विकासन्युज

प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् । अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए । यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ । त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो । तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए । आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको स्पष्ट पारिन् । उनले भनिन्,‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि उनले स्पष्ट पारिन् । उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफूहरुल्े माग गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’ नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् । उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’ अस्पताल प्रशासनले प्राविधिकतर्फमात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाई छ । कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाईन् । उनले भनिन्,‘हामी बाध्य भएर पत्रकारहरुको माध्यमबाट हाम्रा भावनाहरु उठाउँदैछौं । हिजो नर्सहरुमाथि भएको प्रहरी ज्यातदी र दमनको म घोर विरोध गर्दछु ।’ अहिले दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाईएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने पनिउनले खतरातर्फ अस्पताल प्रशासनलाई सचेत गराईन् । उनीहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता शासकविरुद्ध जुनसुकै बेला प्रतिकारलागि तयार रहेको सूचनासहित । दोषीमाथि कानूनबमोजिम सजाय दिनु सम्बन्धित सरोकारवाल तथा विभागीय मन्त्रालयको ध्यानाकार्षण गराउँदछौं ।’ पत्रकार सम्मेलनमा पीडित नर्सहरुले आ–आफ्ना गुनासो र पीडाहरु सुनाएका थिए । उक्त अस्पतालमा कार्यरत र अस्प्तालले दुई वर्ष अघि निस्काशन गरी पूनःवहाली गरिएकी नर्स सजना देउलाले नेपाल नर्सिङ संघ अहिले कमजोर भएको गुनासो पोखिन् । उनले भनिन्,‘हाम्रो अभिभावक संस्था नै कमजोर हुँदा देशभरिका नर्सहरु अन्याय र शोषणमा परेका छन् ।’ अन्यायमा परेका नर्सहरुलाई न्याय दिलाउन नसक्ने हो भने संघकी अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने समेत उनको भनाई छ । उनले आफूले दुई वर्ष अघि यही रिपोर्टर्स क्लब नेपालमा आएर बोल्दा न्याय पाएको सुनाउँदै आफूहरुलाई देशैभरिका नर्सहरुले साथ दिने विश्वास दिलाईन् । उक्त अस्प्तालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमाथि शोषण भैरहेको पनि उनले आरोप लगाईन् । उनले भनिन्,‘नर्सिङ संघको अध्यक्ष तारा पोखरेललाई पटक पटक झक्झकाउँदा पनि उहाँले हाम्रा मागहरु बेवास्ता गर्नुभयो । यदि उहाँले माग पूरा गराउन सक्नुहुन्न भने तत्काल राजीनामा दिए हुन्छ । म संघको नेतृत्व लिन्छु।’ त्यस्तै अर्की नर्स प्रविणा कार्कीले आफूहरुले विगत लामो समयदेखि जायज माग राखेर अस्पतालको ध्यानाकार्षण गराउँदापनि उल्टै दमन हुने गरेको सुनाईन् । उनले भनिन्,‘अन्यायमा परेका नर्सलगायतका कर्मचारीहरुको पक्षमा बोल्नेलाई नै अस्पताल प्रशासनले निश्काषन गर्ने गरेको छ । अहिलेसम्म १२ जना नर्सहरु निश्काषनमा परेका छन् ।’ उक्त अस्पतालमा सोर्सफोर्स लगाउने र पहँुच भएकाहरुले तत्काल उपचार पाउने गरेको तर गरिब जनताहरुले समयमै उपचार पाउन मुश्किल रहेको पनि उनले सुनाईन् । उनले भनिन्,‘हाम्रा केही साथीहरुलाई ईन्चार्ज बनाईदिने प्रलोभन देखाएर आन्दोलन तुहाउने प्रयाससमेत भयो ।’ जायज माग राखी आन्दोलनमा उत्रिएकै बेला स्वास्थ्य मन्त्रालय परिसरभित्रैबाट आफूहरुलाई प्रहरीले पक्राउ गरेको र अत्यन्तै अमानवीय व्यवहार देखाएको पनि उनको गुनासो छ ।

मेलम्चीको ‘फास्ट ट्रयाक योजना’ मन्त्रिपरिषदमा, स्थानिय ठेकेदारको डेढ अर्ब के होला ?

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेकी हुन् । प्रधानमन्त्री केपी ओली आफैंले ताकेता गरेर मन्त्री मगर मार्फत प्रस्ताव ल्याउन लगाएका हुन् । ‘प्रधानमन्त्री कार्यालयबाट निरन्तर ताकेता आएपछि प्रस्ताव मन्त्रीपरिषदमा पठाइएको छ, अब मेलम्चीको बल प्रधानमन्त्रीको कोटमा पुगेको छ’, खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले भने । सुरुङ निर्माणको ठेक्का पाएको इटालियन सीएमसी कम्पनीले ठेक्का तोडेर भागेको भएपनि मन्त्री मगर भने उसैलाई ल्याएर बाँकी काम गराउनुपर्ने अडानमा थिइन् । सोही बिषयमा खटपट परेपछि तत्कालिन सचिव गजेन्द्र ठाकुरलार्ई सरुवा गरेर दिपेन्द्रनाथ शर्मालाई ल्याईएको थियो । शर्माले समेत सीएमसीलाई फर्काउन नसकिने अडान लिएका थिए । विगत पाँच महिनादेखि मेलम्चीको काम ठप्प भएपछि प्रधानमन्त्री ओलीले नै चासो देखाउँदै प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । मेलम्चीमा बाँकी रहेको काम कुन मोडलमा गर्ने ? नेपाली सहायक ठेकेदारहरुको डेढ अर्ब भुक्तानी कसरी गर्ने भन्नेबारे दुविधा रहँदै आएको थियो । मन्त्रिपरिषदमा लगिएको प्रस्तावमा मेलम्चीको ऋण दाता एसियाली विकास बैंक(एडिबी) र परामर्श दाता कम्पनी इप्टिसाले दिएको प्रतिवेदनलाई आधारित बनाईएको छ । एडिबी र इप्टिसाले करिब १० वटा प्याकेज बनाएर काम अघि बढाउन सझुाव दिएका थिए । मेलम्चीमा अब हेड वक्र्स, भेन्टिलेशन, सुरुङ फिनिसिङ, गेट निर्माण लगायतका गरि कुल २ अर्ब ५० करोड रुपैंयाँ बराबरको काम बाँकी रहेको प्रतिवेदन एडिबी र इप्टिसाले तयार पारेका छन् । यी दुबै निकायले केहि काम सिधै दिन सकिने, केहि काम सपिङ गर्नुपर्ने र केहिलाई सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का लगाउनुपर्ने प्रतिवेदन तयार पारेर बुझाएका थिए । एडीबीले मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो भने इप्टिसाले मार्च २१ तारिखका दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको थियो । मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते नै फास्ट ट्रयाकबाट काम गर्न मार्ग प्रशस्त गरेको थियो । समितिले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउन भनेको थियो । मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । नेकपाको ७० औं बर्षगाँठका अवसरमा आयोजीत कार्यक्रममा प्रधानमन्त्री ओलीले मेलम्चीमा ठेकदारले बदमासी गरेको भएपनि पानी ल्याएरै छाड्ने उद्घोष गरेका थिए । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, बैशाख ९ गते प्रधानमन्त्री ओलीले भनेका थिए । मेलम्चीमा स्थानीय ठेकेदारहरुको डेढ अर्ब रुपैंयाँ भुक्तानी सबै भन्दा पेचिलो बिषय बन्दै आएको छ । सिएमसीसँग लिन बाँकी डेढ अर्ब नपाए मेलम्चीको बाँकी काम अघि बढ्न नदिने स्थानीय ठेकेदार तथा सप्लायरहरुले बताउँदै आएका छन् ।

एनआईसी एशियाको शाखा बिस्तार, गोंगबुमा खोल्यो नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोही वडाका वडा अध्यक्षश्री ख्यामराज तिवारीबाट उद्घाटन गरियो । मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

१२५७ बालबालिका सम्पर्कविहीन, प्रहरी भन्छ-खोज्दैछौँ, तर कहाँ छन् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म २४ सय ८१ जना बालबालिका हराएका छन् । सोही अवधिमा ३६८ बालबालिका वेवारिस अवस्था फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । देशभरीबाट हराएका २४८१ जना बालबालिका मध्ये बालक ७७९ जना रहेका छन् भने बालिका १७०२ जना छन् । हराएका मध्ये १२२४ जना फेला परेका छन् भने बाँकी १२५७ जनाको खोजतलास जारी छ । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा कम संख्या १६६ जना बालबालिकाहरु हराएका छन् भने सबै भन्दा बढी २८८ जना वेवारिस अवस्थामा फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए । प्रहरी निरीक्षक दाहालका अनुसार ३६८ जना वेवारिस बालबालिका फेला परेका छन्, जसमा बालिकाको संख्या १२९ जना रहेका छन् भने बालकको संख्या २३९ रहेको छ । जसमा २०१ जनाको पारिवारिक पुनर्मिलन गराइएको र १६३ जना संरक्षण गृह छन् । त्यस्तै ४ जना बालगृहबाट भागेका थिए । आर्थिक वर्ष २०७५÷०७६ को चैत मसान्तसम्म प्रदेशगत हिसाबमा हेर्दा प्रदेश नं. ३ मा हराए ५३३ जना मध्ये ३१९ जना फेला परेका छन् भने २१४ जनाको खोजतलास जारी छ । त्यस्तै प्रदेश नं १, २, ४, ५, ६, ७ मा क्रमश ४१२, ४१९, २५८, ४०७, २२४, २२८, जना हराएका छन्, जसमा क्रमशः १८४, १४२, २२१, १५९, १९६, ११५, १०९ फेला परेका छन् । काठमाडौंका वसन्तपुर र ठमेल सबैभन्दा बढी वेवारिस अवस्थामा बालबालिका भेटिने गरेका छन् । वेवारिस अवस्थामा भेटिने बालबालिका नसामा लठ्ठीएको अवस्थामा फेला पर्ने प्रहरी निरीक्षक दाहालले बताए । घरको आर्थिक अवस्था कमजोर भएका, अभिभावक गुमाएका र कोही भने साथीभाईको लहलहैमा लागेर घरबाट सम्पर्क विहीन हुने गरेको प्रहरीको भनाई छ ।

पुनर्बीमाको प्राविधिक पक्ष र वर्तमान अवस्थाबारे पोखरामा ५ दिने कार्यशाला

पोखरा । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जेवि वोडा रिइन्स्योरेन्स व्रोकर भारतको सहकार्यमा शनिवारदेखि ५ दिने पुनर्बीमाको प्राविधिक पक्ष र वर्तमान अवस्था विषयमा आवासीय सेमिनार आयोजना गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ तथा पुनर्बीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईँले पोखरामा सेमिनारको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बीमा क्षेत्रले फड्को मार्दै गएको र आगामी केही वर्षमा उल्लेख्य जनताहरु बीमासंग जोडिने वताए । त्यसैगरि कम्पनीका अध्यक्ष गुरागाईँले बीमाक्षेत्रको समस्याहरु पहिचान गरी सो समस्यालाई समाधन गर्न बीमा समितिले नियामक निकायको हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । उक्त सेमिनारमा अन्तर्राष्ट्यि स्तरका प्रशिक्षक रहेको र नेपालका सम्पूर्ण निर्जीवन बीमा कम्पनी, बीमा समितिका प्रतिनिधिको सहभागिता छ ।

एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा १०% छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच भएको संझौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० % छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

फर्पिङमा खुल्यो सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार फर्पिङ शाखाको उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरे । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकको हसनपुर एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहकाबीच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । आइतबारदेखि सञ्चालनमा आएको बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।