विकासन्युज

पाँच वर्षमा पनि ललितपुरका सडकको प्रगति न्यून, नगरवासी हैरान

काठमाडौँ । चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुन्छन् । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उनी धुलाम्मे हुने गरेका छन् । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उनी धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताउँछन् । झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै धेरै नगरवासी हैरान छन् । जिल्लाका विभिन्न स्थानका गरेर पाँच सडक विस्तार शुरु भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढ्नसकेको छैन । यी सडकमा वर्षाको समय हिलो र हिउँदमा धुलोले गर्दा यात्रा कष्ठकर भइरहेको छ । विस्तारित सडकमा ठूला खल्डाखुल्डीले गर्दा सवारीसाधन चलाउन कठिन भएको चालक बताउँछन् । जिल्लाका पाँच वटा सडकमा विसं। २०७१/७२ बाट सडक विस्तार शुरु भएको थियो । लगनखेल-सातदोवाटो, इमाडोलबाट सिद्धिपुर हुँदै लामाटार सडक र ढोलाहिटिबाट चापागाउँ हुँदै लेलेसम्मको सडक विस्तार शुरु भएर पनि सम्पन्न हुन नसकेको हो । त्यस्तै, कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको र नख्खुखोबाट भैँसेपाटी हुँदै बुङमतिसम्मको सडकको पनि अवस्था खराब रहेको छ । ललितपुरको चक्रपथबाट यहाँका महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र महानगरपालिकाका विभिन्न वडा जाने सडक बन्न नसकेको हो । यहाँका झण्डै ३३ किलोमिटर सडक विस्तारको क्रममा रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकको चिन्ह लगाउने काम काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणको र कालोपत्रको काम आयोजनाको भएको आयोजनामा कार्यरत प्रवक्ता इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनका अनुसार सडकसँगै घरजग्गा भएका यहाँका स्थानीयवासीले जग्गा र घर दुबैको मुआब्जा माग्दै आएपनि सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था छैन । उनले भने, “निर्माणाधीन सडकमा पहिले संरचना नै बनाउन नसकिएकाले कालोपत्र हुन नसकेको हो । ” आयोजनाले अहिले खाली रहेका स्थानमा ढललगायतका संरचना निर्माण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार सुनाकोठी, ठेचो, सिद्धिपुर, चापागाउँ, बाँडेगाउँलगायतका पूराना बस्तीमा भने काम शुरु भएको छैन । “ढोलाहिटी लेले सडकमा नै चापागाउँसम्म काम हुन सकिरहेको छैन”, उनले भने, “चापागाउँबाट लेलेसम्मको जङ्गल क्षेत्रमा भने संरचना निर्माणको काम अघि बढिरहेको छ ।” निर्माणाधीन यी सबै सडकमा विद्युत्, टेलिफोनको पोल र रुख हटाउन नसक्दा पनि काममा अवरोध पुगेको श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित कार्यालयले संरचना हटाउन सहयोग गरेका छन् । विस्तारीत सडकमा नै मन्दिर, पाटीलगायतका धार्मिक महत्वका सम्पदा समेत परेपनि तीनका विषयमा के गर्ने भन्ने निर्णय हुनसकेको छैन । स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाको समेत मुआब्जाको माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । स्थानीय तहले आग्रह गर्दा पनि स्थानीयवासी मुआब्जा पूरै चाहिने अडान लिइरहेको उनले बताए । उनले भने, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।” ढोलाहिटि–लेले सडकखण्डमा पर्ने सातदोबाटो(चक्रपथ)देखि ढोलाहिटिसम्मको सडक दुई वर्ष पहिले निर्माण सम्पन्न भएको थियो । त्यहाँका सडक १७ दशमलव २ मिटरमा कालोपत्र भएकाले सुनाकोठी, ठेचोलगायतका स्थानका स्थानीयवासीले त्यहाँ पनि त्यही चौडाइमा काम गर्नुपर्ने माग भइरहेको आयोजनाले जनाएको छ । उनले भने, “हामीले भएको चौडाइ घटाएर काम गर्न मिल्दैन ।” ठेक्का भएको लामो समयसम्म पनि सरकारले काम गर्ने साइट खाली गर्न नसकेकाले ठेकेदारले काम गर्न नसकेको आयोजनाले जनाएको छ । निर्माणाधीन यी सडकमा विसं २०७१/७२ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार अहिले चार पाँच वर्ष बित्न लाग्दा समेत ‘साइट’ खाली गर्न नसकेपछि ठेकेदारले समेत चाँडो खाली गर्न भनिरहेका छन् । आयोजनाले ललितपुर जिल्लाका पाँच वटा सडकसँगै काठमाडौँ जिल्लाका पाँच र भक्तपुर जिल्लाको एक सडकमा विस्तारको काम शुरु गरेपनि भौतिक प्रगति न्यून छ । रासस

सरकारको नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छः पूर्व अर्थमन्त्री कार्की

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ठ र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भने । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम महत्वाकाँक्षी, छरपष्ट, अमूर्त, प्रोपगण्डामा आधारित भएर आएको छ, जनताको सरकारलाई ‘मेरो सरकार’ भन्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याउने र गणतन्त्रको उपहास गर्ने काम भएको छ भने । पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले भने, “ सरकारका कामकारवाहीबाट आर्थिक र प्रशासनिक क्षमतामा ह्रास आएको छ, यसले समृद्धिको दिशातर्फ होइन, अलमलको दिशातर्फ उन्मुख गराउँछ ।” राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले परम्परागत शैलीमै प्रस्तुत भएको नीति तथा कार्यक्रममा मधेसी जनताका लागि केही नभएको टिप्पणी गरे । उनले भने, “राज्य पहिलेको भन्दा अझ बढी निरङ्कुश भएको छ, अहिले सारा अधिकार सिंहदरबार केन्द्रित गर्ने काम भएको छ, मधेसी समुदायका लागि अहिले झ्याल र ढोका दुवै बन्द छ । न्याय र अधिकार माग्दा गोली खानुपर्ने, यो कस्तो लोकतन्त्र हो भनी प्रश्न गर्दै सांसदले ठाकुरले भने, “भन्नका लागि गणतन्त्र र सङ्घीयता छ तर प्रदेशले अधिकार पाएको छैन, आमजनतामा परिवर्तन भएको महसुस हुन सकेको छैन, कुनै निकायमा समानता देखिएको छैन, विभेद यथावत् छ ।” सङ्घीय समाजवादी फोरम नेपालका नेता विमलप्रसाद श्रीवास्तवले सरकारको नीति तथा कार्यक्रममा मुलुकका सबै क्षेत्रलाई समेट्न नसकेको बताए । उनले भने, “झारा टार्ने किसिमबाट घोषणा भएका कार्यक्रमले मजदूर र किसानका समस्या समाधान हुन सक्दैन, तत्काल चिया बगानका मजदूरको समस्या समाधान गर्न पहल होस्, सुरक्षा निकाय र कर्मचारीको विषय पनि गोलमटोल रुपमा आएको छ ।” रासस

ट्रम्पको एक ट्वीटले खस्कियो एसियाली शेयर बजार

हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन । तर, व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ । शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । “विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,” राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्वीट गर्दै भने, “अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।” राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अमेरिका र चीनले गतवर्ष एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करबृद्धि गरेका छन् । तर, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप करबृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गतवर्ष डिसेम्बर १ तारिख व्यापार वार्ता जारी छ । उक्त सहमति भएपछि शेयर बजारको गिरावट रोकिएको थियो । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ । रासस/एएफपी

‘मेरो सरकार’को नीति कार्यक्रमले निम्त्याएकाे झमेला

एक पटक लगाएको पहिरन दोस्रो पटक नलगाउने, १ अर्ब ५० करोड रुपैयाँ खर्चेर हेलिकप्टर चढ्ने, १८ करोड रुपैयाँमा गाडीहरु किन्न जस्ता सुविधाभोगी चरित्रका विवादमा तानिदै आएकी राष्ट्रपति विद्यादेबी भण्डारीले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा २१ पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरिन् । पञ्चायतकालिन शाही सरकारले झै मेरो सरकार भनेर सम्बोधन गर्दा लोकतन्त्र र गणतन्त्रको लागि बलिदान दिनेहरुको अनुहारमा आक्रोस देखियो । सामाजिक सञ्जालहरुमा राष्ट्रपति भण्डारी र सरकारको चरम आलोचनाको साथै व्याङ्ग्य प्रहार शुरु भएको छ । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भन्नुमा राष्ट्रपतिको मात्र दोष छैन, प्रधानमन्त्री र सिङ्गो मन्त्रिपरिषद् जिम्मेवार छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीमा राष्ट्रपतिले संसद्मा बाचन मात्र गरेकी हुन् । ‘मेरो सरकार’ राष्ट्रपतिको निजी आकांक्षामा प्रयोग भएको हो वा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहानामा ती शब्द लेखिएका हुन् ? कुनै दिन सार्वजनिक हुने नै छ । संविधानको धारा ७५ को उपधारा ३ मा ‘नेपालको संघीय कार्यकारिणी सम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुनेछ’ प्रष्ट लेखिएको र गणतन्त्र आएको ११ वर्षसम्म नेपाल सरकारको नाममा नीति तथा कार्यक्रम प्रस्तुत हुने अभ्यास र सस्कार विकास भईरहेको अवस्थामा यस पटक किन ‘मेरो सरकार’ लेख्नुपर्यो ? खोजी हुनेनै छ । प्रधानमन्त्री निवासका जग्गा, प्रधानन्यायधिश निवासका जग्गा गैरकानुनी रुपमा बेचविखन हुँदा सरकारले आरोपित व्यक्तिहरुको बचाउँ गर्नु, सरकारले सिंहदरबार, नाराहिटी संग्रालय, टुडिखेल, रंगशाला र विश्वविद्यालयहरु समेत बिक्रीमा राखेको सन्देशसहितको व्याङ्ग्यचित्र÷कार्टनहरु आमसञ्चार माध्ययमहरुमा प्रकाशित हुने र राष्ट्रपतिले ‘नेपाल सरकार’ सट्टा ‘मेरो सरकार’ भन्नुले सरकारमा पुगेका व्यक्तिहरुले व्यक्तिलाई नै सर्वोपरी बनाउन थालेको, शक्तिशाली पदमा बसको व्याक्तिहरुले राज्यको सार्वजनिक सम्पत्तिलाई आफ्नो निजी देख्न थालेको संकेत गर्दछ । त्यति मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा धेरै ठाउँमा अशुद्ध वाचन गरेकी छिन् । उनले पटक पटक शब्द र शब्द समूहहरुको अशुद्ध उच्चारण गरिन् र दोहोर्याएर वाचन गरिन् । विश्लेषण, मध्यस्तकर्ता, उत्पादकत्व वृद्धि, भेन्चर क्यापिटल, सिक्कल सेल अनमिया जस्ता शब्द उच्चारण अशुद्ध रुपमा गरिन् । उनले ‘बहुदलीय प्रतिस्पर्धात्मक’ शब्द उच्चारणमा पनि गल्ती गरिन् र दोहोर्याएर शुद्ध वाचन गरिन गरिन् । त्यस्तै, ‘स्थायीत्व तथा सुशासन’ भन्नु पर्नेमा ‘स्थायीत्व तथा अनुगमन’ पढेकी थिइन् । उनले दोहोर्याएर शुद्ध वाचन गरिन् । उनले ‘मेरो सरकारले ‘. गरिने छ’ जस्तो व्याकरणीय त्रुटीपूर्ण वाचन गरेकी थिइन् । चोभारमा निर्माणधित प्रदर्शनी स्थल तथा सुख्खा बन्दरगाहाको निर्माण ‘तीन वर्ष भित्र’ भन्नु पर्ने ठाउँमा ‘तीन वर्ष अघि’ भनेर पढिन् र पुनः सच्चाईन् । उनले १ घण्टा ४७ मिनेट लगाएर सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा लिने नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् । नीति तथा कार्यक्रम गर्दा उनलाई केही कठिन भएको उनको स्वास प्रस्वासको गतिबाट सजिलै अनुमान गर्न सकिन्थ्यो । उनले बेलाबेलामा लामो स्वास लिँदा तथा लामो स्वास फेर्दा माइकबाट त्यसको आजाव सुन्न सकिन्थ्यो । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तथ्याङ्क पनि गलत पढिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले ६ दशमलव ८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । तर राष्ट्रपति भण्डारीले ८ प्रतिशत आर्थिक वृद्धि हुने दावी गरेकी छिन् । ‘मेरो सरकार’बाट हुने यस्तो गल्ती कहिले सुध्रला ?

अल्फाबिटामा एसईई परीक्षा दिएर बसेका विधार्थीलाई नयाँ ढंगले कक्षा सञ्चालन, ब्रिजकोर्समा भर्ना खुला

काठमाडौं । अल्फाबिटाले एसईई परीक्षा दिएर बसेका विद्यार्थी केन्द्रित ब्रिजकोर्स कक्षा संचालनको लागि भर्ना खोलेको छ । कक्षा ११ को कक्षा संचालन हुन २ महिना बाँकी छँदा अल्फाबिटाले ६ हप्ते कक्षा संचालनको लागि भर्ना खोलेको हो । ब्रिजकोर्सलाई कक्षा १० र ११ को पुलको रुपमा मानिन्छ । एसईईपछि कक्षा ११ को विषय छनौटको कुरालाई जोड्न ब्रिजकोर्स एकदमै महत्वपूर्ण रहेको ब्रिजकोर्स अध्ययन गरिसेको विद्यार्थीहरु बताउँछन् । बानेश्वर स्थित अल्फाबिटाले ब्रिजकोर्स कक्षा नयाँ ढंगले सञ्चालन गरिरहेको छ । कक्षालाई पढाईसँग मात्र सम्बन्धित नगराएर अल्फाबिटाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउँछ । विधार्थीको बोल्ने शैली, आफुलाई प्रस्तुत गर्ने तरिका, समूहमा बोल्न सक्ने क्षमता बिकास, नेतृत्व बिकास जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । अल्फाबिटाले विद्यार्थीको अभिरुचीलाई ध्यानमा राख्दै संगीत, पेन्टिङ, नृत्य जस्ता अतिरिक्त क्रियाकलाप पनि सिकाउँछ । बिगत २८ बर्ष देखी शैक्षिक परामर्श दिदै आएको अल्फाबिटा नेपालको उत्कृष्ट शैक्षिक परामर्शदाताको रुपमा चिनिन्छ । अल्फाबिटाले सेन्जेभियर प्रवेश परीक्षा, एड्भान्स साईन्स कोर्स, ए लेभल प्रवेश परीक्षा, एडभान्स म्यानेजमेन्ट कोर्स र नर्सिङ प्रवेश परीक्षामा लक्षित गरेर कक्षा संचालन गर्दै आएको छ । विद्यार्थीलाई रुची भएका बिषयको बारेमा राम्रो जानकारी दिने काम पनि गर्दै आएको छ ।

कामना सेवाका अध्यक्ष र सञ्चालकद्वारा सीईओको प्रशंसा, ‘खाता प्राइमरी बन्याे, अब बैंक नम्बरवान बन्छ’

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको प्रशंसा गरेका छन् । कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ (एमबैंकिङ रिलोडेड ५) सेवाको शुभारम्भ कार्यक्रममा उनीहरुले बैंकले क्षमतावान सीईओ पाएको भन्दै उनको नेतृत्वमा बैंक नम्बरवान बैंकको रुपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरेका हुन् । सञ्चालक अधिकारीले ज्ञान नभई मुक्ति नपाइने भन्दै आफूहरुले क्षमतावान् सीईओ पाएको र सञ्चालक समिति उनीसँग खुसी रहेको बताए । सञ्चालक अधिकारीले भने- ‘उहाँकै नेतृत्वमा बैंकहले आफ्नो काममा नयाँपन ल्याउनेछ, उत्कृष्ठ बैंक बन्नेछ ।’ त्यस्तै, अध्यक्ष आचार्यले बैंकको उद्देश्य भनेकै विकास बैंकहरुमध्ये उत्कृष्ठ बन्ने रहेको भन्दै त्यसका लागि क्षमतावान सीईओ र उर्जाशील कर्मचारी बैंकले पाएको बताए । ‘हाम्रो लक्ष्य भनेको विकास बैंकहरुमा नम्बरवान बन्ने नै हो, त्यसका लागि हामीले क्षमतावान सीईओ पाएका छौं, तपाईँहरु (कर्मचारीहरु) पनि इनर्जेटिक हुनुहुन्छ, अब हामीले त्यतातिर ध्यान दिनुपर्छ ।’- अध्यक्ष आचार्यले भने । आचार्यले बैंकले पछिल्लो समयमा ल्याएको सुविधाहरुबाट बैंकको कमजोरीको खाडल पुरिएको भन्दै बैंकको ध्यान इनोभेसनतर्फ लाग्नुपर्ने समेत बताए । ‘म सुरुमा कास्की फाइनान्सको डाइरेक्टर थिएँ, त्यसपछि कामना सेवा विकास बैंकको डाइरेक्टर बनेँ, सेवा विकास बैंकसँग मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा पनि डाइरेक्टर हुँदै अध्यक्षसम्म भएँ, तर आफैँ अध्यक्ष भएको बैंकको खातालाई मैले कहिलै प्राइमरी एकाउन्टको रुपमा प्रयोग गर्न पाइँन, अब भने बैंक फुलफेजको सुविधायुक्त बन्यो, मेरो नेतृत्वको बैंकलाई मैले पहिलोपटक प्राइमरी बैंकको रुपमा प्रयोग गर्न पाएँ । पहिले भारत जाँदा अर्कै बैंकको डेबिट कार्ड बोकेर जानुपथ्र्यो, केही महिनाअघि  नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने भिजा डेबिट कार्ड लञ्च भयो । अहिले मोबाइल बैंकिङको रिलोडेड भर्सन आएको छ । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्यो’ उनले भने- ‘तर अब हामी नम्बरवान बन्नुछ, त्यसका लागि नयाँ काम गर्नुपर्ने चुनौती थपिएको छ ।’ टेक्नोलोजीको क्षेत्रमा बैंकले नयाँ आविष्कार गर्नुपर्ने बताउँदै उनले भने- ‘हामीले अहिले लञ्च गरेको सेवा एफवान सफ्टको हो, यही कम्पनीले सबै बैंकहरुलाई उस्तै प्रकारको सेवा दिइरहेको छ, यसले हाम्रो अरुको दाँजोमा त पुग्न सक्छौं, तर त्यसभन्दा अघि बढ्न टेक्नोलोजीमा नयाँ इनोभेसन चाहिन्छ, ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर त्यसतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले कामना सेवा विकास बैंकले आधुनिक बैंकिङ सेवा थप्ने क्रममा मोबाइल बैंकिङको रिलोडेड भर्सन ल्याएको जानकारी दिए । उनले बैंकले ल्याएको यो सेवा सुरक्षित र विश्वसनीय रहेको भन्दै यस्ता सेवाहरु एक वर्षसम्मका लागि निःशुल्क प्रदान गरिने समेत बताए । ‘यस्तै मोर्डन प्रोडक्टहरु ल्याउँदै जान्छौं, कस्टमरलाई सर्भिस दिँदै जान्छौं ।’ उनले भने । प्रमुख कार्यकारी अधिकृत बस्नेतले सुरुवात आफैंबाट गर्नुपर्छ भनेझै आफूहरुले आफ्नै क्यान्टिनमा समेत पेमेन्ट गर्न मोबाइल बैंकिङको सेवा सुरु गरेको भन्दै यसले भुक्तानी प्रणालीमा सरलता ल्याउने तथा खुद्रा पैसा मिलाउने झन्झट नहुने समेत बताए । कामना सेवा विकास बैंकले ल्याएको नयाँ मोवाइल बैंकिङको रिलोडेड भर्सनमा फिङ्गरप्रिन्टबाट इबैंकिङ सेवाको लगइन गर्न सकिने तथा क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिने फिचर छ । मोबाइल, इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानी लगायतका बिलहरुलाई भुक्तानी बैंकको खाताबाटै गर्न सक्ने व्यवस्था गरिएको उक्त सेवा न्यूनतम कारोबार सीमासम्म नि:शुल्क गरिएको कार्यक्रममा जानकारी दिइयो । सो सेवा प्रयोग गर्दा ग्राहकले भुक्तानीअनुसार विभिन्न छुटहरु पनि पाउने बताइएको छ ।

सरकारलाई चोलेन्द्र शमशेरको कारण देखाउ आदेश

काठमाडौं । लोकल रक्सीको व्यवसायिक उत्पादन र बिक्रि विरणमा रोक लगाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । बैशाख १९ गते सर्वाेच्च अदालतले १५ दिनभित्र कारणसहित हाजिर हुन विपक्षीका नाममा आदेश दिएको हो । सर्वाेच्चले व्यापक सार्वजनिक चासोको विषय भएकाले रिटलाई अग्राधिकार समेत प्रदान गरेको छ । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालका अध्यक्ष जगन्नाथ मिश्र सहित अधिवक्ताहरु सुमिता डंगोल, सारदा गुरुङ र नविन कार्कीले बैशाख १० गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । उनीहरुले मदिरा ऐन, २०३१ अनुसार लोकल मदिराको व्यवसायीक उत्पादन र बिक्रि वितरणमा रोक लगाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । मदिरा ऐन, २०३१ अनुसार तयार पारिएको मदिरा नियमावली, २०३३ को नियम ७ को (घ) मा कसैले पनि एक पटकमा ५ लिटरसम्म घरेलु रक्सि र १० लिटरसम्म जाड भन्दा बढी उत्पादन गर्न नपाउने व्यवस्था छ । जाँड र रक्सीलाई संस्कृतिको अभिन्न अंगका रुपमा स्विकार गर्ने समुदायले मात्रै सो मात्रामा जाँड र रक्सी उत्पादन गर्न पाउँछन् । उनीहरुले बर्षमा ६ पटकसम्म मात्रै त्यसरी जाँड रक्सी बनाउन पाउँछन् । यो व्यवस्था अनुसार एउटा परिवारले बर्षमा ६० लिटर जाँड र ३० लिटर रक्सि मात्रै बनाउन पाउँछन् । त्यसको सूचना पनि अन्तशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था गरेको छ । घरेलु मदिराको अनधिकृत उत्पादन गर्नेलाई ६ महिनासम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै जरिवाना गर्ने तथा विगो जफत गर्नेसम्मको कारवाही हुने व्यवस्था रहेको छ । ‘घरेलु मदिराका कारण हत्या, हिंसाका घट्ना बढेका छन्, त्यसकारण यसलाई कानुन अनुसार प्रतिबन्ध लगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, कि कानुन संसोधन गर्नु परो नत्र त्यसको पालना गर्नुपर्छ, हामीले प्रधानमन्त्री विरुद्ध मुद्दा दायर गरेका हौं’, अधिवक्ता मिश्रले विकासन्युजसँग भने ।

सुन ४ सय बढ्यो, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

काठमाडौं । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सोमबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सोमबारको ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन ४ सय रुपैयाँले बढेर सो मूल्यमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।