विकासन्युज

सिन्धुलीको फिक्कलमा महोत्सव हुँदै, १ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल प्रवर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाक सबैभन्दा अग्लो फिक्कलडाँडामा माघ २ देखि महोत्सव आयोजना हुने भएको छ । फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उक्त कुराको जानकारी दिएका थिए । ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकले लिएको छ । फिक्कल डाँडाको उचाइ ७ हजार ७ सय ७१ फिटमा रहेको उक्त स्थानबाट उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारको भनाई रहेको छ । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले बताएका छन् । धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको गाउँपालिका उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक पार्वती सुनुवारको भनाई रहेको छ । महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी, प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार,प्रसार, विक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने जानकारी दिएका छन्र । स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्याप्टिङ गराउने उद्देश्य महोत्सवले लिएको गाउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघ/संस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, र्याफ्टिङ्ग लगायत रहेका छन् ।

नेपाल-चीन नाकाको सुख्खा बन्दरगाह दुई साताभित्रै निर्माण सुरु हुने, २० वर्षसम्म ढुक्क

काठमाडौं । नेपाल र चीनलाई जोड्ने एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै रसुवाको टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण दुई साताभित्रै सुरु हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रवीशंकर सैंजुका अनुसार डिजाईन बनाउने, डिपीआर गर्नेलगायत सबै  काम सकिएकोले  तत्कालै निर्माण कार्य प्रारम्भ हुनेछ । ‘केही प्राविधिक विषयहरु मिलाउन बाँकी छ, त्यसलगत्तै निर्माण सुरु हुन्छ, ढिलाेमा २ सातामै सुरु हुन्छ ।’ सैंजुले विकासन्यूजसँग भने । निर्माण कार्यकाे लागि चिनीया निर्माण टाेली टिमुरे अाउने क्रम सुरु भएकाे समेत उनले बताए । चीन सरकारको सहयोगमा करिब २ अर्बको लागतमा उक्त सुख्खा बन्दरगाहको निर्माण हुनेछ । त्यसका निर्माण समेत चीन सरकारले आफ्नै ठेक्का प्रणालीअनुसार गर्नेछ । नेपाली पक्षले त्यसको गुणस्तर हेर्ने र अन्य प्राविधिक विषय मिलाउने काममात्र गर्नेछ । उक्त बन्दरगाह बढीमा साढे २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको कार्यकारी निर्देशक सैंजुले बताए । उक्त सुख्खा बन्दरगाहले ८ हेक्टर जमीन ओगट्न्छ जसमध्ये ५ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गा अधिग्रहण गरिएको छ भने बाँकी ३ हेक्टरमध्ये ५८ रोपनी जग्गा स्थानीयवासी र १९० रोपनी जग्गा सरकारी स्वामित्वको अधिग्रहण गरिएको छ । उक्त क्षेत्रमा ५ तले प्रशासनिक भवन, गोदाम र २ ओटा जाँचपासस्थल रहनेछन् । उक्त सुख्खा बन्दरगाहमा ३५० ओटा ठूला मालबाहक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता रहने बताइएको छ । उक्त क्षमताको ड्राइपोर्टले सो नाकाबाट हुने नेपाल चीन व्यापार २० बर्षसम्म धान्ने प्रक्षेपण गरिएको छ । गत माघ १ गते इन्टरमोडल यातायात विकास समितिले चीन सरकारसँग टिमुरे ड्राइपोर्टको डिजाइन तयार गर्ने सम्झौता भएसँगै चीन सरकारबै स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्सिच्युड अफ अफ लि टिबेट अटोमेसन रिजन नामक कम्पनीले डिजाइन तयार गरेको थियो । उक्त बन्दरगाहको निर्माण असोजदेखि नै सुरु हुने भए पनि प्राविधिक कारण ढिलाई भएको भए पनि अब तत्कालै निर्माण सुरु हुने कार्यकारी निर्देशक सैंजुले जानकारी दिए ।

काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्ने समझदारी, जापानसँगकाे श्रम समझदारी शीघ्र हुने

जापानका विदेशमन्त्री तारो कानो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली हवाई सम्झौताको बारेमा हस्ताक्षर पछि हात मिलाउदै काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ । नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ । मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गर्नुभयो भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकनसम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्। बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागितालगायत विषयमा विचारविमर्श भएको जानकारी दिए । जापान सरकारको नयाँ आप्रवासन नीतिअनुरुप त्यहाँको श्रम बजारमा नेपाली कामदार पठाउनेबारेमा पनि आफूहरूबीच छलफल भएको मन्त्रीद्वयले बताए । पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन जापान र नेपालले साझेदारी गर्नेबारेमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । मन्त्री कोनोले काठमाडाैं र टोकियो चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताए । नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रत्यक्ष हवाई सेवाबाट मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरू, कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोगबारे पनि बैठकमा छलफल भएको थियो । वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न तथा आर्थिक रुपान्तरणका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न जापानी सहयोगको अपरिहार्यतामा बैठकमा जोड दिइएको थियो भने अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्ने अर्को लक्ष्य साकार पार्न पनि जापानी सहायता अभिवृद्धिमा नेपालले जोड दिएको थियो । सन् २०३० सम्ममा मध्यमआययुक्त देशका रुपमा विश्व मानचित्रमा नेपाललाई चिनाउन जापानले निःशर्त निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेको बैठकमा सहभागी एकजना अधिकारीले राससलाई बताए । बैठकमा भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । –––

विद्यार्थीसँग एक करोड पचास लाख रुपैयाँ ठगी गर्ने गेट्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए । रासस

प्रतिष्ठा र प्रतिफल बढाउँदै एनएमबि बैंक, पुराना बैंकलाई उछिन्दै बढी लाभांश दिनेमा तेस्राे

काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान अवार्ड । यस्तो सौभाग्य पाउने बैंक हो एनएमबि बैंक । नेदरल्याण्डको एफएमओ मार्फत बैंकले अन्तराष्ट्रिय पूँजी, प्रबिधि र वर्किङ कल्चर समेत प्राप्त गरिरहेको छ । बैंकको प्रतिफल पनि राम्रै छ । एनएमबिले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्दैछ । जसमा १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ । पुस २६ गतेको साधारण सभाबाट पारित भएपछि एनएमबिका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकले ३० प्रतिशत नगद लाभांश दिनुलाई चानचुने भन्न मिल्दैन । वाणिज्य बैंकहरूमा बढी लाभांश दिनेमा एनएमबि यस वर्ष तेस्राे स्थानमा छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट र दाेस्राेमा नविल बैंक रहेका छन् । यसवर्ष प्रस्ताव गरिएको ३० प्रतिशत लाभांशमा एफपिओ बिक्रीबाट प्राप्त गरेको आम्दानीको हिस्सा पनि जोडिएको छ । एनएमबि बैंकले गत जेठमा प्रिमियम मूल्यमा प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार कित्ता फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गरेको थियो । जसबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो । एफपीओमा सेयर पाउनेले अघिल्ले आर्थिक बर्षकाे नाफाबाट १५ प्रतिशत बोनस सेयर पाएका छन् । १५ प्रतिशत बाेनस सेयर लिएकाे छ महिना नवित्दै फेरी १० प्रतिशत बाेनस सेयर र २० प्रतिशत नगद लाभांश पाउँदैछन् । ११० वटा शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर र ९६ वटा एटीएम नेटवर्कले बैंकको पहुँच र व्यवसायलाई फराकिलो बनाईरहेको छ । बाणिज्य बैंकका शाखाहरु नपुगेका स्थानीय तहरुमा केन्द्रिय बैंकको निर्देशनपछि पुगेको बैंकले आक्रामक बजार विस्तारको रणनीति बनाएको देखिन्छ । बैंकले चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा आफ्नो नाफा ५५ करोड पुर्याएको छ । उक्त रकम अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा करिब २० प्रतिशतले बढी हाे । चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड रुपैयाँ संचित भएको छ ।  त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.७६, कस्ट अफ फण्ड ७.३८ र कर्जा निक्षेप अनुपात(सिसिडी) ७८.३१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.६८ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा छ । बैंककाे पर्फमेन्स राम्राे भएपनि सेयर मूल्य भने घटेकाे छ । २०१८ जनवरी १० मा प्रतिकित्ता ४५४ रुपैयाँ रहेको बैंकको सेयर मूल्य २०१९ जनवरी ९ मा प्रतिकित्ता ३२६ रुपैयाँमा झरेको छ । तर याे घटाइ समग्र बजारकाे घटाइकाे तुलनामा खराव हाेइन । हाल बैंकको अध्यक्षमा पवनकुमार गाल्यान रहेका छन् । बैंकको संचालक समितिमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट हरिश्चन्द्र सुबेदी, हरिबाबु न्यौपाने, स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे र वैकल्पिक सञ्चालकमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट नन्दकिशोर रथी रहेका छन् । प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् ।

डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाडौं । डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच “यूवा उद्यमी विकास कार्यक्रमका ” लागि सम्झौता भएको छ । उक्त सम्झौतामा डिएभि कलेजका अध्यक्ष अनिल केडिया र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्ताक्षर गरिएको थिए । उक्त औपचारिक सम्झौता दक्ष तथा बौद्विक यूवा उद्यमी विकास गर्ने अभिप्रायले गरिएको छ । डिएभि कलेजले ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा एमबिएस, बिबिए, बिबिएम तथा बिबिएसका विद्यार्थीहरुका लागि “यूवा उद्यमी विकास कार्यक्रम्”आयोजना गर्न गई रहेको छ । दुबै पक्ष बीच कार्यक्रमको प्रभावकारीता सुनिश्चित गर्नका लागि व्यवस्थापन तथा व्यवसायिक प्रशिक्षक छनौट गर्नका लागि संचार तथा सूचना आदान प्रदानका लागि सहमत भएका छन् । ललितपुर चेम्बरले डिएभिका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्नका लागि दुई महिने प्रशिक्षार्थी कार्यक्रम् तथा औद्योगिक भ्रमणको प्रदान गर्ने भएको छ । उक्त सम्झौताको अवधि एक वर्षको रहनेछ जानकारी दिएका छन् ।

महासंघका उपाध्यक्ष ढकालले भने-‘चितवन समृद्धिको आधार कृषि पर्यटन’

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका छन् । अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको बताउँदैे स्थानीय उत्पादनलाई चिनाई नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताएका छन् । देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु रहेको बताएका छन् । चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हुँदै गएको बताएका छन् । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का माननीय मन्त्रीज्युहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन् । सन् २००१ मा स्थापना भएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न गर्ने भएको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भ देखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको छ ।