उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष
काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समचार छ ।
असारसम्म पाइप लाइनबाट तेल
अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत)-अमलेखगञ्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर, आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना-मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
जो दोषी, उही न्यायाधीश !
काठमाडौँ । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश गरेकाले विवादित छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वैशाख ४ मा नेपालको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण हुँदै
काठमाडौँ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा। रवीन्द्रप्रसाद ढकालले बताए । सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ । १० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ । नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ । स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ । यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ, उपसचिवकी श्रीमतीको खातामा साढे पाँच लाख
काठमााडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए । यस्तै, सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । केही महिनायता अख्तियारको हिरासत सधैँ खचाखच हुने गरेको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका कर्मचारी अख्तियारको हिरासतमा नअटेपछि प्रहरी कार्यालयको हिरासतमा समेत राख्ने गरिएको छ । ‘हरेक हप्ता चार–पाँचजना कर्मचारी पक्राउ परिरहेकै छन्,’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘सरकारी कार्यालयमा हुने घुसखोरी रोक्न हामी अब सेवाग्राहीको भेषमा खटिन्छौँ ।’ घुसविना सेवा नदिने कर्मचारीको आदत बनिसकेको अख्तियारका अधिकारीहरू बताउँछन् । यता, प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लालु गिरीले श्रीमतीको बैंक खातामार्फत घुस लिएको खुलेको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरमा सिनियर डिभिजन इन्जिनियर रहँँदा ठेकेदारसँग १८ लाख घुस लिएका उनी ठेकेदारकै उजुरीका आधारमा पक्राउ परेका थिए । घुसको ५ लाखको उनकी श्रीमतीको खातामा जम्मा गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रेस पासमा अंकुशः पत्रकार, कामदार र कर्मचारीहरूको वैयत्तिक विवरण बुझाउन बाध्य पारिँदै
काठमाडौँ । संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संविधानको गोपनीयतासम्बन्धी हक र व्यक्तिको गोपनीयतासम्बन्धी ऐन २०७५ समेत उल्लंघन हुने गरी प्रेस पासका लागि सर्त तेर्स्याएको हो । प्रेस पास नवीकरणका लागि श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको तलबको बैंकमा पठाएको प्रतिवेदन (पेरोल) अनिवार्य रूपमा चाहिने निर्देशन गत माघ १८ मा जारी गरेपछि सयौं पत्रकारहरूको प्रेस पास नवीकरण रोकिएको छ । नवीकरणका लागि जाने पत्रकारहरूलाई विभागले बैंकको ‘पेरोल’ माग्दै फर्काइदिने गरेको छ । सूचना तथा प्रसारण विभागको तथ्यांकअनुसार यो निर्देशन जारी भएपछि फागुन महिनामा १४ र चैतमा १२ प्रेस पास मात्र नवीकरण भएका छन् । जबकि, अघिल्लो वर्षको फागुनमा ५५ वटा नयाँ प्रेस पास जारी भएका थिए भने ५२ वटा नवीकरण भएको थियो । त्यस्तै अघिल्लो वर्षको चैतमा ८० वटा नयाँ र ७४ वटा नवीकरण भएको थियो । ‘बैंकको स्टेटमेन्ट व्यक्तिको सम्पत्ति र गोपनीयतासँग जोडिएको विषय हो । सम्बन्धित व्यक्तिले चाहेको अवस्थामा बाहेक अनुसन्धान गर्ने निकायले मात्र विवरण माग्दा यस्तो विवरण दिनुपर्ने बाध्यता हुन्छ,’ मिडिया कानुनका ज्ञाता अधिवक्ता सन्तोष सिग्देलले भने, ‘अन्य निकायलाई बैंक स्टेटमेन्ट दिइराख्न आवश्यक हुँदैन ।’ विभाग अनुसन्धान गर्ने निकाय होइन । सूचना विभागले मन्त्रालयको निर्णय भन्दै बैंकको ‘पेरोल’ बुझाउन भनेको छ । मन्त्रालयले माघ ७ गते विभागलाई पठाएको पत्रमा भनिएको छ, ‘सबै सञ्चार प्रतिष्ठानहरूले श्रमजीवी पत्रकार, कामदाररकर्मचारीहरूलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाएपश्चात् मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवासुविधा प्रदान गर्ने व्यवस्था हुन र सोको प्रगति नियमित रूपमा मन्त्रालयमा पठाउनसमेत अनुरोध छ ।’ मन्त्रालयको उक्त पत्रको आधारमा विभागले माघ १८ मा सबै सञ्चारमाध्यमहरूलाई विभागबाट प्राप्त हुने सेवा लिनका लागि बैंकमा पठाएको तलबी प्रतिवेदनको प्रमाणित प्रतिलिपि र तलबभत्ता बैंकमा जम्मा गर्नका लागि अनुरोध गरी लेखिएको पत्रको बैंकद्वारा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने ब्यहोराको पत्र पठाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अमेरिकी बालबालिकाले नेपाल आउँदा भिसा शुल्क तिर्नु पर्ने, अरु देशका लाई निःशुल्क
काठमाडौं । १० वर्षभन्दा कम उमेरका अमेरिकी बालबालिकाले नेपाल आउँदा प्रवेशाज्ञा शुल्क (भिसा फी) तिर्नुपर्ने भएको छ। यसअघि उनीहरूले नेपालको निःशुल्क (ग्रेटिस) भिसा पाउँदै आएका थिए । नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदनका क्रममा १० वर्षमुनिका नेपाली बालबालिकाबाट शुल्क लिँदै आएको छ । भिसा पारस्परिकताका सन्दर्भमा १० वर्षमुनिका नेपाली बालबालिकाबाट भिसा शुल्क नलिन नेपालले अमेरिकी दूतावासका अधिकारीसँग आग्रह गरेको थियो । तर, दूतावासका अधिकारीहरूले नेपाली बालबालिकालाई ग्रेटिस भिसा दिन नसकिने जानकारी गरायो । त्यसपछि नेपाली पक्षले पनि भिसा पारस्परिकता कायम गर्न अमेरिकी बालबालिकालाई दिँदै आएको ग्रेटिस भिसा रद्द गरेको हो । ‘सुरुमा हामीले अमेरिकी पक्षलाई बालबालिकाको शुल्क नलिन आग्रह गर्यौ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘उनीहरूले सहमति नजनाएपछि हामीले पनि अमेरिकी बालबालिकाबाट भिसा शुल्क लिने निर्णय गरेका हौं।’ अमेरिकाबाहेक अन्य मुलुकका १० वर्षमुनिका बालबालिकाले भने निःशुल्क भिसा पाउँछन् । आजको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
करोडौं ठगी गर्ने ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
काठमाडौँ । ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइनेछ । समितिले बस्नेतको सम्पत्ति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गर्न सुझाव दिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।