काठमाडौं । सरकारले पानी जहाज, रेल र स्याटेलाइटको सपना पुरा हुन लागेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा रेल, पानी जहाज र आफ्नै स्याटेलाइटको सपना पुरा हुन लागेको बताईएको हो ।
सरकारले समुन्द्र तथा जलमार्गमा नेपालको झण्डासहितको पानी जहाज चलाउने अवस्था सृजना भएको बताएको हो । त्यस्तै, नेपालभित्रै रेल चढ्न सकिने अवस्था पनि निर्माण गरिएको सरकारले दावी गरेको छ । सरकारले चीन–नेपाल–भारत जोड्ने विद्युतिय रेलमार्गको प्राविधिक अध्ययन सम्पन्न भएको बताएको हो ।
त्यस्तै, भारतको कालुघाट र साहेबगञ्जको जलमार्ग हुँदै नेपालले आफ्नै पानी जहाज चलाउनका लागि प्राविधिक अध्ययन सम्पन्न भएको पनि सरकारले बताएको छ । कालुघाट र साहेबगञ्जसम्म कोशी र गण्डकी नदिबाट पानी जहाज सञ्चालन गर्ने वातावरण तयार गरिरहेको राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालले अमेरिकाबाट आफ्नै स्याटेलाइट भने अन्तरिक्षमा पठाईसकेको छ ।