काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी(ओपन इण्ड म्युचअल फण्ड स्किम्स्) योजना संचालन गर्न अनुमति दिएकाे छ । बोर्डले आइतबार विज्ञप्ति मार्फत एक योजना व्यवस्थापकलाई प्रयोगात्मक रुपमा प्रारम्भिक आकार सो मात्राको हुने गरी फण्ड जारी गर्न अनुमति दिएको हो ।
बजारमा नयाँ वित्तीय औजारको रुपमा बोर्डले उक्त खुलामुखी सामूहिक लगानीकोष योजना संचालन गर्न अनुमति प्रदान गरेको हो । उक्त योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ ।
वि. सं. २०६७ सालमा सामूहिक लगानी कोष नियमावली लागू भए पश्चात बोर्डले हालसम्म करिब १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना(क्लोज इण्ड म्युचअल फण्ड स्किम्स्)हरु मात्र संचालनमा रहेको थियो ।
यस्ता छन् खुलामुखी योजनाका विशेषताहरुः
१. बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलाल मार्फत कारोवार नहुने ।
२. योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीद बिक्री गर्न सक्ने ।
३. खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने ।
४. लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने ।
५. बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने ।
६. लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।
खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने बोर्डले जनाएको छ । साथै, यसबाट लगानीकर्ताहरुले लगानी विविधी करण गर्न सहयोग पुग्नुका साथै धितोपत्र बजारमा नयाँ आयाम थप हुने बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले बताएका छन् ।