काठमाडौँ । संघीय संसदसको संयुक्त बैठकमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेकी छिन् । दिउँसो ४ बजे शुरु भएको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति कार्यक्रम पेश गर्दैछिन् ।
नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले सरकारले गर्दै आएको कामको प्रशंसा गर्दै नतिजा ल्याउने सरकार क्रियाशील रहेको बताइन् । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ ।
नीति तथा कार्यक्रम पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया शुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो ।
यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ । बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ ।