माछापुच्छ्रे बैंकले बढायो ७० प्रतिशत नाफा, खुद नाफाभन्दा ‘फ्रि प्राेफिट’ बढी
काठमाडौं । माछापुच्छ्रे बैंकले ७० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो बर्षको तुलनामा सो परिमाणको नाफा वृद्धि भएको हो । सो अवधिमा बैंकले ८० करोड ३६ लाख ६५ हजार बराबर स्वतन्त्र नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष सो आकार ४७ करोड १८ लाख ७६ हजार स्वतन्त्र नाफा कायम गरेको थियो । बैंकको नियामकीय समायोजनबापतको रकम सकारात्मक देखिएपछि खुद नाफा भन्दा स्वतन्त्र नाफा बढी देखिएको छ । बैंकको खुद नाफा भने ७८ करोड १३ लाख ७८ हजार रहेको देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८५ अर्ब १७ करोड पुर्याएको छ । अघिल्लो त्रैमासको अन्त्यमा त्यो रकम ७७ अर्ब ९८ करोड थियो । त्यस्तै सो अवधिमा बैंकको कर्जा प्रवाह ७४ अर्ब ६५ करोड कायम गरेको छ । यो अघिल्लो त्रैमासको तुलनामा करिब पौने ४ अर्बले बढी हो । अघिल्लो त्रैमासको अन्त्यमा यो आकार ७० अर्ब ८९ करोड थियो । छ महिनाको अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ६९ करोड, तैरब्याज आम्दानी ३४ करोड र कुल सञ्चालन खर्च करिब ९६ करोड छ । त्यस्तै, बैंकको पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४४ प्रतिशत, कस्ट अफ फण्ड ७.८९ प्रतिशत, सीसीडी अनुपात ७७.६४ प्रतिशत र आधार ब्याजदर १०.९९ प्रतिशत रहेको छ । पुस मसान्तको मूल्यअनुसार बैंकको मूल्य आम्दानी अनुपात १०.६२ प्रतिशत रहेको छ ।
सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सहकार्य, भीआइपी कार्ड होल्डरको उपचारमा विषेश छुट
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुबिधामा छुट पाउने छन् । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु’ अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पानीजहाज सञ्चालन सम्झौताका लागि भारतीय टोली आउँदै, सम्झाैतालगत्तै जहाज चल्ने
काठमाडौं । भारतीय सामुन्द्रिक बन्दरगाहबाट नेपाली बोर्डरसम्म पानीजहाज ल्याउने सन्दर्भमा छलफल र सम्झौता गर्नका लागि पानीजहाज सम्बन्धी भारतीय विज्ञ प्राविधिक टोली नेपाल आउने भएको छ । सरकारले गत जेठमा गठन गरेको पानीजहाज सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययन गर्न बनेको समितिले सरकारलाई बुझाएको सुझाव बमोजिम ‘नेपाल पानीजहाज कार्यालय’ स्थापना भएसँगै कार्यालयले भारतीय पक्षसँग आवश्यक छलफल र सम्झौता गर्ने समितिका संयोजक माधव वेलबासेले विकासन्यूजलाई बताए । मन्त्रीपरिषद्को पुस २९ गते बसेको बैठकले इन्जिनियरिङतर्फका प्राविधिक सहसचिवको नेतृत्वसहित १६ जनाको दरबन्दी रहनेगरी उक्त कार्यालय गठन गर्ने निर्णय गरेको थियो । सरकारले कार्यालयमा रहने कर्मचारीहरु नियुक्त गरि कार्यालयलाई पूर्णता दिएसँगै भारतीय पक्षसँग सम्झौता गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव समेत रहेका समितिका संयोजक वेलबासेले सरकारले उक्त कार्यालय गठन गर्ने कदम नेपालमा पानीजहाज सञ्चालनको लागि कोशेढुङ्गा भएको बताए । ‘पानीजहाज कार्यालय गठन गर्ने सरकारको यो कदम पानीजहाज सञ्चालनको लागि कोशेढुङ्गा सावित हुनेछ, कार्यालयले पूर्णता पाएसँगै भारतीय प्राविधिक टोली द्धिपक्षीय वार्ताका लागि काठमाडौं आउँछन्, उनीहरु मार्चमा आउने निश्चित जस्तै भइसकेको छ ।’ उनले भने । गत जेठमा गठन भएको बेलबासे नेतृत्वको ६ सलस्यीय समितिले कोशी, गण्डकी, कर्णाली लगायत भारततर्फ बग्ने ठूला नदीहरुमा पानीको बहाव, नदीको चौडाई र अन्य भौतिक अवस्थाको अध्ययन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य तथा आपुर्ति मन्त्रालय तथा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय समेतका प्रतिनिधि रहेको उक्त समितिले भारतीय पक्षको सहयोग समेतमा गरेको अध्ययन गरेकाे थियो । उक्त अध्ययनले कोशी नदीमा नेपालको सिमानाबाट २४० किलोमिटर र गण्डकीमा ३७५ किलोमिटरमा नेपालले समुद्र भेट्टाउने देखाएको छ । समितिले ३ मिटर गहिराई र ६० मिटर चौडाई भएको नदीमा १५ सय मेट्रिकटन क्षमता भएको जहाज ओहोरदोहोर गर्नसक्ने निष्कर्ष समेत निकालेको छ । भारत समेत नेपाललाई इनल्यान्ड वाटरवे सेवा दिनका लागि तयार छ । नदीहरुमार्फत् पानीजहाज सञ्चालन गरेमा हाल कोलकत्ताबाट नेपाली बोर्डरसम्मको ढुवानी खर्च ७० प्रतिशत भन्दा बढीले घट्ने प्रक्षेपण गरिएको छ । हाल त्यस्तो ढुवानी खर्च प्रतिकेजी ४ रुपैंया ३० पैसा लाग्ने गरेको छ । पानीजहाजबाट आउँदा सो खर्च १ रुपैंया ७० पैसा पर्ने प्रक्षेपण गरिएको छ । नेपालले जस्तै भारतले पनि यस्तै किसिमको इनल्यान्ड वाटरवे सेवा सञ्चालन गर्न लागेको छ । उसले सामुन्द्रिक बन्दरगाहदेखि कालुघाटसम्म त्यस्तो सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उक्त क्षेत्रमा उसले २ हजार मेट्रिकटनसम्मको क्षमता भएको जहाज सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन, १० प्रतिशत ६/६ महिनामा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले माघ ३ गते बिहीवारदेखि ‘एन आई सी एशिया डिबेन्चर २०८५/८६’ बिक्रीको लागि सार्वजानिक आव्हवन गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिनेछ । बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि माग १३ देखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा माघ १६ तथा ढिलोमा फागुन १३ सम्म विक्री खुल्ला रहने छ ।
आनाकाे १० लाखमा किनेकाे जग्गा अहिले कराेड पर्छ, हाेटल व्यवसायमा फाइदासंगै रमाइलाे पनि
एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाह होटल संघ नेपालका महासचिव समेत हुन् । २०४९ सालमा उपसचिवको जागिर छोडेर निजी क्षेत्रको प्रोजेक्ट हुँदै होटल व्यवसायमा लगानी थालेका शाह यस क्षेत्रमा सफलता चुम्दै अगाडि बढिरहेका छन् । उनको लगानीका हाल चार वटा पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । नेपालमा होटल क्षेत्रमा लगानी बढिहेको छ । अन्तर्राष्ट्रिय चेन होटलदेखि नेपालमा स्थापित भएको ठूला व्यापारिक घरना यी सबैको ध्यान होटल व्यवसायमा रहेको छ । हुन पनि स्वभाविक हो, नेपालमा राजनीतिक स्थीरता भैसकेपछि यहाँ लगानी बढ्छ । नेपाल दुई ठूला देशहरुको बीचमा रहेको छ । यी देशका साढे दुई अर्ब जनसंख्यालाई मध्यनजर गर्दै व्यवसाय गर्न सकियो भने पनि पर्यटन क्षेत्रको भविष्य राम्रो छ । भारत र चीन दुबै विकसित देश हुन् । त्यहाँका मानिसहरु बिदाको समयमा देशविदेश घुम्न रुचाउँछन् । यो सम्भावना देखेर नै नेपालमा होटल व्यवसायमा लगानीकर्ताहरुको रुचि बढिरहेको छ । हाम्रो देश संघीय ढाँचामा गैसकेको छ । ७ वटै प्रदेशले पर्यटन व्यवसायलाई प्रमुख रुपमा अघि बढाएको छ । यो अवस्थामा सेवा क्षेत्रमा लगानी गर्दा सुरक्षित हुने देखिन्छ । हामीले सोचेको भन्दा धेरै राम्रा क्षेत्र मोफसलमा रहेका छन् । यी क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा पर्यटन विकास गर्नु अहिलेको मुख्य चुनौति हो । अब हाम्रो मुख्य समस्या के हो भन्दा हाम्रो देशको पूर्वाधार हो । हाम्रो एयरपोर्ट, चीन भारत जोड्ने सडक यी सबै कुरा नहुँदा पर्यटकहरुलाई समस्या परिरहेको छ । हामीले २०२० मा जुन रुपले पर्यटन वर्ष मनाउन गैरहेको छौं । २०१८ मा ११ लाखाको आँकडा छुँदा २०१९ मा ४ देखि ५ लाख थप पर्यटक भित्र्याउन सकिन्छ । २०२० मा २० लाखको आँकडा छुन सकिन्छ । पर्यटक भित्र्याउन हाम्रा लागि विशेष रुपमा विमानस्थलको आवश्यकता पर्छ । यसको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्ने अवस्था रहेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम अघि बढ्नु सकारात्मक कुरा हो । यो छिटो सञ्चालनमा ल्याउन सकिए धेरै उपलब्धी हासिल गर्न सकिन्छ । एयरपोर्टको मात्रै व्यवस्था गर्न सकिए २० लाख होइन, अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ । चीन जोड्ने बाटोपनि तयार हुन लागको अवस्थामा हाम्रो पर्यटक वर्षलाई यसले धेरै टेवा पुर्याउने काम गर्दछ । हाम्रो पूर्वाधार ५, ६ वर्षको अवधिमा विकास गर्न सकिए देशमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ । यो सम्भावना देखेर नै लगानीकर्ताहरु यो क्षेत्रमा आकर्षित भैरहेका छन् । ग्लामरस क्षेत्र होटल व्यवसाय रमाई हुन्छ । खुशीका पलहरु धेरै छन् । मानिसलाई स्वागत गर्ने, सत्कार गर्ने । सत्कारसँगै आम्दानीले यो पेशामा खुशी मिल्छ । मैले एयरपोर्ट होटलको संरचना विसं २०६३ सालमा किनेको हुँ । यस होटलले मलाई कयौं गुणा नाफा दिइरहेको छ । अहिले यो ठाउँको आनाको करोड रुपैयाँभन्दा बढी पर्छ । त्यो समयमा मैले आनाको १० लाख भन्दा कम मूल्यमा खरिद गरेको हो । हाेटल व्यवसायबाट पनि फाइदा नै हुन्छ । यस क्षेत्रमा प्रत्येक दिन नयाँ अनुभव हुन्छ । हरेक दिन नयाँ पाहुना स्वागत गर्न पाउँदा त्यसले पनि एक किसिमको सन्तुष्टि प्रदान गर्छ । यसले केही न केही नयाँ उर्जा जीवनमा दिन्छ । एउटा रुटिङ भन्ने कुरा नै हुँदैन यो पेशामा । टाइ सुट लगाएर नयाँ पाहुनासँग चिया खाने । यो पेशामा पैसा, ग्ल्यामर, इज्जत सबै कुरा मिश्रित हुन्छ । समग्रमा होटलरलाई समाजमा इज्जत दिइरहेका हुन्छन् । यहाँ लगानी ठूलो हुन्छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीले समाजको उत्पादन र जनशक्तिलाई प्रयोग गरिरहेका हुन्छौं । हामीसँग कपडा उद्योगी, कृषक, बैंक मिडिया सबै जोडिएका हुन्छन् । हाम्रो कारणले यी क्षेत्रले केही न केही आर्थिक उपार्जन गरिरहेका हुन्छन् । हाम्रो ब्यूरोकेसीले भने सोचे अनुरुप सहयोग गरिरहेका छैनन् । हामीले ठूलो राजनीतिक फड्को मारिसकेका छौं । ब्युरोकेसी भने पुरानो ढंगबाट चलिरहेका छन् । ब्युरोकेसी परिवर्तन नभइकन जतिसुकै राजनीतिक परिवर्तन गरेपनि देश विकास हुँदैन । ब्यूरोकेसीको मानसिकता अझै परिवर्तन भएको छैन । राजा महेन्द्रको जुन मानसिकता हो सोही मानसिकताबाट अहिले ब्यूरोकेसी चलिरहेको छ । उदाहरणको लागि एयरपोर्ट बिस्तारको लागि एशियाली विकास बैंकको ७ अर्ब रुपैयाँ दिन्छु भनेको छ । पैसाको कमी छैन । जुलाई २०१८ मा सकिनुपर्ने काम अझै काम शुरु नै भएको छैन । नेपाल विकास नहुनु एक कारण ब्यूरोकेसी हो । एउटा कानूनी समस्या होला । हाम्रो ब्यूरोकेसीमा एउटा चिनाजानी नगरिकन काम गर्नु महाभारत नै भइसक्यो । कि त ज्याक लगाउनु पर्यो । सरकारी जागिर छोडेर व्यवसायमा म आफैं ब्यूरोकेसीबाट आएको मान्छे हुँ । मैले वाणिज्य मन्त्रालयबाट २०४९ सालमा उपसचिव तहबाट जागिर छोडेको हुँ । म वैदेशिक विभागमा काम गर्थेँ, त्यतिबेला मैले गरिरहेको काम तत्कालीन एक मन्त्रीले अर्को एक आफन्तलाई लगाए । ११ दिनको लागि मेरो ठाउँमा गएको सो व्यक्ति ३ दिनमै फर्कियो किनभने उसँग कार्य अनुभव थिएन । त्यसपछि जर्मनहरु रिसाए । पछि उनीहरुले त्यो प्रोजेक्ट नेपाल जर्मन च्याम्बरबाट अगाडि बढाए । मलाई नै त्यो प्रोजेक्टको नेतृत्व गर्न आग्रह गरे । त्यसपछि मैले सरकारी जागिर छोडेको हुँ । म आफ्नो व्यवसायप्रति इमान्दार छु । सन्तुष्टपनि छु । सरकारी जागिर खाँदामा मेरो साथीहरु अहिले रिटायर भैरहेका छन् । उनीहरुले अहिले नातिनातिना खेलाउने काम बाहेक अरु काम पाएका छैनन् । उनीहरु मलाई भन्छन्–तैले गज्जब गरिस् । समय बुझेको रहिछस् ।’ कर्मचारी भएर काम गर्नु र व्यवसाय भएर काम गर्नु तुलना नै गर्न मिल्दैन । मैले अहिले व्यवसाय सञ्चालन गरिरहेको छु । मैले जे चाहे गर्न सक्छु, तर म एउटा उपसचिव स्तरको मान्छे एउटा फाइल तयार गर्यो सहसचिवलाई बुझाउनु पर्यो सहसचिवले सचिवलाई सचिवले मन्त्रीलाई यसरी चक्रमा बस्नुपर्छ । जुन मेरो क्षमता रहेको छ । त्यो क्षमता कर्मचारी भएर शत प्रतिशत उपयोग गर्न सकिदैन । यहाँ त मैले चाहेको ३ दिनमा रिजल्ट निकाल्न सक्छु । उद्यमीका गुण सर्वप्रथम त उद्यमशील हुनका लागि लगनशील हुनुपर्छ । यो कुनै बसिबियालो गर्ने थलो होइन । यसमा इमान्दार भएर काम गर्नु पर्छ । हामीले गरेको काम असफल पनि हुन सक्छ । यसको लागि गहिरो अध्ययन आवश्यक रहेको हुन्छ । हामीले गर्ने व्यवसायिक व्यवहारमा खुल्ला किताब जस्तै स्पष्ट हुनुपर्छ । तत्कालै पैसा कमाउने सोच राखेर गलत काम गर्नु हँुदैन । यस्तो व्यवसाय दीर्घकालसम्म टिक्दैन । मेरो विचारमा उद्यमशीलता एउटा आँट हो । सबैले आँट गर्न सक्दैनन् र उद्यमीको महत्व हुन्छ । यो ठाउँमा मैले यति लगानी गरेर यति प्रतिफल प्राप्त गर्छु भन्ने आँट नै उद्यमशीलता हो । भोलि हुन्छ हँुदैन थाहा छैन । मैले यो होटल किन्ने नकिन्ने ५ मिनेटमा निर्णय लिएको हुँ । त्यतिबेला मैले निर्णय लिन नसकेको हो, यो अर्कैले किन्थ्यो । योसहित उपत्यकामा ४ वटा होटल रहेका छन् ।
कैलाश विकास बैंकका ग्राहकलाई ब्लू क्रस अस्पतालमा आकर्षक छुट
काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
मुनाल बचत तथा ऋण सहकारी ११ औं वर्षमा प्रवेश
काठमाडौँ । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहिबारबाट स्थापनाको दशौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगनलाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ । २०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ ।
भरतपुरमा आशा लघुवित्तले गर्यो कर्जा जोखिम व्यवस्थापन तालिम
काठमाडौं । भरतपुरमा आशा लघुवित्तको कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । १, २, ३ र ४ नम्बर प्रदेशहरुमा सञ्चालित २७ वटा शाखा कार्यालयहरुमा कार्यरत ७१ जना फिल्ड सहायक कर्मचारीहरुको सहभागिता रहेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेका थिए । यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताएका छन् । तालिम कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि., भरतपुर शाखाका प्रबन्धक सुर्यप्रसाद पौडेलले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएको थिए । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ३९ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागिय प्रमुख रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो ।