु नपर्ने साथै सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीहरुका निष्काशन तथा सुरक्षण प्रत्याभूतिका लागि सम्झौता गरेका कम्पनीहरुले पनि त्यस्तो प्रत्याभूति लिनु नपर्ने व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिलाई ४० प्रतिशत ऋणपत्र बोर्डले ऋणपत्र बजारमा प्राकृतिक व्यक्तिको कम्तीमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न समेत सम्बन्धित धितोपत्र निष्कासनकर्ता तथा विक्रीकर्ता कम्पनीहरुलाई निर्देशन दिएको छ ।

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।

जापानी विदेशमन्त्री नेपाल आउँदै, बुधबार हवाई सम्झौता हुने

काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बुधबार अपराह्न राजधानी आउँदै छन् । भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवद्र्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र उनका जापानी समकक्षी कोनो नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरु जस्तै कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास‚ पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोग, नेपालमा जापानी लगानी प्रवद्र्धन‚ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट हुनसक्ने सहयोगका क्षेत्र पहिल्याउनेबारेमा गहन विचारविमर्श हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिए । जापान सरकारले नेपालीहरूका लागि हालै त्यहाँ रोजगारीका अवसर खुला गरेको सन्दर्भमा त्यसबारे विस्तृत छलफल, प्रक्रियागत समस्या निरुपण, नेपाल वायुसेवा निगमको विमानलाई जापानको ओसाका र नारिता विमानस्थलमा शीघ्र उडान तथा अवतरण गरेर दुई देशबीच सिधा सम्पर्क स्थापना, नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापान सरकारबाट प्राप्त सहयोग तथा त्यसको दायरा विस्तार, भूकम्पपछिको पुनर्निर्माणमा भएका प्रगतिलगायत पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श हुने उनले बताए । कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, बजार विकास तथा मूल्य शृङखलामा सहायता विस्तार, जैविक खेती, लगानी प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणबारे पनि गहन छलफल हुनेछ । द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रितहमा साझेदारी र सहकार्य गर्दै आएका नेपाल र जापाबीचको कूटनीतिक सम्बन्ध ६३ वर्ष पुरानो भए पनि छैटौं शताब्दीदेखिको सांस्कृतिक सम्बन्ध तथा बौद्धभिक्षु इकाइ कावागुचीबाट सन् १८९९ मा भएको नेपाल भ्रमणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउन अहम् भूमिका निर्वाह भएको छ । जनस्तरमा हुने भ्रमण आदानप्रदान तथा जापान र नेपालमा रहेका दुवै देशका नागरिकबाट आपसी सम्बन्ध र सम्पर्क विस्तारमा सेतुको काम भएको छ । वर्तमान सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ । खाद्य सहायता कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई हालसालै ३५० मिलियन जापानी येन बराबरको अनुदान उपलब्ध गराएको जापान नेपालको विकासको पुरानो साझेदारमात्र होइन बनेपा–सिन्धुली–बर्दिबास सडक, राजधानीको गोङ्गबुमा नयाँ बसपार्क निर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाजस्ता नेपालको भौतिक पूर्वाधार निर्माणका आफ्ना बृहत् आयोजनामा जापानबाट खुला हृदयले सहयोग भइरहेको छ । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र काठमाडौँ–नागढुङ्गा सुरुङमार्ग निर्मााणका निम्ति जापानले प्राविधिक सहयोगका साथै सहुलियतपूर्ण ऋण उपलव्ध गराउँदै आएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा पनि जापानी सहयोग उल्लेख्य छ । नेपाल–जापान सिधा उडान प्रारम्भ हुने वित्तिकै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अधिकाधिक जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्नेछ । काठमाडौँमा करिब २१ घण्टा रहँदा जापानी पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले नेतृत्व गर्ने १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी रहने छन् । रासस

कतार एयरवेजमा यात्रा गर्नेलाई ५० प्रतिशत सम्म छुट

काठमाडौं।  २०१९ मा नयाँ र रोमाञ्चक गन्तव्य घुम्न खोज्ने यात्रुहरूलाई लागि कतार एयरवेजले आफ्ना विश्वव्यापी रुपमा लागु हुने गरी नयाँ अफर ल्याएको छ। कतार एयरवेजको यात्रुहरूले यस विशेष समयमा विशेष छूट पाउनुको साथै हरेक यात्रा अविस्मरणीय क्षणको रुपमा रहने एयरलाइन्सले विश्वाश राखेको छ। ७ जनवरी देखी ३१ डिसेम्बर २०१९ को बीच यात्राको लागि ७- १६ जनवरी २०१९ बाट बुक गरिएको सबै कतार एयरवेज उडानहरूमा उक्त अफर लागु हुनेछ। यस अवधिमा फ्लाइट बुक गर्ने यात्रुहरुले ५० प्रतिशतसम्म छूट पाउनुको साथै अझै थप ५० प्रतिशत बोनस क्युमाईल्स पनि प्राप्त गर्न सक्नेछन्। कतार एयरवेज प्रमुख वाणिज्य अधिकारी, ईहाब आमिन भन्छन्,” हामी हाम्रो यात्रुहरुलाई यस अफर दिन पाएकोमा धेरै खुशी छौ, हामी सबैलाई यस अफरको भरपुर फाईदा लिनुहुन आग्रह गर्दछौ।” यो अफर यात्रुहरूले https://www.qatarairways.com/en-np/offers/new-journey.html मा गएर अथवा कतार एयरवेज विक्रय कार्यालय, वा उनीहरूको नजिकैको ट्राभल एजेन्टलाई सम्पर्क गरेर लिन सक्नेछन्। विश्वका सबैभन्दा तेज विकशिल एयरलाइन्सको रूपमा रहेको कतार एयरवेजलाई २०१८ मा ‘बेस्ट बिजनेस क्लास’ र ‘बेस्ट बिजनेस क्लास सीट’ को अवार्ड दिईेएको थियो। कतार एयरवेजले विश्वका १ सय ५० भन्दा बढी गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ।

एफपीओको नाममा ब्रह्मलुट गर्ने दिन अब सकियो, धितोपत्र बोर्डले चाल्यो यस्तो कदम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ तथा एफपीओको उच्च मूल्यमा प्रिमियम निर्धारणमा अंकुश लगाएको छ । बोर्डले यसअघि गठित पुँजीवजारको समस्या समाधान गर्न गठित समितिले दिएको सुझावअनुसार बोर्डले आईपीओमा नेटवर्थको बढीमा २ गुणा र एफपीओमा बढीमा नेटवर्थकै मूल्यसम्ममा मात्र मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि आइपीओ र एफपीओ दुवैको लागि नेटवर्थको ४ गुणासम्म मूल्य निर्धारण गर्नसक्ने व्यवस्था थियो । बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले उक्त निर्णय लागु गरिएको भन्दै हाल बोर्डबाट स्थानीयवासीका लागि शेयर जारी गर्ने अन्तिम स्वीकृति   गरिसकेको कम्पनीका लागि बाहेक अन्य कम्पनीका हकमा त्यो नियम लागु हुने बताए । बोर्डबाट गरिएका उल्लेखिक व्यवस्थाबाट धितोपत्र बजारमा हुने लगानीको जोखिम न्यूनीकरण हुने, ऋणपत्र बजारमा सर्वसाधारण सहभागिता अभिवृद्धि हुने तथा समग्र धितोपत्र बजारको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बोर्डले गरेको छ ।

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।