विकासन्युज

महालेखाको विकास विरोधी बकुमफुसे प्रतिवेदन

मेरो कार्यकालमा महालेखाले म खानेपानी मन्त्रालयको सचिव रहदाको कार्यकालमा गरेको एउटा कामलाई ईंगित गरी मलाई आक्षेप लगाएर पनि प्रतिवेदनमा एउटा बूँदा(नं २२बूंदा) राखेको रहेछ । तर म त्यस्ता बकमफुसे कुराको पछि प्रोजेक्ट म्यानेजर लाग्नु हुदैन भन्छु र म पनि लाग्दिन । मेलम्चीको पानी महालेखाले खुवाउने हैन । नेपालका सबै संस्था बिकास विरोधी कोरा कानुनची र प्रोजेक्ट व्यवस्थापनमा गवॉरहरू हुन् । तिनका यस्ता रवैयाले यो मुलुकको सिन्को भाचिन्न । तर म्यानेजर बुद्दि खेलाउछ ,जहाज उडाउछ र सकुशल अवतरण गराउछ। कानुनची हुदैन म्यानेजर, उसको लक्ष जसरी कसरी हुन्छ प्रोजेक्ट सफल पार्नमा हुन्छ । पर्फर्मेन्स प्रमूख हुन्छ, प्रोसिजर गौण हुन्छ तर पर्यो भने देशहीतका निम्ति कानुनको बर्खिलाप गएर पनि प्रोजेक्ट र जनताको हीत हेर्छ । नत्र त लेखापालले प्रोजेक्ट हॉके पुग्थ्यो/हाकिहाल्थ्यो, बुद्धि अनुभव रणनीति किन चाहिन्थ्यो । त्यसैले त म भन्दैछु , यस्ता महालेखाका प्रतिवेदनको कैफियत गुणस्तर दस्तुरमा भर पर्दै आएको छ । प्रोजेक्ट संचालनको औचित्य बुझ्ने जिम्मेवार अधिकृतको हो, बाहिरियाहरू रमिते मात्र हुन् । बाहिरियाको होहल्ला पछि लाग्दैन प्रोजेक्ट चलाउनेहरू । विकासविरोधी संस्कारमा हुर्केकासंग प्रोजेक्ट म्यानेजरको ग्रह कहिले मिल्दैन । काग कराउदै गर्छ, पिना सुक्दै गर्छ । यहॉ मान्छे पानी खान नपाएर प्याकप्याक हुदै मर्दैछन् , कोही कानुनची बनेर केके न हिरा पत्ता लगाएझैं फुईं गर्दैछन् । महालेखाका खरिदार मानसिकताकाले कहिले प्रोजेक्ट हाकिन्न। यस्तै यही अन्तरद्वन्दमा रहेर प्रोजेक्टलाई हाक्नु नै प्रोजेक्ट प्रमूखको खास क्षमता प्रदर्शन हो, उसको काम हजार अवरोध आईपरे पनि चिर्दै अघि बढ्ने हो, युद्धमा सेना अघिबढे जस्तै । नेपालमा बिकास आयोजना सफल पार्नु युद्ध जित्नु हो, युद्धको सेनापति प्रोजेक्ट म्यानेजर हो । खर्च गर्दा बेरूजु हुदै रहन्छन्, यो कुनै ठूलो कुरा हैन कामगर्नेका निम्ति । कुरा काटेरै तलब पचाउनेहरूको पछि लाग्नेमा प्रोजेक्ट हाक्ने क्षमता हुदैन । हावाको प्रतिकूल गतिलाई शक्ति मानेर प्रोजेक्ट हाक्नुपर्छ । तर पनि दुराशय प्रष्ट छ यो महालेखाको बूंदाको भाषा र लेखनशैलीमा, यसले तिनको विकाशबिरोधी मानसिकता प्रष्ट प्रमाणित गरिदिएको छ । लेख्ने अधिकार छ भनेर मनपरि लेख्छन् भने अरूले पनि आफ्नो अधिकारको मनपरि प्रयोग गरे के हुने? अरूले पनि किन अधिकार दुरूपयोग गरेर मनपरि गर्न नहुने! लेख्नेको काम लेख्ने हो, कर्मयोगीको काम कामगर्ने हो, उपलव्धी हासिल गर्ने हो । म परियोजनाबारे यस्ता बकबक गनगन देख्दा कुनै अचम्म पर्दिन, प्रोजेक्ट म्यानेजरको जीनमा यस्ता भाईरस पचाउने क्षमता हुन्छ र हुनुपर्छ । यस्ता हावादारी बकम्फुले बहस चलिरहन्छन्। हात्ती लस्किरहन्छ कुकूर भुकिरहन्छ ।

विज्ञापन ऐन संसदमा, क्लिन फिडले ल्याउँदैछ ५ अर्बको अवसर

काठमाडौं । सरकारले विज्ञापन ऐनको मस्यौदा संसदमा पुर्याएको छ । सञ्चार तथा सूचना प्रबिधी मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा मन्त्रिपरिषद बैठकले पारित गरेर संसदमा पठाएको हो । यो ऐनको मस्यौदा राष्ट्रिय सभामा पठाईएको छ । ऐन कार्यान्वयनमा आएपछि ५ अर्बको विज्ञापन बजार थपिनेछ । हाल नेपालको विज्ञापन बजारको आकार करिब १३ अर्ब रहेको बताइन्छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पुगेको छ, त्यो पास भएर कार्यान्वयनमा आएपछि क्लिन फिड नीति कार्यान्वयनमा आउँछ’, सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले भने । ‘क्लिन फिड देशको पक्षमा छ, यो कार्यान्वयनमा आएपछि १२।१३ अर्बको विज्ञापन बजारको हिस्सा व्यापक मात्रामा वृद्धि हुन्छ’, मन्त्री बास्कोटाले भने । केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ साउन ७ गतेको मन्त्रिपरिषद बैठकबाट २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालय मार्फत क्लिन फिड कार्यान्वयन रोकेको थियो । क्लिन फिड कार्यान्वयन नगर्न केबल टेलिभिजन महासंघले बिरोध गर्दै आईरहेको छ । क्लिन फिडलाई विज्ञापन रहित विदेशी च्यानल नीतिका रुपमा लिइन्छ । यो लागु भएपछि विदेशी च्यानलमा विदेशी विज्ञापन आउँदैन र विदेशी विज्ञापनमा नेपाली आवाज भरेर बजाउन पनि पाइँदैन् । नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले क्लिन फिडलाई व्यापार र राष्ट्रियतासँग जोडेर हेर्नुपर्ने धारणा राखे । ‘क्लिन फिड व्यापार मात्रै होइन, यो मुलभूत रुपमा राष्ट्रियता हो । यद्यपी यसले नेपालमा ५ अर्बको विज्ञापन बजार उपलब्ध गराउछ । तर पनि यो व्यापार भन्दा राष्ट्रियताकै पक्ष हो । नेपालका सवालमा विदेशी च्यानल भनेको भारतीय च्यानल हो । तिनमा आउने विज्ञापनले नेपाली भाषा र संस्कृति माथी ठाडो हस्तक्षेप गरिरहेका छन् । त्यसलाई रोक्न क्लिन फिड अघि सारिनु पर्छ ।’, रिजालले भने ।

‘सरकार र नागरिकलाई व्यवसायमा जाेडाैं, नाफामा सबैले उत्सव मनाऔं’-युवा उद्यमी भरतराज आचार्य

  नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्य उदाउँदा उद्यमी हुन् । पहिलो पुस्ताका सफल उद्यमी आचार्यले टीएसएन विजनेश ग्रुपका कार्यकारी अध्यक्ष हुन् । टीएसएन ग्रुपले उत्पादनमूलक उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि, पर्यटन, व्यापार क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । उत्पादनमूलक कम्पनीका कच्चा पदार्थ र प्याकेजिङ सामाग्री उत्पादनमा यस ग्रुप अग्रणी स्थानमा छ । उद्यमशीलताको लागि नेपाली भूमि उर्वर छ । विगतमा नीतिगत कमजोरी भए, परिस्थिति प्रतिकूल भए । सीमित व्यक्तिले मात्र उद्योग, व्यापार, व्यवसाय गर्न लाईसेन्स पाए । देशको विकास, उपभोक्ताको माग अनुसार उत्पादन हुन सकेनन् । आयातित बस्तु तथा सेवाले नेपाली बजार लियो । परिस्थिति परिवर्तन भएको छ । उद्यमशीलताप्रति नेपालीहरुको रुचि र सक्रियता बढेको छ । बजारको अध्ययन, विश्लेषण हुन थालेको छ । सरकारले पनि उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने नीति लिएको छ । अब ठूलो जनसंख्या उद्यमशीलतातर्फ समाहित हुन सक्छ । नेपाल आयातमुखी अवस्थाबाट ग्रसित छ । आयात भएका वस्तु तथा सेवा हामी कहाँ नै उपभोग हुन्छन् । ती बस्तु उत्पादन आन्तरिक रुपमै गर्ने हो भने कति उद्यमी र उद्यम गृहहरुको जन्म हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ । ‘पर्यटन’ नेपालको अथाह सम्भावना भएको क्षेत्र हो । यो नेपालको निरन्तर रहिरहने एउटा सम्पदा हो । नेपालमा भएका जुनसुकै सम्पदापनि पर्यटन विकासको लागि उपयुक्त हुन्छ, चाहे त्यो साहसिक पर्यटन होस्, चाहे त्यो प्राकृतिक र आरामदायी पर्यटन वा धार्मिक वा सांस्कृतिक पर्यटन नै किन नहोस् ? हामीले हाम्रा प्राकृतिक स्रोतहरुको समेत राम्रोसँग परिचालन गर्न सकेका छैनौं । यसको प्रयोग हाम्रो जस्तो देशमा एकदमै कम छ । त्यसैले नेपालको भूमि समग्रमा उद्यमशीलताको लागि उर्वर ठाउँ हो । प्रश्न उठ्न सक्छ कि नेपाली भूमि उर्वर हो भनेर कूल गार्हस्थ उत्पादनमा नेपाली उद्योगको हिस्सा किन ५/६ प्रतिशत मात्र ? नेपालमा उद्यमशीलताको व्यापकता २०४९ मात्र शुरु भएको हो । त्यस अघिसम्म नेपालमा नेपालीहरुले नै उद्यम गर्ने वातावरण नै थिएन । २०४९ सालमा प्रविधि हस्तान्तरण ऐनले मात्र नेपाली नागरिकले कुनैपनि कम्पनी स्थापना गर्नसक्ने प्रावधान बनायो । तर विगत २०/२२ वर्षदेखि हामी समकालीन आर्थिक परिस्थिति उद्यमशीलताका लागि अनुकूल रहेन । सन् १९९६ देखि २००६ सम्म करिब १० वर्षजति हामीले आन्तरिक द्वन्द्व व्यहोर्यौं । द्वन्द्व सकिएलगत्तै औद्योगिक अशान्तिको वातावरण सिर्जना भयो । यसले गर्दा मजदुर र कामदारबीचको श्रम सम्बन्ध खल्बलियो । सन् २०१० देखि २०१६ को अवधिमा हामीले उद्योग सञ्चालनको लागि पूर्वशर्त मानिने उर्जा संकटको कहाली लाग्दो समस्या व्यहोर्यौं, दैनिक १८ घण्टासम्म लोडसेडिङ व्यहोर्नु पर्ने अवस्था सिर्जना भयो । सन् २०१६ पछि नेपालको अर्थतन्त्रमा तीव्रता आउन शुरु भएको छ । तर, आर्थिक वृद्धिको व्यवस्थापन उपयुक्त किसिमले हुन नसक्दा र त्यसको सही विश्लेषण हुन नसक्दा अहिले लगानी गर्ने पूँजीको अभाव हुने अवस्थामा पुगेका छौं । एकातिर नेपालको उद्यमशीलता यस्ता समस्याहरुबाट गुज्रेर आएको अवस्था रह्यो भने अर्कोतर्फ हाम्रो आन्तरिक आयामहरुका कारण उद्यमशीलताप्रतिको आकर्षण अझैपनि कम नै छ । यसले गर्दा यो क्षेत्र विकास हुन सकेन । अहिले देशमा राजनीतिक स्थिरतामात्रै आएको छैन । राजनीतिक संक्रमणको अन्त्यपछि देशको समृद्धिको मुख्य आधार आर्थिक विकास रहेको र त्यसका लागि उद्यमशीलता प्रवद्र्धनमा सरकारले सक्रियता देखाएको छ । अर्कोतर्फ प्रविधिको विकास, कनेक्टिभिटी जस्ता बाह्य तत्वहरुमा ठूलो सुधार हुँदै आएको छ । हामी वित्तीय रुपमा सक्षम भयौं भने विश्वमा प्रचलनमा रहेका जुनसुकै प्रविधिलाई ट्रान्सफर गर्नसक्ने भएका छौं । पहिले जस्तो जी टू जी मोडलको टेक्नोलोजी ट्रान्सफरको सिस्टम अब रहेन । अर्को पक्ष भनेको के हो भने विश्वका विकसित राष्ट्रहरु उद्यमशीलताको चरम विन्दुमा छन् । उनीहरुको उद्यमशीलता विकासको सम्भावना एक प्रकारले सकिइसकेको छ । त्यस्तो अवस्थामा अबको सम्भावना भनेको नेपालजस्ता अल्पविकसित तथा विकासशील देशहरु नै हुन्, यसले गर्दा नेपालमा केही सम्भावनाहरु देखिएका हुन् । नेपालमा उपभोग्य वस्तु तथा सेवाको प्रयोगको दर बढ्दै गएको छ । तर त्यसअनुसार उत्पादन भने हुन सकेन । यसले उद्यमशीलताको सम्भावना अझै बढाएको छ । प्रोफिट सेलिब्रेसन नेपालमा उद्यमशीलताको अवधारणागत अवरोध कायम छ । एउटा उद्यमीले सरकारी नीति नियमभित्र रहेर बढीभन्दा बढी नाफा गर्छ भने उसलाई प्रोत्साहन गर्नुपर्छ । त्यसको सट्टा नेपालमा नाफा नै गलत हो भन्ने प्रणाली हावी छ । उद्यमशीलताको उद्देश्य भनेकै व्यवसायको निर्माण हो र यसको लक्ष्य भनेकै नाफा आर्जन हो । जबसम्म नेपाली समाजले उद्यमीले गरेको नाफालाई सकारात्मक रुपमा लिन सक्दैन, नेपाली उद्याशीलता कहिँकतै अल्झिरहेकै हुन्छ । नाफा बिना त हामी व्यवसायको कल्पना नै गर्दैनौं । त्यसैले सर्वप्रथम प्रोफिट सेलिब्रेसनको अवस्था कायम हुनुपर्छ । यो व्यवस्था राज्यले बनाउनु पर्छ र समाजले त्यसलाई स्वीकार गर्नुपर्छ । सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, मिडिया र गैरसरकारी संघसंस्थाहरु सबै उद्यमीको नाफामा खुशी हुने वातावरण बन्नुपर्छ । भारतीय भूमिमा जब इष्ट इण्डिया कम्पनी सरकार बन्यो, त्यो सरकारको आधार भनेकै उद्यमशीलतामा अडिएको थियो । उसको शासनको आधार भनेकै उद्यमशीलता थियो । उनीहरुले व्यापारमार्फत् सबल हुँदै राज्यसत्ता कब्जा गर्न सफल भए । देशको शासनसत्तासँग जब व्यापारलाई जोडियो तब यो राज्यको केन्द्रविन्दुमा पर्न सफल भयो तर नेपालको राजनीति भने वर्ग केन्द्रित भयो । धेरै कमाउनेहरुले नकमाउनेहरुलाई नाफा बाँड्नुपर्छ भन्ने कुरा जबरजस्त रुपमा हावी भयो । यसले गर्दा उद्यमशील व्यक्तिहरुमा चरम निराशाको अवस्था सिर्जना गरेको अवस्था देखिन्छ । यसैले नेपालीहरुमा जागिरे मानसिकता हावी रहँदै आएको हो । जोखिम कम लिने र निश्चितता बढी खोज्ने प्रवृत्ति विद्यमान छ । राजनीतिक प्रवृत्तिको कुरा गर्ने हो भने नेपालमा खासगरी दुईथरी विचार छन् एउटा समाजवादी र अर्को साम्यवादी । विचार साम्यवादी भएपनि व्यवहार भने उनीहरुको पनि समाजवादी नै छ । यस्तो अवस्थामा कुनैपनि राजनीतिक दलहरु पूँजीवादी अर्थतन्त्रमा केन्द्रित छैनन् । यस्तो अवस्थामा आर्थिक विकासको पूर्वशर्तको रुपमा रहेको पूँजी निर्माण तीव्र रुपले हुन सकेको छैन । पूँजी निर्माण हुने नाफाबाट हो । उच्च नाफाप्रति प्रशंसा गर्नसक्ने राजनीतिक नेतृत्व नभई देश समृद्ध हुन्न । समयको स्वतन्त्रता र वित्तीय स्वतन्त्रता एकजना प्रतिष्ठित अर्थशास्त्रीले भनेका छन्–कुनैपनि मान्छेले २ कारणले उद्यमशीलतालाई अँगाल्छ । एउटा टाइम फ्रिडम (समयको स्वतन्त्रता) र अर्को फाइनान्सियल फ्रिडम (वित्तीय स्वतन्त्रता) । समय स्वतन्त्रताले आफूले आफ्नो समय व्यवस्थापन गर्ने स्वतन्त्रतालाई जनाउँछ । त्यस्तै वित्तीय स्वतन्त्रताले आफ्नो सम्पत्तिको उचित व्यवस्थापन गर्ने स्वतन्त्रतालाई जनाउँछ । उद्यमशीलता, चाहे त्यो जुनसुकै प्रकृतिको होस्, त्यसले तपाईँ हामीलाई यी २ कुराको प्रत्याभूति गर्छ । त्यहीभित्र उद्यमीको जीवनको रोमाञ्चकता भेटिन्छ । यस कारण तनाव उद्यम गर्दैगर्दा तपाईँको सफलतासँगै तपाईको स्वामित्व र दायित्व बढ्दै जान्छ । त्यसैले सफलताको खातिर तपाईँलाई चिन्तापनि भइरहन्छ । उद्यमीहरुले सधैं त्यही पीडा र रोमाञ्चकताबीचको बाटोमा गुज्रनु पर्ने हुन्छ । नेपालका अधिकांश उद्यमीहरु अहिले पहिलो पुस्ताको चरणमा छन् । उद्यमीहरुको संरक्षण गर्ने उद्यमशील समाजको विकास अझै हुन सकेको छैन । यस्तो अवस्थामा उद्यमीहरुले हरपल आफूलाई जोखिमपूर्ण देख्नुपर्ने बाध्यता छ । नयाँ उद्यमीले एउटा मात्र क्षेत्रबाट आफ्नो लगानी र उद्यमशीलता शुरु गरेको हुन्छ, जसमा सफल हुनै पर्ने बाध्यता उसलाई हुन्छ । तर, दोस्रो पुस्ताका उद्यमीहरुले आफ्नो लगानी विविधिकरण गरिसकेको अवस्था भएको हुनाले उनीहरु आफ्नो असफलताप्रति बढी चिन्तित हुँदैनन् । नेपाली उद्यमशीलता अहिले संरक्षित अर्थतन्त्र र प्रतिस्पर्धी अर्थतन्त्रको बीचमा छ । तर, अहिलेको अवस्थामा पुराना घरानाका उद्यमीहरुलाई पनि बदलिँदो प्रतिस्पर्धा, प्रविधि, गुणस्तर एवम् समग्र व्यवसायिक परिस्थितिअनुसार व्यवसायलाई अघि बढाउनुपर्ने चुनौती भने कायमै छ । त्यसबाहेक पनि नेपाली अर्थतन्त्रमा दुई दशक अघिदेखि जारी समस्याहरुको कारणपनि व्यवसायीहरु उत्साहित भन्दा दवाव बढी महसुश गरेको देखिन्छन् । उद्यमीमा हुनै पर्ने गुणहरु नेपालमा उद्यमी बन्न सर्वप्रथम जुनसुकै परिस्थिति, स्तर र व्यवहारमा पनि घुलमिल हुन सक्नुपर्छ । विलासी एवम् समृद्ध रुपमा जीवन बिताउनु भएको छ भने पनि उद्यमशीलता अँगालेपछि ग्राउन्डफ्लोरलाई बुझ्न सक्ने बन्न सक्नुपर्छ । नीतिगत अस्थिरता र प्रशासनिक झन्झटलाई सामना गर्नसक्ने क्षमता विकास हुनुपर्छ । यस्तो अवस्थामा उद्यमीले बनाएका योजनाहरु लचक खालको र परिपक्व नहुँदै परिवर्तन गर्न सक्ने खालको हुनुपर्छ । बललिँदो विधि र प्रक्रियालाई स्वीकार गर्न सिक्नुपर्छ, सक्नुपर्छ । उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु-राेशन न्याैपाने

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय, सिंहदरबारकाे मुलढाेकामा विशेष कार्यक्रम गरिदै

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ । बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएका छन्छ। सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताएका छन् । प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ । शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए । शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो । विविध कार्यक्रम हुने नेपाल एकिकरण गर्ने पूर्व राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् । देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती दिवस समारोह समितिले पृथ्वीनारायण शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्दैछन् । नुवाकोट नेपालको दोस्रो राजधानी, पृथ्वीनारायणद्वारा ‘दिव्योपदेश’ दिइएको थलो र उनले देहत्याग गरेको भूमिकाे रूपमा चिनिन्छ  ।त्यसबाहेक नेपाल एकीकरणसँगै यहाँ भित्रिएका मुसलमान र हिन्दू धर्मावलम्बी ठकुरी, मगर, नेवार, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायणकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ । एकीकरण कालदेखि शुरु भएको यहाँको साँस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन र ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नौकोट र नुवाकोटका साततले दरबारलगायत अनेकौँ साक्षी प्रमाणले उनको पौरख र अस्तित्वलाई सम्झाउँछन् । ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’ भन्ने आशयका पृथ्वीनारायणका कैयौंँ उद्गार दिव्योपदेशका नामले आज पनि सान्दर्भिक मानिन्छन् । बाइसे तथा चौबीसेसहितका राज्यलाई एकीकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायणको योगदानको कदर गर्दै विगतमा पृथ्वीजयन्तीलाई पर्वकै रुपमा मनाउँदै अाएका विदुर नगरपालिकाका रामकृष्ण भट्ट भन्नुहुन्छ, “यो वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएन तर क्रिसमसमा बिदा दिने तर आफ्नै इतिहासलाई भुल्ने काम राम्रो भएन । सङ्घीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।” दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्को भनाइ छ । एकथरिले उनी मुलुक एकीकरण गरेर राष्ट्रनिर्माता बन्न सफल भएको भन्छन् भने अर्काथरिले उनलाई पहिचान विरोधीका रुपमा अथ्र्याएका छन् । “उहाँलाई राष्ट्रनिर्माता वा तानाशाह जसरी अथ्र्याए पनि उनले दिएको दिव्योपदेश भने आजपर्यन्त सान्दर्भिक मानिन्छ”, राप्रपा नुवाकोटका नेता विष्णुप्रसाद सापकोटाले भने । दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने लिखु गाउँपालिका ढिकुरे नुवाकोटका इतिहास जानकार यादवप्रसाद पाण्डे बताउछन् । “यो दिवस नेपाल प्रज्ञा–प्रतिष्ठान वा एकदुई सङ्घसंस्था र व्यक्तिले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ” उनी भन्छन्। दिव्योपदेश नयाँ ढङ्गबाट अध्ययन गर्नुपर्नेमा उनको जोड छ । सोभियत सङ्घका एक इतिहासकारले ‘इतिहासले कसैलाई कुनै पाठ सिकाउँदैन तर जसले इतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैंँ दण्ड मात्र दिइरहन्छ’ भनेझैंँ नेपालमा पनि सो भनाइ लागू हुने नुवाकोटका अर्का बुद्धिजीवी श्रीराम श्रेष्ठको भनाइ छ । “राष्ट्रप्रति वफादार कुनै पनि नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक र राष्ट्रका निर्माता पृथ्वीनारायणलाई आदर गर्दै आइरहेका छन्”, श्रेष्ठले भने । “दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा भइरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ”, भट्टको ठहर छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको र सत्य र आवश्यकताको गुदी कुरा यसमा रहेकाले यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, सङ्घीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायणलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेको सापकोटाको आरोप छ । नेपाली भूभाग हिमाल, पहाड, तराईमा बस्ने १२५ जातजाति र १२३ भाषाभाषी नेपाली हुन् । उनीहरूबीचको एकता नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्थकता भएको अधिकारीले बताउछन् । “नौ धर्म सम्प्रदाय भएका दुई करोड ६५ लाख नेपालीको साझा फूलबारी नेपालमा भावनात्मक एकीकरणको खाँचो छ । यो पूरा भएपछि नेपाल सुन्दर, शान्त, विशाल, शक्तिशाली र समृद्धशाली हुनेछ ” उनले भने ।

एनआईसी एशियाले मृतक श्रेष्ठका परिवारलाई दियो ५ लाखको बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मृतक राजकृष्ण श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका श्रेष्ठको २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएको थियाे । उक्त खाता खोल्दा ५ लाख रुपैयाँ बराबरको स्वतः दुर्घटना बीमा हुने भएकोले सो बीमाको क्षतिपुर्ति बापत बैंकले मृतक श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले बिहीबार मृतकका छोरालाई प्रदान गरेका हुन् ।

कैलाश विकास बैंकको शाखा बुटवलमा

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी मिति पुस २६ गते बिहिबारदेखि औपचारिक कारोकार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्णप्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले बोलेका थिए । नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो । कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

इजरायलका लागि नेपाली राजदूत शाक्यलाई चेम्बरले गर्यो सम्मान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा आज सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका महामहिम राजदुत बेनी ओमरको विशिष्ट आतिथ्यता रहेको थियो । सम्मान तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यले व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नुपर्ने दिन आएको बताए । उनले भने, “जसरी नेपाल महिला चेम्बरको संस्थापक सभापति भएर महिला व्यवसायीहरुलाई शशक्तिकरण तथा संगठित गर्ने काम गरि उच्च व्यवस्थापकीय र नेतृत्वदायी भूमिका खेल्नु भयो, त्यो भन्दा अझैं उच्च तहको कुटनीतिक कौशलता प्रदर्शन गरि दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्ने बेला आएको छ ।“ नेपाल चेम्बर अफ कमर्समा आबद्द भएर उद्योग तथा बाणिज्यको क्षेत्रमा काम गरी प्रयाप्त अनुभव हाँशिल गरेकी डा. शाक्यले अब इजरायलका लागि नेपाली राजदुतको रुपमा काम गर्दै गर्दा नेपालको कृषि उत्पादन, पर्यटन, प्रबिधि हस्तान्तरण तथा ’फ्लोरिकल्चर’को प्रबर्दनमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइएको थियो । २०१९ को मार्चमा हुने लगानी सम्मेलनमा यी क्षेत्रहरुमा इजरायलबाट लगानी भित्र्याउन डा. शाक्यले पहल गर्नु पर्ने कुरा समेत अध्यक्ष श्रेष्ठले उल्लेख गरे । आज सम्मान ग्रहण गरेकी डा. शाक्यले आफु नेपालको हितमा र नेपालमा लगानी भित्र्याउन कटिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गरेकी थिइन् ।