विकासन्युज

आर्थिक वृद्धिदर ७ प्रतिशत

काठमाडौं । सरकारले आर्थिक वृद्धिदरबारे पुनः गलत तथ्य सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने दावी गरिएको छ । जबकी केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजनाको डकुमेन्टमा भने आर्थिक वृद्धिदर ६.८० प्रतिशत हुने उल्लेख गरिएको छ ।

रेल, पानी जहाज र स्याटेलाइटको सपना पुरा हुँदै

काठमाडौं । सरकारले पानी जहाज, रेल र स्याटेलाइटको सपना पुरा हुन लागेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा रेल, पानी जहाज र आफ्नै स्याटेलाइटको सपना पुरा हुन लागेको बताईएको हो । सरकारले समुन्द्र तथा जलमार्गमा नेपालको झण्डासहितको पानी जहाज चलाउने अवस्था सृजना भएको बताएको हो । त्यस्तै, नेपालभित्रै रेल चढ्न सकिने अवस्था पनि निर्माण गरिएको सरकारले दावी गरेको छ । सरकारले चीन–नेपाल–भारत जोड्ने विद्युतिय रेलमार्गको प्राविधिक अध्ययन सम्पन्न भएको बताएको हो । त्यस्तै, भारतको कालुघाट र साहेबगञ्जको जलमार्ग हुँदै नेपालले आफ्नै पानी जहाज चलाउनका लागि प्राविधिक अध्ययन सम्पन्न भएको पनि सरकारले बताएको छ । कालुघाट र साहेबगञ्जसम्म कोशी र गण्डकी नदिबाट पानी जहाज सञ्चालन गर्ने वातावरण तयार गरिरहेको राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालले अमेरिकाबाट आफ्नै स्याटेलाइट भने अन्तरिक्षमा पठाईसकेको छ ।

शुरु भयो संघीय संसदको संयुक्त बैठक, राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ । संघीय संसदसको संयुक्त बैठकमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेकी छिन् । दिउँसो ४ बजे शुरु भएको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति कार्यक्रम पेश गर्दैछिन् । नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले सरकारले गर्दै आएको कामको प्रशंसा गर्दै नतिजा ल्याउने सरकार क्रियाशील रहेको बताइन् । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ । नीति तथा कार्यक्रम पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया शुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो । यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ । बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ ।

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा विशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग बैशाख १५ गते संझौता गरिएको हो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने छन् ।

गणपति माइक्रोफाइनान्सको आईपीओ बाँडफाँड, दुई लाख बढीको हात खाली

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । संस्थाले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपिओमा ३१ हजार ३०८ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । सदर भएका सेयर मध्ये २ लाख ९१ हजार ३०१ जनाको हात खाली भएको छ । उक्त आईपीओमा कूल ३ लाख २३ हजार ३०९ जनाले ६५ लाख ७१ हजार ९० कित्ताको लागि माग गरेका थिए । जसमध्ये ३ लाख २२ हजार ६०९ जनाको सेयर सदर भएको छ । बाँकी ७०० जनाले भरेको १५ हजार ९८० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई कूल ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई, १६ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

सन नेपाल र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अन्र्तगत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने जनाइएको छ ।

श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

माछापुछ्रे बैंकले झापा र मोरङमा शुरु गर्यो १४ शाखा रहित बैंकिङ सेवा

काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । यी सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।