विकासन्युज

हिमालयन हाइड्रो एक्स्पो शुरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् । २०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापन मार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्सरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका छन् । घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका छन् । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई,प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामलेपनि तिब्रता पाएको छ । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उनले बताए । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा वीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।

सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव तेजबहादुर ठकुल्लाले जनाएका छन् ।

गण्डकी प्रदेशलाई वातावरणमैत्री बनाउने अभियान

काठमाडौं । हाल देशमा वातावरणमैत्री विकास निर्माण अपरिहार्य रहेको हुँदा गण्डकी प्रदेशलाई वातावरणमैत्री बनाउने अभियानकाे शुरूवात भएकाे छ ।  वातावरण विज्ञान केन्द्रीय विभाग त्रिवि कीर्तिपुर र वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले पोखरामा आयोजना गरेको नेपाल स्वच्छ वातावरण महा अभियान अन्तर्गत विश्वविद्यालय स्तरीय वातावरण संरक्षण कार्यक्रममा सहभागीले दिगो वातावरण संरक्षणमा जोड दिएका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले वरपीपल, पोखरी, कुवाकुण्डको संंरक्षणका लागि आवश्यक विधेयक प्रदेशसभामा पेश गरेको जानकारी दिएका छन् । बढ्दो शहरीकरणसँगै बजारमा समस्याको रूपमा देखिएको प्लाष्टिक सङ्कलन गर्न विद्यालय तहबाटै अभियान सञ्चालन गरिने वातावरण संरक्षणमा नागरिक उत्तरदायी बन्नुपर्नेमा जोड दिएको छ । फागुनभित्र आवश्यक कानून निर्माण गरिने जानकारी दिँदै मन्त्री लम्सालले प्राविधिक विश्वविद्यालय सञ्चालन गरेर आवश्यक जनशक्ति उत्पादन गर्ने तयारीमा सरकार जुटेको जानकारी दिएका छन् । वातावरणीय स्वच्छता कायम गर्न नसके प्रकृतिले दिएर मात्रै केही नहुने उल्लेख गर्दै संक्षणका लागि सबैको सामूहिक प्रयासको आवश्यक रहेको मन्त्री लम्सालले बताए । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका निर्देशक झलकराम अधिकारीले विभागले वातावरणीय मापदण्ड पूरा नगर्ने कलकारखाना, अस्पताल लगायतका विभिन्न प्रतिष्ठानलाई कानूनी दायरामा ल्याउने जनाएका छन् । विभागले मुलुकका १६५ उद्योग र ५७ अस्पतालको अनुगमनका क्रममा अधिकांश मापदण्ड विपरीत रहेको बताउँदै त्यस्ता प्रतिष्ठानलाई संविधानले रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । जिल्ला समन्वय समिति गण्डकी प्रदेशका संयोजक वैनबहादुर क्षेत्रीले घरबाटै फोहर व्यवस्थापनको विकास निर्माण र वातावरण सम्बन्धमा जिससले अनुगमलाई तीव्रता दिइने भनाई व्यक्त गरेका छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका वातावरण अधिकृत निर्मलमान सिंह, गण्डकी प्रदेश वातावरण अधिकृत दिवाकर पौडेल, वातावरण विज्ञान केन्द्रीय विभागका डा इन्दिरा पराजुली, विभागका महा निर्देशक झलकराम अधिकारी, विज्ञान केन्द्रीय विभागका प्राडा केदार रिजालले वातावरण संरक्षणमा भए गरेका प्रयासबारे कार्यपत्र प्रस्तुत गरेका थिए । पृथ्वीनारायण क्याम्पस प्रमुख चन्द्रबहादुर क्षेत्री, उप प्राध्यापक कल्याण पन्त, नागरिक अगुवा रामबहादुर पौडेल लगायतले संवैधानिक व्यवस्थाअनुसार स्वच्छ वातावरणमा बाँँच्न पाउने नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै प्रकृतिले सिँगारिएको पोखरालाई मानवीय अतिक्रमणसँगै प्रदुषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । रासस

पूर्वअर्थमन्त्री बिष्णु पौडेलको प्रश्नः एनसेलले लाभकर छल्ने अवस्था कसरी आयो ?

काठमाडौँ । पूर्व अर्थमन्त्री बिष्णु पौडेलले एनसेलले पूँजीगत लाभकर छल्ने अवस्था कसरी आयो भनी प्रश्न गरेका छन् । संसदको अर्थ समितिको आज बैठकमा पूर्व अर्थमन्त्री पौडेलले एनसेलको लाभकर असुल नगरी लाभांश लैजान दिईनु गम्भीर त्रुटी भएको बताए । उनले ठूला करदाता कार्यालयको पत्रका आधारमा अदालतले अन्तरिम आदेश दिएको पनि दावी गरे । कर चुक्ता गरेर मात्रै लाभांश लैजान दिनु पर्नेमा कर प्रशासनले लापरबाही गरेको उनको आरोप छ । अदालतको अन्तरिम आदेश कै भरमा लाभांश लान दिनु अर्को लापरबाही भएको पौडेलको भनाई छ । उनले एनसेलको लाभकर छोड्न नसकिने पनि स्पष्ट पारे । एनसेलले ६४ अर्व पूँजीगत लाभकर तिर्न बाँकी छ ।

लक्ष्मी बैंकको वार्षिक साधारण सभा माघ २८ गते, ८.५० % बोनस शेयरको प्रस्ताव पारित गरिने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन छलफल सहित पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा आव २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गर्ने कार्यसूचि रहेको छ । विशेष प्रस्तावका रुपमा बैंकको हालको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले ६९ करोड ८८ लाख ४१ हजार ६ सय ९१ बराबरको बोनश शेयर वितरणको प्रस्ताव छलफल सहित पारित गनिरे छ । साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.४५ प्रतिशतका दरले ३ करोड ६७ लाख ८१ हजार १ सय ४२ बराबरको नगद लाभांश(बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने जनाइएको छ । बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पनि प्रस्तुत गरिंदैछ । १८ औं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनका लागि बैंकको शेयर दाखिला खारेजको काम माघ १४ गते बन्द रहने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

३ महिनाभित्रै ५ जना नयाँ लगानीकर्ता थप्नैपर्ने बाध्यतामा एनसेल, आईपीओ आउला ?

काठमाडौं । बार्षिक अरबौं नाफा कमाउँदै आएको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा आगामी ३ महिनाभित्रै ५ जना नयाँ लगानीकर्ता थप्नैपर्ने बाध्यता आईपरेको छ । कम्पनी ऐनको बाध्यात्मक कानुनी व्यवस्था अनुसार २०७६ बैशाखभित्रै एनसेलमा ५ जना लगानी कर्ता थप्नै पर्ने बाध्यतामा पुगेको हो । कम्पनी ऐनको दफा १२ मा ५ करोड भन्दा बढि चुक्ता पुँजी रहेका दुर सञ्चार सेवा प्रदायक कम्पनीहरु २ बर्षभित्रै पब्लिक भैसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार अबको ३ महिनाभित्रै एनसेल प्राली पनि पब्लिक कम्पनीमा रुपान्तरण भैसक्नुपर्नेछ । कम्पनी ऐनको दफा ३(२) मा पब्लिक कम्पनी हुनका लागि न्युनतम ७ जना संस्थापक आवश्यक पर्ने व्यवस्था छ । एनसेलमा हाल मलेसियन कम्पनी एक्जियटाको ८० प्रतिशत र नेपाली लगानीकर्ता सतिश आचार्यको २० प्रतिशत लगानी रहेको छ ।त्यसकारण अबको ३ महिनामा एनसेलले ५ जना नयाँ लगानीकर्ता थपेर पब्लिक लिमिटेड हुनुपर्नेछ । कम्पनी रजिष्ट्रारको कार्यालयका उप रजिष्ट्रार महेशराज तिमल्सिनाले एनसेलसहित पाँच करोेड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरु ३ महिनाभित्रै पब्लिक कम्पनीमा रुपान्तरण भैसक्नुपर्ने स्पष्ट पारे । ‘अब ३ महिना बाँकी छ, प्रक्रिया पुर्याउँदै होलान, आउँछन भन्ने अपेक्षा छ, आएनन भने कानुन अनुसार गरौँला’, उप रजिष्ट्रार तिमल्सिनाले भने । एनसेल प्राली, स्मार्ट सेल, नेपाल स्याटेलाइट, क्लासिक टेक, ब्रोडलिंक प्राली, सुबिसु, वल्र्ड लिंक र युटिएलको पुँजी ५ करोड भन्दा बढी रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरण लाइसेन्स विभागका प्रमुख झलक थापाले भदौ महिनामा ५ करोड भन्दा बढी पुँजी भएका कम्पनीसँग पब्लिक बनाउनेबारेको प्रगति विवरण मागेको बताए । ‘हामीले भदौंमै प्रगति विवरण मागेका थियौं, अझै पठाएका छैनन्, सञ्चालक समिति बसेर निर्णय गराएर आउँछौं चैँ भनेका छन्, तर विवरण पठाएका छैनन्’, थापाले भने । एनसेलले भने पब्लिक कम्पनीमा जानेबारे योजना बनाईरहेको बताएको छ ।‘पब्लिक कम्पनीमा जानेबारे उपल्लो तहमा छलफल भैरहेको सुनेको छु, औपचारिक रुपमा चाँही जानकारी आएको छैन्, कानुन अनुसार त जानै पर्यो नी’, एनसेल उच्च श्रोतले विकासन्युजसँग भन्यो । यस अघि एनसेलले पब्लिक कम्पनीमा रुपान्तरण भएर आईपीओ जारी गर्नेबारे नेपाल धितोपत्र बोर्डसँग प्रारम्भिक छलफल समेत गरेको थियो ।

हिमालयन हाइड्रो एक्स्पो आजदेखि, ४० हजार तिरेर हेलिकोप्टरमा आयाेजना हेर्न पाइने

  काठमाडौं । दोस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ आज (शुक्रबार) देखि सुरु हुँदैछ । स्वतन्त्र उर्जा उत्पादक संघको काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन शुक्रबार ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । एक्स्पोमा ८५ भन्दा बढी स्टल रहनेछ जसमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । यो एक्स्पोको विशेष आकर्षणका रुपमा हेलिकोप्टरबाट नेपालको विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनको भ्रमण गराउने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ । आयोजकले दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानहरुमा २ घण्टा हेलिकोप्टरमार्फत् अवलोकन भ्रमण गराउँछ जसका लागि अवलोकन गर्न इच्छुक व्यक्तिले प्रतिव्यक्ति ४० हजार रुपैंया तिर्नुपर्ने आयोजकले प्रष्ठ पारेको छ । नि:शुल्क रुपमा प्रवेश गर्न पाइने एक्स्पाेमा एक लाख भन्दा बढीकाे सहभागिता हुने अायाेजकले लक्ष्य लिएकाे छ ।

७५३ स्थानीय तहमा खुल्यो अधिकृत र सुब्बाको जागिर 

काठमाडौं । सबै स्थानीय तहहरुमा जागिर खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहरुमा रोजगार संयोजक मागेको हो । मन्त्रालयले शाखा अधिकृत र नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो । मन्त्रालयले ७०५ जना अधिकृत र ४८ जना नायब सुब्बाका लागि आवेदन मागेको हो । उनीहरुको कार्यकाल एक बर्षको हुनेछ । २१ बर्ष पुरा भएर ४५ बर्ष नकटेकाहरुले आवेदन दिन सक्नेछन् । नेपाली र अंग्रेजी टाईप, इमेल इन्टरनेट सञ्चालन र सूचना प्रणाली व्यवस्थापन(एमआईएस)को ज्ञान हुनुपर्नेछ । सरकारले एक सय दिन रोजगारी दिने योजना अनुसार अघि सारेको कार्यक्रम कार्यान्वयनका लागि सबे स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।