काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी ऐक्यबद्धता रहेको बताएको लामिछानेको सचिवालयले जनाएको छ ।
टेलिफोन वार्ताका क्रममा लामिछानेले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका लागि अमेरिकी सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार उत्तिकै प्रतिबद्ध रहेको भन्दै विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेको सचिवालयले जानकारी दिएको छ ।
लामिछानेले विपद्को समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका थिए । जवाफमा विदेशमन्त्री रुबियोले नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकको उद्धार र राहत व्यवस्थापनका लागि विभिन्न निकाय परिचालित छन् ।