
काठमााडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन ।
घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।
यस्तै, सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
केही महिनायता अख्तियारको हिरासत सधैँ खचाखच हुने गरेको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका कर्मचारी अख्तियारको हिरासतमा नअटेपछि प्रहरी कार्यालयको हिरासतमा समेत राख्ने गरिएको छ । ‘हरेक हप्ता चार–पाँचजना कर्मचारी पक्राउ परिरहेकै छन्,’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘सरकारी कार्यालयमा हुने घुसखोरी रोक्न हामी अब सेवाग्राहीको भेषमा खटिन्छौँ ।’ घुसविना सेवा नदिने कर्मचारीको आदत बनिसकेको अख्तियारका अधिकारीहरू बताउँछन् ।
यता, प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लालु गिरीले श्रीमतीको बैंक खातामार्फत घुस लिएको खुलेको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरमा सिनियर डिभिजन इन्जिनियर रहँँदा ठेकेदारसँग १८ लाख घुस लिएका उनी ठेकेदारकै उजुरीका आधारमा पक्राउ परेका थिए । घुसको ५ लाखको उनकी श्रीमतीको खातामा जम्मा गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।