विकासन्युज

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ ग्रहण, सञ्चालक समितिमा ६ जना

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा अच्युुतप्रसाद प्रसाई चयन भएका छन् । पुस ३० गते बसेको संस्थाको २२४औँ बैंठकले सञ्चालक समितिको अध्यक्षमा प्रसाईलाई चयन गरेको हो । नवनियुक्त अध्यक्ष प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने व्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् । सोमबार सम्पन्न चौंधौ बार्षिक साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जनालाई संचालकमा निर्वाचित गरेको हो ।

‘सीआईटी’ र ‘अपर’ले उचाल्यो शेयरबजार, बजार पुँजीकरणमा करिब ५ अर्बको योगदान

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर र नागरिक लगानी कोषका शेयर स्क्रिपहरुको मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा समग्र बजार परिसूचक १७ अंकले माथि उक्लेको छ । मंगलबारको शेयर बजारमा परिसूचक १७.५१ अंकले बढेर ११९५.५४ अंक पुगेको छ । उक्त दिन कारोबार रकम ३९ करोड ७३ लाख भएको छ । आज कारोबार भएका सबै ११ वटै परिसूचकहरुका वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावरको वृद्धिले हाइड्रो परिसूचकले ४.३५ प्रतिशतको वृद्धि हासिल गरेको छ । माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयरको अघिल्लो दिनको बजार पुँजीकरण २४ अर्ब ८८ करोड थियो । यसमा करिब १० प्रतिशतले वृद्धि हुँदा कुल बजार पुँजीकरणमा करिब साढे २ अर्ब सहयोग पुगेको थियो । त्यस्तै, नागरिक लगानी कोष २१ अर्ब ४५ करोड ९१ लाखबाट १० प्रतिशत २ अर्ब ३५ करोड रुपैंया बढेको छ । अपर तामाकोशी र नागरिक लगानी कोषले आजको बजारमा करिब ४ अर्ब ८५ कराेडको योगदान पुर्याएका छन् ।

विराटनगर भन्सारमा चालु आर्थिक वर्षको छ महीनामा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो । गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिएका छन् । प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अभिवृद्धि कर रु १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क रु।एक अर्ब आठ करोड ९३ लाख सङ्कलन भएको छ । कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी/निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ । रासस

माघ २७ गतेदेखि बराह क्षेत्रमा श्रीराम तारकब्रह्म महायज्ञ हुँदै

काठमाडौँ । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ, महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङ्गण वराहक्षेत्र सुनसरीमा माघ २७ वसन्त पञ्चमीदेखि शुरु भई फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञको औंचित्य बारे जानकारी दिन राजधानीमा विशेष पत्रकार सम्मलेन गरिएको थियो । पत्रकार सम्मलेलनमा श्री श्री श्री १००८ श्री बैष्णव डा.कृष्णदास जी महाराजले हरित नेपाल,स्वस्थ नेपाल,स्वच्छ नेपाल,संमृद्ध नेपाल,स्वावलम्बि नेपाल सु–संस्कारी नेपालको लागि महायज्ञको आयोजना गर्न लागेको बताए । डा.कृष्णदास जी महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समय मै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।’ त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए । नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्री देखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’ जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने,‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथि गृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’ सिद्धबाबावाट दिक्षित साधक साधिकाहरुवाट करिव ८ करोडको आर्थिक सहयोगवाट सुविधायुक्त कुल १२६ कोठाको आवस गृह सम्पन्न भै सकेको छ । महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।

विराटनगरमा अन्तर्राष्ट्रियस्तरकाे औद्योगिक प्रदर्शनी निर्माण हुने, १ अर्ब भन्दाबढी लागतको अनुमान

काठमाडौं । विराटनगरमा १ अर्ब भन्दाबढी लागतमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बन्ने भएको छ । प्रदर्शनीस्थलका लागि महानगरपालिकाले एक बिघा सात कठ्ठा र उद्योग सङ्गठनले दुई बिघा जमीन उपलब्ध गराउने सहमति भएपछि प्रदेश सरकारले यसवर्ष रु चार करोड र महानगरपालिकाले रु दुई करोड रकम उपलब्ध गराउने घोषणा गरिसकेको छ । निजी, सहकारी र सरकारी साझेदारीबाट निर्माण गरिने सो केन्द्र अगामी चारवर्षभित्रमा निर्माण गरिसक्ने र यसका लागि रु एक अर्बभन्दा बढी खर्च लाग्ने उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेको भनाई रहेको छ । हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला –२०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी–मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी दिएका छन् । जिल्लास्थित उद्योग सङ्गठनले विराटनगर महागनरपालिकाको सहकार्यमा वडा–३ स्थित उक्त मन्दिर सञ्चालन समितिको स्वामित्वमा रहेको सो जग्गामा प्रदर्शनी केन्द्र निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा श्री सत्यनाराण मन्दिर सञ्चालन समिति र जिल्लास्थित उद्योग सङ्गठनबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले विराटनगरलगायत प्रदेश नं १ कै लागि सहज हुने प्रदर्शनीस्थलबाट यस क्षेत्रको आर्थिक एवं औद्योगिक विकासमा पनि सहयोग मिल्ने बताएका छन् । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री आङबोले प्रदर्शनीस्थल अभावमा उद्योग÷व्यवसाय क्षेत्र आफ्ना उत्पादनको बजार प्रवद्र्धन नसकिरहेको अवस्थामा यस प्रदर्शनीस्थल निर्माणले लामो समयदेखि उद्योग÷व्यवसायीले भोग्दै आएको प्रदर्शनीस्थलको अभावलाई पूर्ति गर्ने बताए। विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले महानगरपालिकासमेतको सहकार्यमा विराटनगरको गौरवका रुपमा निर्माण हुने प्रदर्शनीस्थलले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुर्याउने भएको छ । उद्योग सङ्गठनका अध्यक्ष घिमिरे अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गरिने विराट एक्स्पोजस्ता प्रदर्शनीलाई निरन्तरता दिन सहज हुने धारणा व्यक्त गरे । सम्झौतापत्रमा सङ्गठनका तर्फबाट निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशील धनावत, शिवशङ्कर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सूर्य प्याकुरेल, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर सञ्चालन समितिका तर्फबाट ई किशोर थापा, रामप्रसाद खतिवडा, मावधप्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गरेका थिए । रासस

गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

गौरवका आयोजना निर्माणमा ढिलाइ, आयोजना प्रमुख र छोटो अवधिको सरकार कारक

काठमाडौं । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताए । राज्यको तहगत संरचना र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भई सरकारले २१ वटा महत्वपूर्ण गौरवका आयोजनाको घोषणा गरेको छ । सरकार आवश्यक बजेट दिएता पनि काम नभएको भन्दै थापाले ती आयोजना समयमा सम्पन्न हुन नसक्नुको कारण आयोजना प्रमुखको फेरवदल,बन्द हड्ताल, छोटो अवधिका सरकार रहेको बताए । यी आयोजनालाई तोकिएको समयमा गुणस्तर कायम गर्ने हिसाबले सम्पन्न गर्नका लागि केन्द्रीत भएको बताए । सभापति थापाले धेरैजसो त्यस्ता आयोजनाको समय सीमा सकिएको भन्दै काममा ढिलासुस्ती भएको भन्दै भनाई राखेका थिए । अहिले सम्म २० वटा गौरवका आयोजनाका सरोकारवालासँग समितिले छलफल गरिसकेको छ । भेरी बबई डाइभर्सन, पोखरा विमानस्थल, लुम्बिनी गौतमबुद्ध विमानस्थलमा दु्रतगतिमा काम भइरहेको छ । आयोजना रहेका रक्षाबाहेकका सबै मन्त्रालयसँग छलफल गरिसकेको जानकारी दिएका छन् । रासस

सिडिएसको नाफा ८ करोड, २० % नगद लाभांश वितरण गर्ने

काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले करयोग्य आय १२ करोड ५८ लाख ८५ हजारमा नियमानुसार लाग्ने कर तीन करोड १४ लाख ७१ हजार राजश्व भुक्तानी गरेको छ । लिमिटेडका अनुसार आव २०७४/७५ मा चार लाख २१ हजार ५२३ नयाँ हितग्राही खाता खोलिएको छ । सो सङ्ख्या गत आवमा चार लाख ८० हजार ८७६ रहेको थियो । आव २०७४/७५ मा एक अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता शेयर अभौतिकीकरण गरिएको छ । सो सङ्ख्या अघिल्लो आवमा एक अर्ब पाँच करोड ९४ लाख ६३ हजार २९९ रहेका छन् । समीक्षा अवधिसम्म अभौतिकीरकण भएको धितोपत्रको सङ्ख्या चार अर्ब दुई करोड ७२ लाख ८५ हजार ५७७ पुगेको छ । सि–आश्वा प्रणालीमा आवद्ध भएका ६४ वटा बैंक तथा वित्तीय संस्थामार्फत सिआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या सात लाख ६६ हजार ५४८ रहेको छ । सो सङ्ख्या समीक्षा अवधिसम्म सात लाख ७१ हजार ८८० रहेका थिए । यस्तै ‘मेरो शेयर’ प्रयोग गर्नेको सङ्ख्या तीन लाख ९८ हजार ३८८ पुगेको छ । सि–आश्वा प्रणाली लागू भएपछि नेपालको पूँजीबजारको इतिहासमा पहिलो पटक सार्वजनिक निष्काशन बन्द भएको ३७ घण्टाभित्र शेयर बाँडफाँट गर्न सफल भएको लिमिटेडले जनाएको छ । लिमिटेडको हालै वार्षिक साधारणसभा सम्पन्न भएको छ । रासस