विकासन्युज

मंगलबार जौको सातु र सर्वत खाई अक्षय तृतीया मनाइँदै

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन मंगलबार दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । सो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । रासस

एनएमबि माईक्रोफाईनान्सको त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा

काठमाडौँ । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंकबहादुर वम, प्रकाश रावल, पुरनचन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो । वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।

नीति कार्यक्रममाथि छलफलः रेलमार्गको कुन भागको निर्माण पहिला थाल्ने ?

काठमाडौँ । राष्ट्रियसभामा सोमबारदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ-आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताए । लोकतन्त्रका लागि १४ वर्ष कारागार बसेका प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारलाई किन यो शब्द प्यारो लागेको भनी प्रश्न गर्दै उनले संशोधनअनुसार नीतिलाई सच्याउन आग्रह गरे । नीतिमा सङ्घीयताको सफल कार्यान्वयनका लागि उचित व्यवस्था उल्लेख नभएको तर्क गर्र्दै सांसद पाण्डेले प्रदेश र स्थानीय तहका सरकारका असन्तुष्टि सम्बोधन गर्न आग्रह गरे । मुलुकमा शान्ति सुरक्षा प्रभावकारी बनाउने कुनै ठोस योजना नभएको उल्लेख गर्दै उनले गत वर्षको नीति कार्यक्रमका कैयौँ बुँदा जस्ताकोतस्तै र केहीमा शब्द तलमाथि गरेर यो नीति ल्याएको बताए । सरकारले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि बूढीगण्डकी जलविद्युत् आयोजना बिनाबोलपत्र कुनै कम्पनीलाई दिनु भ्रष्टाचार हो भने । सांसद खिमलाल भट्टराईले यो सरकारले योजनाबद्धरुपमा जनजीविकालाई परिवर्तन गर्न नीति ल्याएको भन्दै यसको प्रशंसा गर्न सकिन्छ भने । उनले हिजो राजनीतिक आन्दोलनमा केन्द्रीत हुनुपरेको मुलुक आज विकास समृद्धिको चरणमा रहेकाले सरकारले त्यसलाई दृष्टिगत गरी यो नीति ल्याएको भन्दै नीतिको स्वागत गरे । नीतिको सार ‘सुखी नेपाली, समृद्ध नेपाल’ नै हो भन्दै सांसद भट्टराईले यसले आर्थिक रुपान्तरणको खाँका कोर्न सक्यो कि सकेन भन्नेमा विश्लेषण गर्न सकिन्छ भने । नीति कार्यक्रमले सामाजिक न्याय र लोकतान्त्रिक राज्यको अवधारणलाई आत्मसात् गरेको अवगत गराउँदै उनले ठूला आयोजनाका काम धमाधम भइरहेका छन् भने । दिगो र फराकिलो विकासका लागि रेल र पानीजहाजका काम गर्नैपर्छ भन्दै उहाँले सरकारका काम र योजनाबाट युवा र निम्न वर्ग उत्साहीत भएको धारणा व्यक्त गरे । सांसद रामनारायण बिडारीले नीतिमा उल्लेखित ‘मेरो सरकार’का सम्बन्धमा अनावश्यक विवाद गरिएको उल्लेख गर्दै यही सरकार बनेपछि चीन र भारतसँग राम्रो सम्बन्ध विस्तार भएको बताए । उनले नीतिमा भएका जनताका हितका योजनालाई खोक्रो भन्नु गलत हो भने । सांसद बद्रीप्रसाद पाण्डेले नीति तथा कार्यक्रमको मूल लय पक्रन नसकेको आरोप लगाउँदै यसले जनतालाई राहत दिनुको सट्टा आहत दिने धारणा व्यक्त गरे । उनले नीति तथा कार्यक्रमले जनआकाङ्क्षा सम्बोधन गर्न नसक्ने विचार व्यक्त गरे । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रपतिबाट यही वैशाख २० गते सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलको प्रारम्भमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले नीति तथा कार्यक्रमको बुँदा ३ देखि २१५ सम्म आफ्नो पार्टीले संशोधन हालेको भन्दै सच्याउन सरकार तयार हुनुपर्ने माग गरे । उनले मौलिक अधिकार कार्यान्वयनमा नीति मौन रहेको उल्लेख गर्दै नीतिले तीन तहका सरकारको अधिकारका सम्बन्धमा स्पष्ट नगरेको धारणा व्यक्त गरे । नीतिमा उल्लेखित नदी डाइभर्सनका कार्यक्रममा सम्बन्धित प्रदेशबीच समन्वयका बारेमा नसोचिएको प्रश्न गर्दै सांसद अधिकारीले मुलुकमा सुशासन कायम हुन नसकेको, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा अतिक्रमण प्रकरण, वाइडबडी काण्डलगायत घट्नामा भएको भ्रष्टाचार अनियमितताका बारेमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । पूर्व-पश्चिम विद्युतीय रेलमार्गको सम्बन्धमा कुन भागको निर्माण पहिला थाल्ने हो जवाफ माग्दै उनले नीतिमा गफ र वास्तविकताबीच ठूलो अन्तर छ भने । सांसद अधिकारीले नीति कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली उल्लेखका सम्बन्धमा राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे । बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले नीति तथा कार्यक्रममाथि आफ्नो दलको संशोधनका बारेमा जानकारी गराउँदै संविधानको स्वीकार्यता निमित्त संविधानमा संशोधन हुनुपर्ने माग गरे । उनले नीतिमा हिंसा र विखण्डनवाद अन्त्य भएको उल्लेख भए पनि हिंसा र विखण्डनको सम्भावना कायमै रहेको भन्दै यसलाई सम्बोधन गर्न आग्रह गरे । सांसद लालले वर्षेनी तराईमा आउने बाढीबाट जनतालाई राहत दिनका लागि गठन गरिएको प्राधिकरण हाल कहाँ बेपत्ता भयो भनी प्रश्न गरे । राजपा नेपालकै रमेशप्रसाद यादवले नीति कार्यक्रममा संविधान सर्वस्वीकार्यता भएको भन्नु विडम्बना भएको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने माग गरे । नीति तथा कार्यक्रममा राष्ट्रियसभामा १० सांसदले छुट्टाछुट्टै तीन संशोधन दर्ता गराएका छन् । बैठकमा सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको पक्षमा र प्रतिपक्षी दलका सांसदले विपक्षमा आफ्ना धारणा राखेका छन् । सत्तापक्षका सांसदहरुले यो नीति तथा कार्यक्रम विगतको भन्दा फरक रहेको र यसले मुलुकका समग्र समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताए । नीतिको विरोध गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संविधानको निर्देशनअनुसार यसमा विषयवस्तु समेटिएको बताउँदै नीति तथा कार्यक्रममा सुरक्षित छापाखाना र विपन्नका लागि आवासको व्यवस्था, राजमार्ग विकास, खानी उत्खनन् र सञ्चालन, सुशासन कायम गर्नेलगायत महत्वपूर्ण विषय प्रतिबद्धतासहित आएको धारणा व्यक्त गरे । प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमले सङ्घीयतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने विषय समेट्न नसकेको उल्लेख गर्दै मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना नभएको भन्दै आलोचना गरेका थिए । जनजीविका यथार्थ सवालभन्दा बढी आधारहीन प्रचारमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको भनी टिप्पणी गरेका थिए । नीति तथा कार्यक्रममाथि छलफल जारी छ । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २४ गते दिउँसो १ बजे बस्नेछ । रासस

लेखापाल अधिकारी विरुद्ध ५ करोड १० लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ । आयोगका अनुसार लेखापाल अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्ति उपर विश्लेषण गरी हेर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट जम्मा रु ८८ लाख ३४ हजार ८८५ आय आर्जन गरेको देखिन्छ । अधिकारीले आफू र आफ्ना आफन्तको नाममा खरीद गरी राखेको एवं लगानी गरेको चल÷अचल सम्पत्ति जग्गा खरीद, घर निर्माण, सवारी साधन खरीद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा रु पाँच करोड ९८ लाख ६८ हजार ५०८ खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमा रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ । आयोगको अनुसन्धानमा सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको सम्पत्ति बढी रहेको पाइएको छ । आयोगले अधिकारीका श्रीमती र मामा नाताका बलराम शर्मासमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए । यस्तै आयोगले आजै समयमाई प्राथमिक विद्यालय (हाल माध्यमिक विद्यालय) टिकुलीगढमा कार्यरत शिक्षक रामप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर गरेको छ । रासस

फोरम र नयाँ शक्ति एकीकरण, समाजवादी पार्टी गठन

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका थिए । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाएका छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरुमा नवराज सुवेदी, लालबाबु राउत, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङ, परसुराम खापुङ, युवराज कार्की चयन भएका छन् । महासचिवमा गङ्गानारायण श्रेष्ठ, रामशाह यादव, रणध्वज कन्दङ्वा रहेका छन् भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर बिश्वकर्मा, प्रकाश अधिकारी चयन भएका छन् । सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोव, परशुराम, बस्नेत प्रसान्त सिङ र कोषाध्यक्षमा बिजयकुमार यादवलाई चयन गरिएको छ । पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए । समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’

काठमाडौँ । सुन्दर यातायात प्रालिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन गर्ने कुरा उल्लेख भएकोमा स्वागत गरेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाले सोमबार विज्ञप्ति प्रकाशित गरी नीति कार्यक्रममा विद्युतीय सवारीको कुरा उल्लेख भएकोमा स्वागत गरेका हुन् । सुन्दर यातायातले बस तथा चार्जिङ स्टेशन सञ्चालनको लागि आवश्यक मेशिन तथा सामाग्री आयात गरी सञ्चालन गर्ने नीति बनाउन सरकारसँग अनुरोध गरेको छ । सुन्दर यातायातले लाखौँ खर्च गरेर चार्जिङ स्टेशनको सामान ल्याएको र नीति नबन्दा प्रयोगविहीन भएकोमा ध्यानाकर्षण गराएको छ । अहिलेसम्म विद्युत युनिट दर निर्धारण हुन नसकेको, विद्युतीय सवारी साधनको भाडादर कायम गर्न नसकेको र विद्युतीय सवारी साधन सम्बन्धी नीति बनाउन नसकेकोमा विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।

ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका-१, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।

भार्गव विकास बैंकको बोनस सूचिकृत

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । विकास बैंकको कूल २ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।