अभिकर्ताको अनुभवः ‘पान खान जाँदा भारतीय अभिकर्तासँगको भेटले सोच बदलियोे’

<p>बीमा क्षेत्रमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । अभिकर्ताले बीमितदेखी बिमकसम्मलाई सहजीकरण गर्ने गर्छन् । अभिकर्ताको कार्यकुशलताका कारण बीमा कम्पनीले प्रगति गर्छन् । बीमा कम्पनीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताहरु मध्ये एक अभिकर्ता हुनुहुन्छ गोपालप्रसाद उपाध्याय(एल १३५० जीवन), जो १८ वर्षदेखि यो पेशामा आबद्ध हुँदै आउनु भएको छ । बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै [&hellip;]</p>

बीमा क्षेत्रमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । अभिकर्ताले बीमितदेखी बिमकसम्मलाई सहजीकरण गर्ने गर्छन् । अभिकर्ताको कार्यकुशलताका कारण बीमा कम्पनीले प्रगति गर्छन् । बीमा कम्पनीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताहरु मध्ये एक अभिकर्ता हुनुहुन्छ गोपालप्रसाद उपाध्याय(एल १३५० जीवन), जो १८ वर्षदेखि यो पेशामा आबद्ध हुँदै आउनु भएको छ । बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय बीमा संस्थानबाट यसैबर्ष उहाँ सम्मानितपनि हुनु भयो । सिराहा जिल्ला घर भई हाल बालकोटमा बस्दै आउनु भएका उपाध्यायसँग समग्र बीमा क्षेत्र र अभिकर्ताले निभाउनु पर्ने भूमिकाबारे विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी:

अभिकर्ता पेशामा कहिले देखी प्रवेश गर्नु भयो ?
अभिकर्ता पेशामा प्रवेश गरेको१८ वर्ष भईसकेको छ । मैले २०५७ साल चैत्र महिनामा बीमा क्षेत्रको अभिकर्ताको लाईसेन्स पाएको हुँ । यसरी पाएको लाईसेन्स १ बर्षमा नबीकरण हुन्छ । लाईसेन्सको नबीकरण नगरेमा अभिकर्ता बन्ने अवसर सदाका लागि गुम्छ । चैत्रसम्ममा नबीकरण गरिसक्नु पर्छ । यसकालागि बीमा समितिले थप एक महिनामा भने केही शुल्क जरिवाना लिएर नबीकरण गर्ने अवसर समेत दिंदै आएको छ । लाइसेन्स पाएको समयदेखी हालसम्म आईपुग्दा बीमा क्षेत्रमा मैले धेरै कुरा देख्ने र सिक्ने मौका पाएको छु ।

अभिकर्ता बन्ने प्रेरणा कोबाट पाउनु भयो त ?
यस विषयमा एउटा रोचक घटना रोचक भन्दा फरक नपर्ला । मेरो घर सिरहा जिल्लाको १ नम्बर वडामा थियो । (हाल म भक्तपूरको सूर्यविनायक ४) मा बस्दैछु । कुरा के हो भने मेरो गृह जिल्ला सिरहामा ‘श्याम पान पसल’ मा म पान खान जाँदा संयोगबस एक भारतीय अभिकर्तासँग भेट हुन पुग्यो । उनले लगभग २ लाख रुपैयाँ हातमा बोकेका थिए । उनले बोकेको त्यति पैसा त्यस समयमा सितिमिति देख्न पाईदैन थियो । त्यसमा पनि गाउँठाउँमा मुस्किल कै कुरा हो । मैले जब उनलाई त्यो पैसा कहाँबाट ल्याएको भनेर सोधे, उनले मलाई बीमाको प्रिमियमबाट संकलन गरेको पैसा भारत लान लागेका बताए । यो कुराले मेरो जीवनमा पैसा कमाउन विदेश जानु पर्दो रहेनछ भन्ने सोच विकास गरायो । बीमामा लाग्दापनि विदेशमा जति नै पैसा कमाउन सकिन्छ भन्ने लाग्यो । र, अभिकर्ता बन्ने विचार आयो ।

के तपाई विदेश जाने सोचमा हुनु हुन्थ्यो र ?
कुरा त्यस्तो होइन । मैले न्यूरोड स्थित घरेलु तथा शिल्पकला बिक्री भण्डार लिमिटेडमा १६ वर्ष काम गरे । सो कम्पनी बीमा क्षेत्रमा प्रवेश गरेपछि छाडिदिएँ । केही बर्ष पश्चात कम्पनी कारणबस बन्द हुन पुग्यो, तर मैले छाड्ने बेलामा कम्पनी राम्रै चलिरहेको थियो । बीमाका बारेमा बुझेपछि त्यहाँ भन्दा यतै काम गर्न उचित लाग्यो ।

बिमितलाई झुटो आशा देखाउने लगाएतका काम हुनु भनेको समग्र बीमा क्षेत्रलाई असर गर्ने कुरा हो । यस्तो कुरा पूर्ण रुपमा रोकिएका छैनन् ।

अभिकर्ता कसरी बन्नु भयो ?
अहिलेको रक्त सञ्चार केन्द्र भएको ठाउँमा त्यस बेला बीमा समिति थियो । मैले सोही ठाउँमा गएर १ हजार शुल्क बुझाएर तालिम लिएर अभिकर्ता बन्ने अवसर प्राप्त गरेँ ।

अभिकर्ता पेशा अहिले कस्तो अवस्थामा रहेको छ ?
वर्तमान समयमा हेर्दा अभिकर्ता क्षेत्र राम्रै रहेको छ । यो सम्मानित पेशा हो भन्ने मलाई लाग्छ । तैपनि कतिपय अवस्थामा अभिकर्ता आफैँमा गलत तथा नचाहिंदा प्रतिष्पर्धाको भावना बढ्नाले केही नकारात्मकता समेत देखिएको छ ।

कस्तो नकारात्मकता अलि स्पष्ट पार्नु भए राम्रो हुन्थ्यो ?
कुरा किन लुकाउनु पर्यो र । बिमितलाई झुटो आशा देखाउने लगाएतका काम हुनु भनेको समग्र बीमा क्षेत्रलाई असर गर्ने कुरा हो । यस्तो कुरा पूर्ण रुपमा रोकिएका छैनन् । यसमा सबैको ध्यान जान आवश्यक छ । यो मनन् योग्य विषय भने पक्कै हो । बीमितलाई भड्खालोमा जाक्ने काम कहीँ कतै भएमा त्यसलाई अन्त्य गर्न सबै लाग्नु पर्छ ।

के यस्तै नकारात्मकताले अभिकर्ताहरु ‘म्यादी अभिकर्ता’ जस्ता देखिएका हुन् त ?
तपाईँको प्रश्नले मलाई एउटा कुरा स्मरण गरायो । कुरा के भने मैलेपनि निकै पटक ७० प्रतिशत अभिकर्ता निस्क्रिय छन् भन्ने सुन्दै आएको छु । यसको मतलब के भने नि बीमा क्षेत्रको ज्ञान नै नभएका व्यक्तीहरु अभिकर्ता बन्दा यस्तो हुने हो । यस्ता घटनाले सक्रिय अभिकर्तामा समेत चुनौति खडा गरेको छ ।

बीमा क्षेत्रमा प्रगती राम्रै भइरहेको छ । तरपनि अझै गर्न सकिने ठाउँ समेत प्रशस्तै रहेका छन् । अझैपनि ग्रामीण भेगमा बीमाको बारेमा मानिसहरुले जानकारी नपाउनु भनेको नराम्रो कुरा हो ।

सक्रिय अभिकर्ता कसरी बन्ने केही आधारहरु होलान् नी ?
केही महत्वपूर्ण कुरा जान्ने तथा पालन गर्ने गरेमा सक्रिय अभिकर्ता बन्न गाह्रो हुँदैन । कुशल अभिकर्तामा यी कुरा हुनु आवश्यक छ, जस्तैः- रिस राग साच्न नहुने, अध्ययन अनुसन्धान गर्नु पर्ने, नम्रतालाई ध्यान दिनु पर्ने र सत्य तथ्यको पक्षमा रहने हो ।

यति कुराले कुशल अभिकर्ता बन्न मद्दत गर्छ त ?
यो नै अन्तिम सत्य त होइन, तर महत्वपूर्ण शुत्र भने पक्कै हो । बलियो इच्छाशक्ती ‘म गर्न सक्छु’ भन्ने कुरा अभिकर्तामा जागृत हुनुपनि उसले सफलताको बाटो समात्नु हो ।

अभिकर्ताका सवालमा बेला-बेलामा समस्या खडा भएको पाईन्छ, यसको मुख्य कारण चै के होला ?
यसमा अभिकर्ता तथा बिमित दुवैको हात रहन्छ । बिमितले आफूले पाउने काजगात कानुनी रुपमा ठीक छ कि छैन जान्न आवश्यक हुन्छ । यसरी नै अभिकर्ताले बीमाको बारेमा राम्रोसँग जानकारी हासिल गरेको हुनुपर्छ । यदी यस्तो कुरामा गडबडी हुँदा समस्या देखिनु सामान्य कुरा भइहाल्यो । साथै, अभिकर्ताले बीमा गर्दा भन्न मिल्ने कुरा मात्र बिमितलाई भन्नु पर्छ । हामीलाई तोकिएको शर्त भन्दा बढी भनेमा त्यसको असर नकारात्मक हुन जान्छ । साथै, परिणाममा समेत त्यस्तै देखिन्छ ।

अहिले बीमा क्षेत्र कता गई रहेको जस्तो लाग्छ ?
मेरो अनुभवमा बीमा क्षेत्रमा प्रगती राम्रै भइरहेको छ । तरपनि अझै गर्न सकिने ठाउँ समेत प्रशस्तै रहेका छन् । अझैपनि ग्रामीण भेगमा बीमाको बारेमा मानिसहरुले जानकारी नपाउनु भनेको नराम्रो कुरा हो । सूचना प्रवाह गर्ने तथा विज्ञापन र जनचेतनाको आफ्नै महत्व हुन्छ । सोही कुरामा सबैको ध्यान जानु आजको आवश्यकता रहेको ठान्दछु ।

यहाँलाई अभिकर्ता पेशा अँगालेकोमा केही भन्नु छ ?
मलाई त यस क्षेत्रमा प्रवेश गरेकोमा निकै राम्रो लागेको छ । म खुशी नै छु । आगामी युवा पुस्ता यस क्षेत्रमा आउने हो भने केही कुरा बुझेर प्रवेश गर्दा थप राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहान्छु । तैपनि मेरो अहिलेसम्मको अनुभवले मानिसले अझैपनि अभिकर्तालाई हर्ने दृष्टिकोण परिवर्तन नगरेकोमा भने नराम्रो लाग्छ । साच्चै भन्न पर्दा कतिपय ठाउँमा अभिकर्तालाई हेयको दृष्टिले हेर्ने गरेको पाईन्छ । यो त वास्तवमै पेशा तथा कामप्रति सम्मान गर्ने संस्कारको विकास नभएको भन्ने हो ।

एक व्यक्तिलाई मैले बीमा गर्न २३ पटक अनुरोध गरे, तर उनले बीमा गरेका थिएनन्, २४ औँ पटकमा मेरो भनाइलाई स्वीकार गरे, यसलाई मैले सफलता मानेँ ।

वास्तवमा तपाईँ आफू चाँही सफल अभिकर्ता कसरी हुनु भयो ?
मलाई बिमीतहरुले अनुभवको आधारमा विश्वास गर्नु हुन्छ, यसमा मलाई निकै राम्रो लाग्छ । तर, मेरो सफलता भनेको सिरहा जिल्लाको एक व्यक्तिलाई मैले बीमा गर्न २३ पटक अनुरोध गरे, तर उनले बीमा गरेका थिएनन्, २४ औँ पटकमा मेरो भनाइलाई स्वीकार गरे, यसलाई मैले सफलता मानेँ । सो घटनाबाट मैले धेरै कुरा मनन् गर्न तथा सिक्न पाएँ । त्यसै कारणलेपनि म आज यहाँसम्म आईपुगे जस्तो लाग्छ । केही समय अगाडि राष्ट्रिय बीमा संस्थानले मलाई ७० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो । यसले मलाई हौसला थप्ने काम गरेको छ । साथै, करोडौँ  पैसा मैले कम्पनीमा भित्र्याउन सफल भएकोमा समेत खुशी लाग्छ । कम्तीमा मैले विदेश जाने पैसा त रोकेर स्वेदेशमै राख्न सफल भएजस्तो लाग्छ ।

अन्त्यमा, बीमा क्षेत्रका विद्यमान समस्या सुधारका लागि के सुझाव दिन चाहानु हुन्छ ?
बीमा क्षेत्रलाई मर्यादित बनाउन पारदर्शिता एकदमै महत्वपूर्ण कुरा हो । यसमा सबैले ध्यान दिन आवश्यक छ । साथै, सबै पेशालाई राम्रो दृष्टिकोणले हेर्न तथा एक अर्कामा प्रतिशोध भन्दा सहयोगको वातावरण सिर्जना गर्नु आवश्यक रहेको मेरो बुझाई छ ।

Share News