काठमाडौं । भोटेकोशी र आसपासका क्षेत्रमा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि आपूर्ति तथा मनोसामाजिक परामर्शलाई तीव्रता दिएको छ ।
मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नियमित रूपमा औषधि तथा स्वास्थ्य सामग्री पठाउने र विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिने काम भइरहेको छ ।
स्वास्थ्य सेवा विभागमा हालसम्म भारत सरकारबाट ९ लाख ९८ हजार ३२९, एमएसएफ हल्याण्डबाट ५ हजार र मर्सी मलेसियाबाट ३ हजार ४९७ गरी कुल १० लाख ८२६ इकाइ औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
प्राप्त सामग्रीमा पेन्टोप्राजोल, एमोक्सिसिलिन, मलेरिया तथा डेंगुका लागि प्रयोग हुने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटलगायतका औषधि तथा स्वास्थ्य सामग्री रहेका छन् ।
विभागले प्राप्त सामग्रीमध्ये १९ हजार १२८ इकाइ वितरण गरिसकेको जनाएको छ। तीमध्ये बागमती प्रदेशको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई १२ हजार ३२२ र स्वयम्भूस्थित मुस्ताङ गुम्बालाई ६ हजार ८०६ इकाइ सामग्री उपलब्ध गराइएको छ ।
२४ घण्टामा ३३ संक्रामक रोगका केस
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले एसओआरएमएस प्रणालीमार्फत गरेको नियमित अनुगमनमा पछिल्लो २४ घण्टामा ३३ वटा संक्रामक रोगका केस दर्ता भएका छन् । दर्ता भएका केसमा २० जना ज्वरोका, १२ जना ज्वरोसहित खोकीका र एक जना झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टेराइटिस) का बिरामी रहेका छन् । प्रभावित स्थानीय तहबाट बिरामीको उचित व्यवस्थापन भइरहेको र थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकता
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने क्रम पनि जारी छ ।
नुवाकोटको विदुर–३ मा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २०० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक रहेका छन् । बाढीका कारण नियमित औषधि गुमाएका मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगीलाई विशेषज्ञ परामर्श तथा आवश्यक औषधि उपलब्ध गराइएको छ ।
त्यस्तै, किस्पाङ गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट ४५ बालबालिकासहित १३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
रसुवाको उत्तरगया स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति सहज बनाउन जेनेरेटरको व्यवस्था गरिएको छ । साथै, ५० जनाका लागि पुग्ने फेमिली किट, कपडा, खाना तथा हाइजिन किट उपलब्ध गराएर आधारभूत स्वास्थ्य सेवा सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
७ हजारभन्दा बढीको स्थलगत पहुँच
बाढीबाट प्रभावित नागरिकमा देखिएको त्रास, तनाव तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न १५५ जना स्थलगत र १९ जना हेल्पलाइन जनशक्ति परिचालन गरिएको छ ।
नुवाकोट, रसुवा, काठमाडौं र धादिङका होल्डिङ सेन्टर तथा समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचार सेवा सञ्चालन भइरहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ हजार ४३० जनासम्म स्थलगत पहुँच पुगेको छ भने ४ हजार ८४४ जनाले मनोसामाजिक परामर्श लिएका छन् ।
यसैबीच, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले बाढी प्रभावित क्षेत्रमा रहेका ७०७ जना एआरटी सेवाग्राहीमध्ये ५६१ जनासँग सम्पर्क स्थापित गरी नियमित औषधि सेवनको निरन्तरता सुनिश्चित गरेको जनाएको छ ।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा खानपिन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै, दीर्घरोगीलाई नियमित औषधि सेवनमा समस्या भए सम्बन्धित प्रदेश जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।