सर्वोत्तम सिमेन्टको अफर, ‘मजबुती घरलाई, उपहार सबैलाई’
काठमाडौँ । अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिका साथै अन्य सर्वोत्तम टेक्नोलोजिहरुको प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेे सर्वोत्तम सिमेन्ट प्रालिले नयाँवर्षको अवसरमा ग्राहकहरुका लागि ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको छ । योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक ५० बोरा सर्वाेत्तम ओपिसि र सर्वोत्तम पिएससि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्नेछन् । योजनामार्फत ग्राहकहरुले कुपन स्क्र्याच गरी ५५” र ६५” को स्मार्ट टि.भी., ३२” र ३९” को एलईडी टिभी, २१० लि.को फ्रिज, १ टनको एसी, ७ केजिको वासिङ्ग मेसिन, १.८ लि. को राईस कुकर, रिमोट भएको स्टाण्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्यथुप्रै आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ । नवलपरासीमा अवस्थित सर्वोत्तम सिमेन्ट प्रालिले पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।
अभिकर्ताको अनुभवः ‘पान खान जाँदा भारतीय अभिकर्तासँगको भेटले सोच बदलियोे’
बीमा क्षेत्रमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । अभिकर्ताले बीमितदेखी बिमकसम्मलाई सहजीकरण गर्ने गर्छन् । अभिकर्ताको कार्यकुशलताका कारण बीमा कम्पनीले प्रगति गर्छन् । बीमा कम्पनीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताहरु मध्ये एक अभिकर्ता हुनुहुन्छ गोपालप्रसाद उपाध्याय(एल १३५० जीवन), जो १८ वर्षदेखि यो पेशामा आबद्ध हुँदै आउनु भएको छ । बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय बीमा संस्थानबाट यसैबर्ष उहाँ सम्मानितपनि हुनु भयो । सिराहा जिल्ला घर भई हाल बालकोटमा बस्दै आउनु भएका उपाध्यायसँग समग्र बीमा क्षेत्र र अभिकर्ताले निभाउनु पर्ने भूमिकाबारे विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी: अभिकर्ता पेशामा कहिले देखी प्रवेश गर्नु भयो ? अभिकर्ता पेशामा प्रवेश गरेको१८ वर्ष भईसकेको छ । मैले २०५७ साल चैत्र महिनामा बीमा क्षेत्रको अभिकर्ताको लाईसेन्स पाएको हुँ । यसरी पाएको लाईसेन्स १ बर्षमा नबीकरण हुन्छ । लाईसेन्सको नबीकरण नगरेमा अभिकर्ता बन्ने अवसर सदाका लागि गुम्छ । चैत्रसम्ममा नबीकरण गरिसक्नु पर्छ । यसकालागि बीमा समितिले थप एक महिनामा भने केही शुल्क जरिवाना लिएर नबीकरण गर्ने अवसर समेत दिंदै आएको छ । लाइसेन्स पाएको समयदेखी हालसम्म आईपुग्दा बीमा क्षेत्रमा मैले धेरै कुरा देख्ने र सिक्ने मौका पाएको छु । अभिकर्ता बन्ने प्रेरणा कोबाट पाउनु भयो त ? यस विषयमा एउटा रोचक घटना रोचक भन्दा फरक नपर्ला । मेरो घर सिरहा जिल्लाको १ नम्बर वडामा थियो । (हाल म भक्तपूरको सूर्यविनायक ४) मा बस्दैछु । कुरा के हो भने मेरो गृह जिल्ला सिरहामा ‘श्याम पान पसल’ मा म पान खान जाँदा संयोगबस एक भारतीय अभिकर्तासँग भेट हुन पुग्यो । उनले लगभग २ लाख रुपैयाँ हातमा बोकेका थिए । उनले बोकेको त्यति पैसा त्यस समयमा सितिमिति देख्न पाईदैन थियो । त्यसमा पनि गाउँठाउँमा मुस्किल कै कुरा हो । मैले जब उनलाई त्यो पैसा कहाँबाट ल्याएको भनेर सोधे, उनले मलाई बीमाको प्रिमियमबाट संकलन गरेको पैसा भारत लान लागेका बताए । यो कुराले मेरो जीवनमा पैसा कमाउन विदेश जानु पर्दो रहेनछ भन्ने सोच विकास गरायो । बीमामा लाग्दापनि विदेशमा जति नै पैसा कमाउन सकिन्छ भन्ने लाग्यो । र, अभिकर्ता बन्ने विचार आयो । के तपाई विदेश जाने सोचमा हुनु हुन्थ्यो र ? कुरा त्यस्तो होइन । मैले न्यूरोड स्थित घरेलु तथा शिल्पकला बिक्री भण्डार लिमिटेडमा १६ वर्ष काम गरे । सो कम्पनी बीमा क्षेत्रमा प्रवेश गरेपछि छाडिदिएँ । केही बर्ष पश्चात कम्पनी कारणबस बन्द हुन पुग्यो, तर मैले छाड्ने बेलामा कम्पनी राम्रै चलिरहेको थियो । बीमाका बारेमा बुझेपछि त्यहाँ भन्दा यतै काम गर्न उचित लाग्यो । बिमितलाई झुटो आशा देखाउने लगाएतका काम हुनु भनेको समग्र बीमा क्षेत्रलाई असर गर्ने कुरा हो । यस्तो कुरा पूर्ण रुपमा रोकिएका छैनन् । अभिकर्ता कसरी बन्नु भयो ? अहिलेको रक्त सञ्चार केन्द्र भएको ठाउँमा त्यस बेला बीमा समिति थियो । मैले सोही ठाउँमा गएर १ हजार शुल्क बुझाएर तालिम लिएर अभिकर्ता बन्ने अवसर प्राप्त गरेँ । अभिकर्ता पेशा अहिले कस्तो अवस्थामा रहेको छ ? वर्तमान समयमा हेर्दा अभिकर्ता क्षेत्र राम्रै रहेको छ । यो सम्मानित पेशा हो भन्ने मलाई लाग्छ । तैपनि कतिपय अवस्थामा अभिकर्ता आफैँमा गलत तथा नचाहिंदा प्रतिष्पर्धाको भावना बढ्नाले केही नकारात्मकता समेत देखिएको छ । कस्तो नकारात्मकता अलि स्पष्ट पार्नु भए राम्रो हुन्थ्यो ? कुरा किन लुकाउनु पर्यो र । बिमितलाई झुटो आशा देखाउने लगाएतका काम हुनु भनेको समग्र बीमा क्षेत्रलाई असर गर्ने कुरा हो । यस्तो कुरा पूर्ण रुपमा रोकिएका छैनन् । यसमा सबैको ध्यान जान आवश्यक छ । यो मनन् योग्य विषय भने पक्कै हो । बीमितलाई भड्खालोमा जाक्ने काम कहीँ कतै भएमा त्यसलाई अन्त्य गर्न सबै लाग्नु पर्छ । के यस्तै नकारात्मकताले अभिकर्ताहरु ‘म्यादी अभिकर्ता’ जस्ता देखिएका हुन् त ? तपाईँको प्रश्नले मलाई एउटा कुरा स्मरण गरायो । कुरा के भने मैलेपनि निकै पटक ७० प्रतिशत अभिकर्ता निस्क्रिय छन् भन्ने सुन्दै आएको छु । यसको मतलब के भने नि बीमा क्षेत्रको ज्ञान नै नभएका व्यक्तीहरु अभिकर्ता बन्दा यस्तो हुने हो । यस्ता घटनाले सक्रिय अभिकर्तामा समेत चुनौति खडा गरेको छ । बीमा क्षेत्रमा प्रगती राम्रै भइरहेको छ । तरपनि अझै गर्न सकिने ठाउँ समेत प्रशस्तै रहेका छन् । अझैपनि ग्रामीण भेगमा बीमाको बारेमा मानिसहरुले जानकारी नपाउनु भनेको नराम्रो कुरा हो । सक्रिय अभिकर्ता कसरी बन्ने केही आधारहरु होलान् नी ? केही महत्वपूर्ण कुरा जान्ने तथा पालन गर्ने गरेमा सक्रिय अभिकर्ता बन्न गाह्रो हुँदैन । कुशल अभिकर्तामा यी कुरा हुनु आवश्यक छ, जस्तैः- रिस राग साच्न नहुने, अध्ययन अनुसन्धान गर्नु पर्ने, नम्रतालाई ध्यान दिनु पर्ने र सत्य तथ्यको पक्षमा रहने हो । यति कुराले कुशल अभिकर्ता बन्न मद्दत गर्छ त ? यो नै अन्तिम सत्य त होइन, तर महत्वपूर्ण शुत्र भने पक्कै हो । बलियो इच्छाशक्ती ‘म गर्न सक्छु’ भन्ने कुरा अभिकर्तामा जागृत हुनुपनि उसले सफलताको बाटो समात्नु हो । अभिकर्ताका सवालमा बेला-बेलामा समस्या खडा भएको पाईन्छ, यसको मुख्य कारण चै के होला ? यसमा अभिकर्ता तथा बिमित दुवैको हात रहन्छ । बिमितले आफूले पाउने काजगात कानुनी रुपमा ठीक छ कि छैन जान्न आवश्यक हुन्छ । यसरी नै अभिकर्ताले बीमाको बारेमा राम्रोसँग जानकारी हासिल गरेको हुनुपर्छ । यदी यस्तो कुरामा गडबडी हुँदा समस्या देखिनु सामान्य कुरा भइहाल्यो । साथै, अभिकर्ताले बीमा गर्दा भन्न मिल्ने कुरा मात्र बिमितलाई भन्नु पर्छ । हामीलाई तोकिएको शर्त भन्दा बढी भनेमा त्यसको असर नकारात्मक हुन जान्छ । साथै, परिणाममा समेत त्यस्तै देखिन्छ । अहिले बीमा क्षेत्र कता गई रहेको जस्तो लाग्छ ? मेरो अनुभवमा बीमा क्षेत्रमा प्रगती राम्रै भइरहेको छ । तरपनि अझै गर्न सकिने ठाउँ समेत प्रशस्तै रहेका छन् । अझैपनि ग्रामीण भेगमा बीमाको बारेमा मानिसहरुले जानकारी नपाउनु भनेको नराम्रो कुरा हो । सूचना प्रवाह गर्ने तथा विज्ञापन र जनचेतनाको आफ्नै महत्व हुन्छ । सोही कुरामा सबैको ध्यान जानु आजको आवश्यकता रहेको ठान्दछु । यहाँलाई अभिकर्ता पेशा अँगालेकोमा केही भन्नु छ ? मलाई त यस क्षेत्रमा प्रवेश गरेकोमा निकै राम्रो लागेको छ । म खुशी नै छु । आगामी युवा पुस्ता यस क्षेत्रमा आउने हो भने केही कुरा बुझेर प्रवेश गर्दा थप राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहान्छु । तैपनि मेरो अहिलेसम्मको अनुभवले मानिसले अझैपनि अभिकर्तालाई हर्ने दृष्टिकोण परिवर्तन नगरेकोमा भने नराम्रो लाग्छ । साच्चै भन्न पर्दा कतिपय ठाउँमा अभिकर्तालाई हेयको दृष्टिले हेर्ने गरेको पाईन्छ । यो त वास्तवमै पेशा तथा कामप्रति सम्मान गर्ने संस्कारको विकास नभएको भन्ने हो । एक व्यक्तिलाई मैले बीमा गर्न २३ पटक अनुरोध गरे, तर उनले बीमा गरेका थिएनन्, २४ औँ पटकमा मेरो भनाइलाई स्वीकार गरे, यसलाई मैले सफलता मानेँ । वास्तवमा तपाईँ आफू चाँही सफल अभिकर्ता कसरी हुनु भयो ? मलाई बिमीतहरुले अनुभवको आधारमा विश्वास गर्नु हुन्छ, यसमा मलाई निकै राम्रो लाग्छ । तर, मेरो सफलता भनेको सिरहा जिल्लाको एक व्यक्तिलाई मैले बीमा गर्न २३ पटक अनुरोध गरे, तर उनले बीमा गरेका थिएनन्, २४ औँ पटकमा मेरो भनाइलाई स्वीकार गरे, यसलाई मैले सफलता मानेँ । सो घटनाबाट मैले धेरै कुरा मनन् गर्न तथा सिक्न पाएँ । त्यसै कारणलेपनि म आज यहाँसम्म आईपुगे जस्तो लाग्छ । केही समय अगाडि राष्ट्रिय बीमा संस्थानले मलाई ७० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो । यसले मलाई हौसला थप्ने काम गरेको छ । साथै, करोडौँ पैसा मैले कम्पनीमा भित्र्याउन सफल भएकोमा समेत खुशी लाग्छ । कम्तीमा मैले विदेश जाने पैसा त रोकेर स्वेदेशमै राख्न सफल भएजस्तो लाग्छ । अन्त्यमा, बीमा क्षेत्रका विद्यमान समस्या सुधारका लागि के सुझाव दिन चाहानु हुन्छ ? बीमा क्षेत्रलाई मर्यादित बनाउन पारदर्शिता एकदमै महत्वपूर्ण कुरा हो । यसमा सबैले ध्यान दिन आवश्यक छ । साथै, सबै पेशालाई राम्रो दृष्टिकोणले हेर्न तथा एक अर्कामा प्रतिशोध भन्दा सहयोगको वातावरण सिर्जना गर्नु आवश्यक रहेको मेरो बुझाई छ ।
पोखरा विश्वविद्यालयका ३४४ विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं। ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो । विद्यार्थीले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश जारीको माग गर्दै मंगलबार रिट दायर गरेका थिए । विश्वविद्यालयले रजिस्ट्रेसन शुल्कसमेत लिइसकेको अवस्थामा परीक्षामा सामेल हुन पाउनुपर्ने उनीहरूको माग थियो । रिट निवेदनको अन्तिम टुंगो लागेको बखत सोहीबमोजिम हुने गरी हाल रजिस्ट्रेसन अस्थायी रूपमा स्वीकृत गरी प्रोभिजनल रूपमा फारम भर्न दिन सर्वोच्चको आदेश छ । विद्यार्थीले रजिस्ट्रेसन शुल्क बुझाइसकेको, क्रिविका समान कार्यत्रममा उक्त योग्यताले काम गरेको, शैक्षिक सत्रमा भर्ना भई नियमित अध्ययनरत रहेकाले परीक्षाबाट वञ्चित गर्दा अपूरणीय क्षति पुग्न जाने आदेशमा उल्लेख छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजले भर्ना लिएका सम्बन्धमा कानुनबमोजिम भए–नभएको विषय अन्तिम सुनुवाइ हुँदा विचार हुने आदेशमा जनाइएको छ । विश्वोविद्यालय लामो समय देखी डि ग्रेड ल्याएका विद्यार्थीको रजिस्ट्रेसको बिषयलाई लिएर चर्काचर्की चलिरहेको थियो। गत जेठ्मा विश्वविद्यालय प्राज्ञिक परिषद् बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो जसमा कक्षा ११ र १२ मा हरेक बिषयमा न्युनतम सि ग्रेड ल्याउने विद्यार्थीले पोखरा विश्वोविद्यालयमा अध्ययन गर्ने पाउने बताईएको थियो। तर विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले भने मापदण्ड आफुखुसी व्याख्य गरेर समग्रमा सि ग्रेड ल्याउने विद्यार्थीलाई पनि भर्ना गरेका थिए। विश्वोविद्यालयले बैशाख ७ गते शनिबार विज्ञप्ती निकाल्दै आफु अन्तर्गत रहेका कुनै पनि कलेजले डी प्लस ल्याएका बिद्यार्थी भर्ना गरेको पाइए वा पुनः नियम उलंघन गरेको अवस्थामा सम्बन्धित कलेजको सम्बन्धन खारेज हुन सक्ने पनि बताएको थियो।
मेलम्चीमा ‘मौन प्रधानमन्त्री’, किन लत्रियो दुई तिहाई ?
काठमाडौं । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, बैशाख ९ गते नेकपाको ७० औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले गरेको घोषणा हो यो । तर उनले यस्तो घोषणा गरिरहँदा नै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको चार महिना बितिसकेको थियो । ‘ड्रिम प्रोजेक्ट’का रुपमा स्थापित मेलम्चीको काम चार महिनासम्म रोकिँदा पनि प्रधानमन्त्री भने अझै मौन छन् । ‘बल प्रधानमन्त्रीको कोटमा छ, चार महिनादेखि काम रोकिएको छ, तर पनि दुई तिहाईको सरकारले कुनै कदम चालेको छैन’, खानेपानी मन्त्रालयका पूर्व सचिव भिमप्रसाद उपाध्यायले भने । उनले प्रधानमन्त्रीको मौनताले अचम्ममा पारेको पनि बताए । मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । दुई तिहाई बहुमत भएको सरकारसँग संबिधान र कानुनसमेत तुरुन्तै संसोधन गर्ने सामथ्र्य रहन्छ । तर शक्तिशाली नेकपाका अध्यक्ष समेत रहेका दुई तिहाई बहुमतधारी प्रधानमन्त्री केपी ओली मेलम्ची खानेपानी आयोजनामा लत्रिएका छन् । कि त उनी लत्रिएका हुन कि त उनले मेलम्चीबारे सोच्दै नसोचेको हुन सक्छ । मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते नै फास्ट ट्रयाकबाट काम गर्न मार्ग प्रशस्त गरेको थियो । समितिले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउन भनेको थियो । एडीबी र इप्टिसाको खाका तयार मेलम्ची खानेपानी आयोजनामा उत्पन्न पछिल्लो परिस्तिथीपछि ऋण दाता एसियाली विकास बैंक(एडिबी)ले आयोजनाको बाँकी काम सम्पन्न गर्नेबारे योजना तयार पारेको छ । एडिबीले बाँकी काम बिभिन्न १० वटा प्याकेजमा स्वदेशी निर्माण व्यवसायीबाटै गराउन सकिने सुझाव सहितको प्रतिवेदन मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा बुझाएको हो । त्यस्तै, परामर्श दाता कम्पनी इप्टिसाले पनि मार्च २१ का दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको छ । एडिबी र इप्टिसाले तयार पारेको प्रतिवेदनमा मेलम्चीको बाँकी काम गर्न करिब एक वर्ष लाग्न सक्ने बताएका छन् । मेलम्चीको सुरुङ र हेड वक्र्स लगायतका काम गर्न अझै २ अर्ब ५० करोड भन्दा बढी रकम आवश्यक पर्ने र सन २०१९ को डिसेम्बरमा मात्रै निर्माण सम्पन्न हुने उनीहरुको निष्कर्ष छ । सरकार बेखबर तर आयोजनाको मुल नेतृत्व अर्थात मेलम्ची खानेपानी विकास समितिले भने बाँकी काम सम्पन्न गरेर पानी ल्याउने सम्बन्धी कुनै योजना बनाएको छैन् । ‘एडिबी र इप्टिसाले आ आफ्नो योजना बुझाएका छन, हामी भने अझै अध्ययन नै गरिरहेका छौं’, मेलम्ची खानेपानी विकास समिति उच्च श्रोतले भन्यो ।
शुक्रबार सुन प्रतितोला ५९ हजार ८ सयमा कारोबार
काठमाडौं । शुक्रबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै बिहिबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २ सय रुपैयाँ बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
दैनिक डेढ अर्ब नयाँ कर्जा लगानी गर्दै वाणिज्य बैंकहरु, निक्षेप संकलन १.१७ अर्ब
काठमाडौं । वाणिज्य बैंकहरुले दैनिक औसत डेढ अर्ब भन्दा बढी नयाँ कर्जा लगानी गर्ने गरेको देखिएको छ । वाणिज्य बैंकहरुको ९ महिनाको कर्जा तथा निक्षेपको वास्तविक तथ्याङ्कले दैनिक १.५५ अर्ब नयाँ कर्जाको लगानी गर्ने गरेका हुन् । यो तथ्याङ्क आर्थिक वर्ष २०७४/७५ मा १.३९ अर्ब तथा आर्थिक वर्ष २०७३/७४ मा १.२९ अर्ब थियो । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २१११ अर्ब रुपैंया रहेकोमा चैत मसान्तसम्म २४२० अर्ब पुगेको हो । आर्थिक वर्ष २०७४/७५ मा यो आकार १७३५ बाट बढेर २१११ मा पुगेको थियो भने आर्थिक वर्ष २०७३/७४ मा १३८६ बाट १७३५ अर्ब रुपैंया पुगेको हो । कर्जातर्फको वृद्धिदर उच्च देखिँदैगर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलनको यो आर्थिक वर्षको पहिलो ९ महिनामा प्रतिदिन १.१७ अर्ब मात्रै देखिएको छ । यो हिसाबले निक्षेप र कर्जाको वृद्धिको अनुपात ०.७५ः१ देखिएको हो । आर्थिक वर्ष २०७४/७५ मा भने यो अनुपात १.४२ः१ थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा यो अनुपात ०.९६ प्रतिशत थियो । यो ९ महिनामा बैंकहरुको वाणिज्य बैंकहरुको निक्षेप २३३ अर्बले बढेको देखिएको छ । अघिल्ला २ आर्थिक वर्षहरुमा ३८३ अर्ब र ३३५ अर्ब कर्जा प्रवाह वृद्धि भएको थियो । नियामक निकायको ‘करेक्टिभ एक्सन’का बाबजुद यस आर्थिक वर्षमा बैंकहरुको अवस्था धेरै असन्तुलन आएको देखिए पनि आर्थिक वर्ष २०७३/७४ मा पनि यो असन्तुलन कायमै रहेको पाइएको छ । बजारमा तरलता बढी भएर यसको असर बैंकिङ ब्याजदर र आधार ब्याजदरमा परिरहेको बेला यो अवस्थालाई सामान्य मानिएको थियो ।
कैलालीका २१२ व्यवसायिक संस्था कर विवादमा तानिए, काे काे परे विवादमा ?
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीले मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर रकम बक्यौता नतिर्ने २१२ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा कैलाली, अछाम, डोटी, बझाङ जिल्लाका व्यवसायिक संस्था र फर्महरुले हालसम्म पनि बुझाएका छैनन् । २१२ व्यवसायिक संस्था र फर्मलाई १५ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरेको छ । यो अवधि भित्र बक्यौता नबुझाएमा आयकर ऐन २०५८, मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ तथा अन्तशुल्क ऐन २०५८ को दफा १० (ज) म उल्लेख भए बमोजिम करदाता एवम् सम्बन्धित प्रोप्राइटर/सञ्चालकको व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ । बक्यौता रकम नतिर्नेहरुको सूचिः
६१ व्यवसायिक संस्थाको कारोबार रोक्का गरिने
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वर काठमाडौले मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर रकम बक्यौता नतिर्ने ६१ वटा व्यवसायिक संस्था र फर्महरुलाई कर तिर्न ताकेता गरेको छ । विभिन्न मितिमा बक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण समेत गरी बक्यौता रकम दाखिल गर्न भनिएकोमा हालसम्म पनि बुझाएका छैनन् । कर नबुझाउनेमा नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड पनि रहेको आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वरले जनाइएको छ । ६१ व्यवसायिक संस्था र फर्मलाई १५ दिन भित्र बक्यौता रकम बुझाउन वा बुझाएको भए प्रमाण पेश गर्न अनुरोध गरेको छ । यो अवधि भित्र बक्यौता नबुझाएमा आयकर ऐन २०५८ र मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ र मूल्य अभिबृद्धि कर ऐन २०५२ बमोजिम करदाता एवम् सम्बन्धित प्रोप्राइटर/सञ्चालकको व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका कारवाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ । बक्यौता रकम नतिर्नेहरुको सूचिः