बजार झिनो अंकले बढ्याे, छिमेक लघुवित्तको सबैभन्दा बढी कारोबार
काठमाडौं । बुधबारको बजार झिनो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि एक बजेसम्म लगातार बढेर ११८३ अंकमा पुगको थियो । त्यसपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.२९ अंकले बढेर ११७९ अंकमा पुगेको छ । कुल १६६ कम्पनीको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको प्रमोटर सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । जुसको सेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । भार्गव विकास बैंकका लगानीकर्ताले ५.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले घटेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूह क्रमशः १.११ र ०.१८ अंकले घटेका छन् ।
साल्ट ट्रेडिङले गर्यो आठ करोडको कारोबार, नूनको बिक्री बढी
पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महिनामा आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए । सोमध्ये सबैभन्दा धेरै नूनको कारोबार भएको छ । सो अवधिमा सात करोड ३२ लाख ११ हजार ९६५ मूल्य बराबरको ८९ हजार २८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत ६ करोड २१ लाख ८३ हजार २९० मूल्य बराबरको ६७ हजार २२८ बोरा आयोनून र एक करोड १० लाख २८ हजार ६७५ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ । साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले १६ लाख ५६ हजार ३४२ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै एक लाख तीन हजार ३१८ मूल्य बराबरको १५० बोरा चोकर र मैदा साथै ८१ हजार मूल्य बराबरको पिठो बिक्री भएको छ । त्यस्तै, चार लाख ६९ हजार ३०७ मूल्य बराबरको सूर्यमुखी तेल र चार हजार ४६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट चार लाख नौ हजार २०३ मूल्य बराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।
चितवन महोत्सवको १२ औँ संस्करण नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित
चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजदेखि नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गरे । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जालगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ । महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले प्रदर्शनी कक्ष राखेका छन् । चीन, भारत, पाकिस्तान र बङ्गलादेशका कक्ष रहेका छन् । उहांँका अनुसार ५७० कक्ष महोत्सवमा रहने छन् । यसअघिका महोत्सवमा ५२० सम्म कक्ष रहेपनि बढ्दो शहरीकरण र महोत्सवको आकर्षणका कारण कक्ष थपिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा व्यावसायिक कक्ष, कृषि प्रवद्र्धन, सूचना प्रविधिसम्बन्धी कक्ष, नेपालमा बनेका हस्तकला प्रदर्शन, शैक्षिक कक्षका साथै सामाजिक संस्थाका कक्ष रहेका छन् । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित छ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव कक्षमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । उक्त चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु हात्ती, चराचुरुङ्गीलगायत विदेशमा पाइने जनावरको समेत मूर्ति निर्माण गरिएको छ । यहाँका ५० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक पथप्रदर्शन तथा जानकारीमूलक पुस्तिकासमेत तयार गरिएको छ । महोत्सवलाई थप आकर्षण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । ती स्टलमा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । रासस
एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार
चितवन । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए । मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए । सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोबार रोक्का गरिएको पौडेलले बताए ।
आन्तरिक राजश्वको अनलाइनमा समस्या, करदातालाई सास्ती, विभाग भन्छ- समाधानको कोशिस गर्दैछौं
काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई झनै झन्झट भएको छ । अनलाइनमा घण्टौँ बस्दापनि साइट नखुल्ने, खुलेपनि एकैछिनमा ह्याङ हुने र कर इन्ट्रि गर्न सक्ने सहज अवस्था हुँदैन । अनलाइनबाट काम नभएपछि कार्यालय मै धाउनु पर्ने अवस्था सिर्जना भइरहेको छ । विभागको साइटमा हिजो र आजपनि उस्तै समस्या दोहोरिरहेको छ । एक सेवाग्राहीले भने-विभागको अनलाइनमा समस्या आउने रोग विगतदेखि कै हो, खै किन समाधानतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ? यसले गर्दा सेवाग्राहीले निकै दुःख पाएका छन् । महिनाको अन्तिममा साइट नचल्ने र जरिवाना तिर्नु पर्ने अवस्था आउने गरेको करदाताहरुको गुनासो छ । यस सम्बन्धमा अन्तरगत आन्तरिक राजश्व विभागको सूचना प्रणाली शाखाका निर्देशक चुडामणी ढुंगानाले साइटमा समस्या आएको स्वीकार गर्दै समाधानको कोशिस भइरहेको बताए । विगतमा आउने गरेका समस्या समाधान गरेका छौं, हिजो र आजको समस्या अलि फरक खालको छ । नयाँ नयाँ समस्या आउँदा समाधानका लागि अलि गाह्रो भएको छ- निर्देशक ढुंगानाले भने । करदाता सेवाग्राहीबाट गुनासो आएको छ, काममा केही असहजता आएको पक्कै हो, तर हामीपनि चुप लागेर बसेका छैनौं । उनले भने-प्राबिधिक समस्या समाधान गरी काम सहज बनाउने कोशिसमा विभाग जुटेको छ । नयाँ नयाँ प्रबिधि थपेर भएपनि समस्या समाधान छिटो भन्दा छिटो गर्छौँ ।
सवारी साधन जथाभावी पार्किङ गर्ने होसियार ! घण्टौँ ‘ह्वील लक’मा परिएला
काठमाडौं । तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन शुरु गरिएको बताए । मंगलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ । यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो । रासस
निर्माण लागतमा ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा
काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले संरचनाको लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने भएकाे छ । परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिनेछ । संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिन्छ । यो ब्लक उत्पादनको क्रममा निकै थोरै परिमाणमा ऊर्जा आवश्यक पर्ने हुँदा हानिकारक ग्यास उत्सर्जन नहुने भएकोले यसलाई वातावरणमैत्री मानिएको हो । मेल्टिङ प्वाइन्ट २९सय फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२ सय फरेनहाइटको तुलनामा दोब्बर भन्दा पनि धेरै हुनेछ । ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने हुँदा लाग्ने सामान र श्रमिक खर्चको बचत हुने जानकारी बाहिर १० एमएम मात्र प्लास्टर गरे पुग्नेछ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् । उक्त ब्लक प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसावले सुरक्षित मानिएको छ । एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एमसी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिजुलीको बिल ३० प्रतिशतले घटाउन सकिनेछ ।
नेपालमा न्याय पाउने आशा मरेपछी गंगामाया अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आवाज उठाउँदै
काठमाडौं। नेपाल सरकारले आफ्नो छोरालाई न्याय नदिने देखेपछी गंगामायाले अब आफ्नो छोराको न्यायको लागि अन्तरराष्ट्रिय स्तरमा आवाज उठाउने भएकी छिन्। पौस २०६९ देखी २०७५ असारको अवधीमा चार पटक मृत्युको मुखमा पुगिसकेकी गंगामाया मंगलबार काठमाडौ, जिल्ला प्रशासन कार्यालयमा मंगलबार व्हीलचेयरमा देखा परेकी थिईन्। उनी त्यहाँ उनको पासपोर्ट प्राप्त गर्न पुगेकी थिईन्। उनको अहिलेसम्म विदेश भ्रमणको कार्यक्रम तयार नभएता पनि उनको वकिलको अनुसार उनी बेलायत र न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०६१ साल असारमा भएको आफ्नो छोराको हत्याको विवरण बुझाउन जानेछिन्। आफुले धैर्यपूर्वक नेपाल सरकारको तर्फबाट न्यायको लागि पर्खिरहेपनि सरकारले सधैं आफुलाई निराश पारिरहेको हुनाले अब आफुले आफ्नो कथा विश्वसामु सुनाउने, गंगामायाले बताईन्। गंगामायाका १८ वर्षीय छोरा कृष्णा प्रसाद कोइराला २०६१ साल जेठ २४ गते माओवादीद्वारा मारिएको थिए। अपराधीहरुलाई बाहिर ल्याउन मात्र कृष्णा प्रसाद को आमाबाबुले लगभग सात वर्ष कुर्नपरेको थियो। तर हत्याराहरु पत्ता लागे पनि पक्राउ गर्न राज्यले पहल नगरेपछि, उनिहरुले २०६९ पौषमा भोक हड़ताल सुरु गरेका थिए। हड्ताल सुरु गएको ४७ दिन पछि सरकारको न्याय दिने प्रतिबद्धता जनाएपछि पौडेल दम्पतीको हड्ताल समाप्त भएको थियो। तर मुख्य अभियुक्त छविलाल पौडेललाई तारिखमा जेलबाट रिहा गरेपछी अधिकारी जोडीले आफ्नो भोक हड़ताल पूर्ण सुरु गरेका थिए। भोक हड्ताल ३३४ दिनमा पुग्दा गंगामायाका श्रीमानले आफ्नो अन्तिम सास फेरे। उनको शरीर अझै पनि टिचिङ अस्पातलमा लावारीसे रुपमा छ। सरकारले आफ्ना सबै मागहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गरेपछि २०७५ असारमा गंगामायाले आफ्नो भोक हड़ताल तोडेकी थिईन्।