विकासन्युज

३ नम्बर प्रदेशमा बजेट तथा श्रोत समिति गठन, के गर्छ काम ?

हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा श्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा रहेका छन् भने प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट बैंक प्रदेश कार्यालयका प्रमुख, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई सदस्य चयन गरिएको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट योजना कार्यक्रम महाशाखाका प्रमुखलाई सदस्य सचिव चयन गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले जानकरी दिए । त्यस्तै, आयोगको बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा आवधिक योजना तर्जुमा समितिपनि गठन गरेको छ । प्रदेशको आवधिक योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको डा. देबकोटाले जानकारी दिए । समितिमा आयोगका सदस्य, मुख्यमन्त्रीको कार्यालय तथा सबै मन्त्रलयहरुका सचिवहरु सदस्य तथा आयोगका सचिव सदस्य सचिव रहने आयोगका शाखा अधिकृत चिरञ्जीवि पौडेलले जानकारी दिए । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, ३ नम्बर प्रदेशका प्रमुख सचिब आन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिब रमेश शिवाकोटी सहभागी थिए । यी समिति गठन भएपछि के के काम हुन्छन्, त्यसका लागि भने केही समय कुर्नु पर्नेछ ।

१५ अर्ब भारतीय लगानी भित्रियो, १ सय २० उद्योगमा ६ हजारलाई रोजगारी

काठमाडौँ । नेपालमा १५ अर्ब भारतीय लगानी भित्रिएको छ । ३ वर्षको अवधिमा यो लगानी भित्रिएको हो । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्मको अवधिमा १४ अर्ब ९९ करोड २० लाखको लगानी भित्रिएको छ । यो लगानीबाट १ सय २० वटा उद्योग सञ्चालनमा आएका छन् । भारतीय लगानी रहेका ती उद्योगहरुमा ६ हजार ७६८ जनाले रोजगारी पाएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म १ अर्ब ५ करोड ७ लाख रुपैयाँको लागतमा २६ वटा उद्योग स्थापना भएको छन् । सो उद्योगमा २ हजार ४३६ जनाले रोजगारी पाएका छन् । दर्ता भएका विदेशी उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या ९ वटा रहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा ३ वटा, उत्पादनमूलक क्षेत्रमा १० अटा, कृषि तथा बन पैदावरमा आधारित २६७ ओटा, उर्जा क्षेत्रमा ८२ ओटा, खनिजजन्य उद्योग ७० ओटा, मिनिरल क्षेत्रमा २ वटा, निर्माण क्षेत्रमा १ र सञ्चार क्षेत्रमा १ गरी २६ उद्योग दर्ता भएका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा ५ अर्ब ४० करोड १० लाख रुपैयाँको लागतमा ६३ वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमा २ हजार ७ सय १९ जनाले रोजगारी पाएका छन् । ती उद्योग मध्ये सबैभन्दा बढी उत्पादनमूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या २४ रहेको छ । त्यस्तै, पर्यटनसँग सम्बन्धित १०, सेवामूलक १४, कृषि तथा बन पैदावरमा आधारित १ र सञ्चार क्षेत्रमा ३ गरी ६६ उद्योग दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३/०७४ मा २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको लागतमा ४१ वटा उद्योग स्थापना भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा १ हजार ६२२ जनाले रोजगारी पाएका छन् । आव २०७३/०७४ मा दर्ता भएका विदेशी उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या १८ रहेको छ । त्यस्तै पर्यटनमा ६, उत्पादनमूलक क्षेत्रमा १५, कृषि तथा बन पैदावरमा आधारित १ र मिनिरल क्षेत्रमा १ गरी ४१ उद्योग दर्ता भएका हुन् ।

मेलम्चीको काममा फर्कन सीएमसीले राख्यो ३ बुँदे शर्त, कम्पनीले भन्यो- नेपाल बाहिर मात्रै वार्तामा बस्छौं

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले काममा फर्कका लागि ३ बुँदे शर्त राखेको छ । इलालियन कम्पनी सीएमसीले गत शुक्रवार आयोजनालाई इमेल मार्फत पत्र लेख्दै काममा फर्कनका लागि ३ बुँदे शर्त राखेको हो । मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेलका अनुसार निर्माण कम्पनीले ३६ करोड रकम भुक्तानी पाउनु पर्ने, कामदारको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने र आयोजना–कम्पनीबीचको वार्ता विदेशमा हुनु पर्ने शर्त राखेको छ । ठेकेदार कम्पनी सीएमसीले ३६ करोडको नयाँ बखेडा झिकेपछि आयोजनाको काम पुस २ गतेदेखि अवरुद्ध रहेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायित्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ अतिरिक्त भुक्तानी मागेको थियो । कन्सल्टेन्टले २८ करोड अतिरिक्त दायित्व बढेकाले भुक्तानी दिनुपर्ने भनेको थियो । सोही अनुसार आयोजनाले ठेकेदार कम्पनीलाई सो मात्रामा भुक्तानी पनि गरिसकेको थियो, तर ठेकेदारले डिस्प्युट एडमिनिट्रेसन बोर्डमा उजुरी दियो । बोर्डले थप ३६ करोड दिनु पर्ने निर्णय सुनाएको थियो । आयोजना र सीएमसी कम्पनीबीच विवाद चलिरहँदा १७ डिसेम्बरमा सीएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्ची आयोजनाले सीएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बर मै पत्र लेखेर ठेक्का तोडेको पूर्व पत्र फिर्ता लिएको थियो ।

मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२ रूपैयाँले बढ्याे

काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको छ । करिब एक बजेसम्म संस्थाको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढेर ६५६ रुपैयाँमा कारोबार भइरहेको छ । सो दिन प्रतिकित्ता ६४३ रुपैयाँदेखि संस्थाको सेयर कारोबार खुला भएको थियो ।

साेमबारको बजार ११ अंकले हैन, ३ अंकले मात्रै बढेको हो : नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पुस मसान्तको दिन भएको कारोबारबाट देखिएको परिसूचकलाई समायोजन गरेको छ । अपर तामाकोशीको शेयरमूल्य ५० प्रतिशत वृद्धि भएर कारोबार भएपछि उच्च मूल्यमा बढेको देखिएको परिसूचकलाई सो मूल्य समायोजन गर्दा करिब ११७८.०३ विन्दु कायम भएको छ । सोमबार कारोबार बन्द हुँदा यो अंक करिब ११८६.८० अंक देखिएको थियो । सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।

अनलाइन फुड फेस्टिभल शुरु, अब १ रुपैयाँमा घरमै आइपुग्छ खाना !

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव माघ १ देखि १० गतेसम्म संचालन हुनेछ । फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेन छन् । यस अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एपमा मात्र संचालन गरिएको छ । फुडमाण्डूको एपमा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, १ रुपैयाँमा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले २५ सय रुपैयाँ भन्दा माथिको अर्डरमा १८० एमएलको भोड्का(रुस्लान) पनि निःशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्, के होला कारण ?

ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ । ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश बर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ । जागिर परिवर्तन गर्न चाहने मध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए । त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतीको संभावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ । अध्ययनमा सहभागी मध्ये ६५ प्रतिशतले पहिले देखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् । अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् । गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए । रासस/सिन्ह्वा

चीन-उत्तर कोरिया व्यापारमा मन्दी, ५३ प्रतिशतले कमी

बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ । उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवम् सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ । उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ । “चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषदको प्रस्तावलाई कडाईका साथ लागू गरेका छौं,” लीले बताए । व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरु, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ । सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलब ५ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलो पटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टी गरेको छ । दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकी सन् २०१६ मा यसको वृद्धि ८ दशमलब ४ प्रतिशत थियो । औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलब ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ । चीन र रुस दुबैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धहरुमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिङटनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ । गत साता उत्तर कोरियाली नेता कीम जोङ उनले चीनको चौथो पटक भ्रमण गर्नुभएको छ । उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका-उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ । रासस/एएफपी