विकासन्युज

बेइजिङमा महासंघका उपाध्यक्ष ढकालको संबोधन-नेपालमा लगानी गर्न चिनियाँ उद्योगीलाई आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले आइतचबार बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेका छन् । राष्ट्रपति भण्डारी उपस्थितिमा आयोजना भएको सो कार्यक्रममा संबोधनका क्रममा उपाध्यक्ष ढकालले सरकारले लगानी मैत्री नीति तथा कानूनहरू परिमार्जनसंगै लगानीको वातावरण बन्दै गएको बताउँदै नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको प्रष्ट पारे । चिनिया उद्यमी व्यवसायीहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा उपाध्यक्ष ढकालले नेपालमा स्थिर सरकारसंगै लगानीको वातावरण बन्दै गएको स्पष्ट पारे । उनले नेपालमा लगानीका लागि अन्तराष्ट्रिय लगानीकर्ताको आकर्षण समेत बढ्दै गएको पनि बताए । नेपाली निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको तर्फबाट उक्त संयुक्त मञ्चलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता आएको र यसबाट निजी क्षेत्रका उद्यमी व्यावसायीहरू पनि उत्साहित भएको बताए । नेपालका उद्योगी व्यावसायीहरू चिनियाँ व्यावसायीहरूसँग मिलेर नेपालमा संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको पनि उनले बताए । सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरूले व्यापारिक, सांस्कृतिक एवम् विविध क्षेत्रको सम्बन्ध सुदृढिकरणका लागि काम गरिरहेको जानकारी पनि गराए । राष्ट्रपति भण्डारीको भ्रमणबाट आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध विकास अझ मजवुद हुने विश्वास निजी क्षेत्रले गरेको पनि उनले स्पष्ट पारे । नेपालमा चिनियाँ लगानी भित्रिने विषयबाट नेपाल सरकारसहित उद्योगी व्यवसायीहरू पनि उत्साहित भएको उपाध्यक्ष ढकालले बताए । नेपाल लगानीका लागि उर्वर भूमि रहेको बताउनुहुँदै उपाध्यक्ष ढकालले नेपालमा पूर्वाधार निर्माण, उर्जा, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । चीनले अगाडी सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सको अंग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँनुहुँदै यसबाट दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको उपाध्यक्ष ढकालले बताए । चीनजस्तो समृद्ध छिमेकी हुनु नेपालका लागि सौभाग्य रहेको बताउनुहुँदै उपाध्यक्ष ढकालले नेपाली उद्योगी व्यवसायीहरूले पनि योजनाबद्ध ढंगबाट अघि बढ्नु पर्ने समय आइसकेको बताए । चीनको बीआरआई आयोजनाबाट हामी जस्ता छिमेकीहरूले प्राथमिकता पाउनुपर्ने धारणा राख्नुहुँदै उपाध्यक्ष ढकालले यो आयोजनाले नेपाललाई ‘ल्याण्डलिंक’ हुने अवसर मिल्ने धारणा राख्नु हुंदै नेपालले यस आयोजनाबाट बढी भन्दा बढी लाभ लिनु पर्नेमा जोड दिए । कार्यक्रममा भ्रमण दलमा सहभागी भएका मन्त्रीहरू, चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, भ्रमणदलका सदस्यहरू, चिनिया“ उद्यमी व्यवसायीहरू, राजदूताबासका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो ।

गायिका सुनिता कार्कीको नयाँ गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए । म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् । सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा‘’, ‘शितल हिमाली हावा’, ‘साथी नै चाहिँदा’, ‘शिर शिर सिरीरी’ लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन् । एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास‘’ बोलको गीत बजारमा आएको थियो । सो गीत इमेज अवार्डमा उत्कृटमा पर्न सफल भएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत‘’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् । भिडियो हेर्नुहोस ः “ए मेरो प्यारो परदेशी” Ye Mero Pyaro Pardeshi – Sunita Karki | New Nepali Song 2019/2076

एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र लक्ष्मी बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एक कार्यक्रमका बीच हस्ताक्षर गरेको हुन् । अब लक्ष्मी बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

नेप्से तीन महिना यताकै उच्च बिन्दुमा, एक अर्ब ६७ कराेडको कारोबार

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक २२ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । जुन पछिल्ला तीन महिनायताकै उच्चतम बिन्दु हो । गत पुस १५ गते १२०४ अंकमा रहेको नेप्से हालसम्म ११० अंकले उकालो लागेको छ । पछिल्लो समय बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार मात्रै कुल १७६ कम्पनीको साढे एक अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन ४९ लाख २१ लाख कित्ता सेयर एक अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ । पछिल्ला दुई साताजस्तै यस साता पनि वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ ।  बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएता पनि सेयर मूल्यमा भने गिरावट देखिएको छ । त्यस्तै, सेयर बजारमा पालैपालो परिसूचकहरुमा वृद्धि आएको छ । यस साताअघि वाणिज्य बैंकको समूहमा सूधार देखिएको थियो भने आइतबार बीमा समूहको सूचकमा उच्च वृद्धि भएको छ । बजार बन्द हुँदा जीवन बीमा ६२९ र निर्जीवन बीमा समूह ४६२ अंकले बढेको छ ।

४५ दिने सगरमाथा सफाईका लागि २ करोड ३२ लाख लाग्ने अनुमान

काठमाडौं । बैशाख १ गतेदेखि सगरमाथा सफाई अभियान शुरु भएको छ । खुम्बु पासाङ ल्हामु गाँउपालिकाको नेतृत्वमा उक्त अभियान शुरु भएको हो । जेठ १५ गते सम्म हुने सो सफाइको समयमा ३ हजार के.जी फोहोर संकलित हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । अभियान शुरु भएको १५ दिनको दिन पत्रकार सम्मेलन मार्फत महानिर्देशक घिमिरेले सो अभियानका लागि करिब २ करोड ३२ लाख १६ हजार ३ सय रुपैयाँ खर्च हुने जानकारी दिँदै कामका लागि करिब १२ जना जनशक्ति रहेसँगै फोहोर ओसार्ने २ वटा हेलिकप्टर र सेवाका लागि १ हेलिकप्टर रहेको महानिर्देशक घिमिरेले बताए । हिमालको अस्तित्व राख्नका लागि सगरमाथाको ठूलो हात रहेको बताउँदै नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउने जरनल विज्ञानदेव पौडेल बताए । प्रत्येक व्यक्ति सगरमाथाबाट झर्दा करिब ५ केजी फोहोर ल्याउनु पर्ने निति, नियम निर्माण भएको जानकारी दिए । उक्त अभियानका लागि हालसम्म नेपाल पर्यटन बोर्डले २० लाख, प्रदेश नं १बाट २५ लाख, कोककोलाले ५० लाख, वन तथा वातावरण कार्यालयले ५० लाख, भिजिट नेपालले २० लाख, ट्वान्टी ट्वान्टीले २० लाख, एनएमबि बैंक १० लाख, प्रभु बैंक १० लाख, तारा एयरवेजले ५ लाख, नविल बैंकले ५ लाख रुपैयाँ दिने घोषणा गरेको महानिर्देशक घिमिरेले बताए ।

११ देशसँग कर मुक्ति सम्झौता, १ खर्ब ८३ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं । सरकारले ११ देशसँग दोहोरो कर मुक्ति सम्झौता गरेपछि १ खर्ब ८३ अर्ब ५४ करोड ८ लाखको २ हजार ७२१ वटा विदेशी उद्योग स्थापनाको प्रतिवद्धता आएको छ । लगानी प्रतिबद्धता गरेका कम्पनीले ११ लाख ५६ हजार ७६३ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार दोहोरो कर मुक्ति सम्झौतापछि सबैभन्दा धेरै लगानी प्रतिवदता चीनबाट आएको छ । चीनबाटमात्रै विभिन्न उद्योगमा ८३ अर्ब ६५ करोड १ लाखको लगानीमा १४२४ वटा उद्योगको प्रतिवद्धता आएको छ । नर्वेबाट विभिन्न १६ वटा उद्योगको लागि १ अर्ब १६ करोड ५० लाखको लगानी र ८४५ जनालाई रोजगारी दिने प्रतिवद्धता आएको छ । थाइल्याण्डबाट दोहोरो कर मुक्ति सम्झौतापछि १२ करोड ६० लाखको विभिन्न १६ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ । ती उद्योगमा १ हजार १८९ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । त्यस्तै, श्रीलंकाबाट ७१ करोडको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता जनाएका ७ वटा उद्योगले खो २०८ जनालाई रोजगारी दिने जनाएका छन् । मौरिससबाट ३ अर्ब ४३ करोड ४० लाखको ११ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ । ती उद्योगले १ हजार ५५ जनालाई रोजगारी दिनेछन् । अष्ट्रियाबाट ११ अर्ब ४३ करोड ४० लाखको लगानीमा २१ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ भन ६९४ जनालाई रोजगारी दिने जनाइएको छ । यता, पाकिस्तानबाट दोहोरो कर मुक्ति सम्झौता पछि २६ करोड ९० लाखको लगानीमा २२ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ । ती उद्योगले २ हजार ८२८ जनालाई रोजगारी प्रतिवद्धता जनाएका छन् । दक्षिण कोरियाबाट १२ अर्ब २६ करोड ६० लाखको लगानीमा ३५२ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ भने ११ हजार ७७८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । भारतबाट ११ मुलुकसँग भएको दोहोरो कर मुक्ति सम्झौता पछि १ खर्ब ८३ अर्बको लगानीका २८ सय उद्योग पछि ९३ अर्ब ५० करोड १० लाखको लगानीमा ७७६ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ । ती उद्योग खुलेपछि २७ हजार ४२० जनालाई रोजगारी दिने जनाइएको छ । यता, बंगलादेशबाट ८१ अर्ब १ करोड ७० लाखको लगानीमा ७२ वटा उद्योग खोल्ने प्रतिवद्धता आएको छ । ती उद्योगले ५ हजार ७५४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएका छन् । सरकारले पछिल्लो पटक माघ १५ गते बंगलादेशसँग कर मुक्ति सम्झौता गरेको थियो । यसअघि नर्बेसँग २०५३ बैशाख १ गते पहिलो कर मुक्ति सम्झौता भएको थियो । त्यसपछि क्रमशः थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रेलिया, पाकिस्तान, चीन, कोरिया, कतार, भारत र श्रीलंकासँग दोहोर कर मुक्ति सम्झौता गरेको छ । के हो दोहोरो कर मुक्ति सम्झौता आयकर ऐनमै कानूनी ब्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ । एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोबार गर्यो भने आफु वासिन्दा भएको देशमा एवम् कारोबार गरेको देशमा समेत गरी दुबै देशमा कर तिर्नुपर्ने हुन्छ । आफु बासिन्दा रहेको देशमा वसोवासको आधारमा र लगानी गरेको देशमा आयको स्रोतको आधारमा दोहोरो कर तिर्नुपर्छ । यस्तो अवस्थामा करदातालाई दोहारो करको भारबाट मुक्ति दिलाउन सम्बन्धित देशको आयकर कानूनले तिरेको, कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउने जस्ता व्यवस्था गरेको हुन्छ ।

खुलामुखी म्युचअल फण्ड संचालन गर्न बाटाे खुल्ला, जति पनि बिक्री गर्न पाईने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी(ओपन इण्ड म्युचअल फण्ड स्किम्स्) योजना संचालन गर्न अनुमति दिएकाे छ । बोर्डले आइतबार विज्ञप्ति मार्फत एक योजना व्यवस्थापकलाई प्रयोगात्मक रुपमा प्रारम्भिक आकार सो मात्राको हुने गरी फण्ड जारी गर्न अनुमति दिएको हो । बजारमा नयाँ वित्तीय औजारको रुपमा बोर्डले उक्त खुलामुखी सामूहिक लगानीकोष योजना संचालन गर्न अनुमति प्रदान गरेको हो । उक्त योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ । वि. सं. २०६७ सालमा सामूहिक लगानी कोष नियमावली लागू भए पश्चात बोर्डले हालसम्म करिब १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना(क्लोज इण्ड म्युचअल फण्ड स्किम्स्)हरु मात्र संचालनमा रहेको थियो । यस्ता छन् खुलामुखी योजनाका विशेषताहरुः १. बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलाल मार्फत कारोवार नहुने । २. योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीद बिक्री गर्न सक्ने । ३. खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने । ४. लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने । ५. बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने । ६. लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने । खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने बोर्डले जनाएको छ । साथै, यसबाट लगानीकर्ताहरुले लगानी विविधी करण गर्न सहयोग पुग्नुका साथै धितोपत्र बजारमा नयाँ आयाम थप हुने बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले बताएका छन् ।

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर, राइजिङ मलमा सपिङ गर्दा १० प्रतिशत छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो । फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो । यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ । साताब्यापी अफरबाट लाभ लिन बैंकले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।