विकासन्युज

पुनर्निर्माण प्राधिकरणको लक्ष्य र योजना पारित, २ वर्षभित्र निजी आवास पुनर्निर्माण

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कार्यहरु दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गरेको आगामी लक्ष्य र कार्ययोजना अनुसार आर्थिक वर्ष २०७४/७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष ०७५/७६ भित्र सम्पन्न गरिने उल्लेख छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनर्निर्माण भएका घरहरुलाई एकमुष्ट तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउनका लागि प्रकृयालाई सहज बनाएर अघि बढने निर्णय भएको जानकारी दिए । यस्तै, आगामी लक्ष्य अनुसार गुनासो सुनुवाई, भूमिहिन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धीत लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गरिनेछ । गुनासो सुनुवाई र पुनःसर्वेक्षणको कार्य आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक भित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आर्थिक वर्ष ०७५÷७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराइनेछ । यस्तै, जोखिमयुक्त बस्ती तथा घरहरुको स्थानान्तरणको आगामी लक्ष्य एवं कार्ययोजना अनुसार सबै लाभग्राहीलाई सुरक्षित जग्गा व्यवस्था आर्थिक वर्ष २०७५÷७६ भित्रै गरिनेछ भने आर्थिक वर्ष ०७५/७६ भित्र ५० प्रतिशत र ०७६/७७ भित्र शत प्रतिशत आवास पुनर्निर्माण सम्पन्न गरिनेछ । एकीकृत बस्ती विकास अन्तर्गत आर्थिक वर्ष ०७५/७६ भित्र ५० वटा र आर्थिक वर्ष ०७६/७७ भित्र थप २५ वटा योजना स्वीकृत गरिनेछ । जोखिम वर्ग लाभग्राहीलाई थप ५० हजार अनुदानसहित घर निर्माण कार्य आरम्भ आर्थिक वर्ष ०७५÷७६ भित्र गरिनेछ भने आर्थिक वर्ष ०७५/७६ भित्र ४० प्रतिशत र आर्थिक वर्ष ०७६/७७ भित्र शत प्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शैक्षिक संस्थाहरुको पुनर्निर्माणतर्फ विद्यालय भवनहरुको पुनर्निर्माण चालू आर्थिक वर्षमा ७० प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ९० प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकभित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तैगरी स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणतर्फ चालू आर्थिक वर्षमा ६५ प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ८० प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकभित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारी भवन पुनर्निर्माणतर्फ चालू आर्थिक वर्षमा ७५ प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ९० प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकमा शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरक्षा निकायको भवन पुनर्निर्माणतर्फ चालू आर्थिक वर्षमा ६० प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ९५ प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकमा शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुरातात्विक एवं साँस्कृतिक सम्पदा पुनर्निर्माणतर्फ चालू आर्थिक वर्षमा ५० प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ७५ प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकमा शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सामाजिक आर्थिक पुनर्स्थापनामा सबै स्थानीय तहमार्फत कार्यक्रम संचालनका लागि विश्व बैँक समक्ष कार्यक्रम प्रस्तावित गर्ने र भूकम्पका कारण अंगभंग भएका, अपाङ्ग, एकल परिवार, वृद्ध वृद्धा तथा घरबारविहीन बालबालिकाका लागि सामाजिक पुनर्स्थापना सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम पारित भएको छ । पुनर्निर्माणको दीगोपना र हस्तान्तरण कार्यका लागि विपद् व्यवस्थापनसम्बन्धी संवैधानिक एवं कानुनी व्यवस्थाबमोजिम तीनै तहका सरकारसँग सहकार्य गरी पुनर्निर्माणसम्बन्धी ज्ञान, सीप र अनुभव सम्बन्धित तहको सरकारमा हस्तान्तरण गर्ने, भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना सम्बन्धी गृहकार्य अघि बढाउने लक्ष्य पारित गरेको छ । त्यस्तैगरी बैठकले प्राधिकरणमा हाल रहेको सूचना प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने लक्ष्य पारित गरेको छ । यस्तै प्रत्येक स्थानीय तहमा विपद् जोखिम नक्शाङ्कन कार्य अघि बढाउने र त्यसलाई स्थानीय तहको भू–उपयोग योजना एवं योजना तथा भवन मापदण्ड तयारीको आधारका रूपमा प्रयोग गर्ने लक्ष्य राखिएको छ । यस्तै बैठकले प्रत्येक गाउँपालिका एवं नगरपालिकालाई राष्ट्रिय भवन संहिता लागू गराउन विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने, सङ्घीय तहमा प्रस्तावित राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणसँग विशेष समन्वय र सहकार्य गर्ने लगायतका लक्ष्य पारित गरेको छ ।

ओली सरकारको ब्रेक थ्रुः रेल, पानी जहाज र पेट्रोलियम खानी उत्खनन्

काठमाडौं । पुस २९ गते बसेको मन्त्रिपरिषद बैठकले ब्रेक थ्रु कायम गरेको छ । प्रधानमन्त्री ओलीले देखाउँदै आएको रेल, पानी जहाज र पेट्रोलियम खानी उत्खननको ऐतिहासिक निर्णय गरेको हो । ओलीले अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा नागरिकलाई रेल, पानी जहाजका सपना बाढेँका थिए । उनले नेपालकै गर्भभित्र रहेका पेट्रोलियम खानीहरुको उत्खनन गराएर नेपाललाई इन्धनमा परनिर्भरताबाट मुक्त गराउने घोषणा गरेका थिए । ओलीले यी ३ वटै सपना पुरा गराउने निर्णय एकै मन्त्रिपरिषद बैठकबाट गराए । ओलीले भारतीय सहयोगमा निर्माण सम्पन्न भएको बिजलपुरा–जनकपुर–कुर्ताको ३५ किलोमिटर खण्डमा आफ्नै रेल किन्ने साहसिक निर्णय गरे । उनले बजेटमै रेल खरिदका लागि ५० करोड छुट्याएका थिए । रेल विभागका महानिर्देशक बलराम मिश्र भन्छनः ‘सरकारले निर्णय गरिसकेको छ, ५० करोड बजेट थियो, अब नपुगेको सरकारले थपिदिन्छ ।’ ठिक यहि बेला नेपालमा रेल गुडाउनेबारे छलफलल गर्न भारतीय रेलवेको टोली पनि आईपुगेको छ । त्यति मात्रै होइन, रक्सौल–बिरगञ्ज–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्गको पनि प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भैसकेको छ । बिराटनगरमा समेत नेपाल भारत सिमा जोड्ने १६ किलोमिटर लामो रेल निर्माण अन्तिम चरणमा पुगेको छ । खानी विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले मन्त्रिपरिषदको निर्णयसँगै आफ्नै इन्धनका खानीहरु अन्वेषण तथा उत्खननको प्रक्रियाले सार्थकता पाउने दावी गरे । ‘हाम्रो लामो प्रयासले सार्थकता पाएको छ, अब इनधनहरुको खोजीले मुर्तरुप लिने छ ।’, परियोजना प्रमुख रजौरेले भने । अब पाल्पा र दैलेखको खानीहरु चीनियाँ कम्पनी चाईना जिओलोजिकल सर्भेले थप अन्वेषण तथा उत्खनन गर्नेछ । ओली सरकारले पानी जहाज कार्यालय स्थापना गरेर १६ जनाको दरबन्दी स्वीकृत गरिदिएको छ । यसअघि पानी जहाज सञ्चालनका लागि अध्ययन गर्न समिति गठन गरेको सरकारले १६ जना प्राबिधिकहरुको दरबन्दी स्वीकृत गरेको हो । अध्ययन समितिले कोशी र नारायणी नदिमा पानी जहाज सञ्चालन गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

चौधरी र एनई ग्रुपको ‘भिभान्ता काठमाडौं’ होटल संचालन, नयाँ मानक बनाउने दाबी

काठमाडौँ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ । जसलाई विश्वविख्यातताज ब्रान्डका रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापनगर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेलाई’लाई ‘एल–अफिसियल’म्यागेजिनले संसारका सुन्दर होटल/रेस्टुराँको सूचीमा राखेको छ । “करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।” सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । छोटो र लामो बसाईँका लागि यो होटेल उत्कृष्ट रोजाइ विश्वास लिइएको छ । “यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य रुचाउने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ ।” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइने छन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।” ‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङ पुल र स्पाको सुविधापनि उपलब्ध गराउने छ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्ने बताइएको छ । रविभक्तश्रेष्ठले नेतृत्वगरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुखप्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्रीउत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ । सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।

कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर ढुङ्गाना

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुङ्गाना नियुक्त भएका छन् । मन्त्रीपरिषद्को गत पुस २९ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव ढुङ्गानालाई कोषको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । कर्मचारी सञ्चय कोष ऐन २०१९ (आठौं संशोधन २०५३) ले कोषको अध्यक्षमा सरकारबाट नियुक्त कुनैपनि व्यक्ति कोषको अध्यक्ष रहने प्रावधान छ । सोही बमोजिम कोषमा ढुङ्गानालाई अध्यक्ष नियुक्त गरिएको हो । ढुङ्गाना यसअघि पनि काेषकाे अध्यक्ष थिए । अर्थ मन्त्रालयबाट सरुवा भए पनि उनलार्इ अध्यक्षकाे जिम्मेवारीमा निरन्तरता दिइएकाे छ ।

नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल भलिबल संघको दोस्रो एनभिए अवार्ड कार्यक्रम आयोजना गरिएको छ । जनता बैंक नेपालका नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन् । नेपाल भलिबल संघ एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख जनता बैंकले प्रायोजन गर्ने भएकाे छ । उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गराउने जानकारी दिएका थिए । गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी सम्झौता गरिएको छ । जनता बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग गर्ने जनाएको छ ।

भाइब्रेन्ट गुजरातमा भाग लिन महासंघको प्रतिनिधि मण्डल प्रस्थान

काठमाडौँ । भारतको गुजरातमा शुक्रबारदेखि आयोजना हुने भाइब्रेन्ट गुजरात-२०१९ कार्यक्रममा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा महासंघको चार सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान ग¥यो । महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत रहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष समारोहका बीच समुद्घाटन गर्ने उक्त सम्मेलनमा भारत, नेपाल लगायत विश्वका ६० भन्दा बढी देशहरूले भाग लिने छन् । गुजरात उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य थीम पाथ टू प्रोस्पारिटी रहेको छ । कार्यक्रम माघ ६ गतेसम्म चल्नेछ । कार्यक्रमका दौरान माघ ६ गते आयोजना हुने ग्लोवल चेम्वर अफ इण्डष्ट्रिज विषयक सम्मेलनमा महासंघका तर्फबाट एफएनसीसीआइका वारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै सोही अवसरमा नेउवामहासंघ प्रदेश नम्वर ३ र गुजरात चेम्वर अफ कमर्स बीच सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ । गुजरातमा रह“दा महासंघको प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागी हुन आएका विश्वका व्यवसायिक नेताहरूस“ग भेटवार्ता गर्नुका साथै बी–टू–बी बैठकमा समेत भाग लिनेछ । भाइब्रेन्ट गुजरात–२०१९ कार्यक्रममा सार्क लगायत विश्वका अन्य देशहरूबाट विशिष्ट व्यक्तित्वहरू, उद्यमी व्यवसायी नेताहरू, लगानीकर्ताहरू, सरकारी अधिकारीहरूको सहभागिता रहनेछ । यसपटकको भाइब्रेन्ट गुजरात नवौं संस्करण हो ।

भीभोका नयाँ स्मार्टफोन लन्च हुँदै, मूल्य २० देखि ३० हजार पर्ने

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउने जानकारी दिएको छ । भीभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली व्याट्री प्याक राखिएको छ । भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि राखिनेछ । नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँ भन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँ भन्दा कम नै हुने अनुमान गर्न सकिन्छ । भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ । भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ । हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८.१ मा आधारि फनटच ४.५ ओएसमा संचालन हुन्छ । त्यसैगरि वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसमा पनि ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ । यसमा पनि हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको बताएका छन् । वाई ९१ आईमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्टफोनमा २ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । भीभोले अर्को स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ जून वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्ट फोन हो । तर यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । यो स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

शेयर बजार सामान्य अङ्कले घट्यो, २८ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा जलविद्युत् ४०.४१, अन्य २.४८ र लघुवित्त ९.२६ विन्दुले बढेका छन् । यस्तै बैंकिङ २.८१, व्यापार ३.१३, होटल २.७२, विकास बैंक ०.७२, वित्त ०.१२, उत्पादन ४.२४, निर्जीवन बीमा ६२.३६ र जीवन बीमा ४५.२७ विन्दुले घटेको छ । घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छिमेक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, साना किसान विकास बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, काबेली विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्यारेन्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।