काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेकी हुन् । प्रधानमन्त्री केपी ओली आफैंले ताकेता गरेर मन्त्री मगर मार्फत प्रस्ताव ल्याउन लगाएका हुन् । ‘प्रधानमन्त्री कार्यालयबाट निरन्तर ताकेता आएपछि प्रस्ताव मन्त्रीपरिषदमा पठाइएको छ, अब मेलम्चीको बल प्रधानमन्त्रीको कोटमा पुगेको छ’, खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले भने ।
सुरुङ निर्माणको ठेक्का पाएको इटालियन सीएमसी कम्पनीले ठेक्का तोडेर भागेको भएपनि मन्त्री मगर भने उसैलाई ल्याएर बाँकी काम गराउनुपर्ने अडानमा थिइन् । सोही बिषयमा खटपट परेपछि तत्कालिन सचिव गजेन्द्र ठाकुरलार्ई सरुवा गरेर दिपेन्द्रनाथ शर्मालाई ल्याईएको थियो । शर्माले समेत सीएमसीलाई फर्काउन नसकिने अडान लिएका थिए ।
विगत पाँच महिनादेखि मेलम्चीको काम ठप्प भएपछि प्रधानमन्त्री ओलीले नै चासो देखाउँदै प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । मेलम्चीमा बाँकी रहेको काम कुन मोडलमा गर्ने ? नेपाली सहायक ठेकेदारहरुको डेढ अर्ब भुक्तानी कसरी गर्ने भन्नेबारे दुविधा रहँदै आएको थियो । मन्त्रिपरिषदमा लगिएको प्रस्तावमा मेलम्चीको ऋण दाता एसियाली विकास बैंक(एडिबी) र परामर्श दाता कम्पनी इप्टिसाले दिएको प्रतिवेदनलाई आधारित बनाईएको छ ।
एडिबी र इप्टिसाले करिब १० वटा प्याकेज बनाएर काम अघि बढाउन सझुाव दिएका थिए । मेलम्चीमा अब हेड वक्र्स, भेन्टिलेशन, सुरुङ फिनिसिङ, गेट निर्माण लगायतका गरि कुल २ अर्ब ५० करोड रुपैंयाँ बराबरको काम बाँकी रहेको प्रतिवेदन एडिबी र इप्टिसाले तयार पारेका छन् । यी दुबै निकायले केहि काम सिधै दिन सकिने, केहि काम सपिङ गर्नुपर्ने र केहिलाई सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का लगाउनुपर्ने प्रतिवेदन तयार पारेर बुझाएका थिए ।
एडीबीले मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो भने इप्टिसाले मार्च २१ तारिखका दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको थियो । मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते नै फास्ट ट्रयाकबाट काम गर्न मार्ग प्रशस्त गरेको थियो । समितिले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउन भनेको थियो ।
मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । नेकपाको ७० औं बर्षगाँठका अवसरमा आयोजीत कार्यक्रममा प्रधानमन्त्री ओलीले मेलम्चीमा ठेकदारले बदमासी गरेको भएपनि पानी ल्याएरै छाड्ने उद्घोष गरेका थिए । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, बैशाख ९ गते प्रधानमन्त्री ओलीले भनेका थिए ।
मेलम्चीमा स्थानीय ठेकेदारहरुको डेढ अर्ब रुपैंयाँ भुक्तानी सबै भन्दा पेचिलो बिषय बन्दै आएको छ । सिएमसीसँग लिन बाँकी डेढ अर्ब नपाए मेलम्चीको बाँकी काम अघि बढ्न नदिने स्थानीय ठेकेदार तथा सप्लायरहरुले बताउँदै आएका छन् ।