विकासन्युज

स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णुप्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कर्जा रकम रु.११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रहेको छ भने चुक्ता पूँजी रु.७० करोड २४ लाख ७१ हजार ३ सय ९३ कायम गर्ने निर्णय समेत गरेको छ ।

‘हेपाटाइटिस बी’ को औषधि नेपालमै उत्पादन सुरु

काठमाडौं। नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले हेपाटाईटिजी बीका लागि महत्वोपूर्ण औषधी इन्टेकाभिर (Entecarvir) को उत्पादन नेपालमै सुरु भएको छ। हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै म्याग्नसले इन्टेका–बी (Enteca -B) ब्रान्ड नेमका साथ ‘इन्टेकाभिर’ (Entecarvir ) बजारमा ल्याएको छ। नेपालमा कुल जनसंख्याको लगभग १ प्रतिशतमा हेपाटाइसिटस बीको संक्रमण भएको अनुमान छ । समयमा उपचार नगरे हेपाटाइटिस बीले कलेजो सिरोसिस र कलेजोको क्यान्सर गराई मानिसको मुत्यु हुनसक्छ। इन्टेका–बी (Enteca -B) ले हेपाटाइसटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुन्छ। सामान्यतया हेपाटाइटिस बीको उपचार अति लामो समयसम्म गर्नुपर्ने हुँदा रेजिस्टेन्सको विकास भई भाइरसले औषधिलाई निष्क्रिय पार्दिन सक्छ। इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि हो। साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधिका रुपमा लिइन्छ। कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो । कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि सोफोसबूभीर (Sofosbuvir) लाई ब्रन्ड नेम सोफूभीर (Sofuvir) र हेपाटाइटिस बीकै अर्को महत्वपूर्ण औषधि टेनोफोभीर (Tenofovir) लाई ब्रान्ड न्याम टेनोफ (Tenof )का साथ बजारमा ल्याइसकेको छ । इन्टेका बी (Enteca -B) ०.५ र १ एमजीमा उपलब्ध छ, जसको हाल बजारमूल्य ९० र १ सय ६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंकको १० प्रतिशत नगद लाभांश पारित, निक्षेप ४८ अर्ब बढी

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले ४८ अर्ब निक्षेप र ४३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।

कंसाकारमाथी तत्काल कारवाही हुन्नः सरकार

काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लेखा समितिकै प्रतिवेदनका आधारमा कसैलाई निलम्बन र कारवाही गर्न नसकिने स्पष्ट पारेका हुन् । लेखा समितिको प्रतिवेदनमा देखिएको, बुझिएको, अनुमान गरिएको जस्ता शब्दहरु प्रयोग गरेर दोषी करार गरिएकाले कार्यान्वयन नगर्न नसकिएको स्पष्ट पारे । सरकारले गठन गरेको जाँच बुझ आयोगको प्रतिवेदन आएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने पनि उनले स्पष्ट पारे । सरकारले जाँचबुझ ऐन, २०२६ अनुसार वाइडबडी जहाज खरिद प्रक्रिायबारे भएको भनिएको अनियमितता छानविन गर्न आयोग गरेको छ । सो आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ । लेखा समितिले गठन गरेको उप समितिले वाइड वडी जहाज खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैंयाँ अनियमितता गरेको प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित गर्दै लेखा समितिले निगमका महाप्रबन्धक कंसाकार र पर्यटन सचिव कृष देवकोटालाई तत्काल निलम्बन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

माछापुच्छ्रे बैंकले पायो आईएसओ ९००१ः २०१५ प्रमाणपत्र

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘अन्तर्रा्ष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस)रयूकेएएस-यूकेले प्रदान गरेको हो । बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा कम्पनीले उक्त प्रमाणपत्र पाएको हो । आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रितकार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहनएवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । उक्त आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।    

तराईका चार विद्यालयमा डिसहोमले गर्याे शैक्षिक सामाग्रीसहितको झोला वितरण

काठमाडौं ।  डिसहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो । नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिसहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिसहोम उज्वल भविष्य”कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेको भनाई रहेको छ । कार्यक्रम रौतहट जिल्लाको गौरमा रहेका आधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरिएको छ । डिसहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपीवितरण गरेको छ । डिसहोमले यसै कार्यक्रम पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविकाविपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पोखरियाका नगर प्रमुखदिप नारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण शाहालगाएत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षानिकायका प्रतिनिधित्वमा उक्त सामान वितरण गरिएको हो । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पुर्यारहेको डिसहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जनार्दन शर्माले सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि बैंकले कम्पनीको नयाँ अध्यक्ष पदमा अधिकारीलाई चयन गरेको हो । नेपाल सरकार, अर्थ मन्त्रालयबाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् । साथै, बैंक सञ्चालक समितिको सदस्य पदमा रहेका डम्बरबहादुर भण्डारीको पनि ४ वर्षे कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा नयाँ सीईओ, डिल्लीराज अर्याललाई अर्थले काजमा पठायो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । तात्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि त्यसबारे राजीनामा दिएकोबारे केही दिन अघिमात्र समाचार सार्वजनिक भएको थियो । सोलगत्तै अर्थले अर्याललार्इ कायम मुकायमको जिम्मेवारी दिएर पठाएको हो ।