इरानले खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने

काठमाडौं । इरानले आगामी दिनमा खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने भएको छ । 

साथै हर्मुज जलडमरूमध्य हुँदै जाने नयाँ सामुद्रिक मार्गको नक्सासमेत सार्वजनिक गरिने भएको छ । जहाजमाथि भएको आक्रमणको सप्ताहान्त आदानप्रदानपछि तेलको मूल्य सोमबार बढेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नाकाबन्दी सुरु हुने स्थानबाट सुरु भएर खाडीका विभिन्न क्षेत्रमा फैलिने बताएका हुन् ।

योजनाबारे विस्तृत जानकारी नदिइए पनि रेजाइले नयाँ प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजलाई प्रतिबन्ध सूचीमा राखिने बताए ।

त्यसैगरी, विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण तर हाल ट्यांकर आवागमनका लागि ठूलो मात्रामा बन्द रहेको हर्मुज जलडमरूमध्य हुँदै जाने मार्गको नक्सासमेत छिट्टै स्वीकृत गरिने उनले बताए ।

उनले भने, ‘इरान र ओमानको जलक्षेत्र हुँदै जाने र जसको व्यवस्थापन इरानले गर्ने नयाँ अन्तर्राष्ट्रिय मार्गको नक्सामा सहमति भएको छ । आगामी दिनमा त्यसमा हस्ताक्षर गरिनेछ ।’

‘अमेरिकीहरूले इरानविरुद्धको तोडफोड, धम्की र आक्रमण बन्द नगरेसम्म हामी होर्मुज जलडमरूमध्य खुला राख्ने प्रतिबद्धता जनाउने छैनौं,’ उनले थपे ।

युद्धमा गतिरोध, पुनः बढ्यो आक्रमण

इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणबाट युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ । 

जुनमा भएको प्रारम्भिक युद्धविराम सम्झौता विफल भइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउने कूटनीतिक प्रयासमा पनि खासै प्रगति भएको छैन ।

अगस्टको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ ।

अमेरिकी सेनाले शनिबार तीनवटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । तीमध्ये एउटा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिकै थियो । 

त्यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले क्षेत्रमा रहेका अमेरिकी युद्धपोतलाई निशाना बनाएको थियो ।

तेहरानसँग छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने तथा हर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्ति रोक्ने क्षमता अझै रहेको देखिएको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलडमरूमध्यबाट आवतजावत हुने गरेको थियो ।

यातायातसम्बन्धी तथ्यांकअनुसार पछिल्लो १० दिनमा औसतमा दैनिक १० वटा व्यापारिक जहाज मात्रै हर्मुज जलडमरूमध्यबाट गुज्रिएका छन् । यो संख्या मेयताकै सबैभन्दा कम हो ।

यसको प्रभाव तेलको मूल्यमा समेत परेको छ । गत साताको ठूलो वृद्धिलाई निरन्तरता दिँदै ब्रेन्ट कच्चा तेलको मूल्य ०.८ प्रतिशतले बढेर प्रतिब्यारेल ९७ डलरभन्दा माथि पुगेको छ ।

प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब

इरानले आफ्नो अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका अमेरिकी प्रतिबन्धबाट उत्पन्न समस्या समाधान गर्न थप प्रयास गर्ने बताएको छ ।

तर, इरानी तेल निर्यातमा नाकाबन्दी लगाउने र प्रतिबन्ध छल्ने प्रयास रोक्ने अमेरिकी अभियान झन् कडा बन्दै गएपछि त्यसको सामना गर्न कठिन भइरहेको तीन जना वरिष्ठ इरानी अधिकारीले बताएका छन् ।

इरानको संसद्का सभामुख मोहम्मद बाकेर कालीबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने’ बताएका छन् ।

टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’

कालीबाफका अनुसार सैन्य मोर्चासँगै अहिले इरानको मुख्य लडाइँ उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित छ ।

उनले मुद्राको तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औ‌ंल्याए । इरानी जनताले कठिनाइ सहन सक्ने तर कुप्रबन्धन र निष्क्रियता सहन नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए ।

इरानका अर्थमन्त्री अली मदानीजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने सरकारको योजना रहेको बताएका छन् । उनले प्रतिबन्धका कारण इरान आफ्नो नीतिबाट पछि हट्ने धारणा अस्वीकार गरेका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार उनले भने, ‘उनीहरू आर्थिक दबाब र एक्लोपनाको कुरा गर्छन् । आर्थिक सम्बन्ध तोडेर देशको अर्थतन्त्रमा दबाब दिएपछि त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ भन्ने उनीहरूको सोच छ ।’

‘एउटा कुरा स्पष्ट पार्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी उसको सरकार र जनताको हो, अमेरिकी अर्थ मन्त्रालयको होइन,’ उनले थपे ।

प्रतिबन्धले थलिएको अर्थतन्त्र सुधार्ने इरानको प्रयास,  अमेरिकालाई कडा चेतावनी

Share News