दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्छौंः ज्ञवाली
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणको समय दुई वर्ष बाँकी रहेको र सो समयसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने बताएका हुन् । उनले प्राधिकरण स्थापना भएको तीन वर्षमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको जानकारी दिए । नीति, कानूनी तथा संरचनागत सहित हामीले पुनर्निर्माणका कार्यहरु द्रुतगतिमा गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने–स्पष्ट लक्ष्य र योजनाका साथ काम गरिरहेकाले बाँकी कामहरु २०७७ साल पुस १२ गतेभित्र सम्पन्न गर्नेछौं । अनुदान सम्झौता गरेका मध्ये ९९ प्रतिशत भूकम्प पीडित लाभग्राहीले पहिलो किस्ता लिइसकेको भन्दै उनले किस्ता लिएका सबैलाई घर पुनर्निर्माण गर्न आग्रह गरे । एकजना भूकम्प पीडित पनि अनुदान लिएर घर बनाउन नछुटुन र कोही पनि नदोहोरिउन भन्ने मूल मन्त्रका साथ अघि बढेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका कामलाई थप सहजीकरण गर्नका लागि प्राधिकरणले साधन स्रोत उपलब्ध गराउने गरी स्थानीय तहहरुलाई जिम्मेवारी हस्तान्तरण प्रकृयालाई अघि बढाएको जानकारी दिए । स्थानीय तहसँगको सहकार्यमा यसअघि छुट भएकाहरुको पुनस् सर्वेक्षण हुने जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका कार्यहरुमा सहयोग गर्न सबैलाई आग्रह गरे । बैठकमा सांसदहरुले निजी आवास पुनर्निर्माण, एकीकृत बस्ती, सम्पदा पुनर्निर्माण, पुनर्निर्माणमा वैदेशिक सहयोग, गैरसरकारी संस्थाहरुको भूमिका लगायतबारे जिज्ञासा राखेका थिए । समितिका सभापति र सांसदहरुले पुनर्निर्माणका कामहरुलाई अघि बढाउनका लागि आफूहरुको तर्फबाट सबै सहयोग गर्ने बताएका थिए ।
न्युरोडको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा, एक हजारले रोजगारी पाउने
काठमाडौं । आगामी वैशाखदेखि राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन सञ्चालनमा आएपछि एक हजार जनाले रोजगारी पाउने बताइएको छ । युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नव पारम्परिक) स्वरुपको तारिफ गरिएको थियो । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवनविश्व सम्पदा भन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ । उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जनले बताए । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ । कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजन सहितको खुला हावा उपलव्ध हुने छ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दाबाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ अनुसार भएको पनि उल्लेख गरिएको छ । उक्त कम्प्लेक्समा करिब पाँच दर्जन पसल कबल रहने छ । साथै, निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरुको भनाइ छ ।
एनएमबि बैंककाे १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित भएकाे छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाले पारित गरेकाे हाे । उक्त बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रभु बैंकले ल्यायो मास्टरकार्ड, ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । कास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यो सेविट कार्डले बैंकका ग्राहकहरुलाई सहजता र सुरक्षाको प्रत्याभुति गर्ने विश्वास वैंकले लिएको छ । अन्तर्राष्ट्रिय स्तरको भुत्तानी सेवा सञ्चालन (पीएसओ) सेवा प्रदान गर्ने मास्टरकार्डका विश्वका २१० देशहरुमा नेटवर्क छ । उसले आफ्नो सेवामार्फत् व्यक्ति, व्यवसायिक संस्था, वित्तीय संस्थाहरु, सरकार र गैर सरकारी संस्थाहरुलाई जोड्ने काम गरेको छ । बैंकको उक्त नेटवर्कसँग साझेदारी भएसँगै आफ्ना ग्राहकहरु समेत त्यससँग जोडिने बैंकले जनाएको छ । सेवा सुभारम्भको अवसरका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको यो साझेदारी भविष्यसम्म अझै फराकिलो हुँदै जाने र यसले दुवै कम्पनीलाई द्धिपक्षीय लाभ प्राप्त हुने विश्वास लिएका छन् । त्यस्तै मास्टरकार्डका दक्षिण एशिया हेर्ने प्रमुख पोरुष सिंहले पनि प्रभु बैंकसँग आफूहरुले फराकिलो साझेदारी चाहेको बताएका थिए ।
इलेक्ट्रोनिक कार्गो ट्याकिङ प्रणाली नेपालमा भित्रिँदै
काठमाडौं। नेपाली आयात र निर्याता गर्दा ट्रान्जिटमा ग्राहकहरुले वर्षैदेखि खेप्दै आएको समस्यालाई अन्त्य गर्न नेपाल सरकार र भारत सरकारले इलेक्ट्रोनिक कार्गो ट्याकिङ प्रणाली (इसीटीएस) लागू गर्न मेमोरेन्डममा हस्ताक्षर गरेको छ। नेपाल र भारतको ट्रान्जिटमा भएको समस्या अन्त्य गर्न सन् २०१७ जुन ६ मा मेमोरेन्डममा हस्ताक्षर गरिएको हो । एशियन विकास बैंकलाई यस प्रोजेक्टका लागि ग्लोबल बिडिङको माध्यमबाट सेवा प्रदान गर्न चयन गरिएको छ। एशियन विकास बैंकले ग्लोबल टेन्डरको माध्यमबाट ट्रान्सेकर टेलिमेटिक (भिमसेरीया ग्रुपको अंश) चयन गरेको थियो । सन् २०१८ अप्रिल १८ मा कलकता भंसार विभागले नेपालमा इसीटी सेवाको उद्घाटन गरेको थियो। त्यसपश्चात २५ अप्रिलमा मल्टी मोडल प्रणालीद्वारा ट्रान्जिटका लागि नयाँ मार्गको उद्घाटन गरिएको थियो। जसमा कलकताबाट आउने ट्रेनको ट्रान्जिट बटनाहामा कन्टेनरको टर्मिनल समाप्त हुन्छ। विद्युतीय जीपिएस प्रणालीले भारतीय सीएचए र ट्रान्स्पोटरको एकाधिकारमा जोखिम निम्त्याउने भन्दै त्यसको विरोध गरेपछि कलकताको परियोजनाले सफलता पाउन सकेन। वाणिज्य र आपूर्ति विभागको संयूक्त सचिव श्री रविशंकर सैन्जूले भन्नुभयो, “ यद्यपी व्यापारीहरुले इसीटीएसको प्रभावकारी कार्यन्वयनका लागि सरकारसँग सहकार्य गरेको छैन।” यसैबीच पछिल्लो महिनामा जटिल वृतचित्र र नेपालको कन्सोलेट नहुँदा विजागको १५ सय भन्दा बढी कन्टेनरसँग राम्रो स्थिति छैन। नेपाल सरकारले व्यापारमा सहजिकरण गर्न एडीबी र भारतीय सरकारसँग विजागद्वारा परिमार्जीत ट्रान्जिट प्रक्रिया शुरु गर्न पहल गरेको छ। इसिटिएस परियोजनालाई इसिटिएसमा स्वचालित पक्रियाबाट ट्रान्जिट गर्न परिमार्जीत गरिएको छ। २८ अगष्ट सन् २०१८ मा ट्रेनको मार्फतबाट कन्टेनरलाई नेपालमा ट्रान्जिट गर्न औपचारिक शुरुवात गरिएको हो । सञ्चालनको पहिलो महिना पश्चात एडीबीले आन्तरिक रिपोर्ट नेपाल सरकार र भारतीय सरकारलाई पेश गरेको थियो। ट्रान्जिटका लागि नयाँ प्रकिृयाले नेपाली व्यापारीहरुलाई व्यापार गर्न सहज भएको थियो । अघिल्ले प्रणालीमा ट्रान्जिकटका लागि सीटिडीमा ३० प्रोसिडयुर र २२ हस्ताक्षर आवश्यक पर्दथ्यो, अब नेपालका व्यापारीहरुले कुनै पनि सीटिडी फाइल गर्नु पर्दैन र नेपाल कन्सुलर जनरलको सेवा पनि आवश्यक पर्दैन। यहाँसम्म कि कानुनी अधिष्ठापन र बीमा नीति पनि वितरण गरिएको छ। व्यापारीले सामानको ट्रान्जिटका लागि कुनै बिचौलियाहरु (भारतीय सीएचए र ट्रान्स्पोटर) लाई संलग्न गरिरहन आवश्यक पर्दैन। कन्टेनरको ट्रान्जिटका लागि सम्पूर्ण दस्तावेज ढुवानी रेखाले प्रदान गर्नेछ भने ट्रान्सिपमेन्टका लागि भारतीय कस्टमबाट विजागले अनुमति प्राप्त गर्नेछ । यससँगै परागमन सन्धिको जटिलता पनि अन्त्य भएको छ । नेपाली व्यापारीहरुका लागि आयात निकै अन्त्य भएको छ । जुन विरगञ्जको आईसीडीमा घोषणा दावी गरेर प्रारम्भ हुन्छ ।कन्टेनरहरुको औसत आगमनमा ५० प्रतिशतले कमि गर्दै कन्टेनरहरु नेपालमा १० दिनमै नेपाल भित्रिन्छ । नेपाली कार्गो ह्यान्डिलिङ गरिरहेका सीएचएको भारतीय संस्थाले यसले जीवनशैलीमा प्रभाव परेकाले तत्काल कार्यक्रम निलम्वन गर्न भारतीय सरकारसँग अपिल गरेको छ ।
गण्डकी विकास बैंकको ११औँ साधारणसभा सम्पन्न, १४ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । गण्डकी विकास बैंकको ११औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफावाट चुक्ता पुँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले जानकारी गराएको छ ।
मिसन डेभलपमेण्ट बैंकले ११ प्रतिशत बोनस सेयर स्वीकृत
काठमाडौं । मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीमा सम्पन्न भएको हो । बैंकको ५१ करोड, ९२ लाख ८० हजार दुई सय चुक्तापुँजी रहेको छ भने साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयरले ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्तापुँजी पुग्नेछ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले चार अर्ब ६५ करोड निक्षेप संकलन गरी चार अर्ब दश करोड कर्जा प्रवाह गरेको छ । लिलबहादुर केसीको अध्यक्षता र कम्पनी सचिव विष्णु प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभाले पाँच वटा सामान्य प्रस्ताव र पाँच वटा विशेष प्रस्ताव पनि पारित गरेको छ । जसमा अध्यक्षको आर्थिक बर्ष २०७४/७५ बार्षिक प्रतिवेदन उल्लेख गरेको छ । उक्त छलफल, लेखाप्रतिवेदन, नगद लाभांश, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन जस्ता सामान्य प्रस्ताव पारित छन्, भने ११ प्रतिशत बोनस सेयर स्वीकृत, कार्य क्षेत्र विस्तारको अख्तियारी, प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम संसोधन आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी जस्ता विशेष प्रस्तावहरु पारित गरेको बैंकले जनाएको छ ।
कुमारी बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध
काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने काम शुरु भएको छ । कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।